site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
काठमाडौंका सडकमा अब गुड्नेछन् विद्युतीय ट्याक्सी, निलो माइक्रो र ट्याम्पो विस्थापित गर्ने तयारी 
सांकेतिक तस्बिर

काठमाडौं । वाग्मती प्रदेश श्रम रोजगार तथा यातायात मन्त्रालयले ट्याक्सीको सट्टा भर्नाका लागि विद्युतीय ट्याक्सीको दर्ता सुरु गरेको छ । 

पेट्रोलियम पदार्थबाट चल्ने १५–२० वर्ष पुराना ट्याक्सीको सट्टा भर्ना सुरु गरिएको मन्त्रालय प्रशासन योजना तथा अनुगमन महाशाखाका उपसचिव हरिहर पोखे्रलले जानकारी दिए । 

उनले दिएको जानकारीअनुसार पुराना ट्याक्सीले विद्युतीय ट्याक्सी सट्टाभर्ना गर्न पाउनेछन् । 

उनका अनुसार तत्काल काठमाडौं उपत्यकामा मात्रै लागु हुनेगरी ट्याक्सी सट्टा भर्ना कार्यविधि बनाएर कार्यान्वयनमा ल्याइएको हो । 

“दुर्घटना भएका, विस्थापित हुन लागेका, जिर्ण अवस्थामा पुगेका ट्याक्सीहरुले सट्टा भर्ना पाउनेछन् । यसका लागि ट्याक्सी व्यवसायी तयार छन्,” उनले भने । 

मन्त्रालयका अनुसार ट्याक्सी सट्टाभर्नाका लागि सम्बन्धित कार्यालयले पत्राचार गरिसकेको छ । 

“हाल बजारमा विद्युतीय ट्याक्सी उपलब्ध नभएको अवस्था छ । कम्पनीले ल्याएका छैनन् । ट्याक्सी व्यवसायी सट्टाभर्ना दर्ता गर्ने पक्षमा छन् । निजी र सार्वजनिक सवारीलाई विस्थापित गर्ने उद्देश्यले यस्तो गृहकार्य भइरहेको छ,” उनले भने । 

निलो माइक्रो र ट्याम्पो विस्थापित गर्ने तयारी 

प्रदेशले निलो माइक्रो र ट्याम्पो विस्थापित गर्ने तयारी थालेको छ । मन्त्रालयका सहसचिव पोख्रेलका अनुसार व्यवसायीले सहमति जनाए निलो माइक्रो र ट्याम्पोको साटो विद्युतीय ट्याक्सी नै सट्टा भर्ना गराइनेछ । 

उनी भन्छन्, “सार्वजनिक सवारीका रुपमा प्रयोग हुँदै आएका निलो माइक्रो, ट्याम्पोको सट्टा भर्ना गर्ने तयारी भइरहेको छ । यी सवारी साधनको साटो पनि ट्याक्सी सट्टा भर्ना हुने छ ।”

पोख्रेलका अनुसार काठमाडौं उपत्यकामा हाल ट्याक्सीको मात्रै सट्टाभर्ना सुरु गरिएको छ । मन्त्रालयले निलो माइक्रो र ट्याम्पोलाई पनि विस्थापित गर्ने कार्यविधि बनाइसकेको छ । तर व्यवसायीहरुको असन्तुष्टि र विरोधका कारण यो अघि बढ्न सकेको छैन । 

कार्यविधि तयार भए पनि निलो माइक्रो र ट्याम्पोको सट्टाभर्ना प्रक्रियाका लागि समय लाग्ने मन्त्रालयले जनाएको छ । 

निलो माइक्रो र ट्याम्पो व्यवसायीको विरोध र असन्तुष्टि कायमै रहे संशोधन पनि गर्न सकिने विकल्पबारे छलफल भइरहेको पोख्रेलले बताए । 

पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सवारी साधन विद्युतीय सट्टाभर्नाका लागि ०७८ चैत २४ गते मन्त्रिपरिषद्बाट निर्णय गरिएको मन्त्रालयले जनाएको छ । सोही निर्णयमा टेकेर ट्याक्सी, निलो माइक्रो र ट्याम्पो व्यवसायीले विद्युतीय ट्याक्सी लिन पाउनेछन् । 

बजारमा विद्युतीय ट्याक्सी अभावका कारण यो प्रक्रियाले गति लिन सकेको छैन । बजारमा विद्युतीय ट्याक्सी आएपछि तीव्र गतिमा सट्टा भर्नाको काम अघि बढ्ने जनाइएको छ । 

निलो माइक्रो र ग्यास टेम्पोलाई ट्याक्सीको सट्टाभर्ना दिन नहुने  व्यवसायीले बताउँदै आएका छन् । 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाज लगायतका सम्बन्धित निकायले प्रेस विज्ञप्ति जारी गरेर असन्तुष्टि जनाएका छन् ।  

व्यवासायीको हितकै लागि यो काम अघि बढाइएको मन्त्रालयले जनाएको छ । भरपर्दो र सजिलो तरिकाले सट्टाभर्ना सञ्चालन हुन अझै केही समय लाग्ने मन्त्रालयले जनाएको छ । 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय हादुर स्वारले निलो माइक्रो र ट्याम्पोको सट्टा ट्याक्सी दिन नहुने बताए । आफूहरुले विद्युतीय गाडीको कुरा नभइ सार्वजनिक र निजीका आधारमा सर्वसाधारणमाथि पर्ने मर्काको विरोध गरेको उनको भनाइ छ । 

“यसै त ट्याक्सी बढी छन् । त्यहीँमाथि निलो माइक्रो र ट्याम्पोको विकल्प पनि यही रे ! निलो माइक्रोमा १०–१२ जना यात्रु अट्छन् । तर ट्याक्सीमा यति यात्रु अड्दैनन् । ट्याक्सीको विकल्प ट्याक्सी उपयुक्त हो । तर निलो माइक्रो र ट्याम्पोको विकल्प होइन,” उनले भने । 

महासंघको कार्यसम्पादन समितिको बैठकले पनि यसबारे छलफल गरेको अध्यक्ष स्वारले बताए । 

पहिलेको सरकारको निर्णय सोही प्रकृतिको सवारी भनिएकाले पनि ट्याम्पो र निलो माइक्रो प्रकृतिकै सट्टाभर्ना हुनुपर्ने महासंघको भनाइ छ । 

सवारी साधनको सिट क्षमता र पूर्वाधारको कुनै पनि गृहकार्य नगरी यस्तो प्रावधान ल्याएको स्वारले बताए । पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर यति रुपैयाँ भन्ने हुन्छ । यस्तै विद्युतीय सवारीमा पर युनिट यति भन्ने पनि नभएको महासंघको भनाइ छ । 

“ट्याम्पोको विकल्प ट्याम्पो नै देऊ, निलो माइक्रोको विकल्प त्यही देऊ । सवारीको सिट क्षमता, पूर्वाधार हेरेर, मूल्य निर्धारण, प्रभावकारी अध्ययन, अनुसन्धान र गृहकार्य गरियोस् भनेका हौँ,” उनले भने । 

पेट्रोलियमलाई विद्युतीय गर्न लागिएकोप्रति आफूहरुको कुनै पनि किसिमको विरोध नभएको महासंघको भनाइ छ । 
 

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बुधबार, असार २२, २०७९  ०८:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro