site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
कीर्तिपुर : भर्चुअल आईटी पार्क हब 

नेपालको इतिहासमा इस्वी सम्वत् १०९९ मा स्थापना भएको मानिएको कीर्तिपुरको बिशेष महत्त्व रहेको छ । काठमाडौँ उपत्यकामा रहेका पाँच सहरहरूमध्ये आफ्नो नामअनुसार नै यसको इतिहास गौरवशाली रहेको छ ।

पहाडको टुप्पोमा रहेको अभेद्य कीर्तिपुरलाई जित्न राज्य विस्तारको क्रममा रहेको गोर्खाली फौजलाई तेस्रो प्रयासमा मात्र सफलता मिलेको थियो । गोर्खाली फौजसँग हार भए पनि उक्त सहरले बाघभैरव मन्दिरमा आफ्ना वीर योद्धाहरूको सम्मानमा झुन्डिएका तरबारहरू सँगालेर राखेको छ । पञ्चायत काल होस् चाहे जनआन्दोलन लोकतन्त्रको लागि कीर्तिपुर सधैँ अग्रस्थान रह्यो । शैक्षिक क्षेत्रमा पनि कीर्तिपुरले नेपालको पहिलो विश्वविद्यालय स्थापन गर्ने अवसर पायो ।   

सोही विश्वविद्यालयबाट स्नातोकत्तर गरेका नेपाली कांग्रेसका महामन्त्री गगन थापाले हालैको उपनिर्वाचनको दौरानमा कीर्तिपुरमा भाषण गर्दा कीर्तिपुरको डाँडामा बसेर सूचना प्रविधिमार्फत् महिनाको ३-४ लाख कमाउन सकिन्छ भन्ने जिकिर गरे। सामाजिक सञ्जालमा उनको खिल्ली उँडाइयो र उनको यो भाषणलाई 'इन्टरनेट मिम'हरूसमेत बनाइयो । 

गगन थापाले बोलेको कुरा झट्ट सुन्दा कुनै नेताको हावादारी भाषणजस्तो लाग्ला तर वास्तवमा उनले सही भनेका छन् । कीर्तिपुरसँग सूचना प्रविधिमार्फत विशेषगरी आईटी पार्ककाट हुने रोजगारीको अवसर प्रदान गर्न सक्ने प्रचुर संभावना छन् । यो तथ्य बुझ्न विभिन्न देशका आईटी पार्कको सफलता र नेपालको आईटी पार्कको असफल इतिहास बुझ्नुपर्ने हुन्छ । त्यसभन्दा पहिले नेपालको सूचना प्रविधिको अवस्था बारे केही तथ्यहरू हेरौँ ।

अनुसन्धान र नीति पैरवीसम्बन्धी कार्य गर्ने नेपालको एक प्रमुख थिङ्कट्यांक संस्था आईआईडीएसले २०२३ मा प्रकाशन गरेको रिपोर्टमा नेपालको आईटी सेवा निर्यात उद्योग करिब ५१ करोड ५० लाख अमेरिकी डलर बराबरको मूल्यांकन गरेको छ ।

सन् २०२२ मा आईटी सेवा निर्यातले देशको कुल गार्हस्थ उत्पादनमा १.४% र विदेशी मुद्रा सञ्चितिमा ५.५% योगदान गरेको छ । उक्त रिपोर्टअनुसार यस क्षेत्रमा १०६ भन्दा बढी आईटी निर्यात सेवा कम्पनीहरू संलग्न छन् । साथै सफ्टवेर विकासमा १४ हजार ७२८ आईटी फ्रीलान्सरहरू र विभिन्न डिजिटल प्लेटफर्महरूमार्फत आईटी सेवाहरू निर्यात गर्ने ५१ हजार ७८१ फ्रीलान्सरहरू छन् ।

आईटी कम्पनीहरूले सेवा निर्यातमा अघिल्लो वर्षको तुलनामा ८०.५% वृद्धि गरेका छन् भने फ्रीलान्सरहरूले ५५.२% वृद्धि हुनमा योगदान गरेका छन् । आईटी क्षेत्रमा राजस्व वृद्धिले नेपाली कम्पनीहरूले अन्तर्राष्ट्रिय ग्राहकहरूलाई उच्चगुणस्तरका आईटी सेवाहरू प्रदान गर्न सफल भएको देखाउँछ,। यी उपलब्धिहरूले नेपालको आईटी सेवाहरूको प्रतिस्पर्धात्मकता र दक्षतालाई पनि उजागर गर्छ । 

नेपालमा आईटी पार्कको इतिहास

नेपालमा आईटी पार्कको अवधारणा सन् १९९० को दशकको अन्त्यतिर प्रारम्भ भएको हो । यो पंक्तिकार उक्त समयमा नेपालको सूचना प्रविधि क्षेत्रको छाता संगठन कम्प्युटर एसोसियसन अफ नेपालको सचिव र महासचिवको पदमा कार्यरत थियो ।

नेपालमा आईटी पार्कको विकासले देशको आर्थिक वृद्धि, रोजगारी सिर्जना र डिजिटल रूपान्तरणलाई प्रोत्साहित गर्छ भन्नेमा सूचना प्रविधि क्षेत्रमा संग्लन सबैको समान विचार थियो । आईटी पार्कहरूको स्थापनाले प्राविधिक नवप्रवर्तन र उद्यमशीलताको वातावरण सिर्जना गर्छ भन्नेमा पनि सबै सहमत थिए ।

सूचना प्रविधिको रूपान्तरणकारी सम्भावनालाई चिनेपछि नेपाल सरकारले प्राविधिक नवप्रवर्तनलाई प्रवर्द्धन गर्न व्यापारिक संस्था, स्टार्टअप र शैक्षिक संस्थाहरूबीच सहकार्य गर्ने उद्देश्यले नीति तथा कार्यक्रमहरू लागु गर्‍यो । 

नेपालको प्रथम आईटी पार्क काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा अवस्थित छ जुन काठमाडौँबाट लगभग २७ किलोमिटर पूर्वमा पर्छ । प्रायः बनेपा आईटी पार्क भनेर चिनिने यस संरचनाले देशको आईटी पूर्वाधारमा पहिलो महत्त्वपूर्ण लगानीलाई प्रतिनिधित्व गर्छ ।

यसको विकास सन् १९९७ मा दक्षिण कोरियाली सरकारको आर्थिक र प्राविधिक सहयोगमा सुरु भएको थियो । बनेपा आईटी पार्कले आरम्भिक वर्षहरूमा पर्याप्त लगानी र गतिविधि आकर्षित गर्न संघर्ष गर्यो । नेपालका ठूला ठूला सूचना प्रविधिसम्बन्धी व्यापारिक संस्थाहरू आईटी पार्कमा गएनन् । त्यस बेलाको एउटा प्रख्यात ठूलो निजी सूचना प्रविधि कम्पनीका संचालकले भनेको कुरा मलाई अझै सम्झना छ ।

उनले भनेका थिए - "कोटेश्वरदेखि बनेपा आईटी पार्कसम्म फ्रिवे रेलमार्ग बनाऊ जसले गर्दा काठमाडौँबाट कर्मचारीहरू केही मिनेटमा नै आफ्नो कार्यथलो पुग्न सकुन् । त्यसो गर्ने हो भने मेरो सम्पूर्ण कारोबार म बनेपा आईटी पार्कमा लैजान्छु "।

तर फ्रिवे रेलमार्गको कुरा त छोडौँ अरनिको राजमार्ग मोटर गाडीका लागि समेत 'फ्रिवे' भएन । केही वर्षदेखि यो राजमार्गमा काठमाडौँ -बनेपा आवतजावत गर्न लामो र कष्टकर यात्रा गर्नुपर्छ । आइबीएम, जाभ्राजस्ता विदेशी कम्पनीले केही समय त्यहाँ कार्यालय सञ्चालन गरे पनि उनीहरूले केही महिनामा नै आईटी पार्कबाट बिदा लिए ।

समग्रमा बनेपा आईटी पार्कका मुख्य चुनौतीहरूमा अपर्याप्त पूर्वाधार, असंगत सरकारी नीतिहरू, सीपयुक्त जनशक्तिको अभाव र निजी क्षेत्रको सीमित चासो थिए। नेपालको एकमात्र आईटी पार्कलाई बेलाबेलामा ब्युँत्याउने प्रयास नभएको होइन तर अन्तत: यसले सम्भावनाको जादू देखाउन सकेन । 

नब्बेको दशकमा नेपालमा आईटी पार्कको सम्भावनाको बहस चलिरहँदा छिमेकी मित्र राष्ट्र भारतमा १९९० मा नै केरला राज्यमा टेक्नोपार्क नामकरण गरिएको प्रथम आईटी पार्कको निर्माण भइसकेको थियो । टेक्नोपार्क केरलाका तत्कालीन मुख्यमन्त्री ई. के. नयनारको सोच थियो जसले सन् १९८९ मा संयुक्त राज्य अमेरिकामा रहेको एप्पल कम्पनीको भ्रमण गरेपछि प्रेरणा पाएका थिए ।

दुईवटा कम्पनीहरूसहित सानो सुविधा केन्द्रबाट सुरु भएको यस पार्कमा अहिले करिब ५०० कम्पनीहरू सञ्चालनमा रहेका छन् ।  हाल यो ७५ हजारभन्दा बढी सूचना प्रविधि कर्मचारीका लागि रोजगार सिर्जना गर्ने एसियाकै ठूलो र सबैभन्दा हरित आईटी पार्कमा विस्तार भएको छ ।

यस्तै सफलताका कथाहरु भारतकै सिलिकन भ्याली नामकरण भएको बेंगलुरु आईटी पार्क, इजराइलको जेरुसलेमको हर हत्सविम आईटी पार्क, दक्षीण कोरियाको डिजिटल मिडिया सिटी, फिलिपिन्सको सीबु र मलेसियाको साइबर जायालगायत रहेका छन् ।

यी आईटी पार्कहरू किन सफल भए त ?  यसका विभिन्न कारण छन् । नीति निर्माण तथा उच्च तहमा रहेका व्यक्तिहरूको नेतृत्व एवं सरकारी समर्थन प्रमुख कारण रहेको देखिन्छ । दोस्रो कारण, आईटी पार्कमा आवश्यक हुने विद्युत, पानी, सुविधाजनक आवतजावत सडक सञ्जाल र उच्च गतिको डेटा जडानसहितको टेलिकम प्रणालीजस्ता सुव्यवस्थित पूर्वाधारहरू हुन् ।

कुशल जनशक्ति अर्थात् कम लागतमा दक्ष जनशक्तिको उपलब्धता पनि सफलताको सूत्र भएको देखिन्छ । आर्थिक नीतिमा कम्पनीहरूलाई कर छुटजस्ता प्रावधानले पनि महत्त्वपूर्ण भूमिका खेलेको देखिन्छ । यस्ता आर्थिक सुविधा दिने नीतिले विदेशी लगानी आकर्षित गरेको देखिन्छ र पछिल्लो दशकमा यी देशहरूमा बहुराष्ट्रिय कम्पनीहरूको संख्यामा बढोत्तरी भएको छ । 

अर्को महत्त्वपूर्ण नीति भनेको उद्यम प्रेमीहरू, स्टार्टअप र आईटी कम्पनीहरूलाई सहयोग गर्न 'इनक्युबेसन' केन्द्रहरूले प्रमुख भूमिका खेलेको देखिन्छ । यी आईटी पार्कहरू निर्यातमुखी छन् जसले स्टार्टअप र आईटी कम्पनीहरूलाई विश्वव्यापीरूपमा आफ्ना सेवा र उत्पादनहरू निर्यात गर्न सहयोग गरेका छन्।

कीर्तिपुरसँग के छ त ?

नेपालको सूचना प्रविधि क्षेत्रमा कार्यरत जनशक्तिमध्ये बहुसंख्यक जनशक्ति काठमाडौं केन्द्रित छन् । कीर्तिपुर काठमाडौँबाट जम्मा ५-६ किलोमीटर टाढा छ । कीर्तिपुर सहरमा व्यावसायिक दृष्टिमा विभिन्न औद्योगिक कलकारखानाको साथै सडक यातायात, बजारको व्यवस्था, खानेपानी, बिजुली, सञ्चार सुविधा हुनुका साथै नेपालकै सबैभन्दा पुरानो उच्च शिक्षा संस्था त्रिभुवन विश्वविद्यालय पनि कीर्तिपुरमा पर्छ ।

कीर्तिपुरबाट नेपाललाई इन्टेलस्याटमार्फत संसारको कुनै पनि भागमा सञ्चार गराउन सक्ने नेपाल  टेलिकमको सगरमाथा अर्थ स्टेसन जम्मा ७ किलोमीटर पर छ भने आफ्नै भीस्याट मार्फत नेपाललाई संसारसँग जोड्ने नेपालकै अग्रस्थानमा रहेको इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकको प्रधान कार्यालय ६ किलोमीटरभन्दा पनि कम दूरीमा छ । यी लगायत अन्य दूरसंचार तथा इन्टरनेट सेवा प्रदायकहरूले कीर्तिपुरमा आआफ्नो सम्पर्क कार्यालय संचालन गरेर सेवा प्रदान गरेकै छन् ।

काठमाडौं उपत्यकाबाट कीर्तिपुर आवतजावत गर्न सडक सञ्जालको सहजता तथा सार्वजनिक सवारी साधन पनि प्रचुर मात्रामा पाइन्छ । नेपालको सूचना प्रविधि विषयहरूमा उत्कृष्ट तथा क्षमतावान जनशक्ति उत्पादन गर्ने त्रिभुवन विश्वविद्यालयकै इन्जिनियरिङ अध्ययन संस्थानलगायत अन्य धेरैजसो शैक्षिक संस्था काठमाडौंमा नै छन् ।

नेपाली वैज्ञानिक महावीर पुनको नेतृत्वमा रहेको राष्ट्रिय आविष्कार केन्द्र पनि त्यहीँ छ । त्यसो त विश्वविद्यालयको आफ्नै सूचना प्रविधि नवप्रवर्दक केन्द्र पनि उसकै हाताभित्र छ । बाहिरबाट आउने जनशक्तिको लागि कीर्तिपुर वरिपरि क्षेत्रमा आवास तथा होटेल रिसोर्टहरू पनि प्रचुर मात्रामा रहेका छन् ।  

यो कीर्तिपुर नगर खुल्ला दिसामुक्त, पूर्ण साक्षर र पुर्णखोपयुक्त घोषणा भइसकेको नगरपालिका पनि हो । समग्रमा कीर्तिपुरसँग आईटी पार्क निर्माणका लागि आवश्यक पर्ने सम्पूर्ण पूर्वाधार छ । 

हालको विश्व अर्थतन्त्र पहिलेभन्दा नजिक भए पनि यो अझै संरक्षणवादी नीतिहरू, राजनीतिक र सामाजिक तनाव तथा नियमनको रूपमा चुनौतीहरूको सामना गरिरहेको छ । विश्व क्रमशः भर्चुअल स्थानतर्फ अघि बढ्दै गर्दा सहकार्य र नवप्रवर्तनलाई प्रवर्द्धन गर्न निर्माण गरिएका भौतिक आईटी पार्कहरू बढ्दोरूपमा असुविधाजनक बन्ने खतरा  पनि छ ।

तसर्थ आगामी दिनमा भर्चुअल आईटी पार्कहरू प्रभावकारी हुन सक्छन् जसले सीमारहित नवप्रवर्तन प्रणाली प्रदान गर्न सक्छन् । जसले आगामी दिनमा कम्पनीहरू, अनुसन्धानकर्ता र विद्यार्थीहरू, प्रयोगशालाहरू, र विश्वभरका उद्योगहरूले सामना गरिरहेका चुनौतीलाई समाधान गर्न सक्छन् ।

यस सन्दर्भमा गगन थापाले भने झैँ कीर्तिपुरको डाँडामा बसेर युवाले महिनाको ३-४ लाख कमाउने बनाउने हो भने आवश्यक पूर्वाधारसहित १५५ हेक्टर क्षेत्रफल भएको त्रिभुवन विश्वविद्यालयको हाताभित्र एक भर्चुअल आईटी पार्क निर्माण गर्नु उपयुक्त देखिन्छ । कीर्तिपुर नगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसकै उमेदवारले सफलता हात पारेको अवस्थामा उच्च तहको राजनीतिक मार्ग निर्देशनमा कीर्तिपुर भर्चुअल आईटी पार्क हब बन्ने सम्भावनालाई नकार्न सकिन्न । 
 

प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१  १२:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro