डोटेली लोक संस्कृतिमा लोकप्रिय “गोरा” एउटा धार्मिक, सांस्कृतिक, सामाजिक पर्व हो । सुदूरपश्चिम (हाल प्रदेश नं. ७) को डोटेली हिन्दु समुदायको महत्वपूर्ण एवम् प्रमुख चाड हो गोरा पर्व ! विशेषतः गौरी र महेश्वर (पार्वती र शिव) को पूजाअर्चना गरिने यो पर्व प्रत्येक वर्ष भाद्र शुक्ल र कृष्ण पक्षमा मनाइन्छ । शुक्ल पक्षमा मनाइने गोरा लाई ‘उजेली गोरा’ अर्थात् उज्यालो गौरा र कृष्णपक्षमा मनाइने गोरालाई ‘अनारी गोरा’ अर्थात अँध्यारो गोरा भनिन्छ ।
प्रदेश नं. ७ का ९ वटा जिल्लामा ५ दिनदेखि ८ दिनसम्म धुमधामका साथ मनाइने गोरा पर्व गौरा, गमरा, गवँराका जस्ता थुप्रै नामले पनि चिनिन्छ । यस पर्वमा दुवोको पनि पूजा गरिने भएकोले दुर्वाष्टमी पनि भन्ने गरेको पाइन्छ । गोरा पर्व पश्चात् यस क्षेत्रमा वर्षका अन्य चाडवाड सुरु हुने गर्छन् । गोराका धार्मिक अनुष्ठान र गोरामा गाइने गीत, नृत्य यहाँको लोकजीवन, वातावरणीय परिवेशसँग सम्बन्धित रहेका हुन्छन् ।
धार्मिक पक्ष
आफ्ना तपस्याका बलले पार्वतीले पाएको दुष्प्राप्य फलको सम्झनामा नारी आर्दशकी प्रतिमूर्ति ठानेर गौरीको र भक्तवत्सल तथा अभीष्ट फलदाता भनेर महेश्वरको पूजा गर्ने चलन यस पर्वमा चलेको पाइएको छ । सोही चलन र परम्पराका आधारमा मुख्यतः गौरीको पूजाआजा हुने यो पर्व गोःरा नामले प्रख्यात भएको हो । (जयराज पन्तको गौरा पर्वका गीत र गाथाहरूबाट ।)
गौरामा गाइने अठवालीको एक अंश
गवरीको ब्याउ भयो जो सुनी गावै
जो सुनी गावै जगिना फल पावै
आठ अठवाली जो धिया सुनै
गाउन्यैको होइजालो पुत्र कल्याण
सुन्यैको होइजालो गंगा स्नान (कृष्णराज ओझाको अठवाली गीतको शोधग्रन्थबाट) अर्थ : गौरीको विवाह भएको जसले सुन्छ र सुनाउँछ उसले यज्ञ गरेबापतको फल पाउँछ । आठ अठवाली जो छोरी गाउँछे उसले पुत्र कल्याण प्राप्त गर्छे जसले सुन्छे उसले गंगा स्नान गरे जस्तो फल पाउँछे भन्ने भाव माथिको अठवालीका पंक्तिमा व्यक्त गरिएका छन् ।
गोरा पर्वका सम्बन्धमा गौरी र महेश्वरको विवाह उत्सव, गौरी माताका व्रतका प्रभावका बारे थुप्रै गाथा पाइन्छन् । जनश्रुतिका आधारमा गौरी माताको व्रत बसेमा पुत्रप्राप्ति, सन्तान सुख र परिवार सुख प्राप्त हुन्छ भन्ने मान्यता छ ।
यसरी मनाइन्छ गोरा
गोरा पर्वको सुरु व्रत बस्ने महिलाले आफ्नो घर, गोठ सरसफाइ गरी शुद्ध, चोखो भई बिरुडा (पाँच वटा गेडागुडी – गहुँ, केराऊ, गहत, चना, मास र गुरास) भिझाएर गर्ने गर्छन् । अर्कोदिन खेतबारीबाट सामा (धानको बोटका बीचबीचमा उम्रिने धान जस्तो तर धानका बोटका जराभन्दा माथिको डाँठमा झुसहरु हुन्छन् भने यसमा हुँदैनन्) का साथसाथै काँस, कुश र तीलबाट दुलहीको रूपमा गौरीको प्रतिमा बनाई कपडाको घुम्टो, शृङ्गारपटार र गरगहनाले सजाइन्छ भने पिर्का (काठको चाक्लो फलेकमा बस्ने गरी खुट्टा पनि बनाइएको हुन्छ) जसलाई महेश्वर/शिवको प्रतिमालाई पनि रातो कपडाले छोपिन्छ । शिवको प्रतिमामाथि गौरीको प्रतिमा डालोमा राखी गोराको प्रतिमा तयार गरिन्छ जसलाई गोरा घर वा गोरास्थानमा स्थापन गरिन्छ । गोरामा उक्त प्रतिमालाई शिरमा राखेर महिलाहरूले नचाँउछन् ।
व्रत बस्ने महिलाहरु गोरा समयभर गौरी माताको पूजाअर्चना गर्नुका साथै सगुन र फाग गीत गाउने र अन्य नृत्यहरु नाच्ने गर्छन् । गोरा घर नजिकैको स्थानमा अन्य पुरुष, महिला, केटाकेटी जम्मा भई विभिन्न प्रकारका गायन र नृत्य गरी रमाउने गर्छन् । अष्टमीको दिन व्रत बस्ने महिलाहरूले अभिशेष गरेको दुबो धागो (रातो, पहेँलो र कालो धागोबाट बनाइएको माला/पोते) लगाउने/फेर्ने चलन छ । विरुडालाई पूजाआजा पश्चात् भगवानको प्रसाद मानेर खाने गरिन्छ ।
अन्तिम दिन गोरालाई नाच्दै, गाउँदै पवित्र स्थानमा लगि सेलाइन्छ । जुन दिन गोरा सेलाइन्छ सोही दिन फल फट्कने (फलफूललाई कपडाको माध्यमले आकाश तिर फाल्ने) गरिन्छ र जसलाई आकाशबाट भुइमा खस्न नपाउँदै छोप्ने चलन छ र जसलाई भगवानको प्रसाद मान्ने चलन छ ।
आआफ्ना ईष्टकूल र भूमी देवता पुज्ने चलन पनि रहेको यस पर्वमा गाउँमा नयाँ धामी छानिने, नयाँ मुखिया चयन हुने परम्परा समेत रहेको पाइन्छ । गोरामा व्रत बस्ने महिला पूजाआजा गर्ने, गाउने, नाच्ने र मीठा पकवान बनाई खाने/खुवाउने गर्छन् भने अन्य व्रत नबस्ने महिला/पुरुष पनि एक ठाउँमा भेला भई गाएर, नाँचेर रमाइलो गर्ने गर्छन् ।
सामाजिक महत्त्व
गोरा पर्वमा रोजगारी र अन्य कामका लागि गएका मानिस घर फर्कने, दिदीबहिनी, छोरीचेली माइत आउने गर्छन् । गोरा पर्वले दिनहु घरधन्दामा मात्र समय बिताउने महिलालाई माइत जाने, फुर्सदको समय र खुलेर रमाइलो गर्ने समय प्रदान गर्छ । माता गौरीको पूजा अर्चना हुने यो पर्व महिलालाई सम्मान गर्ने पर्व पनि हो । पर्वमा महिला वर्षभरका आफ्ना खुसी, उमंग, विरह, पीडा अनि दुःख गीत र नृत्यका माध्यमद्वारा एक अर्कामा साटासाट गर्ने गर्छन् जसबाट उनीहरूमा रहेका मनमा गुम्सिएका पीडा कम हुन्छन् ।
कसैलाई पनि गौरा घर वा स्थानमा प्रवेशमा रोकटोक नहुने भएकोले समाजका सबै जाति, वर्ग, समुदायका मानिस गोरामा सहभागी हुने गर्छन् । सबैको जमघट हुने यस पर्वमा वार्तालाप, गायन, नृत्यका र मनोरञ्जनकाद्वारा समाजभित्र फैलिएका नकारात्मक सोच/विचार, सामाजिक झैझगडा समाधान हुने गर्छन् । यसैले समाजलाई एकीकृत बनाउन, समाजलाई सन्तुलित एवम् जीवन्त बनाउन यस पर्वले महत्वपूर्ण भूमिका खेलको हुन्छ । त्यसैले यस पर्वलाई सामाजिक एकताको लोक पर्व पनि भन्न सकिन्छ ।
यस पर्वमा घरपरिवारका सदस्यका लागि नयाँ लुगा किन्ने र गोराको जमघटमा आफ्ना विक्री हुने उत्पादन बेचविखन गर्ने चलन रहेकोले यसको आर्थिक महत्त्व पनि रहेको छ । यस पर्वमा धनी, गरिब कसैलाई मतभेद नगरी सकेको, पुगेको खाने/लगाउने चलन छ । गोरा पर्वका समयमा नयाँ बाजा (दाहिना, दमाहा, ट्याम्का र अन्य प्रकारका) निर्माण गरिने प्रचलन पनि रहेको छ ।
सांस्कृतिक महत्व
गोरा पर्वका मनोरञ्जनात्मक गतिविधि पनि महत्त्वपूर्ण पक्ष हुन् । गोरा पर्वमा नाचिने डेउडा खेल प्रमुख हो । यस पर्वमा देवताका गाथा, फाग, सगुन, देउडा गीत गाइनुका साथसाथै डेउडा, धमारी, न्याउला, मागल, चैतला, छलियालगायत नाच र सोही अनुसारका सङ्गीत प्रस्तुत गरिन्छन् । सामाजिक घटनाक्रम, चेतनामूलक सन्देश र राजनीतिक गतिविधिका जानकारी समेटिएका मनोरञ्जनात्मक क्रियाकलापले जनचेतना अभिवृद्धिमा ठूलो सहयोग पुग्छ । गोरा पर्वमा खेल्ने, नाच्ने र गाउने क्रममा गीतका नयाँ नयाँ ढल (बोलहरु) सिर्जित हुने गर्छन् जुन लय वर्षभर मनाइने अन्य जात/जात्रा, चाडपर्वमा पनि गाइन्छन् । यस पर्वले डोटेली लोक संस्कृतिका साथै गीत, सङ्गीत र नृत्यलाई संरक्षण गरेको छ ।
चुनौती र समस्या
गोरा पर्वका आफ्ना प्राचीन, पौराणिक, सामाजिक, आर्थिक विशेषता भए पनि यसलाई अहिलेको पुस्ताले मनोरञ्जनका रूपमा मात्र लिने गरेको पाइएको छ । यस पर्वमा खेलिने विभिन्न प्रकारका खेल पनि समयानुसार परिवर्तन हुँदै गइरहेका छन् । सांस्कृतिक हस्तान्तरणमा जोड नदिँदा पर्वमा खेलिने र गाइने गीत, नृत्यमा मौलिकता हराउँदै गइरहेको छ । डेउडा नृत्य पर्वको प्रमुख प्रस्तुति भए पनि यस पर्वमा खेलिने, गाइने, नाचिने अन्य खेल गीत ओझेलमा पर्दै गइरहेका छन् ।
बसाइँसराइ, सहरीकरण, विश्वव्यापीकरण, औद्योगीकरण, पश्चिमा संस्कृतिको प्रभावले यसको मौलिकता र लौकिकता कमजोर हुँदै गइरहेको छ भने धार्मिक तथा सांस्कृतिक महत्त्व बिस्तारै घट्दै गइरहेको छ । ग्रामीण क्षेत्रमा मनाइने गोरा पर्वलाई बिस्तारै सहरतिर प्रवेश भइरहेको वर्तमान अवस्थामा गाउँमा जस्तो सामाजिक, सांस्कृतिक एवम् धार्मिक वातावरण नहुने भएकोले यो पर्व नाम र मनोरञ्जनमा मात्र सीमित भएको छ ।
सहरी क्षेत्रमा र काठमाडौंको टुँडिखेललगायत महोत्सवमा गोराको प्रस्तुतिले संस्कृतिको सम्मान त हुनसक्ला तर यसले मात्र संस्कृतिको उन्नयन कदापि हुन सक्तैन । केही पुस्तक ग्रन्थमा अभिलेखका रूपमा लेखिनु र प्रकाशन गरिनुका साथै सामान्य अध्ययन अनुसन्धानले यी विषय चर्चामा ल्याउन त सक्ला तर यसको संरक्षण संवर्धनका लागि पर्याप्त हुँदैन । नेपाल सरकारले गोरा पर्वमा सार्वजनिक बिदा दिने गरेकोमा यो बिदामा मात्र सीमित भएको छ । गौरा पर्वका मूल्यमान्यता अझ रुग्ण बन्दै गइरहेका छन् ।
निस्कर्ष/सुझाव
संस्कृति मानव समाजको उपज हो । संस्कृतिभित्र ज्ञान, विश्वास, कला, नैतिकता, नियम, कानुन रहेका हुन्छन् । यो मानव जातिले लामो समयको अनुभव, खोज र सभ्यता विस्तारका क्रममा समाजबाट ग्रहण गरेको शिक्षा हो । आज समाज जुन अवस्थामा छ यी सबै मानव सभ्यताका उपज हुन् । प्राचीन समयदेखि चलिआएका पर्व रुढीवादी सोच र विचारले मात्र विकसित भएका हुँदैनन् । यी पर्वमा हामी दर्शन, लोकजीवन, तथा मानव समाजालाई स्वच्छ राख्ने, जीवन्त बनाउने तत्त्व लुकेर रहेका हुन्छन् । तर, जब यी मानव संस्कृतिको संरक्षण र हस्तान्तरणमा अवरोध खडा हुन्छ तब मानव सभ्यता नै जोखिममा पर्छ ।
यसैले समयमा नै हामीले हाम्रा समाजका पौराणिक एवम् प्राचीन र पुर्खाले सुम्पेका संस्कृतिको पहिचान गरी यिनको मौलिकतामा ह्रास आउन नदिन स्थानीय क्षेत्रमा सांस्कृतिक हस्तान्तरणका गतिविधि बढाउनु जरुरी छ । पुर्खाले दिएका संस्कृतिको सम्मान गरी यी संस्कृतिलाई जस्ताको तस्तै नयाँ पुस्तामा हस्तान्तरण गर्नु आजको आवश्यकता हो ।
अन्त्यमा, गोरा पर्वको अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना !
दुध राम्रो काली गाईको मह राम्रो मौराको
फूल राम्रो हजारी टोक्कर खेल राम्रो गौराको
(लेख तयार गर्ने क्रममा राजेन्द्रसिंह साउद, मानबहादुर साहु, तीर्थराज भट्टसँग लिइएका केही जानकारी पनि समाविष्ट गरिएका छन् ।)
आलिताल–४, डडेल्धुरा
dipakbohara@gmail.com