विशेष
देशका सबै क्षेत्रजस्तै नेपालको इन्जिनियरिङ क्षेत्र पनि चरम राजनीतिकरणबाट अछुतो छैन । यसैबीच यही भाद्र ३१ गते नेपाल इन्जिनियर्स एसोसिएसन (नेईए) को १५ सदस्यीय कार्यसमिती र नेपाल ईन्जिनियरिङ परिषद्का लागि ५ जना विषयगत सदस्यको लागि निर्वाचन हुदैँछ । यस घडीमा आफ्ना पक्षका उम्मेदवारलाई जिताउन दौडधुप भइरहेको छ । यो दौड राजनीतिक दलको भन्दा कुनै पनि दृष्टिकोणले कम छैन ।
एसोसिएसन निर्वाचनमा मत खसाल्न योग्य इन्जिनियरहरूको संख्या करिब ३५ हजारभन्दा बढी छ । तर, आधाभन्दा बढी इन्जिनियरहरू विदेशमा भएका र स्वदेशमै कार्यरत इन्जिनियरहरूमा एसोसिएसनप्रति वितृष्णा भएकाले यो पटक ७–८ हजारभन्दा बढी मत नखस्ने देखिन्छ । यो चुनाव काठमाडौं तथा केही क्षेत्रीय सदरमुकाममा कार्यरत इन्जिनियरहरूको लागिमात्र भएको छ ।
विश्वसनीय अनलाइन भोटिङमार्फत संसारको जुनसुकै कुनाबाट पनि मतदान गर्ने सक्ने पद्घतिको विकास गरेर उदाहरणीय बन्नुपर्नेमा संकीर्ण सोचबाट ग्रसित भई परम्परागत भोटिङ प्रणाली नै अपनाउँदै आइएको छ । विदेशमा रहेका इन्जिनियरहरूलाई मताधिकारबाट वञ्चित गर्ने निर्णयले विदेशमा रहेका इन्जिनियरहरूको भावनामा ठेस पुर्याउनुका साथै इन्जिनियर एसोसियसनको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार र सुमधुर बनाउन तथा विदेशमा बसेर सिकेको ज्ञानलाई देशको हितमा प्रयोग गर्न विदेशस्थित केन्द्रले खेलिरहेको अहम भूमिकालाई अवमूल्यन गरिएको छ ।
विश्वका धेरै मुलकहरूका यस्ता पेसागत संस्थाहरू अध्ययन अनुसन्धानको माध्यम बन्ने, प्राविधिक नीतिहरू तर्जुमा गर्न सरकारलाई सुझाव दिने, विभिन्न आचारसंहिता निर्माण गरी लागु गराउन सक्रिय पहल गर्ने गर्दछन् । उदाहरणको लागि अमेरिकन सोसाइटी अफ सिभिल इन्जिनियरिङ र जापानिज सोसाइटी अफ सिभिल इन्जिनियरिङआदिले गर्ने काम त्यही नै हो । देशको विकासमा यस्ता संस्थाको धेरै ठूलो भूमिका हुन्छ ।
नेपालको परिप्रेक्ष्यमा के यस्तो सोचले प्राथमिकता पाएको छ त ? कुनै पनि राजनीतिक घटनाको तुरुन्त प्रतिक्रिया जनाउन सक्ने नेइएले देश संघीयतामा जाँदै गर्दा प्राविधिक र द्रूत विकासको सम्भावनाको हिसाबले कुन चरित्रको तथा कस्तो भौगोलिक विभाजनको संघीयता उपयुक्त हुन्छ भनेर आफ्नो विचार प्रस्तुत गर्नुपर्ने थियो कि थिएन ? यसैगरी काठमाडौं–तराई जोड्ने द्रूतमार्ग, बुढीगण्डकी उच्च बाँधयुक्त जलविद्युत् परियोजनाजस्ता ठला आयोजनाको लागत र यस्ता परियोजना नेपालीले बनाउन सक्ने वा नसक्ने विषयमा राजीतिक वृत्तमा बहस हुँदा नेईएले आफ्नो दृष्टिकोण दिन सक्नुपर्छ कि पर्दैन ? त्यस्तै सिक्टा सिञ्चाइ आयोजनाको मुख्य नहर परीक्षणकै क्रममा भत्किएको तथा अर्मला पोखरामा भ्वाङ परेर एउटा बस्ती नै जोखिममा परेको समाचार विभिन्न माध्यमबाट आयो तर नेईएले त्यसमा कुनै चासो नै दिएको पाइएन ।
नेईएजस्तो संस्थाले यस्ता विषयमा तुरुन्त अनुसन्धान गरी यथासम्भव आफ्नो राय दिनुपर्छ । त्यस्तै नेईएले मुलुकका प्राकृतिक स्रोतको उपयोगको निम्ति सरकार तथा राजनीतिक दलहरूलाई प्राविधिक सल्लाह दिने र त्यसअनुसार राष्ट्रिय नीति बनाउन पहल गर्ने हो । अरुण तेस्रो, माथिल्लो कर्णाली तथा पश्चिम सेतीलगायत अन्य नदीनाला उपयोग गर्ने सम्बन्धमा उठेका प्राविधिक पक्षहरूमा आफ्नो दृष्टिकोण प्रस्तुत गरेर जनतालाई सुसूचित र राज्यलाई सजग बनाउने काम कहिल्यै गरेको छ ? त्यस्तै सन् २०२२ मा नेपाल अति अविकसित राष्ट्रबाट मध्यम स्तरको राष्ट्रमा उक्लने भनेर सरकारले केही समयअगाडि घोषणा गरेको थियो । यस घोषणालाई साकार पार्ने हो भने के, कति र कस्ता पूर्वाधार आवश्यक पर्छ अनि त्यसमा नेपाली इन्जिनियरहरूको भूमिका कस्तो हुनुपर्छ भनेर नेईएले बोल्ने कि नबोल्ने ? यस्ता अन्य धेरै प्राविधिक विषयमा नेईएले आफ्नो धारणा राख्ने हो भने यसले नेपाली इन्जिनियरहरूप्रति समाजको विश्वास बढ्नुका साथै पेसागत दायित्व पनि पूरा हुन जान्छ । नेपाली इन्जिनियरहरूको दक्षता अभिवृद्धि गर्न जुनरूपमा कार्यक्रम गर्नु पर्ने त्यो गर्न त नेईएले सकेन नै तिनको क्षमतालाई बाहिर देखिने गरी उजागार गर्नबाट पनि नेईए चुकेको प्रष्ट हुन्छ ।
इन्जिनियरिङ त विज्ञान तथा प्रविधिको प्रयोग हो ।
तीव्र गतिमा परिष्कृत भइरहेको प्रविधिसँग परिचित नहुने हो भने हामी इन्जिनियरहरूमाथि राज्य तथा जनताको विश्वास घट्छ र हामी वास्तविक इन्जिनियर हुन पनि सक्दैनौ । यसको उदाहरण नेपालमा ठूला परियोजनाको कुरा गर्दा हाम्रो क्षमता नै छैन भनिन्छ र सामान्य परियोजनामा पनि विदेशी इन्जिनियर राखेर करोडौं खर्च गरिन्छ । त्यसले नेईएको ध्यान आफ्ना सदस्यको व्यावसायिक दक्षता अनवरत अभिवृद्धि गर्नमा जानुपर्छ । तर, हालसम्म यसो भएको देखिएको छैन । इन्जिनियरले आफ्नो सीप र ज्ञानको प्रयोग निर्धक्क गर्ने र उनीहरूको निर्णयमा कुनै अनुचित दबाब नदिने एवं तिनको निर्णयको जिम्मेवारी उनीहरूले नै लिनुपर्ने पद्धतिको विकास गर्न राज्यलाई सकारात्मक दबाब दिनु नेईएको प्रमुख अभिप्राय हुनुपर्छ । नगरपालिका, जिविसलगायतका निकायमा आफ्नो प्राविधिक ज्ञानभन्दा पनि राजनीतिकर्मीको दबाबमा परेर गलत काम गर्नुपरेको विषयमा अहिलेसम्म नेईएले के गर्यो त ?
नेपाली विश्वविद्यालयहरूको इन्जिनियरिङ पाठ्यक्रम र अमेरिका, क्यानाडा, युरोप तथा अस्ट्रेलिया जस्ता देशका विश्वविद्यालयको इन्जिनियरिङ पाठ्यक्रममा खासै अन्तर पाइँदैन । तर, नेपाली इन्जिनियरहरूले ती देशमा मान्यता पाउन सकेका छैनन् । नेपाली इन्जिनियरले त्यहाँ गएर फेरि अध्ययन गरी विभिन्न परीक्षा उत्तीर्ण गरेरमात्र इन्जिनियरको मान्यता प्राप्त गर्छन । यस्तो विभेदलाई अन्त्य गरी नेपाली इन्जिनियरले विश्वको कुनै पनि स्थान मान्यता पाउने व्यवस्थाका लागि पहल गर्नुपर्ने हो । त्यसका लागि नेपालमै व्यावसायिक इन्जिनियरको पद्धति सुरु गर्न राज्य तथा इन्जिनियरिङ परिषद्लाई दबाब दिनु नेईएको प्राथमिक कार्य हुनुपर्छ ।
माथिका कार्य गर्न नेईएले विभिन्न विषयका विज्ञसहितको विषयगत उपसमिति बनाउन जरुरी हुन्छ ।
विषयगत उपसमितिले आफ्नो विषयसँग सम्बन्धित सरकारी निकाय र त्यस विषयमा अध्ययन अनुसन्धान गर्ने संस्थान तथा क्याम्पसहरूसँग समन्वय गरी नियमितरूपमा राष्ट्रिय, अन्तर्राष्ट्रिय कार्यशाला तथा गोष्ठी गर्ने र त्यसै विषयमा सम्बन्धित जर्नलहरू वार्षिकरूपमा प्रकाशित गर्नुपर्छ । त्यस्तै विषयगत आचार संहिता निर्माण गर्ने काम गर्नुपर्छ । विडम्बना, अहिलेको नेईएलाई नेपालका अध्ययन संस्थान र अन्य संस्थामा के के अध्ययन अनुसन्धान भएका छन् भन्ने सामान्य जानकारी पनि छैन ।
दुई वर्षमा प्रायः सिभिल इन्जिनियरिङको वर्चस्व हुने एउटा खिचडी कार्यक्रम गरेर झारा टार्नु अति दुर्भाग्यपूर्ण नै हो । इन्जिनियरिङ विधासँग सम्बन्धित अनुसन्धनात्मक पुस्तक तथा जर्नल पढ्न र विश्वका चर्चित जर्नलहरूमा लाइब्रेरीबाटै पहुँच हुनसक्ने व्यवस्था भएको नेईएको आफ्नो व्यवस्थित पुस्ताकालय हुनुपर्छ कि पर्दैन ? यस प्रयोजनका लागि नेईएले छुट्टै न्यूनतम शुल्क लिँदा हुन्छ । आफ्नो वेबसाइट पनि अपडेट र उपयोगीमूलक बनाउन नसक्ने नेईएले देश निर्माणको नेतृत्व गर्छाैं भन्नु हास्यास्पद हुन्छ । हामीजस्ता पेसाकर्र्मीले आफ्नो दायित्व र कार्यक्षेत्रको ख्याल नगरेर ठूला कुरा गर्न सुहाउँदैन ।
जापनामा लामालामा पुल, दुबईमा संसारकै अग्ला टावर, बेलायतमा उच्चतम प्रविधिको रेल सेवा, सिङ्गापुर तथा हङकङमा सुरुङ, अमेरिका तथा क्यानाडामा विभिन्न बृहत् भौतिक संरचाना निर्माणमा साथै नासाजस्ता अन्य संस्था र विश्वका उत्कृष्ट विश्वविद्यालयमा अनुसन्धानमा ठूलो संख्यामा नेपाली इन्जिनियर संलग्न छन् । विदेशमा रहेका यी नेपाली इन्जिनियरहरूको अनुभवलाई नेपालको भौतिक विकास गर्न र इन्जिनियरिङ शिक्षालाई समयसाक्षेप तथा विश्वस्तरीय बनाउन प्रयोग गर्न सकिन्छ । त्यसका लागि पनि नेईएले ठूलो भूमिका खेल्न सक्ने देखिन्छ ।
उल्लेखित कार्यहरू गर्न नेईएको कार्यसमितिमा रहने व्यक्तिहरू पनि त्यहीअनुसारको अनुभव, शैक्षिक योग्यता, विशेषज्ञता र उच्च मनोबलको हुनुपर्छ । विडम्बना, त्यस्ता अनुभव, शैक्षिक योग्यता र विशेषज्ञता भएका इन्जिनियर चुनावमा खडा हुने गुट उपगुटको नजरमै पर्दैनन् । के इन्जिनियर एसोसियसनका पदाधिकारी वा उम्मेदवारले कुनै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलमा लेख प्रकाशन गरेका छन् त ? के उनीहरूले कुनै अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा आफ्नो विज्ञतालाई प्रस्तुत गर्ने हैसियत राख्न सक्छन् वा आफ्नो कार्य तथा विषयमा उच्च दक्षता हासिल गरेका छन् त ? हालसम्मका नेईए कार्यसमितिमा भएकाहरूलाई हेर्ने हो भने केही अपवादबाहेक त्यस्तो व्यक्तिहरू भेटाउन सकिँदैन, यो नै पेसागत विशेषगरी हाम्रोजस्तो प्राविधिक समूहको दुर्भाग्य हो ।
अनुसन्धानमूलक लेखमा लेखकहरूलाई कुन क्रममा कसरी राख्ने गरिन्छ भन्नेसमेत नेईएलाई थाहा रहेनछ । कुनै लेखकले लेख बुझाएपछि प्रकाशन गर्ने सस्थाले लेखकहरूको क्रमलाई लेखकसँग नसोधी परिवर्तन गर्नु बौद्धिक अपराध हो भन्ने सामान्य कुरा नेईएका मुख्य व्यक्तिलाई थाहा रहेनछ भन्ने हालै नेईएले प्रकाशित गरेको गोरखा भूकम्प विशेष जर्नलबाटै प्रष्ट हुन्छ । कसलाई आफ्नो प्यानलमा राख्यो भने बढी पैसा खर्च गर्न सक्छ तथा आफ्नो उमेर समूह, लिङ्ग, क्षेत्र, विभाग र जातको भोट बढी ल्याउन सक्छ भन्ने आधारलाई प्राथमिकतामा राखेर उम्मेदवार छनोट गरिन्छ । अनि जुनसुकै प्यानलबाट भए पनि यस्ता आधारबाट छनोट भएर चुनाव जितेको व्यक्तिहरूबाट इन्जिनियरिङ पेसाको समृद्धिको आशा गर्नु विष रोपेर फलको आशा गर्नुजस्तै हो ।
करिब अढाई वर्षअगाडि निर्वाचित अहिलेको ३० आंै कार्यसमितिले नेईएको इतिहासमा केही उल्लेखनीय कार्य गरेको छ र त्यसको इन्जिनियरिङ समुदाय तथा जनस्तरबाट पनि प्रशंसा भएको छ । चाहे त्यो जुरे पहिरो जाँदा होस् वा गत वर्षको भूकम्पपस्चात भूकम्पको असर र क्षतिबारे सर्वसाधरणलाई सुसूचित गर्ने कार्य होस् । करिब ३ हजार ५०० इन्जिनियरहरूलाई स्वंयमसेवकका रूपमा खटाएर हजाराैं घरको अवस्था बारेमा घरधनीहरूलाई जानकारी गराउने कार्य गरेको थियो । त्यस्तै ठूलो संख्यामा इन्जिनियरहरूलाई भवन प्रबलीकरण तथा भूकम्प प्रतिरोधी निर्माणका तालिम पनि संचालन गर्यो । गत वर्ष गएको भूकम्पको बहुआयामिक पक्षलाई एउटा दस्ताबेजका रूपमा संकलन गर्न गोर्खा भूकम्प विशेष जर्नल प्रकाशित गर्नु पनि एउटा महत्वपूर्ण काम हो अहिलेको समितिको ।
प्रत्येक साता प्रविधि, इन्जिनियरिङ शिक्षा, विकासनिर्माण तथा उत्प्रेरणासम्बन्धी कार्यशाला संचालन गरेर इन्जिनियरहरूलाई सुसूचित गराउने कार्य अहिलेको कार्य समितिको महत्वपूर्ण उपलब्धि मान्नुपर्छ । विदेशमा कार्यरत नेपाली तथा विदेश विज्ञलाई इन्जिनियरिङ समुदायसँग प्रस्तुत गर्ने र उनीहरूसँग अनुभव आदानप्रादन गर्ने कार्य पनि सुरु गरेको छ । केही महत्वपूर्ण अन्तर्राष्ट्रिय इन्जिनियरिङ समुदायसँग पनि साझेदारी गर्न अहिले कार्यसमिति सफल भएको देखिन्छ । इन्जिनियरको अनवरत व्यावसायिक विकासका लागि इन्जिनियरिङ स्टाफ कलेजको नीतिगत निर्णय गराई बजेटसमेत व्यवस्था पर्न सफल भएको छ । इन्जिनियरहरूलाई आफ्नो व्यवसाय सुरु गर्न प्रोत्साहन गर्नका लागि आवश्यक सुविधासहितको कार्यकक्ष पनि सञ्चालनमा ल्याएको देखिन्छ ।
जे होस्, चुनावका बेलामात्र आफ्ना सदस्यहरूसमक्ष पुग्ने प्रचलन भएकोमा यस समितिले वर्षभर केही न केही कार्यक्रम गरेर सदस्यहरूबीच जाने कार्य सुरु गरेको देखिन्छ । यद्यपि, क्षमता र संगठनका आधारमा गर्नुपर्ने धेरै काम बाँकी छन् । त्यस्ता कतिपय विषय त नतृत्व लिन होडबाजी गर्नेहरूले उठान गर्नै सकेका छैनन् ।
इन्जिनियरहरूको हकहितका लागि लड्ने र यस पेसालाई अझ विकसित एवं मर्यादित बनाउने नेईएले नै हो । आसन्न निर्वाचनले इन्जिनियरहरूको आवाजलाई सम्बोधन गर्न सक्नुपर्छ । नत्र नेईएको विरोधमा उठिरहेका आवाज अझ चर्कनेछन् । इन्जिनियरिङ क्षेत्रमा देखिएका विकृति विसंगति तथा अस्वस्थ र गैरकानुनी कार्यको अन्त्य सदाका लागि हुनैपर्छ । एसोसियसनप्रतिको इन्जिनियरहरूको गुनासोलाई मनन गर्न व्यावसायिक, शैक्षिक र बौद्धिक क्षेत्रमा सफल तथा उदीयमान नेतृत्व आवश्यक छ । एसोसियसनप्रति इन्जिनियरहरूको विश्वास पुनःस्थापित गर्ने हो भने यो सही समय हो नेपाल इन्जिनियरिङ एसोसियसनका लागि । अब एसोसियसनप्रतिका वितृष्णा मेटेर यसलाई सबै इन्जिनियरको साझा थलो बनाउने र ३० आंै कार्य समितीले गरेका सराहनीय कार्यलाई निरन्तरता दिने जिम्मा निर्वाचनपछि बन्ने नयाँ कार्यसमितीको काँधमा छ ।
प्रकाशित मिति: बिहीबार, भदौ ३०, २०७३ १३:५१
प्रतिक्रिया दिनुहोस्