काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको विरोधबाट अताल्लिनु नपर्ने प्रष्टीकरण दिएका छन् । सरकार र पार्टीको कार्यशैलीको बारेमा अधिकांश सदस्यहरूले प्रश्न उठाएपछि अध्यक्ष ओली ‘रक्षात्मक’ बनेका हुन् ।
स्थायी कमिटीको बिहीबारको बैठकमा झन्डै तीन घण्टा बोलेका अध्यक्ष ओलीले सरकारले ठीक दिशा समातेको भन्दै आफूले बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनको बचाउमा उभिए ।
“जुनसुकैले सरकारले पनि विरोधको सामना गरेका छन् । विरोध भयो भनेर आत्तिनुपर्दैन,” अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै एक स्थायी कमिटी सदस्य बताउँछन्, “२०५१ सालको त्यस्तो लोकप्रिय सरकारको समेत पार्टीभित्र बाटै विरोध भएको थियो ।”
त्यस्तै उनले आफू लोभ, मोहबाट मुक्त भइसकेको बताउँदै समृद्ध नेपाल र सुखी नेपाली नै आफ्नो सपना भएको दोहोर्याएका थिए ।
बैठकमा सहभागी एक सदस्य अनुसार अध्यक्ष ओली निकै रक्षात्मक बनेका थिए । प्रतिवेदनको बचाउ गर्न अध्यक्ष ओलीलाई निकै गाह्रो भएको थियो ।
अर्का अध्यक्ष पुष्पकमल दाहालको मध्यमार्गी प्रस्ताव (बैठकमा उठेका प्रश्नहरूको समाधान गर्न कार्यदल बनाएर जाऔँ) मा समर्थन जनाउँदै उनले पनि कार्यदल बनाउने प्रस्ताव नै अघि सारेका छन् । तथापि सदस्यहरूले कार्यदलको काम कर्तव्य अधिकार के हुने ? त्यसले के कस्तो काम गर्ने ? कुन विधि, पद्धति, मापदण्डका आधारमा कार्यदलले एकताको बाँकी काम पूरा गर्ने भन्ने विषयमा स्पष्ट जवाफको माग गरेपछि शुक्रबार बस्ने बैठकले त्यसको निरुपण गर्ने विषयमा बैठक सहमत देखिएको छ ।
ओलीले प्रस्ताव गरे एकताको ‘डेटलाइन’
त्यस्तै बिहीबारको बैठकमा पार्टी अध्यक्ष ओलीले एकताको बाँकी काम टुंग्याउन समय तालिका नै प्रस्ताव गरेका छन् । उनले पुस मसान्तभित्रमा पार्टी एकताको सम्पूर्ण काम गरिसक्ने प्रस्ताव बैठकमा पेस गरेका छन् । माघ मसान्तभित्रमा नवगठित कमिटीको बैठक, भेला आयोजना गर्ने र फागुन र चैतमा पार्टी जागरण, एकताको सन्देश विस्तारको काम गर्ने योजन बैठकमा पेश गरेका छन् ।
यद्यपि शुक्रबार बिहान ८ बजे बस्ने बैठकले त्यसलाई अन्तिम रूप दिने स्थायी कमिटी सदस्य योगेश भट्टराईले जानकारी दिए ।