site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
राजनीतिमा लाजनीति

नेपाली राजनीति हास्यव्यङ्ग्यको अजीव नमुना बनेको छ । यहाँ नेताहरूको प्रमुख गुनासा र समस्याका समाधान कुर्सी वरिपरि घुम्छन् । सत्ता र कुर्सी पाउन वा बचाउन उनीहरूले गर्ने नाटक हेर्दा कहिलेकाहीँ लाग्छ यो राजनीतिभन्दा कुनै प्रहसनको मञ्चन हो । भाषणमा “देश बनाउँछु” भन्ने नेताहरू व्यवहारमा “देश लुट्छु”को खेल खेलिरहेका हुन्छन् ।

 

यहाँ नेताहरूका भाषण सुन्दा लाग्छ, नेपाल अब केही दिनमै स्वर्ग बन्नेछ तर ती भाषण पूरा गर्ने कुनै योजना हुँदैन । भाषण सुनेपछि जनता आश्वासनमा रमाउँछन् । वास्तविकता भने त्यसको ठीक उल्टो छ । नेताहरूसँग कुरा र कामका बीचको भिन्नता लुकाउने अद्भुत कला छ ।

 

नेपालको राजनीति कुर्सीको खेलमा सीमित छ । नेताहरू आफूलाई देशको अभिभावकजस्तो देखाउने प्रयास गर्छन् तर व्यवहारमा तिनीहरू कुर्सीका लोभी बच्चामात्र हुन् । यहाँ सत्ताको लागि मित्रता र शत्रुताको परिभाषा छिनछिनमा बदलिन्छ । हिजोका दुस्मन भोलि सत्ता साझेदार बन्छन् र भोलिका सत्ता साझेदार पर्सि फेरि दुस्मन ।

 

नेपालमा शिक्षालाई हाँस्ने र रुने दुवैको विषय बनाउन सकिन्छ । हाम्रो शिक्षाले व्यवहारभन्दा प्रमाणपत्रलाई प्राथमिकता दिन्छ । "कुन विषय सिक्ने ?" भन्दा "कुन विषयमा सजिलै पास होइन्छ ?" भन्ने प्रश्नलाई महत्त्व दिइन्छ । डिग्री त पाइन्छ तर त्यो डिग्रीले काम गर्न सिकाउँदैन ।

 

विद्यार्थीहरू परीक्षामा फेल हुँदा सरहरूले गाली गर्छन् तर देश परीक्षा बारम्बार फेल गरिरहेका नेताहरूलाई कसैले सोध्दैन । नेताहरूले डिग्रीलाई भाषणको सामग्री बनाएर युवालाई प्रेरणा दिने प्रयास गर्छन् तर आफ्नै डिग्रीको स्रोत विवादित छ । यस्ता नेताका भाषण सुन्दा लाग्छ - "सपना बेच्न पनि एउटा डिग्री चाहिन्छ कि क्या हो ?"

 

विदेश जानको लागि लाखौं युवा रातदिन दुःख गरिरहेका छन् । उनीहरूलाई देशभित्रै अवसर दिने कोसिस गरिने हो भने नेपाली युवाले देश बनाउने सपना देख्न सक्थे । तर नेताहरू युवाको सीप र सोचको महत्त्व बुझ्न चाहँदैनन् । उनीहरूलाई त मतदातामात्र चाहिन्छ ।

 

भ्रष्टाचार नेपालको राष्ट्रिय खेलजस्तै भएको छ । नेताहरूले "विकासको लागि बजेट छुट्यायौं" भनेर ठूलो गर्वका साथ भाषण दिन्छन् । तर त्यो बजेट कता जान्छ भन्ने कुरा हेर्दा, ५०% बजेट निर्णय गर्नेका खल्तीमा र बाँकी ५०% ठेकेदारका खल्तीमा पुग्छ । बाँकी रहे भने, कुनै पुल या सडकको डिजाइन मात्रै फाइलमै देखिन्छ ।

 

सडक त बनेको देखिन्छ तर दुई वर्ष नपुग्दै त्यो सडक पानी परेपछि नदी बन्छ। विकासको नाटक गर्नेहरूले जनताको पैसामा आँखा गाडेका छन् । जनताले कर तिर्दा उनीहरूलाई आशा हुन्छ तर त्यो पैसा नेताहरूको सपना बोक्ने साधनमात्र बन्छ ।

 

जातीयता र धार्मिक विवाद राजनीतिका नयाँ अस्त्र भएका छन् । नेताहरूले विभाजनको राजनीतिलाई कुशलतापूर्वक प्रयोग गर्छन् । जनता आपसमा लड्छन् भने नेताहरू परैबाट हेरेर रमाइलो गर्छन् । उनीहरूको लागि जातीय भावना भनेको चुनाव जित्ने सूत्र हो ।

 

"दण्डहीनता" भनेको नेपालमा नेताहरूका लागि ‘लाइफटाइम इन्सुरेन्स’ जस्तै हो । यहाँ कुनै ठूला भ्रष्टाचारका घटना भए पनि नेताहरू सजिलै उम्किन्छन् । अपराध गरेपछि नेताहरूलाई जेल होइन नयाँ पद जिम्मेवारीमा दिने चलन छ । कानुन भनेको नेताहरूका लागि कागजको खेस्रामात्रै हो ।

 

नेपालको राजनीति युवा सहभागिताबिना कहिल्यै सुधार हुन सक्दैन । पुराना नेताहरूले जनतालाई धोका दिइरहेका छन् । उनीहरू सत्ता जोगाउने खेलमा छन् । तर युवाहरूले राजनीतिमा आफ्नो स्थान बनाउने हो भने पुराना प्रवृत्तिलाई अन्त्य गर्न सकिन्छ ।

 

भ्रष्टाचार नियन्त्रण गर्न जनताको सचेतता आवश्यक छ । भ्रष्टाचारविरुद्ध कडा कदम चाल्न सकियो भने देशको आर्थिक अवस्थामा सुधार ल्याउन सकिन्छ । दण्डहीनताको अन्त्य गरेर मात्र नेताहरूलाई जवाफदेही बनाउन सकिन्छ ।

 

राजनीतिमा दीर्घकालीन योजना आवश्यक छ । सत्ताको लागि विचार र सिद्धान्त बेच्ने परिपाटी अन्त्य गर्नुपर्छ । राजनीति भनेको कुर्सीको खेल होइन, जनताको सेवा गर्ने माध्यम हो ।

 

सारमा, नेपाली राजनीति कुर्सी, भाषण र षड्यन्त्रमा सीमित छ भने देशको भविष्य युवाको हातमा छ । जब जनता जागरूक हुन्छन् अनि  नेताहरूलाई जवाफदेही बनाउँछन् । सोच बदल्न सके राजनीतिले सही दिशा लिन सक्छ । नेपाललाई समृद्ध बनाउन सोच र प्रणालीमा क्रान्ति आवश्यक छ ।

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, पुस २, २०८१  १०:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro