काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ । आइतबार न्यायाधीश कमला पौडेलको इजलासले प्रसाईंलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
प्रसाईंले स्वास्थ्य समस्या देखाएर दिएको निवेदनमा न्यायाधीश पौडेलको इजलासले उपचारका लागि अनुमति दिएको काठमाडौं जिल्ला अदालतका श्रेष्तेदार रामु शर्माले जानकारी दिए । शर्माका अनुसार, उनलाई विशेषज्ञ उपचार गराउन आदेश भएको छ । यससँगै उनी अस्पताल भर्ना हुने बाटो खुलेको छ ।
प्रहरीको साइबर ब्युरोले विद्युतीय कारोबार ऐन, २०६३ अनुसारको कसुरमा प्रसाईंमाथि अनुसन्धान गरिरहेको छ । ब्युरोले अनुसन्धानका लागि थप १० दिन मागेको थियो ।
यही मंसिर ४ भक्तपुरस्थित निजी निवासबाट पक्राउ परेका प्रसाईंविरुद्ध ब्युरोले सम्पत्ति शुद्धीकरण, लिखत किर्ते, आपराधिक लाभ र संगठित अपराधमा अनुसन्धान गरिरहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकम्युनिकेसन कम्पनीमा लगानी गरेको दाबीसहित प्रसाईंले सामाजिक सञ्जालमा भिडियो अपलोड गरेका थिए । सोही कसुरमा उनीविरुद्ध प्रहरीले पक्राउ गरेको थियो ।