काठमाडौं । ‘उपयुक्त चलचित्रमा राम्रो पटकथा, निर्देशन, अभिनय, सिनेमाटोग्राफी राम्रो हुनुपर्छ । राम्रो चलचित्र हुनलाई जुरीको मन जित्ने हुनुपर्छ भन्ने छैन, दर्शकको दिमाग र कल्पनामा पछिसम्म पनि रहने हुनुपर्छ । धेरै समयपछि पनि त्यो दर्शकको सम्झनामा रहन सक्नुपर्छ ।’
विश्व चर्चित अभिनेत्री तथा निर्मात्री केट ब्लाञ्चेटको यो भनाइलाई आधार मान्ने हो भने चलचित्र समग्रमा एउटा पूर्ण प्याकेज हो । तर, उनले सुरुमै आफ्नो भनाइमा पटकथालाई उल्लेख गरेकी छन् । त्यसपछि राम्रो चलचित्रबारे उनको यो भनाइमा निर्देशन, अभिनय र सिनेमाटोग्राफी उल्लेख छ ।
उनको यो भनाइ विस्तारै पुष्टि पनि हुँदै गएको छ । बलिउडका भेट्रान अभिनेता सलमानको प्रतिक्षित चलचित्र ‘ट्युबलाइट’ चलेन । किङ खान (सारुख खान)को विग बजेटको चलचित्र ‘रावण’ले राम्रो समीक्षा पाएन । पछिल्लो समय बलिउडलाई नै नेतृत्व गरिरहेका आमिर खान र अभिनयका बादशाह अमिताभ बच्चनको चलचित्र ‘ठग्स अफ दिन्दुस्तान’ मन पराइएन । पहिलो दिन बक्स अफिसको रेकर्ड तोडेको यो चलचित्रको ब्यापारको ग्राफ दोस्रो दिनबाटै अनपेक्षित रुपमा ओरालो लाग्यो ।
बलिउडका यी स्टारका चलचित्रले स्टारडम, अब्बल अभिनय, भब्य सेट र खर्चिलो अनि भड्किलो प्रचारबाजीले मात्रै चलचित्र चल्दैन, चलचित्र चल्नका लागि सशक्त कथा नै चाहिन्छ भन्ने पुष्टि गरिदिएका छन् ।
यही उदाहरण नेपाली चलचित्र उद्योगमा लागु हुन थालेको छ । स्टारडम भन्दा पनि कथा र पटकथा नै बलियो हुनुपर्छ भन्ने प्रमाणीत भइसकेको छ ।
कुनै समय पोष्टरमा राजेश हमालको तस्बिर मात्रै भए पनि चलचित्रले ५१ औं दिन मनाउँथे । करिष्मा मानन्धर र रेखा थापा चलचित्रमा छन् भनेपछि उनीहरुलाई हेर्न मात्रै भएपनि दशर्क हलसम्म पुग्थे । हलमा दर्शक भएपछि चलचित्र हिट । यसकै फाइदा उठाउँदै राजेश, करिष्मा, रेखा जस्ता कलाकारले आफ्नो स्टारडमकै कारण लामो समय नेपाली चलचित्रमा एकछत्र राज गरे ।
तर, समय फेरियो । दर्शक बुझ्ने भए । चलचित्रमा राम्रो कथा पनि खोज्न थाले । विस्तारै स्टारडम ओरालो लाग्यो । उदाहरण पनि राजेश, करिष्मा र रेखालाई लिन सकिन्छ । राजेशले ‘बागमती’ र ‘सकुन्तला’ मा पछिल्लो समय काम गरे । रेखाले ‘डायरी’, ‘पलाँस’ ‘मालिका’ जस्ता चलचित्रमा काम गरिन् । तर उनीहरुको स्टारडमले दर्शकलाई हलसम्म तान्न सकेन । करिष्माको पनि अवस्था उस्तै हो । भलै उनी अहिले अभिनयमा भन्दा पनि राजनीति र पढाइमै ब्यस्त छिन् ।
पछिल्लो पुस्तामा आइपुग्दा अनमोल केसी स्टारडम लिएर नेपाली चलचित्रमा भित्रिए । उनलाई पछ्याउँदै प्रदीप खड्का आइपुगे । नायिकामा साम्राज्ञी आइपुगिन् । केही चलचित्र चलेपछि उनीहरुको पारिश्रमिकले ठूलै बजार पिट्यो । २० लाख देखि ५० लाखसम्म लिएको र लिने समाचार आए । तर, ठिक त्यही बेला युवा पुस्तामा रुचाइएका भनिएका अनमोल र प्रदीपको स्टारडम पनि विकेन । अनमोलको ‘कृ’ ले न राम्रो समीक्षा पायो न उनलाई हेर्न पहिलाको जस्तो दर्शक हलसम्मै पुगे । अनमोलसँगै ‘प्रेम गीत’बाट उचालिएको प्रदीपको स्टारडमले पनि काम गरेन ‘रोज’सम्म आइपुग्दा । ‘रोज’ले पनि दर्शकलाई तान्न सकेन ।
आफ्नो पहिलो चलचित्र ‘ड्रिम्स’बाटै स्टारडम बटुलेकी साम्राज्ञी आरएल शाहको ‘कायरा’ पनि चलेन । साम्राज्ञी र आर्यनको टाइअप यो चलचित्रले बक्सअफिसमा राम्रै प्रभाव जमाउने अपेक्षा गरिएको थियो ।
स्टारडमले काम गर्न छाड्यो । कथा विक्न थाल्यो । यसको उदाहरणका रुपमा चलचित्र ‘लुट’, ‘कबड्डी’, ‘कालो पोथी’, ‘सेतो सूर्य’, ‘पशुपतिप्रसाद’, ‘जात्रा’ जस्ता चलचित्र चले । जहाँ स्टारडम हैन कथा बलियो छ । स्टार कलाकारले हैन चरित्र अभिनेताले काम गरेका छन् । जसले आफ्नो बिकाउ अनुहार नै कथा भन्छन् । ‘कालो पोथी’ कथा बिकेको सबैभन्दा बलियो नेपाली चलचित्र हो । यसमा लोकेशनबाटै हन्ट गरिएका स्थानीय दुई बालक खड्गराज नेपाली र शुकराज रोकाया मुख्य भूमिकामा छन् । ‘लुट’मा नयाँ अनुहार थिए सौगात मल्ल र दयाहाङ राई ।
चलचित्र ‘छक्का पञ्जा’ चल्यो । बक्स अफिसमा सबै रेकर्ड तोडिए । यसमा हास्य ब्यङग्यका ‘हु इज हु’ कलाकार पर्दामा फिचर्ड छन् । तर, ‘छक्का पञ्जा’का कथाकार तथा अभिनेता दीपकराज गिरी ‘छक्का पञ्जा’ र यसका पछिल्ला सिरिज अभिनेताको स्टारडमले नभइ बलियो कथाकै कारण दर्शकले मन पराएको बताउँदै भन्छन्,“ फण्डाले दुई दिन काम गर्छ । एक्टरले दुई दिन चल्छ । अर्को दिनदेखि भगवान महादेव नै आउनुभयो भने पनि चलचित्र चल्दैन ।”