काठमाडौं । बाराकी प्रतिमा ढकाल वीरगञ्जको नेशनल मेडिकल कलेजमा स्नातक तेस्रो तहमा नर्सिङ पढ्दैछिन् । उनले अहिलेसम्म कलेजमा शुल्कमात्रै ९ लाख रुपैयाँभन्दा बढी तिरिसकेकी छिन् । उनको पढाइ यसै वर्ष सकिन्छ । उनले पिसिएल सकेर ६ महिना भोलेन्टियरको रुपमा भवानी अस्पताल वीरगञ्जमा काम गरिन् ।
प्रतिमा भन्छिन् “नेपालमा यति धैरै खर्च गरेर पढ्यो, काम नै पाइन्न । काम पाइहाले पनि सात–आठ हजारमा गर्नुपर्छ । रातदिन नभनी काममा खट्नुपर्छ । न सुत्ने टुंगो हुन्छ, न खाने टुंगो हुन्छ ।”
पिसिएल सकेर ६ महिना भोलेन्टियर गर्दामात्र उनले थाहा पाइन् नर्सहरुको वास्तविक पीडा । “यहाँ न कामको सम्मान छ, न राम्रो पारिश्रमिक नै पाइन्छ । बीएन सकेको तेस्रो–चौथो तहको नर्सको तलब सरकारीको भन्दा पनि कम हुन्छ,” उनी गुनासो गर्छिन्, “म त अब पढाइ सकेर विदेश जाने सोचमा छु ।”
हेटौंडाकी दीपा शाहले नारायणी उपक्षेत्रीय अस्पतालमा पिसिएल (प्रमाणपत्र) तह नर्सिङ सकाएको भर्खर एक वर्ष भयो । उनले पिसिएलका लागिमात्रै करिब ३ लाख रुपैयाँ तिरिसकेकी छन् । खर्च अभावकै कारण उनी बीएन नपढ्ने मनस्थितिमा छिन् ।
भन्छिन्, “आर्थिक अवस्था कमजोर छ । पिसिएल त दाइले ऋण लिएर पढाउनुभयो । अझै ऋण थपेर कसरी पढ्नू बीएन ? ।” उनी अहिले कृष्ण अस्पताल वीरगञ्जमा निकै कम तलबमा काम गरिरहेकी छन् । दिपा भन्छिन्, “नर्सिङ पढेर राम्रो तलबमा काम गर्छे भन्नु त सपनाजस्तै रहेछ ।”
त्यसो त कतिपय नर्स पुरुष कर्मचारीको नराम्रो व्यवहार खेप्न पनि बाध्य हुन्छन् । “पुरुष साथीले गर्ने व्यवहारले गर्दा काम नै छोडौं जस्तो पनि हुन्छ । सबैभन्दा गाह्रो नाइट ड्युटीको समयमा हुन्छ । बिरामी र बिरामी कुरुवाबाट पनि नै असुरिक्षत महसुस हुन्छ,” दिपा भन्छिन् । रातिको समयमा एक जना नर्सको भागमा ३० देखि ४० जनासम्म बिरामी पर्ने उनको भनाइ छ । सरकारले तलब–सुविधा सुनिश्चित गरिदिएरर भोलेन्टियर गर्नुपर्ने व्यवस्था हटाइदिए धैरै लगानी गरेर पढेकोमा निराशा हुनु नपर्ने नर्सहरु बताउँछन् ।
सर्लाहीकी रिया दाहाल महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा स्नातक तेस्रो तह नर्सिङ पढ्दैछिन् । उनले कलेजलाई शुल्कमात्र ४ लाख भन्दा बढी तिरेकी छन् ।
उनको पढाइ यसै वर्ष सकिन्छ । त्यसपछि काम गर्न विदेश जाने उनको योजना छ । “यहाँ कहिले कामको सम्मान पाइने र मान्छेले हेर्ने दृष्टिकोण राम्रो हुने ? विदेशमा त नर्सलाई राम्रो नजरले हेरिन्छ नि !” रिया भन्छिन्, “परिवारले लाखौं खर्च गरेर पढाएको हुन्छ, उहाँहरुको सपना पूरा गर्न पनि विदेश जानैपर्ने बाध्यता छ ।”
प्रतिमा, दिपा, रियाजस्ता सयौं नर्स कतिपय निःशुल्क त कतिपय थोरै तलब सुविधामा काम गर्न बाध्य छन् । नर्सिङ काउन्सिलकी अध्यक्ष चन्द्रकला शर्मा भन्छिन्, “नेपालको स्वास्थ्य क्षेत्रको कायापलट गर्ने सपना देख्ने हो भने नर्सिङ सेवा प्राथमिकतामा पर्नुपर्ने हो । तर, अस्पताल स्तरमा मात्रै होइन, नीति निर्माणमा समेत नर्सिङ पेसामा रहेका महिला विभेदमा परेका छन् ।”
भोलेन्टियर प्रथा हटाउनुपर्ने, न्यूनतम पारिश्रमिक १८ हजार रुपैयाँ हुनुपर्ने, अस्पतालमा कार्यरत हरेक नर्सले नियुक्तिपत्र पाउनुपर्ने, समयअनुसार स्थायी गर्ने व्यवस्था हुनुपर्नेलगायत माग नर्सहरुका छन् । नर्सिङ संघकी अध्यक्ष तारा पोखरेलका अनुसार केही समय अघिमात्रै माथेमा आयोगले गरेको निःशुल्क शिक्षाको व्यवस्थाअनुसार सोही तहको नर्सिङ शिक्षा पनि निःशुल्क हुनुपर्ने, बेड रेसियोअनुसार नर्सका दरबन्दी खुलाउनुपर्ने, रोजगारीको क्षेत्र विस्तार गर्नुपर्ने आदि माग पनि नर्सहरुका छन् ।
संघीय संरचनाअनुसार केन्द्रमा नर्सिङ महाशाखा र प्रदेशमा शाखा हुनुपर्ने माग पनि नर्सहरुको छ । “गुणस्तरीय स्वास्थ्य सेवाको अपेक्षा नर्सिङ सेवाबिना गर्न सकिँदैन । अहिले नेपालमा स्वास्थ्य सेवाको गुणस्तर कमजोर देखिनुमा यो सेवाको यथोचित मूल्यांकन नहुनु पनि एउटा मुख्य कारण हो,” अध्यक्ष पोखरेल भन्छिन्, “रातदिन बिरामीको सेवामा नर्स खटिन्छन्, तर यसको मूल्यांकन भएको छैन । एकै नर्सले धेरै बिरामी भ्याउनुपर्ने भएकाले सेवा पनि अपेक्षाकृत हुन सकेको छैन ।” सरकारले अनिवार्य रूपमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार नर्स नियुक्त गर्न सबै अस्पताललाई दबाब दिनुपर्नेमा उनको जोड छ ।
नेपाल नर्सिङ संघका अनुसार नेपालमा ७४ हजार ८ सय ४० जना नर्स छन् । तीमध्ये संघमा दर्ता सदस्य ११ हजारमात्र छन् । सरकारी अस्पतालमा भने करिब ८ हजार नर्स कार्यरत छन् ।
तस्बिर : रासस