काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीको जारी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनलाई लिएर जुहारी जारी छ ।
अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनको अन्तर्यमाथि विचार–विमर्श जारी रहँदा तेस्रो वरीयताका नेता माधवकुमार नेपालले पनि वामदेव गौतमको १६ पाने विचार ठीक भएको प्रतिक्रिया दिएका छन् ।
“वामदेवले उठाउनुभएका कुरा ठीक छन् । सरकार र पार्टी सञ्चालनका विषयमा नेतृत्वको कार्यशैलीलाई लिएर प्रश्न उठेका छन्,” उनले भने ।
उनले वामदेव गौतम, भीम रावल, हरिबोल गजुरेलले लिखित रूपमा आफ्ना धारणा राखेको र अन्य १५ जना स्थायी कमिटी सदस्यले मौखिक रूपमा आफ्ना धारणा राखेको भन्दै ती सबैको ध्येय पार्टी सुधार नै भएको जिकिर गरे ।
“कसैले प्रतिवेदनको समर्थनमा विचार व्यक्त गरेका छन्, कसैले विपक्षमा आ–आफ्ना कुरा हुन्छन् नै,” बैठक सकिएपछि सञ्चारकर्मीसँगको अनौपचारिक सम्वादमा उनले भने, “सबैले पार्टीलाई राम्रो बनाउन नै आफ्ना धारणा राखिरहनुभएको छ ।”
उनले बाहिर आएका कतिपय नकारात्मक कुराको खण्डन गर्दै बैठकको अन्त्यमा पार्टी एकतावद्ध हुने जिकिर गरे । “नेताहरूको प्रस्तुतिले अझ दूरी बढ्छ कि भन्ने लागेको छ भने त्यो भ्रमबाट मुक्त हुनुहोस्,” उनले थपे, “बैठकपछि हामी अझ एकतावद्ध हुन्छौँ ।”
विधानदेखि नै सच्याऔँ
पार्टीका अर्का नेता योगेश भट्टराईले बैठकमा बोल्ने अधिकांश सदस्यले मापदण्ड, विधि र प्रणालीमा टेकेर जिम्मेवारी बाँडफाँट गरिनुपर्ने धारणा राखेको जानकारी दिए । मंगलबार धारणा राख्ने आठ सदस्यमध्ये अधिकांश सदस्यको राय पार्टी संस्थागत, विधि पद्धतिअनुरूप चल्नुपर्ने नै रहेको उनको भनाइ थियो ।
त्यस्तै, नयाँ मापदण्ड बनाएर शिरदेखि पुछारसम्म एकीकरण गर्नुपर्नेमा सदस्यहरूको जोड थियो । “को मन पर्छ, को मन पर्दैन, व्यक्तिको अनुहार हेरेर जिम्मेवारी दिनतिर नलागौँ, प्रणालीबाट जाऔँ,” स्थायी कमिटी सदस्यहरूको भनाइ उद्धृत गर्दै उनले भने, “त्यसो गर्न सकियो भने पुस महिनाभित्रमा एकीकरण टुंग्याउन सकिन्छ । एक–एकजना छान्न थाल्दा त्यसले अन्तरविरोध निम्त्यायो ।”
त्यस्तै, अहिलेको चुनौतिको सामना सामूहिक ढंगलेमात्रै गर्न सकिनेमा सदस्यको जोड रहेको बताउँदै नेता भट्टराईले स्थायी कमिटीमा बोल्ने सदस्यको भनाइ उद्धृत गरे, “अहिलको चुनौती कुनै नेताको क्षमताले मात्रै चिरिने होइन, सामूहिकतामै त्यो शक्ति हुन्छ । हामी जति छौँ, सामूहिक प्रयत्नबाटै आएका छौँ । अलौकिक क्षमताबाट आएका छैनौँ ।”
अध्यक्ष सिंगो पार्टीको नेता भएको बताउँदै केन्द्रीय कमिटीभित्रका अमूक–अमूक नेता लाग्नु नहुनेमा सदस्यहरूको जोड थियो । “अध्यक्षका रूपमा सबै नेताले स्वीकार गरेपछि सबै सदस्यलाई पनि त्यही रूपमा स्वीकार गर्नुपर्छ, अध्यक्ष वैधानिक बाटोबाट आउनुभएको छ भने उहाँहरूको काम पनि वैधानिक हुनुपर्यो । सबैलाई समेटेर जानुको विकल्प हामीसँग छैन ।”
उनले केपी शर्मा ओलीले १४ वर्षको कठोर जेल जीवन व्यतीत गरेको, पलपल मृत्यसँग मुकाबिला गरेको व्यक्तिले कसैलाई पाखा, कसैलाई काखा गर्ने कुरा पत्याउन नसकिने तर त्यस्तै भइराखेको भन्दै सदस्यहरूले त्यो तत्काल रोक्न माग गरेको बताए ।
पार्टीका नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण क्रमशः भइराखेकाले उनीहरूलाई सभ्य र सुसंस्कृत बनाउनका लागि नेतृत्वले आफूलाई संकुचित घेराभित्र राख्नु नहुने धारणा राखेको भट्टराई बताउँछन् ।
पार्टी नेतृत्वबाट जनमतको रक्षा हुन नसकेको भन्दै त्यो रक्षा गर्ने दायित्वदलाई थप जिम्मेवारपूर्वक निभाउन अनुरोध गरेको भट्टराईले बताए ।
त्यस्तै, स्थायी कमिटीमा छलफल भएका कतिपय विषय हटाएको अवस्थामा विधान छापिएको भन्दै विधान सच्याउन र स्थायी कमिटी सदस्यहरूले दिएको रायकै आधारमा विधान छाप्न पनि सदस्यहरूले जोड दिएको भट्टराईले जानकारी दिए ।
आजको बैठकमा नेता भीम रावल, योगेश भट्टराई, केशव बडाल, पृथ्वीसुब्बा गुरुङ, टोपबहादुर रायमाझी, शंकर पोखरेल, सोमनाथ प्यासी, सत्यनारायण मण्डलले धारणा राखेका थिए ।
बैठक बुधबार ८ बजे पुनः बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।