काठमाडौं । “बलिउड स्टार आमिर खान आफ्नो चलचित्रको प्रचारका लागि बनारस पुगेर टेम्पो चलाएर हिँड्छन् । हलिउडमा पनि आफूले अभिनय गरेको चलचित्र रिलिज हुँदा कलाकारले समय दिन्छन् । तर, हाम्रो चलचित्र उद्योगका कलाकारमा त्यो दायित्व देखिँदैन । आफूले अभिनय गरेको चलचित्रको प्रचार गर्नु पनि कलाकारको दायित्व हो । त्यो पनि उसको ड्युटीभित्रै पर्छ नि,” चलचित्र निर्माता तथा कलाकार निर्मल शर्माको गुनासो हो यो । २० लाख पारिश्रमिक लिएको कलाकार चलचित्रको रिलिजको समयमा पब्लिसिटीमा हिँड्नैपर्नेमा उनी जोड दिन्छन् । आचारसंहिता बनाएर भए पनि चलचित्रको प्रचारका लागि समय दिनुपर्ने नैतिक दायित्वभित्र कलाकारलाई ल्याउनुपर्ने उनको धारणा छ ।
चलचित्रमा अभिनयका लागि मोटो रकम लिने तर रिलिजका बेला प्रचारप्रसारमा नहिँड्ने चलन बढ्दै गएकोमा निर्माता तथा निर्देशकहरुले असन्तुष्टि छ । चलचित्रमा अभिनय गरिसकेपछि त्यसको प्रचारका लागि समय दिनु कलाकारको धर्म भएको निर्माता माओत्से गुरुङ बताउँछन् । “आफ्नो प्रोडक्ट उत्पादन भइसकेपछि त्यसलाई बजारमा पुर्याउनका लागि समय दिनु कलाकारको व्यावसायिक धर्म पनि हो,” चलचित्र ‘पुरानो डुङ्गा’ का निर्माता तथा कलाकार गुरुङ भन्छन्, “हलिउड होस् या बलिउड, विश्वका जुनसुकै चलचित्र उद्योगका कलाकारले आफूले अभिनय गरेको चलचित्र प्रदर्शन हुँदा पब्लिसिटीका लागि समय खर्चिन्छन् । हामीले पनि आफ्नो व्यावसयिकता निभाउन सक्नुपर्छ ।”
चलचित्र निर्माता तथा निर्देशकले कलाकारले चलचित्र रिलिजका बेला पब्लिसिटीका लागि समय नदिने गरेको गुनासो गर्दै आएका छन् । यसको पछिल्लो उदाहरणका रुपमा अहिले प्रदर्शन भइरहेको चलचित्र ‘चङ्गा चेट’लाई लिन सकिन्छ । ‘चङ्गा चेट’मा स्टार कलाकार खचाखच छन् । प्रियंका कार्की, आयुषमान देशराज जोशी, सन्दिप क्षेत्री आदि । तर, यो चलचित्रको प्रदर्शनको समयमा यी कलाकार कोही पनि काठमाडौंमा उपलब्ध थिएनन् । कोही आफ्नो नयाँ चलचित्रको सुटिङका लागि पूर्वी नेपाल पुगेका थिए भने कोही स्टेज कार्यक्रमका लागि काठमाडौं बाहिर । चलचित्र रिलिजको पूर्वसन्ध्यामा काठमाडौंमा निर्माता माधव वाग्ले र निर्मात्री शर्मिला पाण्डेसँग सुरक्षा पन्त, प्रमिता अर्याललगायत कलाकारमात्रै थिए ।
कराडौं रुपैयाँ लगानी गरेको चलचित्र प्रचारमा कसैले चासो नदेखाएपछि ‘चङ्गा चेट’का निर्देशक दीपेन्द्र के खनालले यसरी असन्तुष्टि पोखे, “कलाकारलाई दर्शकले प्रत्यक्ष रिलेट गर्नुहुन्छ । हामी निर्देशक र निर्माता भनेको त पर्दा पछाडिका मान्छे हौं । कलाकार हुनु र नहुनुमा हल र बक्स अफिसमा पक्कै पनि प्रभाव पर्छ । कलाकार आफैंले मनन् गर्ने कुरा हो । चलचित्र चल्यो भने सबैभन्दा पहिला चिनिने र त्यसले करिअरमा फाइदा पुग्ने कलाकारलाई नै हो । उनीहरुकै हाइप बढ्ने हो । त्यसैले कलाकारले सबैभन्दा धेरै चलचित्रबाट फाइदा म आफैंलाई हुन्छ र लिनुपर्छ भन्ने उहाँहरु आफैले सोच्ने कुरा हो ।”
खनाल थप्छन्, “यहाँ सबैलाई चटारो र हतारो छ । केहीमा पनि म यसलाई धैर्य गरेर पर्खिएर यसलाई गन्तव्यसम्म पुर्याएर मात्रै अर्को काम शुरु गर्छु भन्ने धैर्यता छैन । यो कुरा सबैले सोच्नु जरुरी छ ।”
निर्देशक खनालभन्दा एक कदम अगाडि बढेर निर्माता गुरुङ भन्छन्, “कलाकारले मात्रै होइन, प्राविधिकले पनि आफ्नो चलचित्र रिलिजको समयमा समय दिनुपर्छ ।, एक–दुई महिना हामीले मागेका छैनौं, एक हप्ता समय दिए पुग्छ ।”
०७४ कात्तिक १७ गते रिलिज भएको चलचित्र ‘फाटेको जुत्ता’ मा प्रियंका कार्की र सौगात मल्ल मुख्य भूमिकामा थिए । सौगात अन्य कलाकार जस्तो खासै मिडियासँग बोल्न रुचाउँदैनन् । निर्माण पक्ष उनको यो स्वाभावबाट परिचित छन् । त्यसैले उनीबाट निर्माताले खासै धेरै प्रचारको अपेक्षा राख्दैनन् । तर ‘फाटेको जुत्ता’ को पब्लिसिटीका लागि समय नदिएको भन्दै निर्माता अर्जुन कुमारले सार्वजनिक रुपमै असन्तुष्टि जनाए । पत्रकार सम्मेलनमै कलाकारले सहयोग नगरेको बताएका थिए उनले ।
निर्माताहरुले कलाकारले चलचित्रलाई बेवास्ता गर्दा त्यसको प्रत्यक्ष असर बक्स अफिसमा पर्ने गरेको गुनासो गर्दै आएका छन् ।