site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
वायु प्रदूषण नियन्त्रणमा सरकार उदासीन

नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यले काठमाडौंलाई ‘अलकापुरी’ भनेका छन् । संसारकै सुन्दर मानव बस्तीमध्येको यो उपत्यका अहिले भने मानव बसोवासकै लागि ‘अस्वस्थकर’ मानिन थालेको छ । ‘वायु गुणस्तर सूचकांक’ अनुसार सोमवार दिउँसोमात्र पनि उपत्यकाको वायु सास फेर्नै नहुनेगरी बिखालु रहेको देखिन्छ ।

काठमाडौं उपत्यका विश्वकै प्रदूषित स्थानमा पर्दैआएको केही वर्षै भइसक्यो । हिउँदे झरी नपर्नेबित्तिकै उपत्यकाको हावा सासै फेर्न नहुने हदसम्म बिखालु हुनेगरेको छ । मूलतः मानवीय हेलचेक्य्राइँकै कारण यहाँको हावा प्रदूषित हुने गर्छ भने उपत्यकाको कचौरा आकारले गर्दा हुरी नचल्दासम्म यही रुमल्लिइरहन्छ । 

उपत्यकाको भूबनोट त बदल्न सकिँदैन । अर्थात्, यहाँको वायु प्रदूषित भएपछि सितिमित बाहिर जाँदैन । अहिलेसम्म नेपालमा पानी पार्ने प्रविधि भित्र्याइएको छैन भने हावा चलाउने यन्त्र पनि जडान भएको छैन । अर्कातिर, यस्ता कृत्रिम उपाय निकै खर्चिला भए पनि दिगो र प्रभावकारी हुँदैनन् ।

सवारी साधनले फाल्ने बिखालु धुवाँ, उद्योगहरूबाट निस्कने प्रदूषित वायु, घरायसी प्रयोगबाट हुने प्रदूषण, निर्माण कार्यबाट निस्कने धुलोलगायतका कारण उपत्यकालाई बिखालु हावाले ढाक्ने हो । यी सबै मानवीय क्रियाकलापसँग सम्बन्धित भएकाले यिनमा सुधार गर्न सकिने सम्भावना पनि हुन्छ ।

काठमाडौं उपत्यकाको वायु कति प्रदूषित छ भन्ने जानकारी यहाँ आउनेमात्र होइन आउन चाहने पर्यटकहरूले पनि राख्छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यममा समेत नेपालको वायु प्रदूषणको समाचार आउन थालेका छन् । श्वासप्रश्वासको गम्भीर बिरामीहरू त उपत्यकामा आउने आँट नै गर्दैनन् होला । 

वायु प्रदूषणको स्तर निकै खराब भएपछि बैठक बस्ने र उपायहरू सुझाउने अभ्यास पनि सरकारी कर्मकाण्डै बनिसकेको छ । हुरी वा झरीले प्रदूषण अलि कम हुनेबित्तिकै सबैले तिनलाई बिर्सने गरेका छन् । धेरैपटक सवारी साधनको नियमन, निर्माण कार्यमा अनुगमनलगायतका सुझावहरू सरकारलाई दिइए पनि कार्यान्वयन भएका छैनन् ।

सरकारले उपत्यकाको बनोट बदल्न सक्तैन । यस्तै जोरबिजोर वा यस्तै उपाय गरेर निजी सवारीमा केही कमी ल्याउन सक्ला तर पूरै रोक्न सक्तैन । निर्माण र घरायसी कारणबाट हुने प्रदूषण पनि पूरै रोक्न सम्भव देखिँदैन । तैपनि, सम्भव भए जति त गर्नु नै पर्छ ।

यसैले धेरै ठूलो महत्त्वाकांक्षा नराखी जे गर्ने हो, जति गर्न सकिने हो त्यसलाई इमानदारीपूर्वक सम्पन्न गरेर जनताको स्वास्थ्यका साथै काठमाडौंको छवि पनि थप बिग्रनबाट रोक्नुपर्छ । अन्यथा, जनस्वास्थ्यको भयावह सङ्कटका साथै पर्यटन व्यवसायले पनि वायु प्रदूषणको प्रकोपको सामना गर्नुपर्नेछ ।
 

प्रकाशित मिति: सोमबार, चैत २५, २०८१  १४:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro