site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
पूर्वउपराष्ट्रपतिको पुनरागमन, चाहना पुनको कि प्रचण्डको ?

काठमाडौं । राज्यको दोस्रो वरीयता (मर्यादा)को पद हो, उपराष्ट्रपति । त्यो पदको कुर्सीमा नन्दबहादुर पुनले सात वर्षभन्दा बढी समय बिताए । 

उनी यतिखेर नेकपा माओवादी केन्द्रका सक्रिय राजनीतिमा फर्किएका छन् । सँगै, त्यो पदमा पुगेका पात्रले फेरि सक्रिय राजनीतिमा फर्किनु उचित हो या होइन ? बहस पनि भित्रिएको छ । उनलाई माओवादी केन्द्रले उपाध्यक्ष बनाएको छ ।

माओवादीको स्थायी समिति सदस्यबाट राजीनामा दिँदै उपराष्ट्रपति बनेका पुनले फेरि माओवादीबाट राजनीति गर्ने संकल्प लिएका छन् । पार्टी केन्द्रीय कमिटीको म्यान्डेट अनुसार, उनलाई उपाध्यक्षमा मनोनित गरेको जानकारी पार्टी महासचिव देव गुरुङले दिए ।

Argakhachi Cement Island Ad

“केन्द्रीय कमिटी बैठकले उपयुक्त समयमा केन्द्रीय कार्यालयले जिम्मेवारी दिने निर्णय गरेको थियो,” महासचिव गुरुङ भन्छन्, “त्यहीअनुरुप उपाध्यक्ष मनोनीत गरेको हो ।”

माओवादीको पछिल्लो केन्द्रीय समितिको बैठक गएको पुसमा बसेको थियो । पुन गएको कात्तिक अन्तिममा बसेको पार्टी पदाधिकारी बैठकमा आमन्त्रित सदस्य मात्र थिए । पार्टीमा उत्पादन क्षेत्र हेर्ने गरी जिम्मेवारी पाएका ५९ वर्षीय पुन उपाध्यक्ष बनेका हुन् । 

२०७२ कात्तिक १५ गतेदेखि ०७९ चैत ५ गतेसम्म उपराष्ट्रपतिको कुर्सीमा रहँदै पुनले राज्यको उच्चस्तरकै सुविधा भोग गरे । अर्थात् उनलाई दुई कार्यकालको उपराष्ट्रपति बन्ने अवसर मिल्यो ।  विद्यादेवी भण्डारी राष्ट्रपति रहँदा उनी उपराष्ट्रपति बनेका थिए । 

नेपालका प्रथम डा. राष्ट्रपति रामवरण यादव र उपराष्ट्रपति परमानन्द झा राजनीतिबाट टाढै छन् । तर, त्यसपछि राष्ट्रपति बनेकी भण्डारी नेकपा (एमाले)को सक्रिय राजनीतिमा फर्कन प्रयत्नमा छन् । पुन चाहिँ औपचारिक सक्रिय राजनीतिक पात्र बनेका छन् ।राज्यको त्यो तहको उच्च ओहदामा आसिन भएका व्यक्ति राजनीतिमा फर्कन पाउने कि नपाउने भन्ने बहस चल्दै आएको छ । तर, कानुनले राजनीतिक प्रक्रियामा भाग लिन रोकेको छैन । पूर्वउपराष्ट्रपतिको पुनरागमनले पनि नैतिक प्रश्न भने उब्जाएको छ ।

ठीक कि बेठीक ?

प्राध्यापक डा. लोकराज बराल राजनीतिमा फर्कन कानुनी अड्चन नभएका व्यक्तिले के गर्ने या के नगर्ने भन्ने निर्धारण आफैँले गर्न पाउने बताउँछन् । “कानुनले रोकेको छैन । व्यक्ति र पार्टीको कुरा हो । राष्ट्रपति भइसकेको व्यक्ति विद्या भण्डारी त एमालेको कार्यक्रममा गइरहेकी छन् । त्यसरी राजनीतिमा नफर्किएको भए एउटा मर्यादा हुन्थ्यो भन्ने भावना हो,” उनी भन्छन् । 

तर, अन्तर्राष्ट्रिय तहमा त्यो तहको जिम्मेवारी सम्हालेको व्यक्ति फेरि सक्रिय राजनीतिमा फर्किएको अभ्यास खासै नदेखिएको उनको भनाइ छ । “बाहिरी मुलुकहरुमा राजनीतिमा नै सक्रिय भएको उदारहण चाहिँ खासै छैन,” बरालले बाह्रखरीसँग भने, “नेता भएपछि प्रधानमन्त्रीसम्म हुने कुरा होला । मर्यादाका हिसाबले त तल नै हुने भयो ।”   

राजनीतिमा पनि फर्कने र सेवा सुविधा पनि लिने चाहिँ गर्न नमिल्ने उनले बताए । पूर्वउपराष्ट्रपतिलाई राज्यले यही भनेर सुविधा तोकेको छैन । सुरक्षाकर्मीलगायतका सुविधा भने दिइने गरिएको गृहमन्त्रालयका कर्मचारीहरु बताउँछन् ।

माओवादीका नेता तथा राष्ट्रियसभाका पूर्वसदस्य रामनारायण बिडारी राजनीतिमा फर्कन रोक्नु कति उपयुक्त भन्दै प्रतिप्रश्न गर्छन् । राजनीतिक व्यक्तिले पार्टीको आबद्धता त्यागेर उक्त पदमा पुग्ने भएकाले पुनः सक्रिय हुन रोक्न नमिल्ने धारणा उनको छ । 

“उपराष्ट्रपति वा राष्ट्रपति दलमा लागेका, राजनीति गरेका कारण नै बनेका हुन् । राजनीति नगरेको भए त्यो पदमा पुग्दैनथे,” उनको ठम्याइ छ, “यो राजाको जस्तो पद होइन । दल छाडेर पदमा र पद छाडेर दलमा जान रोक्नु कतिको उपयुक्त होला ? त्यसकारण व्यक्तिको इच्छामा भर पर्ने कुरा हो ।”

बिडारी विगतमा आफूहरुले लगाएको दल वा पद छाडेर दल भन्दै लगाएको नारा पनि स्मरण गर्छन् । “जनमुखीकालमा हामीले एउटा नारा लगाएका थियौं, दल छाडी पद, पद छाडी दल । अर्थात् एकै समयमा एक व्यक्ति दलमा र सार्वजनिक पदमा बस्न पाइँदैन । तर, दल छाडेर पदमा र पद छाडेर दलमा जाने भन्ने थियो,”  उनी सम्झन्छन् । 

राजनीतिमा आएपछि पूर्ववतः पदमा सेवा सुविधा पाइने गरेको भए छाड्नुपर्नेमा उनले जोड दिए ।

माओवादीका महासचिव देव गुरुङ पदमा रहँदा मर्यादामा बस्ने र त्यहाँबाट बाहिरिएपछि आफ्नो चाहनाअनुरुप अघि बढ्न पाइने जिकिर गर्छन् । 

पदमा रहँदा मर्यादामा रहनुपर्ने भनाइ उनको छ । “संवैधानिक कानुनी रुपले राजनीतिमा लाग्न नपाउने भन्ने देखिँदैन । पदमा छँदा पदीय मर्यादामा रहने हो । पदबाट मुक्त भएपछि सामान्य नागरिक हो,” गुरुङले बाह्रखरीसँग भने, “नागरिकले राजनीतिक गतिविधि गर्न पाउने अधिकार छ ।”

गुरुङ पूर्वको हैसियतले पुनले राज्यबाट कुनै सुविधा नलिएको दाबी गर्छन् । “पूर्व उपराष्ट्रपतिको हैसियतले पाउने सेवा सुविधा पनि केही छैन । केही लिनुभएको छैन,” उनी भन्छन् । 

चाहना पुनको कि पार्टीको ? 

६० वर्ष पुग्न लागेका पुनको हुटहुटीले जिम्मेवारी दिन लागेको प्रष्टीकरण पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समिति बैठकमा दिएका थिए ।  पार्टीका पार्टीभित्रका दोस्रो तहका नेताहरुमा सन्तुलन मिलाउन पुनलाई प्रचण्डले अघि बढाएको पनि दाबी गर्दै आएका छन् ।

तर, बिडारी भने पुनकै चाहनाले जिम्मेवारी दिएको बताउँछन् । “त्यहाँ बसुन्जेल पदीय काम गरेँ । यो उमेरमा निस्क्रिय बस्न सक्दिनँ । म हिजो नि राजनीति गरेर आएको हुँ, अब पनि राजनीति गर्छु भन्ने कुरा मसँग पनि गर्नुभएको थियो । उहाँको चाहना हो,” पुनसँगको आफ्नो संवाद बिडारीले सुनाए । 

माओवादी महासचिव गुरुङले व्यक्ति र पार्टी दुवैको चाहना मिलेकाले जिम्मेवारी दिइएको बताउँछन् । 

“कम्युनिस्ट आन्दोलनमा लागिरहनुभएको थियो । व्यक्तिको इच्छा नभइ पार्टीले भनेर पनि केही लाग्दैन । व्यक्तिको इच्छा मात्र भएर हुँदैन, पार्टीले पनि सहमत हुनुपर्यो । यसमा दुवैतर्फको कुरा हो ।” 

पुन २०४८ सालदेखि एकता केन्द्रबाट पूर्णकालीन राजनीतिमा होमिएका थिए । उनले माओवादी जनयुद्धमा सेनाको बटालियन कमिसार, बटालियन कमाण्डर, ब्रिगेड कमाण्डर, डिभिजन कमाण्डर, डेपुटी कमाण्डर र जनसेना प्रमुख भएर काम गरे ।

उनी पार्टीको केन्द्रीय सदस्य, पोलिटब्युरो हुँदै स्थायी समिति सदस्यसम्म बनेका थिए ।  उपराष्ट्रपतिबाट बाहिरिएको केही समय मौन रहेका पुन फेरि माओवादीका पदाधिकारी बनेका हुन् ।  पार्टीका उपाध्यक्षहरुमध्ये उनको वरीयतामा कहाँ पर्ने भन्ने चाहिँ खुलाइएको छैन । 
 

प्रकाशित मिति: सोमबार, चैत २५, २०८१  १८:१०
प्रतिक्रिया दिनुहोस्