विशेष
काठमाडौं । चालू आर्थिक वर्षको पहिलो चौमासिकमा ७१ चलचित्रले निर्माण अनुमति लिएका छन् । यीमध्ये ५४ वटा कथानक र १७ वटा भिडियो चलचित्र रहेको चलचित्र विकास बोर्ड निर्माण शाखाका अधिकृत गिरीश शर्माले जानकारी दिए । यो तथ्यांक कात्तिक २८ सम्मको हो ।
यो संख्या ०७२/०७३ को पहिलो चौमासिकको तुलनामा बढी हो । ०७२/७३ को पहिलो चौमासिकमा ५४ चलचित्रले निर्माण अनुमति लिएका थिए । शर्माका अनुसार अघिल्लो वर्ष कुल १३९ वटा चलचित्रले अनुमति लिएका थिए, जसमा २२ वटा भिडियो चलचित्र थिए ।
पहिलो चौमासिकको तथ्यांक हेर्दा अघिल्ला वर्षको तुलनामा यो वर्ष चलचित्रको संख्या बढ्ने देखिन्छ । चौमासिक तथ्यांकका आधारमा यो वर्षभरि करिब दुई सय चलचित्रले अनुमति लिने अनुमान छ ।
०७१/७२ मा १२४ र त्यसअघि १७७ वटा चलचित्रले बोर्डबाट अनुमति लिएको शर्माले बताए ।
अनुमति लिनेमध्ये केहीबाहेक अधिकांश निर्माण तथा प्रदर्शन हुने गरेका छन् । अनुमति लिएको तीन वर्षभित्र निर्माण सम्पन्न गरेर सेन्सर गराइसक्नु पर्ने कानुनी व्यवस्था छ । विशेष कारण देखाउँदै तीन वर्षअघि नै समय लम्ब्याउन निवेदन दिए थप एक वर्ष समय थप्ने व्यवस्था छ ।
०६४ अघिसम्म चल्तीमा रहेको सेलुलोइड प्रविधिलाई अहिले डिजिटल प्रविधिले विस्थापन गरिसकेको छ । भूषण दाहालको ‘कागबेनी’ले नेपालमा डिजिटल प्रविधि भित्र्याएको थियो ।
प्रकाशित मिति: सोमबार, कात्तिक २९, २०७३ १५:५७
प्रतिक्रिया दिनुहोस्