site stats
बाह्रखरी :: Baahrakhari
देश
बीस वर्षदेखि लागुऔषध कारोबारमा संलग्न प्रतिवादी पेस्तोलसहित पक्राउ

काठमाडौं । अभद्र व्यवहार तथा लागुऔषध मुद्दाका प्रतिवादी पेस्तोल र लागुऔषधसहित काठमाडौंको गोकर्णेश्वरबाट पक्राउ परेका छन् । 

गोकर्णेश्वर नगरपालिका वडा नं २ भाडगाउँस्थित मीरा तामाङको घरमा डेरा गरी बस्ने ३३ वर्षीय सुदन जोशीलाई प्रहरीले निजको कोठाबाट पक्राउ गरेको हो । उनको साथबाट एक थान पेस्तोल, दुई थान म्यागजिन, १० राउन्ड गोली र २५० ग्राम लागुऔषध पोल्यान्ड, ट्रामाडोल ५०० चक्की बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । 

Argakhachi Cement Island Ad

जोशीले कोठामा अवैध हातहतियार लुकाई राखेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा ती वस्तु बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । प्रहरीले निजलाई बरामद हतियार र लागुऔषधसहित आज सार्वजनिक गरेको हो । 

जोशीलाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

निज जोशीविरुद्ध २०६१, २०६७ र २०६८ सालमा अभद्र व्यवहार कसुर तथा २०६८ र २०७४ सालमा लागुऔषध कसुरमा मुद्दा दर्ता भई अनुसन्धान भएको उनले जानकारी दिए । रासस

प्रकाशित मिति: मंगलबार, फागुन २७, २०८१  २१:५८
प्रतिक्रिया दिनुहोस्