
काठमाडौं । क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडको एकैदिन १३ आर्थिक वर्षको साधारणसभा सम्पन्न भएको छ । फाइनान्सको आर्थिक वर्ष २०६७/०६८ देखि आर्थिक वर्ष २०७९/०८० सम्मका दशौँ, ११औँ, १२औँ, १३औँ, १४औँ, १५औँ, १६औँ, १७औँ, १८औँ, १९औँ, २०औँ, २१औँ र २२औँ गरी १३ आर्थिक वर्षको वार्षिक साधारणसभा सम्पन्न गरेको हो । सभा अध्यक्ष तिलकबहादुर रानाभाटको अध्यक्षतामा सम्पन्न गरेको छ ।
संस्थालाई नेपाल राष्ट्र बैंकले २०६९ सालमा समस्याग्रस्त संस्था घोषणा गरी सामान्य बैंकिङ कारोबारमा रोक लगाएपछि साधारणसभा हुन सकेको थिएन । संस्थाले आफ्नो वित्तीय अवस्थामा सुधार ल्याई बाँकी रहेका लेखा परीक्षण सम्पन्न गरी राष्ट्र बैंकको स्वीकृतिपश्चात सोमबार १३ आर्थिक वर्षको साधारणसभा सम्पन्न गर्न सफल भएको हो ।
सभाले विगत १३ आर्थिक वर्षको वित्तीय विवरण पारित, लेखा परीक्षकको नियुक्तिको अनुमोदन, सञ्चालक समितिमा भएको परिवर्तन र कामकारबाहीको अनुमोदन, ऋण असुलीका कार्यहरूको अनुमोदन, संस्थाको नाम परिवर्तन गर्ने साथै गाभिने वा प्राप्तिसम्बन्धी विषयलाई सर्वसम्मत रूपमा पारित गरेको छ ।
संस्थाको विनियमावलीको व्यवस्थाबमोजिम सम्पन्न निर्वाचनमा संस्थापक सेयरधनीबाट तिलक रानाभाट, जगतराज खनाल र रञ्जन रायमाझी तथा सर्वसाधारण सेयरधनीबाट निर्मल दाहाल र मोहन खड्का निर्विरोध निर्वाचित भएको फाइनान्सले जनाएको छ । संस्थाको स्वतन्त्र सञ्चालक राजेश्वर श्रेष्ठ चयन भएका छन् ।
सभामा हालसम्म भएका कामकारबाही र संस्थाको वित्तीय अवस्थाको सम्बन्धमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रदीप भट्टराईले जानकारी गराएका थिए । उनले वित्तीय अवस्थामा थप सुधार गरी संस्थालाई अघि बढाउन संस्थागत सुशासन, जोखिम व्यवस्थापन लगायतका कार्ययोजनासहित राष्ट्र बैंकमा समस्याग्रस्त संस्थाबाट फुकुवाका लागि पेस गर्ने र संस्थालाई सामान्य बैंकिङ कारोबार गर्दै अघि बढाउने लयका साथ क्रियाशील रहेको जानकारी गराएका थिए ।