site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
सरकारको नियत कि रविको नियति ?

नियतले व्यक्तिको नियति निर्धारण गर्छ भन्दा अलि ‘भाग्यवादी’ ध्वनित हुन्छ । तर ‘कर्म’ शब्दको विभिन्न अर्थमा भएका प्रयोगहरू हेर्ने हो भने नियतले नियति बनाउँछ भन्ने लाग्छ । भाग्यवादी हुने कि भौतिकवादी आफ्नै रोजाइ हो । नेपालको राजनीतिमात्र होइन समाज पनि नियत र नियतिबाट निर्देशित छ । सायद, संसारभर नै यस्तै हो । 

अहिले राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ता दोस्रोपटक सत्तामा गएकोमा पछुतो गर्दैछन् जस्तो छ । अहिले पार्टीका सभापति रवि लामिछानेमाथि भइरहेको छानबिन ‘राजनीतिक प्रतिशोध’ हो र दोस्रो कार्यकालमा भएका गल्तीले प्रतिशोध जन्माएको हो भन्ने तिनले ठानेका हुनुपर्छ । रवि स्वयंले पनि आफूमाथि भएको व्यवहारलाई ‘राजनीतिक प्रतिशोध’ नै भन्दै आएका छन् । 

सरकारले एउटा मुर्ख्याइँ नगरेको भए रविको ‘क्रेज’ बिस्तारै मधुरो हुँदै जान लागेको थियो । रविमाथि मुद्दा चलाइएपछि त समाप्त नै हुनसक्थ्यो । पक्राउ गरेपछि पनि चितवनबाट रातारात पोखरा नलगेको भए जनसाधारणले बिस्तारै बिर्सँदै थिए । रविको समर्थनमा निस्कने जुलुसमा कार्यकर्ताको सङ्ख्या घट्दो थियो भने सञ्चार माध्यममा पनि आकर्षण घट्दै गएको देखिन्थ्यो ।   

Dabur Nepal
NIC Asia

सरकारको नियत हो कि नियतिको चाहना हो प्रहरीले एकाएक रविलाई फेरि ग्रिक त्रासदीको ‘नायक’ बनाइदियो । जनताले साँच्चै नै रवि लामिछानेसँग सरकारले प्रतिशोधमात्र लिएको त होइन भनेर शङ्का गर्न थालेका छन् । सधैँ चर्चाका लागि बोल्न रुचाउनेहरू एकाएक रविको मानव अधिकार हननमा चिन्तित हुन थाले । कोही हिरासतमै भेटेर ऐक्यबद्धता जनाउन पुगे । कोही यस मुलुकमा हिरासतमा अनावश्यक र अनुचित दुःख पाउने रवि लामिछानेमात्रै हुन् भने झैँ उनको नाम जप्न थालेका छन् । 

प्रहरीले रवि लामिछानेसँग सहकारी बचत अपचलनमा छानबिन गर्न अदालतको अनुमतिले हिरासतमा राखेर बयान लिन थाल्यो । बयानका क्रममा खोतल्दै जाँदा संगठित अपराध र सम्पत्ति शुद्धीकरणलगायत अरू पनि अभियोग थपिन लागेको समाचार सार्वजनिक भइरहेको छ । अब एकाध दिनमै प्रहरीले मुद्दा दायर गर्नुपर्छ रे । गर्ला नै । अहिलेसम्म त दुवै पक्ष ‘मनोयुद्ध’मा छन् । 

यसबीच रास्वपाका नेताहरू एकातिर रविलाई जुन जिल्लामा लग्यो त्यहीँ विरोध जुलुस निकाल्न पुगेका छन् भने अर्कातिर हिरासतबाट बाहिर निस्कन सहयोग माग्दै ‘जैतुनको हाँगो’ लिएर नेपाली कांग्रेस र नेकपा (एमाले)का शीर्ष नेताकहाँ पनि पुगेका छन् । यसमा उनीहरूको आफ्नै रणनीति होला तर ‘विधिको शासन’मा रास्वपाको पनि खासै सम्मान नभएको भने स्पष्ट भएको छ ।  उनीहरूले जे भने पनि आखिर यही समाजका उपज न हुन् ।   

रविले चितवनपछि निकै सहानुभूति पाउनु स्वाभाविकै हो । उनलाई सास्ती नदिई,  थुनामा नराखी पनि अनुसन्धान हुनसक्थ्यो । तर यतिबेला महाभारत युद्धमा कर्णबधको प्रसङ्ग सम्झना हुन्छ । युद्धको सोह्रौं दिनमा अर्जुनसँग मुडभेड भइरहेकै बेला कर्णको रथ जमिनमा भासियो । कर्ण धनु रथमै छाडी जमिनमा ओर्लेर रथ निकाल्न लागे र अर्जुनलाई धर्मयुद्धका नियम सम्झाउँदै एकछिन पर्खिन भने । त्यस्तो देखेपछि अर्जुनले वाण प्रहार रोके । 

अर्जुनलाई उनका सारथी कृष्णले सोधे - किन कर्णको काम तमाम नगरेको ? अर्जुनले भने - निशस्त्र कर्णमाथि शस्त्र प्रहार गर्नु अनुचित र अधर्म हुने हुनाले ।  कृष्णले भने - धर्म त शत्रुको संहार र प्रतिज्ञा पूरा गर्नु पनि हो । अर्जुन असमञ्जसमा परेको देखेर कर्णले फेरि धर्मयुद्धकै दुहाइ दिए । अनि कृष्णले भने -  कर्ण तिमीलाई पनि अहिले धर्मको सम्झना भयो ! द्रौपद्रीको बेइज्जत गरिँदा, दुर्योधनका यावत दुष्ट्याइँमा, निशस्त्र अभिमन्युलाई घेरामा हालेर मारेका बेला त तिमीलाई धर्म अधर्मको हेक्का भएन । अनि अर्जुनको एउटा वाणले कर्णको टाउको छिनायो । 

कैलाश सिरहोयालाई प्रहरीले रातारात जनकपुर लैजाँदा रवि नै गृहमन्त्री थिए नि होइन ? सरकारी कर्मचारीले गरेका सानो गल्तीमा सिरोहियालाई फसाउन उनकै निर्देशनमा जाल गरिएको होइन ? कैलाशविरुद्ध त मुद्दा पनि दायर भएन क्या रे ! साँच्चैको प्रतिशोध त त्यस्तो हुन्छ नि !

उतिबेला रविको कामको वाहवाही गर्नेहरूलाई अहिले रविमाथि अन्याय भयो भन्ने नैतिक अधिकार हुँदैन । उतिबेला पनि गलत भन्नेहरूले भने अहिले पनि गलत भन्न सक्छन् । भन्नु पनि पर्छ । 

रविलाई जस्तै अभियोगमा छविराज जोशीलाई पनि थुनिएको  छ । जिल्ला जिल्ला घुमाइएको छ । पूर्वगृहमन्त्री वा बहालवाला सांसद भनेर रविलाई बेग्लै र छविलाई बेग्लै व्यवहार हुनुपर्छ भनेका त होइनन् डा. बाबुराम भट्टराई, सुशीला कार्कीहरूले ? मीनबहादुर गुरुङहरूलाई कति दिन थुनियो रे ? त्यतिबेला त ‘पहिले थुन्ने पछि सुन्ने’ सरकारी अभ्यास सही मानेका थिए त अहिले अन्याय भयो भनेर चर्कने धेरैले ! 

कुनै पनि नागरिकको स्वतन्त्रता सकेसम्म कुण्ठित गर्नु हुँदैन । राज्यसँग शक्ति हुन्छ । बन्दुक छ । नागरिकको रक्षा विधिले गर्ने हो । तर, बल हुनेले विधि नै मिच्छन् । त्यतिबेला मन परे वाहवाह अनि आफू वा आफ्नामाथि परे रोइकराइ ?  यसो नगरोँ नेपालमा अदालतले समेत सडकको प्रतिक्रियाअनुसार निर्णय गर्न थाल्यो भने यसै त अन्धेर नगरी अनि के होला ? 

रविको मुद्दा पेस गरिने दिन नजिकै भएकाले अब जे गर्ला अदालतले नै गर्ला । तर, यसपछि रवि फेरि गृहमन्त्री भए (के बेर? अहिलेको गठबन्धन भत्किँदैन भनेर नेताहरूले भाषण गर्न थालेकाले शङ्का लागेको हो । समीकरण फेरिए जे पनि  हुनसक्छ !) पहिले थुन्ने अनि सुन्ने संस्कार बदल्छन् कि ? ।

र अन्त्यमा

रामायणको एउटा प्रसङ्ग

अङ्गदको अनुमतिमा बाँदरहरूले मधुवनमा उपद्रो मच्चाएको समाचार लिएर बगैँचाका रक्षक किष्किन्धा पुग्छन् र सुग्रीवलाई जाहेर गर्छन् ।  वानर वीरहरूले मधुवनमा उपद्रो मच्चाएको थाहा पाएपछि उनीहरूले सीताको खबर ल्याएको निष्कर्ष राम, सुग्रीवहरूले निकालेछन् । अर्थात्, केही राम्रो काम गरेपछि अलिअलि बदमासी पनि क्षम्य हुन्छ ।

बीआरआईमा हस्ताक्षर गरेपछि प्रधानमन्त्री, मन्त्रीहरू पनि लङ्काबाट फर्केका बाँदरजस्तै हुन थालेका छन् । कसैले बीआरआईबारे बोल्यो भने कुरै नबुझी बोल्ने भनेर हप्काउँछन् । 

बीआरआईमा सही त भयो तर धेरै फुर्फुर नगरे हुन्छ । कार्यान्वयन र त्यसबाट लाभ लिन सजिलो छैन । चीनले ‘दिन त दिइस् भिरमा’ बनाइदिन सक्छ । झापा, डँडेलधुरावालाले त पाए हम्बनटोटा नै बनाउने रहेछन् । ‘ठुल्दाइ’हरू पनि खुनासिए होलान् । नमन्साईकन गरिखान के देलान् ? 

यसैले हप्की दप्कीको साँटो एकछिन गम खाने पो हो कि ?    

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर ३०, २०८१  १२:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro