
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई धन्यवाद ज्ञापन गरेका छन् ।
नेपालका राजावादीले व्यवस्थाविरुद्धको आन्दोलनमा आफ्नो फोटो बोकेको केही दिनमै आदित्यनाथले दिल्लीस्थित नेपाली दूतावास पुगेर नेपालको गणतान्त्रिक व्यवस्थामा आफ्नो समर्थन रहेको र व्यवस्थाविरोधीप्रति कुनै समर्थन नरहेको बताएको दाबी गर्दै देउवाले उनलाई धन्यवाद दिएका हुन् ।
“यहाँ राजावादी आन्दोलनमा योगी आदित्यनाथको फोटो प्रदर्शन गरेका थिए । मलाई थाहा छ, भारतीय नेताहरूको राजावादी आन्दोलनमा कुनै समर्थन छैन,” देउवाले भने, “नेपालको गणतन्त्रमा आफ्नो पूर्ण समर्थन रहेको र आफू नेपालको संविधान र व्यवस्थाविरुद्ध नरहेको भनी नयाँ दिल्लीस्थित नेपाली दूतावासमै पुगेर आफ्नो प्रतिबद्धता राखिसक्नुभएको छ ।”
देउवाले गणतन्त्रप्रतिको प्रतिबद्धताका निम्ति भारतीय नेताहरूलाई धन्यवाद दिए ।