खेल
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिसद (आईसीसी)ले नेपाल क्रिकेट संघ क्यानलाई निलम्बित गरेपछि नेपाली राष्ट्रिय क्रिकेट टिम पहिलो अन्तर्राष्ट्रिय खेल खेल्न सोमबार युरोपको भ्रमणमा निस्कदैछ । क्यान निलम्बन पछि नेपाली टोलीले इंग्ल्यान्डको लर्ड्समा विश्वको सबैभन्दा पुरानो क्रिकेट क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) सँग मैत्रीपूर्ण खेल खेल्न युरोप भ्रमणमा निस्कन लागेको हो ।
नेपालले आगामी साउन ४ गते क्रिकेटको मक्का मानिने लर्डसमा (एमसीसी) सँग ५० ओभरको खेल खेल्ने छ । त्यसअघि नेपाली टोलीले स्थानीय टिमसँग ४ खेल अभ्यास खेल्ने छन् । नेपाल र ब्रिटेनबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको २ सय वर्ष पुगेको अवसरमा नेपालको लर्ड्समा खेल्न लागेको हो । इंग्ल्यान्ड भ्रमणमा निस्किएको १८ सदस्यिय नेपाली टोलीलाई आइतबार आईसीसीले बिदाई गरेको छ । त्रिवि क्रिकेट मैदानमा गरिएको नेपाली टोलीको बिदाई यूवा तथा खेलकुद मन्त्रालयका सहसचिव चुडामणि पौडेलले गरेका थिए ।
इंग्ल्यान्ड भ्रमण नेपाली टोलीको लागि बिश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेदरल्याण्डसँगको खेलको तयारीको रुपमा समेत हेरिएको छ । नेपालले आगामी साउन अन्तिम साता नेदरल्यान्डसँग उसकै मैदानमा विश्व क्रिकेट लिग च्याम्पियनसिपका दुई खेल खेल्दैछ ।
“लर्ड्समा खेल्नु आफैमा ठूलो विषय हो । लर्ड्समा खेल्नु सबैको सपना हुन्छ । र टेस्ट नखेल्ने राष्ट्रमध्ये हामीलाई यो अवसर जुरेको छ । हामीलाई बिश्वसामु नेपाली क्रिकेट देखाउन मौका मिलेको छ ।” इंग्ल्यान्ड भ्रमणमा जानुअघि कप्तान पारस खड्काले भने, “हामीलाई क्रिकेटको भूमीमा खेल्नु सँगै बिश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेदरल्याण्डसँगको खेललाई सहयोग पुग्ने अपेक्षा गरिएको छ ।”
आगामी साउन २९ र ३१ गते नेपाल र नेदरल्याण्ड्सबीच खेल हुँदैछ । जुन नेपालको लागि निकै महत्वपूर्ण खेल हो । त्यसैले कप्तान पारस इंग्ल्यान्ड भ्रमणले नेदरल्याण्ड टुरमा बिशेष महत्व राख्ने बताउँछन् । “हामीले यसअघि स्कटल्याण्डसँगको खेल अघि नेदरल्याण्ड टुर गएका थियौं । जहाँ हामीले त्यहाँको परिवेशबारे जानकारी पाएका थियौं । त्यसैले हामीले राम्रो तयारी गरेका छौं,” कप्तान पारसले थपे, “हामीलाई लर्ड्स भ्रमणले निकै सहयोग गर्नेछ । किनकि नेदरल्याण्डको परिवेश इंग्ल्यान्डको पिच सुहाउदो हुनेछ ।”
विश्व क्रिकेट लिग च्याम्पियनसिपमा तेस्रो चरणको खेल सकिँदा नेपाल नेपाल छैटौं स्थानमा छ । नेपालमा भएको नामिबियाविरुद्धका दुई खेल जितेर ४ अंक जोडेको नेपालले अब नेदरल्याण्डसँग उसैको मैदानमा खेल्न लागेको हो । च्याम्पियनसिपमा नेदरल्याण्ड्स १० अंकसहित शीर्ष स्थानमा छ । अहिलेसम्म अपराजित नेदरल्याण्डसँग नेपाललाई कठिन हुनेछ ।
तर, इंग्ल्यान्ड टुरले नेदरल्यान्डसँगको खेलमा सहयोग पुग्नेमा प्रशिक्षक जगत टमाटाको विश्वास छ । लर्ड्स भ्रमणले नेपाली टोलीलाई नेदरल्याण्डको ’कन्डिसन’मा भिज्न सहयोग पुग्ने पनि प्रशिक्षण टमाटाले बताए ।
“युरोप नेपालको भन्दा फरक ‘कन्डिसन’ छ । नेपाली खेलाडीहरूले युरोपमा खुलेर खेल्न सक्दैनन् । त्यसैले लर्ड्स भ्रमण हामीलागि नेदरल्याण्ड टुरको लागि तयारी स्वरूप हुनेछ । जुन एकदमै महत्वपूर्ण छ,” प्रशिक्षक टमाटाले भने, “त्यस्तैले खेलाडीले पनि निकै मेहेनत गरेका छन् र हामीलाई एमसीसीमा खेल समेत देखाउने अवसर पाएको छ ।“
युरोप भ्रमणका लागि प्रशिक्षक टमाटाले सन्तुलित टिम बनाएको छ । जुन युरोपको कन्डिसनलाई सुहाउने खालको छ । प्रशिक्षक टमाटाको अनुसार नेपाली टोलीमा यसपटक फास्ट बलर र ब्याट्सम्यानलाई बढी फोकस गरिएको छ ।
प्रकाशित मिति: आइतबार, असार २६, २०७३ १७:५६
प्रतिक्रिया दिनुहोस्