site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
कतारले नेपालमा दुईवटा स्टेडियम बनाइदिन चाहेको थियो, तर...

काठमाडौं । कतारका अमिर शेख तमिम विन हमाद अल थानीको नेपाल भ्रमणमा नेपालले एउटा राम्रो अवसर गुमायो । त्यो हो– फुटबल र क्रिकेटका स्टेडियम निर्माण गर्ने अवसर । त्यो पनि कतारको सहयोगमा ।

नेपालका लागि कतारका राजदूत मिशाल बिन मोहम्मद अली अल–अन्सारीले कतारका अमिर थानीको नेपाल भ्रमणका बेला ‘सिम्बोलिक’ रुपमा फुटबल र क्रिकेटका स्टेडियम निर्माण प्रक्रिया अगाडि बढाउने इच्छा व्यक्त गरेका थिए ।

परराष्ट्र मन्त्रालयले उक्त जानकारी युवा तथा खेलकुद मन्त्रालयलाई दियो । कतारका अमिरको नेपाल भ्रमणको तयारी गर्दैगर्दा यस्तो जानकारी पाएपछि खेलकुद मन्त्रालयले गृहकार्य गरेको थियो ।  खेलकुद मन्त्रालयले क्रिकेट र फुटबलका एक–एक रंगशाला बनाउन कतारलाई अनुरोध गर्ने प्रस्ताव बनाएर परराष्ट्र मन्त्रालयलाई पठायो । 

कतारका अमिर थानीको दुई दिने नेपाल भ्रमणका क्रममा नेपाल र कतारबीच आठ बुँदे सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुँदा युवा तथा खेलकुद क्षेत्र पनि समावेश थियो । तर त्यसमा स्टेडियम उल्लेख गरिएको छैन । 

खेलकुद मन्त्रालयका प्रवक्ता शिवप्रसाद रेग्मीले परराष्ट्र मन्त्रालयमार्फत् खेलकुद मन्त्रालयले कतारसमक्ष क्रिकेट र फुटबलको एक–एक रंगशाला बनाउने प्रस्ताव पेस गरिएको बताए । 

उनले हस्ताक्षरमा नेपाल र कतारबीच युवा र खेलकुदको क्षेत्रमा सहयोग आदान–प्रदानसम्बन्धी समझदारी भए पनि स्टेडियम उल्लेख नगरिएको बताए ।

“यो समझदारीका आधारमा पछि योजना बनाएर योजनाअनुसार सहकार्य गर्ने भन्ने छ । तर अझसम्म ठोस सम्झौता र समझदारी भएको छैन,” प्रवक्ता रेग्मीले बाह्रखरीसँग भने, “हामीले अन्तर्राष्ट्रियस्तरको क्रिकेटको एउटा र फुटबलको अन्तर्राष्ट्रियस्तरको एउटा गरी दुई रंगशाला निर्माणका लागि प्रस्ताव पठाएका थियौं । त्यो प्रस्ताव कहाँनेर ‘ग्याप’ भयो थाहा भएन, तर यहाँबाट गइसकेको थियोे । परराष्ट्रबाट पनि हामीलाई केही जानकारी आएको छैन ।”

नेपालमा क्रिकेट र फुटबलका अन्तर्राष्ट्रियस्तरका एक÷एक वटा स्टेडियम बनाउने चाहना कतारकै थियो । कतारले नेपालीले लगाएको गुन तिर्न खोजेको थियो । 

सन् २०२२ मा कतारमा जुन स्टेडियमहरुमा फिफा विश्वकप आयोजना भएका थिए, ती निर्माण गर्न नेपालीले रगत पसिना बगाएका थिए । कतारमा फुटबल स्टेडियम निर्माण गर्ने क्रममा कयौं नेपाली कामदारको मृत्यु भएको थियो ।

नेपालीलगायत अन्य आप्रवासी कामदारको स्टेडियम बनाउने क्रममा मृत्यु भएको विषयलाई अन्तर्राष्ट्रिय समुदाय र मिडियाले निकै चासोका साथ उठाएका थिए । अन्तर्राष्ट्रिय समुदाय र मिडियाले दिएको दबाबकै कारण कतारले श्रम कानुन संशोधन गरी लचकता अपनाएको थियो ।

“जुन गुन नेपाली कामदारले कतारमा स्टेडियम बनाउन लगाएका थिए र उनीहरुकै कारण कतारले सफलतापूर्वक सन् २०२२ मा फिफा विश्वकप आयोजना गरेको थियो । त्यसको गुन नेपालमा दुई वटा स्टेडियम बनाई तिर्न चाहन्थ्यो, तर त्यो तत्काल पुरा हुने देखिएन,” परराष्ट्र मन्त्रालय उच्च स्रोतले बाह्रखरीसँग भन्यो ।
 
कतारका अमरिको नेपाल भ्रमणको मिति तय भएपछि कतारी राजदूतले नै फुटबल र क्रिकेटका लागि स्टेडियम बनाउने कुरा अगाडि बढाएका थिए । नेपाल र कतारबीचको सम्बन्ध झल्किने गरी ‘सिम्बोलिक’ रुपमा दुई स्टेडियम बनाउने प्रस्ताव उनले नेपालसँग मागेका थिए । 

“बुधबार होटल सोल्टीमा भएको नेपाल–कतार प्रतिनिधिमण्डलस्तरीय बैठकमा हामीले फुटबल र क्रिकेट स्टेडियमका कुरा राम्रोसँग उठाउनै सकेनौं । हामी त्यसै अलमलियौं । हामीले राम्रोसँग स्टेडियम बनाउने कुरा उठाएको भए कतारले सहजै बनाइदिन्थ्यो । बैठकमा बस्ने नेपाली अधिकारीहरुले यसको महत्व नै बुझेनन्,” बैठकमा सहभागी परराष्ट्र मन्त्रालय स्रोतले भन्यो । 

नेपाल–कतार प्रतिनिधिमण्डलस्तरीय बैठकमा नेपालको नेतृत्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका थिए भने कतारको नेतृत्व कतारका अमिर थानीले गरेका थिए ।
 
“कतारले कति दर्शक क्षमताको, के कस्ता सुविधा भएको स्टेडियम चाहिने हो त्यसको विस्तृत रिपोर्ट नै चाहेको थियो । हामीले दिन पनि सकेनौं र बुझाउन पनि सकेनौं । अझ भनौं विषय उठाउनै सकेनौं,” बैठकमा सहभागी स्रोतले भन्यो । 
 

प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  १६:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro