विशेष
चन्द्रदेव जोशी
बिद्रोह गरेर हलो जोतेँ
वि.सं. १९९५ सालमा दार्चुलाको शंकरपुरमा असार ९ गते मेरो जन्म भएको हो । हाम्रो परिवार ज्योतिष हो । त्यसो त हाम्रो पुर्ख्यौली पेसा नै ज्योतिषी हो । कहिलेदेखि हामीले यो पेसा सुरु गर्यौँ, त्यसको कुनै लिखित इतिहास छैन । मैले थाहा पाउँदा हजुरबुबा, बुबा त्यही काम गर्नुहुन्थ्यो । हामीले धुलेटोमा कखरा सिक्न थालेदेखि नै ज्योतिष विद्या सिकेका हौँ । हामी पञ्चाङ्गमात्र हेर्थ्यौँ । फलित ज्योतिष हाम्रो कर्मभित्र पर्दैनथ्यो । चिना, टिपनहरू बनाउने, ग्रह दोष हेरिदिने हाम्रो दैनिकी हुन्थ्यो । चिना, टिपन बनाएबापत खासै आम्दानी पनि हुँदैनथ्यो । त्यतिबेला ग्रह दोष हेराएर पैसा दिने चलन थिएन । गावैँका मानिसहरूको त्यही पेसा हुनाले त्यसैबाट जीवन धान्न मुस्किल नै थियो भन्दा हुन्छ ।
हाम्रो खेतबारी पनि थियो । तर, उब्जनी खासै नहुने । त्यसैले हाम्रो बाल्यकाल निकै दुःखमा बित्यो । बाँझो जमिन खनजोत गर्न सधैँ अप्ठ्यारो हुने । हाम्रो ज्योतिष परिवारमा के मान्यता थियो भने, ज्योतिषहरूले हलो जोत्न हुँदैन । भनेको बेलामा हलो जोत्ने मानिसहरू पनि पाइँदैनथे । हली राख्ने सामथ्र्य थिएन । यसले हामी आजित थियौँ । बाँझो जग्गाहरू कोदालो–कोदालीले खनेर पार लगाउन पनि सकिँदैनथ्यो । त्यसैले मेरो मनमा आयो, आ.. जेसुकै होस् गोरु जोत्छु ।
त्यति बेला भर्खर १२ वर्षको थिएँ । अहिले सोच्दा लाग्छ, त्यस बेला मेरो दिमाखमा कसरी आयो होला यस्तो विचार ! वास्तवमा त्यो एक किसिमको विद्रोह नै थियो ।
मैले खेतमा गोरु नारेपछि अरूले जिब्रो काढ्न थाले । घरपरिवार पनि सुरुमा मञ्जुर भएन । मैले गोरु जोतिसकेको थिएँ, पछि आफैंँ ‘कन्भिन्स’ भए ।
शिक्षादीक्षा महाकालीपारि
घरमा ज्योतिष विद्याबाहेक अरु कुरा पढ्ने वातावरण थिएन । पञ्चाङ्ग मिलाउन र ग्रह दशा हेर्न गणित त सिक्नु पर्थ्यो । संस्कृतका श्लोक बाचन, धार्मिक ग्रन्थहरू अध्ययन गर्ने अवसर त थियो तर अरु कसरी पढ्नु ? परिवारले चासो देखायो, जेठा छोरोलाई जसरी पनि पढाउनुपर्छ ।
त्यतिबेला महाकालीपारिबाट भारतीयहरू आएर हामीलाई शिक्षादीक्षा दिन्थे । रुखको फेदमुनि, घरको आँगन पिँढी नै शिक्षा आर्जनको थलो थियो । महाकालीपारिबाट आएका भारतीय शिक्षकहरूले हिँउदे कक्षा पढाउँथे । यसलाई हिउँथे कक्षा किन भनिएको भने उनीहरूले दसैँ–तिहारपछिदेखि चैतसम्म पढाउँथे र चैत लागेपछि घरको काम गर्न गाउँ फर्कन्थे । म सानैदेखि पढाइमा तीक्ष्ण थिएँ । एक–दुई वर्ष त्यहीँ पढेँ र महाकालीपारि भारतमा गएर एकै पटक कक्षा पाँचमा भर्ना भएँ । छोराले पढोस् भन्ने परिवारको ठूलो इच्छा थियो । तर, आर्थिक अवस्थाले भारतमा बसेर नियमित शिक्षा आर्जन गर्न दिएन ।
काका पर्ने काशीराम पन्त त्यतिबेला तहविलदार हुनुहुन्थ्यो । उहाँका सन्तान थिएनन् । खै के लहड चलेर हो, उहाँको दिमागमा विद्यालय खोल्ने सोच आएछ । दुई–चार जना भद्रभलाद्मी जम्मा गरेर उहाँले विद्यालय खोल्नुभयो । यो सात÷आठ सालतिरको कुरा हुनुपर्छ । गाउँमा विद्यालयको स्थापना भयो । विद्यालय त खोलियो तर पढ्ने विद्यार्थी नै भएनन् । आर्थिक अवस्था बलियो भएकाहरू महाकालीपारि पुग्थे, नभएकाहरू पढ्न आउने कुरै भएन । त्यसपछि हामीले घर–घरमा पहेँलो झन्डा (विद्याको रंग, सरस्वतीको प्रतीक) गाड्याँै र एउटा बच्चा विद्यालयलाई देऊ भनेर पठन संस्कृति सुरू गर्यौँ । सुदूरपश्चिमको त्यो शैक्षिक आन्दोलन पनि थियो । त्यसपछि केही वर्ष त्यही विद्यालयमा पनि पढेँ । आठ कक्षा (त्यसबेला भारतमा जुनियर हाइस्कुल लेबल भनिन्थ्यो) पूरा गरेँ । आर्थिक अवस्था उस्तै भएकाले त्यसैगरी माध्यामिक तह पनि पूरा गरेँ ।
कति दिन त किताब–कापी किन्न पैसा नहुँदा भारतमा ज्यामी र कुल्ली काम पनि गरेको छु । मनमा पढाइप्रतिको उत्कट चाहना तर गोजी रित्तो ! कुल्ली काम नै विकल्प थियो र पढ्ने चाहना पूरा गरेँ ।
भारतीय नागरिक नलेख्दा छात्रवृत्ति पाइन
प्रथम श्रेणीमा मैले माध्यामिक तह सकाएको हुँ । प्रवेशिका परीक्षामा त्यत्रो अंक ल्याएपछि भारतीय विद्यालयले छात्रवृत्ति प्रदान गर्थ्यो । भारतीय नागरिकका लागिमात्र त्यो सुविधा थियो । मलाई थाहा भएसम्म दार्चुला, बैतडीतिरका प्रायः मानिसहरूले त्यतिबेला भारतीय नागरिक लेखेरै त्यो सुविधाको उपभोग गर्थे ।
मलाई पढाउने भारतीय शिक्षक थिए । उनले पनि सुझाए– कलेजको छात्रवृत्ति फारममा भारतीय नागरिक लेख् र निःशुल्क पढ् । तेरो बाउले भिक्षा मागेर तँलाइ क्याम्पस कसरी पढाउन सक्छ ?
तर, मैले ज्यान गए पनि मानिनँ । देशको नाम बदलेर पढ्नुभन्दा बरु अज्ञानी बन्नु बेस ! मेरो मनमा त्यही आयो र बडो मुस्किलले आईएससी सकाएँ । सानैदेखि विद्रोही स्वभावको भएकाले होला, यस्तो बानीले मलाई धेरै ठाउँमा अप्ठ्यारो बनाएको छ । गरिबीभन्दा इमान–जमान ठूलो भन्ने लागिरहन्थ्यो । गरिबी त एकदिन आफैँ दूर होला तर बेचिएको इमान फर्कंदैन भन्ने विचारले घर गरिरहन्थ्यो ।
कांग्रेससँग झुकाव
घरपरिवार ज्योतिष, पढेलेखेको पनि । २०१५ सालको सुरुवाततिर हुनुपर्छ, विश्वेश्वरप्रसाद कोइराला सुदूरपश्चिम पुगेका थिए । उनले दार्चुलाको पनि भ्रमण गरे । त्यतिबेलाको माहोलै अर्को थियो, लगत्तै भएको आम निर्वाचनमा हाम्रो क्षेत्रबाट पनि कांग्रेसले नै विजय हात पार्यो । किसनलाल लेखकले चुनाव जितेका हुन् । उनी बैतडीका थिए । गाउँका जिम्मावाल मुखिया, तालुकदार सबै कांग्रेस भएकाले कांग्रेसले सोलोडोलो जित्यो ।
तर, २०१७ साल पुस एक गते राजा महेन्द्रले ‘कु’ गरेर सत्ता हत्याएपछि माहोलै अर्को भयो । गावैँ कांग्रेस भएकाले त्यहाँ पञ्चायत पस्न सकेन । २०१८ सालमा भएको राष्ट्रिय पञ्चायतको चुनाव हाम्रो गाउँमा हुनै सकेन । दुई पटकको प्रयास विफल भएपछि तत्कालीन बैतडी जिल्लाका बडा हाकिम झा थरकाले सेना लगाएर निर्वाचन गरे । तर, कोही मत हाल्न गएनन्, के–के गरेर चुनावको नाटक मञ्चन गरे ।
२०१८ सालमा सुवर्ण शमशेरले सशस्त्र विद्रोहको अगुवाइ गरे । त्यस बेला बझाङका राजा ओमजङ्ग थिए । भारततिरै सल्लाह गरेछन् र सेवानिवृत्त सेना प्रहरीका मानिस भेला पारेर १५–१६ जनाको टुकडी तयार पारेछन् अनि सशस्त्र विद्रोहको तानाबाना बुनेछन् । बझाङ आफ्नै जिल्ला भएकाले उनले निधो गरेछन्, पहिला बझाङ कब्जा गर्ने र त्यसपछि सुदूरपश्चिम पूरै नियन्त्रणमा लिने ।
त्यही सल्लाह गरेर उनीहरू हाम्रो गाउँमा आए । शंकरपुर कांग्रेसको उर्वर भूमि थियो । पञ्चायतले त्यतिबेला हाम्रो गाउँलाई अराष्ट्रिय तत्वको गाउँ भनेर घोषणा गरेको थियो । उनीहरू राति गाउँमा आएछन् र बास बसेछन् ।
गाउँलेहरूले उनीहरूको भव्य स्वागत गरे । त्यतिबेला म विद्यालयमा पढाउथेँ । मेरो आईएससीमात्रको पढाइ भएकाले प्रधानाध्यापक भारतीयलाई राखिएको थियो । तर, प्रशासनिक कामदेखि पठनपाठनसम्मको सबै काम म नै हेर्थेँ । हतियारसहित उनीहरू विद्यालयमा आएर ठूला विद्यार्थी पनि विद्रोहमा सरिक गराउने भन्न थालेँ तर मैले दिइनँ । गाउँका दुई–चार जनालाई टुकडीमा समावेश गरेर उनीहरू बझाङ आक्रमणका लागि हानिए ।
तर, सुराकीले बीचमा नै प्रशासनलाई सुइँको दियो र उनीहरू बैतडी नपुग्दै घेराबन्दीमा परे । सेनाले भीषण गोलाबारी गर्यो । क्याप्टेन ओमजङ्ग त्यहीँ मारिए । अरु थुप्रैको हताहती भयो । सो आक्रमणका कति मारिए भन्ने आजसम्म कसैलाई पत्तो छैन । कति युद्धस्थलमै मारिए । नियन्त्रणमा लिएका कतिलाई सेनाले खाल्डोमा हालेर जिउँदै पुर्यो । नियन्त्रणमा लिएपछि सेनाले पहिला खाल्डो खन्न लगाएर पछि त्यहीँ हालेर अमानवीय यातना दिएर मार्यो भन्ने हामीले सुनेका हौँ । इतिहासको चर्चित ‘बझाङ काण्ड’ आजसम्म गुमनाम बनाइयो । न कांग्रेसले खोजी गर्यो, न कसैले त्यो घटनाको उत्खनन् नै गर्नुपर्छ भन्ने ठान्यो ।
घटनापछि कैयौँले गाउँ छोडे । युद्धकै बखत् महाकालीमा फाल हाल्दा कति नदीमा बगे, कति भारत प्रवासित भए, त्यसको यकिन छैन । महाकाली नदी पार गरेर बाँचेका रामचन्द्र हमाल थिए, पछि तिनलाई काठमाडौँको सेन्ट्रल जेलमा सेनाले क्रुर यातना दिएर मार्यो ।
हाम्रो परिवारमा पनि काका जेल पर्नुभयो । विद्यालयका संस्थापक काशीनाथ पन्त हिरासतमा पुगे । हजुरआमालाई सेनाले नांगेझार बनाएर कुट्यो । प्रहरीहरूले गोप्य रूपमा मलाई पनि भने, अब तँ यहाँबाट भाग् । नत्र तँलाई जिउँदै खाल्डामा पुर्छन् ।
अभिभावकहरू बोलाएर विद्यालय अर्कैलाई जिम्मा लगाएर म त्यहाँबाट विस्थापित भएर काठमाडौँ आए । प्रअलाई पनि अनेक मानसिक तनाव दिएपछि उनले पनि विद्यालय छाडे । संस्थापक नै जेल परेपछि विद्यालय तहसनहस हुने नै भयो ।
र, बनेँ साझाको कन्डक्टर
गाउँबाट विस्थापित भएर पिथौरागढ आएँ । त्यहाँ दुर्गादत्त जोशी र द्ववारिकादेवी ठकुरानीले कांग्रेसको कार्यालय खोलेर बसेका थिए । जोशी र ठकुरानी (०१५ सालको वीपी मन्त्रिमण्डलमा मन्त्री थिए) सँग म झोक्किएँ– यस्तो असफल विद्रोह गर्ने ? सबै मारिए । मर्न बाँकी सबैलाई सेनाले भटाभट मार्दैछ । म त बालबाल बचेर आएँ, अब के गर्छौ ?
उनीहरूले जवाफ दिए– उनीहरूलाई सघाउन अर्को टोली ‘मुभ’ भइसकेको थियो । तर, उनीहरू पहिल्यै घेराबन्दीमा परे । हाम्रो कमजोरी भएकै हो ।
उनीहरूको कुरा नसुनी म काठमाडौँ हिडेँ । काठमाडौँको दुःखको वर्णन गरेर साध्यै छैन । आईएससी त पढेको थिएँ । सर्टिफिकेट हातमा भए पनि मलाई कसैले काम दिएन । काम दिन्छु त भन्थे तर पृष्ठभूमि खोतल्दै जाँदा म अराष्ट्रिय तत्व भएको उनीहरूले पाउँथे र पन्छिन्थे ।
त्यही बेला मैले डा. के आई सिंहलाई पुतलीसडकमा भेटेँ । त्यहाँ उनको कार्यालय थियो । मैले के आई सिंहलाई पनि बेलिस्तिार लगाएँ । उनले जुँगामा ताउ लगाउँदै भने, “मेरो जुँगाले गर्छ क्रान्ति, ती नामर्दहरूले गरिखाँदैनन् ।
शिवराज श्रेष्ठ साझाका जीएम थिए । यस्तो पढेको मान्छे कन्डक्टर बन्न आयो भन्लान् भनेर म आईएससीको सर्टिफिकेट लुकाएर जागिर खान पुगेको थिएँ । श्रेष्ठलाई सबै दुःख कहेपछि उनी मलाई कन्डक्टरमा राख्न राजी भए ।
कन्डक्टर बन्न पनि सजिलो थिएन । तीन महिना तालिम नै लिनुपर्थ्यो । कसरी टिकट् काट्ने, कहाँ घण्टी बजाउने आदि सिकेपछि म कन्डक्टर भएँ । साझामा साढे तीन वर्ष व्यतीत गरेँ ।
साझामा कन्डक्टर थिएँ तर मैले अन्यत्र पनि जागिरका लागि भौँतारिन छाडेको थिइनँ । जहाँ पनि शून्यबाहेक केही हात लागेको थिएन । महिनामा चार–पाँच ठाउँमा आवेदन दिन्थेँ । नाम पनि निस्किन्थ्यो तर नियुक्ति गर्ने बेलामा पञ्चायतसँग सम्बद्ध संघ÷संगठन, भ्रातृ संस्थाहरूको सदस्य नभएकाले फालिन्थेँ । साझाको तलब ८० रुपैयाँ थियो, त्यसले के पुग्नु ?
एक जना सुपकै साथी थिए, मेरो दुर्दशा देखेर उनले युवक संगठनबाट एउटा सिफारिस ल्याइदिएका थिए– निज व्यक्ति राष्ट्रिय युवक संगठनको गाउँस्तरको कार्यकर्ता हो भन्ने बेहोराको ।
त्यतिबेला नवराज सुवेदी युवक संगठनको अध्यक्ष थिए । उनी गाउँ पञ्चायतका हर्ताकर्ता पनि थिए र झगडीया भएकाले मुद्दामामिला मिलाउन काठमाडौं ओहोरदोहोर गरिरहन्थे । तर, आफ्नै हठ र स्वाभिमान दाउमा राख्न नचाहने स्वभावका कारण त्यो सिफारिस पनि मैले कतै पेस गरिनँ ।
यस्तै हठ मैले भारतमा पनि देखाएको थिएँ । भारतीय नागरिक नलेखेकै कारण भारतीय सेनाको सेकेण्ड लेफ्टिनेन्टमा निस्किसकेको नाम पनि काटिएको थियो । त्यतिबेला गुरुङ थरका आफन्त पर्नेले नै मलाई हप्काउनुभएको थियो– यस्तो हठले तिमीले नपाउनु पर्ने दुःख पनि पाउँछौ, बुझ्यौ !
पाइलट बन्ने भूत सवार
साझाको कन्डक्टर थिएँ । त्यतिबेला छड्के झोला भिरेर अस्कल क्याम्पसको बाटो हिँड्थे । सोही समय पाइलटको जाँच दिएँ । हाकिमलाई गएर पढ्ने व्यवस्था मिलाइदिन अनुनय विनय गर्थेँ । तर हाकिम सोध्थे– ह्वाट इज द डिफरेन्ट बिटविन हेलिकोप्टर एन्ड जेट ?
उसको त्यो मलाई अल्झाउने नियतमात्रै थियो । त्यसैले मैले जवाफ दिएँ– सर ! म सुदूरपश्चिममा जन्मिएको मान्छे, मलाई यति धेरै थाहा छैन, गाडी त तराई झरेपछि मात्रै देखेको हुँ । पढ्ने मौका दिनुभयो भने फरक भनेर होइन, उडाएरै देखाइदिउँला नि ! नाम त निकालिदिए तर आँखा कमजोर छ भनेर अन्तिममा फालिदिए ।
तुलसी गिरीलाई पत्र
केही सीप नचलेपछि एकदिन सिंहदरबार पुगेको थिएँ, त्यहाँ सिकायत पुस्तिका देखेँ । त्यहाँ आफ्ना सबै दुःखको फेहरिस्त उतारेँ । के हेर्लान् र भन्ठानेको थिएँ, होइन रहेछ । केही दिनपछि शिक्षा मन्त्रालयमा जानू भनेर पत्र पो आयो । त्यतिबेला मन्त्रिपरिषद्को अध्यक्ष तुलसी गिरी थिए । उनले आफैँ सिकायत पुस्तिका हेर्दा रहेछन् ।
त्यसपछि म शिक्षा मन्त्रालयमा गएँ । त्यसभन्दा अघि नै बर्मामा इन्जिनियरिङ पढ्न जाने मौका मिलिसकेको थियो । तर, त्यहाँको सरकार परिवर्तन भएकाले छनोटमा परिसकेको नाम पनि बोलाएको थिएन ।
शिक्षा मन्त्रालयले नाम आएर पनि बर्मामा जान नपाएकालाई रुस पठाउन लागेको रहेछ । त्यसमा मेरो नाम पनि समावेश भयो ।
रुस जानुपर्छ भनेर रोएँ
सरकारले रुस त पठाउने भयो तर मलाई किन–किन रुस मन नै पर्दैनथ्यो । कांग्रेस पृष्ठभूमि भएकाले होला, कम्युनिष्टहरू देख्दै रिस उठ्थ्यो । घरमा आएर रोएँ– म मान्छे हुँ, मलाई सरकारले रुस पढ्न पठाउने भयो । म कम्युनिष्टको देश जान्न । तर, साथीभाईले सम्झाएपछि म रुस जान तयार भएँ ।
रुसको रमाइलो प्रसंग छ । हामी लेफ्ट ड्राइभ गर्छौँ तर त्यहाँ राइट ड्राइभ गर्दा रहेछन् । विमानस्थलबाट बाहिरिने बित्तिकै गाडी चढेको त ड्राइभरले दायाँ साइडबाट गाडी हाँक्यो । म त गाडीभित्रबाटै चिच्याउन पुगेंछु– ए ! रङ साइड । त्यहाँ पनि साथीहरूले सम्झाए– यहाँ दायाँ साइडबाटै गाडी चलाइन्छ ।
रुसबाट झण्डै फर्काइएन
पिपल्स फ्रेन्ड्ली युनिभर्सिटीमा अध्ययनको लागि रुस त पुगेको थिएँ । तर, त्यहाँका सरकारी अधिकारीहरूलाई कसले लाइदिएछ– यो त सन्दिग्ध हो, यहाँको सरकारको जासुसी गरिरहेको छ ।
त्यसपछि मलाई अनेक बहाना गरेर रुसबाट नेपालै फर्काउन आँटियो । निहुँ बनाइएको थियो– मलाई टीबी भएको छ । यस्तो बिरामीले पढ्न सक्दैन । काठमाडौँको अनेक संघर्ष र दुःखले मेरो हालत पनि जीर्ण भइसकेको थियो । खोक्दाखोक्दै मुखबाट रगत आउँथ्यो । असह्य पीडा हुन्थ्यो । त्यसपछि मेरो मनमा आयो– अब म बाँचेर काम छैन । मरे हुन्छ म । प्राण त्याग्ने इच्छा पनि नजागेको होइन । साथीहरूले सम्झाउने अनेक प्रयत्न गरे ।
त्यत्तिकैमा कमर शाह भेट भए । उनी नेकपा रायमाझी समूहका पोलिटब्यूरो सदस्य थिए । माक्र्सवादी अध्ययनका लागि उनी रुस पुगेका रहेछन् । मेरो दुःख देखेपछि शाहले त्यहाँको सरकारका प्रतिनिधिसँग कुरा गरे र उपचारको प्रबन्ध मिलाइदिए ।
म विश्वविद्यालयको पोलिक्लिनिकमा पुर्याइएँ । त्यहाँ पुर्याएको चौथो दिनमा एकजना बूढा चिकित्सक आएर सबै चेकजाँच गरे र निष्कर्ष निकाले– तिमीलाई टीबी भएको छैन, तिमीलाई पर्याप्त खाना र आरामको जरुरत छ ।
टर्निङ प्वाइन्ट
कम्युनिष्टको देश जानुपर्यो भनेर आँसु चुहाउने म अन्तिममा आफैँ कम्युनिष्ट बनेँ । वास्तवमा रुस पुगेपछि कम्युनिष्टप्रतिको मेरो धारणा बदलियो । सडकमा राखेका माक्र्स, एंगेल्सका सालिक र तिनलाई देवता मानेको देख्दा उनीहरूको सिद्धान्तप्रति एकाएक कौतुहलता जाग्यो ।
अस्पतालमा बस्दा नर्सहरूको व्यवहार, बिरामीप्रतिको उत्तरदायित्व र लगनशीलता देख्दा मलाई कम्युनिष्टप्रति एकाएक मोह जागृत भयो । बिरामी निको भइसकेपछि कमर शाह र मेरो भेटघाट झनै बाक्लियो । चार–पाँच जना भेला भएर ‘जिन्दगीमा केही नयाँ गर्नुपर्छ’ भनेर माइन्युट नै गर्यौँ । यसको अर्थ हामीले कम्युनिस्ट पार्टीको काम गरिरहेका छौँ भन्ने कसैलाई थाहा नहोस् भन्ने थियो । यसकारण कि हामीसँग अध्ययनका लागि जाने पञ्चायत कांग्रेसमा आबद्ध पनि थिए ।
मैले विश्वविद्यालयमा पढ्दा थुप्रैलाई कम्युनिष्ट बनाएँ । भारत, पाकिस्तान, श्रीलंकालगायत मुलुकका विद्यार्थीहरूलाई कम्युनिष्ट पार्टीको सदस्य बनाएँ । म स्वयंले पनि रसियामा नै कम्युनिष्ट पार्टीको सदस्यता लिएको हुँ ।
नेपाल फर्किएपछि पूर्णकालीन राजनीति
एमई पूरा गरेर म ०२७ सालमा नेपाल फर्किएँ र कम्युनिष्ट पार्टीको विस्तारमा लागेँ । विद्रोही चेत मेरो नेपालमै थियो, रुस पुगेपछि मेरो चक्षु अझै उघारियो । ०२३ सालमा घर बिदामा आएको बेलामै मैले सुदूरपश्चिमा कम्युनिष्टको बिजारोपण गरिसकेको थिएँ । सुदूरपश्चिममा कम्युनिष्ट भित्र्याउने पहिलो व्यक्ति मै हुँ । नेपाल फर्किएपछि मैले पार्टी स्कुल विभाग चलाएँ र सुदूरपश्चिमका जिल्लाहरूमा अभियान चलाएँ । पछि कमर शाह पार्टीको फस्र्टम्यान र म सेकेन्डम्यान भयौँ । २०४८ सालमा कृष्णराज बर्मा, तुलसीलाल अमात्य र विष्णुबहादुर मानन्धरले नेतृत्व गरेको कम्युनिष्ट पार्टीबीच एकता गर्यौँ र नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) गठन गर्यौँ । ०६३ सालदेखि ०७२ सालसम्म म त्यसको अध्यक्ष भएँ ।
अन्तिममा मन्त्री बनेँ
पहिलो संविधानसभाको निर्वाचनमा हाम्रो पाँच सिट थियो । पार्टीको अध्यक्ष भएकाले दलको नेता पनि मै थिएँ । त्यो बेला पनि सरकारमा सहभागी हुन प्रस्ताव नआएको होइन । प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल नेतृत्वको सरकारमा सहभागी हुन आएका अनुरोधलाई नकार्दै आएको थिएँ । नेकपा संयुक्त सरकारमा सहभागी नभएको भने होइन, प्रचण्डको पालामा गणेश शाह, माधव नेपालको पालामा ठाकुर शर्मा, झलनाथ खनालको पालामा सुनिल मानन्धर सरकारमा गएका थिए ।
बाबुराम भट्टराईको पालामा भने म आफैँ सरकारमा सहभागी भएँ र भूमिसुधार मन्त्री बनेँ । त्यति बेला संविधान निर्माणको कुरा थियो । वास्तवमा भन्नुपर्दा संविधानमा दस्तखत गर्न म सरकारमा गएको थिएँ, त्यो पनि अन्तिम समयमा । बिडम्बना ! संविधान नबनी संविधानसभा नै विघटन हुने अवस्था सिर्जना भयो ।
१ सय २० दिन मन्त्री भएँ । सरकारको नेतृत्व गरिरहेको पार्टी, तिनका कार्यकर्ताहरूको अनेकन दबाबहरू नआएका होइनन् । तर पनि देश र जनताको पक्षमा केही गरौँ भन्ने थियो र त्यसमा नै केन्द्रित भएँ । नढाँटी भन्नुपर्दा मलाई मन्त्री बन्दा कुनै गौरवबोध भएन । बरु, कहिले त्यहाँबाट हटौँ भन्ने छटपटाहटमात्रै भयो ।
अब राजनीतिमा त्यति सक्रिय हुन्नँ । पत्रपत्रिकामा आफ्नो विचार अभिव्यक्त गर्ने र अध्ययनलाई नै अघि बढाइरहेको छु । यसका अलावा मभित्र साहित्यक कुण्ठा छ । उहिल्यै त्यसलाई कविताको माध्यमबाट अभिव्यक्त गरेको थिएँ, अहिले त्यसलाई किताबाकारमा ल्याउने कोसिसमा लागिरहेको छु ।
प्रकाशित मिति: मंगलबार, साउन ४, २०७३ १६:०५
प्रतिक्रिया दिनुहोस्