महिनावारी हुँदा छाउगोठमा बस्नुपर्ने कुप्रथा अन्त्य गर्न छाउगोठै भत्काउन थालेपछि त्यस्तो चलन भएका विकट भेगका महिला महिनावारी हँुदा जंगलका ओडारमा बस्न बाध्य भएका समाचार आउन थालेका छन् । छाउपडी बार्न रोक्ने अभियान सुरु भएको भन्ने पढेको, सुनेको धेरै वर्षअघि नै हो । यो अभियानमा गरिएका विभिन्न प्रयास र अपनाइएका उपायमा पक्कै पनि सरकार र अन्य गैरसरकारी अभियन्ताको करौडौं रुपैयाँ खर्च भइसकेको हुनुपर्छ । कुन विधि र उपाय अपानाइयो सो प्रथाको उन्मूलनको प्रयासमा र पनि सफलता किन हात लाग्दैन ? अहिले त्यतातर्फ नजाऊँ । बरु, यसलाई नयाँ ढंगबाट प्रयास गरौँ न । कतै त्यो विधि र ढंगबाट यो कालो प्रथालाई फाल्न सकिन्थ्यो कि ?
महिनावारी, अनियमित महिनावारी र त्यसमाथि झन् अत्याधिक रक्तश्रावयुक्त महिनावारीले एक महिलालाई कति पीडा दिन्छ भन्ने मैले सानैदेखि मेरी आमाले पाएको दुःख देखेर थाहा पाएको छु । ती चारदेखि दस वा कहिले काहीँ त अझ धेरै दिन हामी परिवार र आमाका लागि काला दिन थिए । धेरै पछिसम्म पनि ती काला दिन भोग्यौँ हामीले । झन् त्यो समय त्यस्तो थियो जहाँ हाल उपलब्ध कुनै पनि प्रकारका स्यानिटेरी सामग्री वा त्यस्ता प्याड उपलब्ध हुँदैनथे वा हाम्रो पहँुचमा थिएनन् । फलस्वरूप, महिनावारी, रक्तश्रावको उचित व्यवस्थापन र सरसफाइमा झनै समस्या थपिन्थ्यो ।
ती काला दिनले हामी परिवारलाई भने एउटा धेरै नै महत्त्वपूर्ण ज्ञान प्रदान गर्न ठूलो भूमिका खेल्यो । हामीले कहिल्यै आमाको महिनावारी बारेनौ । कारण थियो आमाको स्वास्थ्य । आमा केही गर्नै नसक्ने हालतमा पुग्ने भएपछि सबै काम दाइ र मैले गर्नु पर्यो । बुबा जागिरको सिलसिलामा अन्य जिल्लामा हुनुहुन्थ्यो । आमाको स्याहारसुुसार र सरसफाइ गर्दा उहाँलाई नछोइ गर्न सम्भव पनि थिएन । प्याडका रुपमा प्रयोग गरिने घरायसी कपडा धुनेदेखि सुकाउनेसम्म हामी नै गर्थ्यौँ । आजसम्म पनि मलाई ती कपडा धुँदा धाराको पानी रगतको कुलेसोमा परिणत भएको नमीठो सम्झना आइरहन्छ ।
यो त भयो त्यति बेलाको कुरा । वर्तमानमा पनि मेरी पत्नीलाई महिनावारी हुँदा पीडा नै हुने गरेको छ । अरु कुराले होइन धेरै पेट दुख्ने गरेर । र ती चार दिन पनि उनका लागि एकप्रकारले दुःखका दिन हुन् । कुनै बेला आमाले भोगेका दुःखभन्दा अलि कममात्र ।
आमा र पत्नीले महिनावारीको समय भोगेका दुःखको तुलनामा हाल नेपालका विभिन्न विकट भेगमा व्याप्त छाउपडी जस्तो कुरीतिका कारण संस्कृतिको नाममा त्यहाँका महिलाले छाउगोठमा रात काट्नु पर्दाको पीडा अझ कैयाैँ गुना धेरै छ ।
यी नै घटना र भोगाइले मलाई पनि महिनावारी हुँदा महिलाको शारीरिक र मानसिक शिथिलताको अनुभव छ । जहिले पनि छाउपडीका समाचार देख्न र पढ्नासाथ मलाई ती पुराना दिनले झस्काइहाल्छन् । र यस बारेका पक्कै केही गर्नुपर्छ भन्ने भाव सधैँ आइरहन्छ । पत्नीलाई पनि महिला स्वास्थ्य र प्रजननको क्षेत्रमा केही गर्ने इच्छा छ । कुनै दिन । उनले पनि लामो समय थापाथलीको प्रसूति गृहमा कामगर्दा विपन्न आय भएका विकट भेगका महिला, उनीहरुले प्रजनन स्वास्थ्यसम्बन्धी ज्ञानको कमीका करण भोग्नु परेको दुःख, कम उमेरमा गर्भ बस्न पुग्दा भोगेका पीडाले महिलाहरु छट्पटाएको, कतिको अकालमै ज्यान गुमेकाजस्ता कहालीलाग्दा अनुभव गरेकी छन् ।
अब म छाउपडी बार्ने प्रथाको अन्त्य गर्ने विभिन्न प्रयासहरुबीच एउटा विकल्प प्रस्तुत गर्ने जमर्को गर्छु । छाउपडी प्रथा र यो कुरीति व्याप्त विकट भेगमा आधुनिक र सुविधासम्पन्न स्थानीय महिला तथा प्रजनन स्वास्थ्य केन्द्र स्थापना गर्ने । वा भनौ सुविधायुक्त छाउगोठ ।
यस केन्द्र (पछि अवश्यकताअनुसार जे नाम दिए पनि) को उद्देश्य छाउगोठको ठाउंँमा प्रजजन तथा महिला स्वास्थ्यसँग सम्बन्धित आधुनिक आधारभूत सुविधासहितको भवन बनाउने हो । आवश्यकताअनुसार यसको संचालन र संभारको जिम्मा स्थानीय स्तरमा सक्रिय कुनै संस्था, आमा समूह, स्कुल वा क्लबलाई वा व्यक्तिलाई दिए हुन्छ ।
यसको बृहत् उदेश्य र संचालनको तौरतरिका त समयानुकूल निर्माण गर्दै जान सकिन्छ । तर, यसको आधारभूत उदेश्य विकट गाउँमा वयस्क युवा र महिलालाई प्रजनन स्वास्थ्यसम्बन्धी जनचेतना जगाउँदै छाउपडी बार्नेजस्तो कुसंस्कारलाई बिस्तारै त्याग्दै जान प्रेरित गर्ने हो ।
के हुन्छ त त्यस्तो आधुनिक केन्द्रमा ?
त्यस्तो केन्द्र वा भवन सकेसम्म स्थानीयरुपमा उपलब्ध सामग्री, कच्चा पदार्थ, स्रोत र साधन प्रयोग गरेर निर्माण गर्ने । भवनमा खाना पकाउने, सुत्ने, नुहाउने, अध्ययन गर्ने, सूचना तथा अन्य अध्ययन सामग्री संग्रह गर्नेसहितका पाँच छ कोठा उपलब्ध हुनेछन् । दिसापिसाबको लागि शौचालय, आवश्यक उचितरुपमा पिउने वा अन्य प्रयोजनका लािग पानीको पनि उपलब्धता सुनिश्चित गर्ने ।
सामान्य सरसफाइका लागि प्रयोग गरिने साबुन, स्यानिटरी प्याड, हात पुछ्ने रुमाल, दाँत माझ्ने ब्रस, मन्जन, सुत्ने कोठामा, खाटदेखि सबै अवश्यक सामग्रीलगायत सबै अधारभूत सामान पनि केन्द्रमा उपलब्ध गराउने ।
एउटा पाहुन कोठा । सम्भव भएसम्म कुनै एक स्थानमा वैठक, सानो तिनो तलिम र शिक्षामूलक अभिमुखीकरण गर्न पनि पूर्वाधार निर्माण गर्ने ।
भवनमा सानो पुस्तकालाय पनि निर्माण गर्ने । सो पुस्तकालयमा उपलध हुने सबै पुस्तक, श्रव्य, दृश्य सामग्रीहरु पनि आधारभूत स्वास्थ्य र त्यसमा पनि विशेषगरी महिला र प्रजननसँगमात्रै सम्बन्धित रहने व्यवस्था गर्ने । यस्ता सामग्रीको संचालनका लागि विद्युत् र त्यो उलब्ध नभए सौर्य ऊर्जाको प्रयोग गर्ने । यास्तो केन्द्र स्थानीयहरुलाई पायक पर्ने स्थानमा निर्माण गरिने ।
यसको प्रयोग केका लागि?
यो भवन वा केन्द्र छाउगोठको विकल्पको रुपमा प्रयोग गरिनेछ । महिनावारी भएर छाउगोठ जानुपर्ने जो कोही महिला छाउगोठको सट्टा यो केन्द्रमा जानेछन् । त्यहाँ गएर रहँदा बस्ता उनीहरुले प्रजनन स्वास्थ्य सम्बन्धित केन्द्रमा उपलब्ध सेवा, स्रोत र साधनको उचित प्रयोग र व्यवस्थापन र सम्भारसमेत गर्नेछन् ।
पुँजीको उपलब्धताअनुसार केन्द्रको दैनिक संचालनको जिम्मा महिला र प्रजनन स्वास्थ्यको आधारभूत ज्ञान भएका एक जना स्वयम्सेविका महिलालाई पनि दिन सकिनेछ । स्वयम्सेविका महिलाले महिनावारी भएर केन्द्रमा आउने महिलालाई स्वास्थ्यसँग सम्बन्धित सूचना, जनाकारी, शिक्षा प्रदान गर्ने, तत्सम्बन्धी ज्ञान अभिवृद्धि गर्ने श्रव्यदृश्य सामग्री प्रयोग गर्न उत्पे्ररित गर्ने, धेरैभन्दा धेरै अध्ययन गर्न हौसला प्रदान गर्ने र महिनावारीका बारे स्थानीय र अन्य स्तरमा रहेको अन्धविश्वासलाई चिर्न हरसम्भव सहयोग गर्ने । यसो गर्न सकेको खण्डमा यसले सो केन्द्र प्रयोग गर्ने महिलालाई त महत्त्वपूर्ण जीवन उपयोगी शिक्षा त दिन्छ नै त्यसबाहेक उनीहरुले त्यहाँ सिकेका, हेरेका र सुनेको जानकारीमूलक सूचनाले घर फर्केपछि पनि दैनिक जीवनमा सहयोग पुग्नेछ ।
त्यो बाहके चाहेको खण्डमा केन्द्रको प्रयोग स्थानीय सबै महिलाले पनि गर्न सक्नेछन् । सानातिना भेला, छलफलमा सो केन्द्रका स्रोत र साधन प्रयोग पनि गर्नसक्छन् ।
अर्कोतर्फ यस केन्द्रको प्रयोग कसैले गर्न नचाहेको खण्डमा त्यो अधिकार स्वयम् परिवार र व्यक्तिलाई हुने पनि गर्न सकिनेछ । तर, सरकारले चाहेमा यो सेवा अनिवार्यरुपमा लिनुपर्ने नियम पनि लगाउन सक्छ । केन्द्रले गर्ने भनेको महिनावारी हुँदा महिलाले सकेसम्म उनको आफ्नो स्वास्थ्यको ध्यान दिन उत्पे्ररित गर्नेमात्रै हो । परिवार र महिला स्वयमले आफ्नै घरमा बसेर आफनो परिवारमा महिनावारी भएका सदस्यको उचित स्याहार सुसार गरेको खण्डमा तथा महिनावारी भएका महिलाले उचित स्याहार पाएको अवस्थामा भने यो केन्द्रको प्रयोग नगर्दा नै राम्रो हो भनेर सम्झाउनु पनि केन्द्रको दायित्व हुनेछ । तर, महिनावारी हुँदा छाउगोठ, जंगल वा ओडारै जानुपर्ने हो भने त्यस्को विकल्पमा यस्तो सुविधा्रको प्रयोगमा केन्द्रले् भने हदैसम्मको प्रयास गर्नेछ ।
यो विकल्पको कार्यान्वयनको विधि फरक फरक पनि हुन सक्छ । जे भए पनि यो स्थायी समाधान भने हुनेछैन । कुनै पनि क्षेत्रमा यो केन्द्रको उपदेयता सकिएमा केन्द्र बन्द वा अन्य स्थानमा स्थानान्तरण पनि गर्न सकिने व्यवस्था मिलाउन सकिन्छ ।
यो विकल्प छाउपडी बार्ने कुप्रथालाई बढवा दिने भन्ने सोचबाट आएको भने होइन । बरु, हाल गरिएका प्रयासबाट हुन नसकेका उपलब्धि प्राप्तिका लागि वैकल्पिक उपायको प्रयत्न हो ।
(यस वैकल्पिक प्रयासका लागि म र मेरी पत्नीको तर्फबाट केही आर्थिक सहयोगसमेत उपलब्ध गराउने प्रतिज्ञा गर्दै मेरा सहकर्मी पत्रकार मित्रहरुमा सहकार्यका लागि आग्रह पनि गर्छु । )