अर्थ व्यवसाय
काठमाडौं । नेपाल विद्युत प्राधिकरण र प्रवद्र्धक तेह्रथुम पावर कम्पनीबीच विद्युत खरिद बिक्री सम्झौता (पीपीए) भएको छ । तेह्रथुम पावरले साढे ७ मेगावाटको माथिल्लो खोरङाखोला आयोजनाको निर्माण गरी उत्पादन हुने बिजुली विद्युत प्राधिकरणलाई बेच्ने छ ।
आयोजना आगामी ०७६ पुुुस १ गते सम्पन्न हुने कम्पनीका प्रवन्ध निर्देशक मोहनकुमार डाँगीले बताए । उनका अनुसार वर्षादको ८ महिनामा प्रतियुनिट ४ रुपैयाँ ८० पैसा र हिउँदका ४ महिनामा प्रतियुनिट ८ रुपैयाँ ४० पैसामा पीपीए भएको छ । आयोजनाले जग्गा खरिद गरिसकेको डाँगीले बताए ।
आयोजना बनाउन १ अर्ब ३४ करोड रुपैयाँ लाग्ने भएको छ । आयोजनामा माछापुच्छ्रे बैंकको अगुवाईमा ऋण लगानी हुने उनले जानकारी दिए । ३० प्रतिशत प्रवद्र्धकको र ७० प्रतिशत ऋण लगानी हुने भएको छ । आयोजनले प्रभावित स्थानीय बासिन्दालाई १० प्रतिशत र २० प्रतिशत सेयर सर्वसाधारणमा निश्कासन गर्ने भएको छ । पीपीए भएकाले अब आयोजनालाई लगानी जुट्ने डाँगीको भनाइ छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ३०, २०७३ १६:२६
प्रतिक्रिया दिनुहोस्