काठमाडौं । युनिभर्सल पिस फेडेरेशनले आयोजना गरेको एसिया प्रशान्त सम्मेलनमा सरकार र संसदको लोगो दुरुपयोग भएको विषय चर्को रूपमा उठेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठकमा गतिरोध उत्पन्न भएको छ । सदस्यहरूले राजनीतिक प्रतिवेदनमाथि आफ्नो धारणा राख्ने उपक्रम सकिएपछि आइतबार अपराह्न बस्ने बैकठमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले उठेका प्रश्नको जवाफ दिने कार्यसूची थियो । तर, बैठक एकाएक तीन दिन पर धकेलिएपछि स्थायी कमिटी सदस्य सशंकित बनेका हुन् ।
गएको शनिबारदेखि आठ दिनसम्म चलेको बैठकमा बोल्ने अधिकांश स्थायी कमिटी सदस्यले युपीएफको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र माधव नेपालले सरकार र पार्टी दुवैको दुरुपयोग गरेको भन्दै आत्मालोचित हुनुपर्ने धारणा राखेपछि नेतृत्व पन्छिएको र विषय चिस्याउन खोजेको आशंका स्थायी कमिटी सदस्यले गर्न थालेका हुन् ।
स्थायी कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि नेता माधव नेपालले शनिबार नै धारणा राखेका थिए । तर, एसिया प्रशान्त सम्मेलनको अध्यक्षता ग्रहण गरेको भन्दै प्रश्न उठेपछि नेता नेपालले आइतबार मौखिक प्रष्टीकरण दिएका थिए ।
तर, नेता नेपालले चित्तबुझ्दो जवाफ नदिएको र स्थायी कमिटी सदस्य ‘कन्भिन्स’ हुन नसेकको नेता झलनाथ खनालले जानकारी दिए । “एसिया प्रशान्त सम्मेलनको अध्यक्षता गरेको विषयबारे गोलमटोल उत्तर दिएर हुँदैन । सम्मेलनको नियत बाहिर छरपष्ट भइसकेको छ । उहाँ (माधव नेपाल) को प्रष्टीकरण कसैले चित्त बुझाएका पनि छैनन्,” उनले बाह्रखरीसँगको कुराकानीमा भने, “नेता नेपालले स्थायी कमिटीको बैकठमा माफी माग्नुपर्छ । आत्मालोचित हुनैपर्छ ।”
नेता नेपाल युपीएफकै कार्यक्रममा २२ पटक विदेश घुमेको सार्वजनिक भइसकेकाले नेता नेपालले कुनै पनि तर्क गरेर पन्छनु नहुनेमा उनको जोड थियो । “माधव नेपालले सरकारलाई समेत अनुचित काममा प्रयोग गरेको निष्कर्ष निकाले । माधव नेपालले केपी ओलीलाईसमेत फसाउनु भयो, प्रधानमन्त्रीसमेत यसमा फस्नुभयो । सरकार र पार्टीको यत्रो आलोचना भयो, यसको नैतिक जिम्मेवारीले लिनुपर्छ,” उनले भने ।
‘ओली आत्मालोचनाबाट पन्छिए’
कम्युनिस्ट पार्टी र मातहतको कमिटीको बैठकमा आलोचना र आत्मालोचना गर्ने छुट्टै कार्यसूची हुन्छ । कमिटी अधिनस्थ रहेका सदस्यहरूले बैठकको अन्तिममा गरेका कमीकमजोरी र त्रुटिप्रति आत्मालोचित हुन्छन् ।
तर, पार्टी अध्यक्षसमेत रहेका ओलीले युपीएफको कार्यक्रममा सरकार र संसदको लोगो दुरुपयोग भएको प्रति आत्मालोचित हुन नचाहेको भन्दै स्थायी कमिटी सदस्यहरूले टिप्पणी गर्न थालेका छन् ।
स्थायी कमिटी सदस्य एवम् प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले आत्मालोचना गर्नु भनेको आत्मनिन्दक हुनु भएको र सरकारमाथि चौतर्फी घेराबन्दी भइरहेका बेला स्थायी कमिटी सदस्यले पनि सरकारको आलोचना गर्न नहुने बताएका थिए । त्यसको जवाफ दिँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले आलोचना, आत्मालोचना नगर्ने व्यक्ति कम्युनिस्ट पार्टीको सदस्य नहुने बताउँदै ‘उसो भए हामी शासन गर्ने भगवान हौँ त ?’ भन्दै प्रश्न गरेका थिए ।
स्थायी कमिटीको बैठकमै नेपाल निकट नेता सुरेन्द्र पाण्डेले एसिया प्यासिफिक समिटमा सरकार र पार्टीका संलग्नता देखिनु गलत कुरा भएको भन्दै नेतृत्व सुनपानी छर्किएर चोख्खिनुपर्ने धारणा राखेका थिए । अर्का स्थायी कमिटी सदस्य भीम रावलले यूपीएफ धार्मिक संदिग्ध संस्था रहेको बताउँदै यसमा सरकार र पार्टी नेतृत्वको सहभागिता देखिनु गम्भीर कुरा भएको भन्दै आत्मालोचना हुनुपर्ने धारणा राखेका थिए ।
सचिवालय सदस्य एवम् पार्टीका वरिष्ठ नेता झलनाथ खनाल पनि पार्टी र सरकार सञ्चालनमा नेतृत्वको कार्यशैलीलाई लिएर स्थायी कमिटी सदस्ले प्रश्न उठाएकाले केपी ओली आत्मालोचित हुनुपर्ने धारणा राखे ।
“आत्मालोचना पनि पार्टी शुद्धीकरणको विधि हो । उहाँ (केपी ओली) आत्मालोचित हुनुपर्छ । उहाँको कार्यशैलीका बारेमा अधिकांश सदस्यले प्रश्न उठाएका छन्,” उनले बाह्रखरीसँगको सङ्क्षिप्त कुराकानीमा भने ।
यस्तै तर्क रावलको पनि छ । बाह्रखरीसँगको कुराकानीमा उनले अध्यक्षद्वयले यसको प्रष्ट जवाफ दिनुपर्ने लिखित रूपमै आत्मआलोचित हुनुपर्ने बताएका छन् । “आइतबारको बैठकमा पनि यसबारेमा पर्याप्त कुरा आएका छन् । अब पर्सि (११ गते बिहान ८ बजे) बस्ने बैठकमा उहाँहरू कुन रूपमा प्रस्तुत हुनुहुन्छ, त्यो हेर्न बाँकी छ,” उनको भनाइ थियो ।
यता, अध्यक्ष पुष्पकमल दाहालले स्थायी कमिटी सदस्यहरूले उठाएका कुरालाई प्रतिवेदनमा समेट्ने बताएका छन् । स्थायी कमिटी सदस्यहरूले उठाएका थुप्रै विषय सम्बोधनमा समेट्नुपर्ने भएकाले बैठक तीन दिन धकेलिएको हुन सक्ने केपी ओली निकट स्थायी कमिटी सदस्यहरू बताउँछन् ।
“प्रतिवेदन माथि उठेका विविध कुरा समेटेर सम्बोधन गर्नुपर्ने भएकाले पनि अध्यक्षद्वयले आइतबारको बैठक स्थगित गरेर बुधबार बिहान ८ बजे सारिएको हुनसक्छ,” ती सदस्यले लख काटे ।