site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पूर्वराजाको सक्रियताप्रति सदनमा आक्रोश : प्रमुख प्रतिपक्षले लगायो सरकारलाई दोष

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियताप्रति संसद् तरंगित बनेको छ । फागुन २५ गते पूर्वराजा शाह पोखराबाट काठमाडौं फर्कदा निकालिएको र्‍यालीप्रति संसद् तातेको हो ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा पूर्वराजाको सक्रियताविरुद्ध गणतन्त्रवादीहरू एकै ठाउँमा उभिएका हुन् । उनीहरूले लोकतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने भन्दै सुदृढीकरणका लागि एक भएर जानुपर्ने आवश्यकता औंल्याएका छन् ।  

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले पूर्वराजाको सक्रियताप्रति आपत्ति जनायो । मंगलबारको संसद्मा विशेष सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनी सक्रिय हुनुको दोषी भने प्रधानमन्त्री केपी शर्मा ओलीकै सरकारलाई दोष दिए । राजाको सक्रियता र उनको अभिव्यक्तिप्रति नै सदनमा सवाल–जवाफ चल्यो ।  उता, प्रतिप्रक्षी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) हौसिएको छ ।

पूर्वराजालाई चेतावनी, सरकारलाई दोष
माओवादी अध्यक्ष प्रचण्डले जनतामा निराश पैदा हुनु र पूर्वराजाको पक्षमा प्रदर्शन हुनुको प्रमुख कारण ओली नेतृत्वको सरकारकै दोष भएको आरोप लगाए ।

उनले पूर्वराजाको प्रदर्शनमा भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिर देखिए पनि सडकमा नेपाली जनता नै उत्रिएको बताए ।

“म पछिल्ला प्रदर्शनहरूलाई केही पनि होइनन् भनेर उपेक्षा गर्दिनँ । सत्तामा रहेकाहरूलाई भन्न चाहन्छु, तपाईंहरू पनि यसको निम्ति भागिदार हुनुहुन्छ । विदेशी षड्यन्त्र पनि होलान्, विगतमा पनि हामीले देख्ने गरेका छौँ । अस्तिको प्रदर्शनमा पनि देख्यौँ, को कसका फोटो टाँसिए, इत्यादी तर त्यसलाई पहिलो प्रमुख हो भन्ने मलाई लाग्दैन । मुख्य कुरा त त्यहाँ उत्रिएको त नेपाली जनता नै हो नि,” प्रचण्ड भन्छन् ।

Puspakamal-Dhaha-Prachanda-1741682749.jpg
उनले जनताको आक्रोशलाई गिजोल्नतिर नलाग्न सरकारलाई चेतावनी पनि दिए । “यसलाई जनताको असन्तोष, अव्यवस्था र कुशासनविरुद्ध जनताको आक्रोशको रूपमा बुझ्न ढिला गरियो भने धेरै ढिला हुनसक्छ । सरकारलाई मेरो चेतावनीपूर्ण आग्रह छ, यसलाई गिजोल्नतिर नलाग्नोस्, सत्ताको अनावश्यक प्रदर्शनतिर नलाग्नोस्,” उनले भने, “तपाईंहरूको अनावश्यक अहंकार र दुर्वचन, उपेक्षा, घमण्ड र अविवेकको मूल्य हो त्यो । त्यसको थप मूल्य तिर्न यो देश तयार छैन ।”

प्रचण्डले सत्तारूढ नेताहरूलाई कहिले सुध्रने भनि प्रश्न पनि गरे । लोकतन्त्र सुदृढ गर्ने सत्तारूढ अघि बढे साथ दिन तयार रहेको पनि बताए ।

प्रचण्डले पूर्वराजा शाहलाई निर्वासन समेत नतोकी तत्कालका लागि सुरक्षित बस्ने ठाउँ समेत दिएर नेपालमा गणतन्त्रको इतिहास लेखिएको विषयलाई कमाजोरी नठान्न चेतावनी दिए ।

“उदारतालाई कमजोरी ठानियो भने इतिहास निकै निर्मम भएर प्रस्तुत हुनसक्छ भनेर हामी सबैले हेक्का राख्न जरुरी छ,” उनको चेतावनी छ ।  

प्रचण्डले नेपाली जनता फेरि रैती हुन्छन् भनेर सोच्नु ठूलो भ्रमबाहेक अरु नभएको पनि बताए । उनले पूर्वराजालाई लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्न आग्रह पनि गरे ।

“लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्नोस्, हामीलाई आपत्ति छैन । लोकतन्त्र जति प्रचण्डको हो, त्यत्ति नै व्यक्ति ज्ञानेन्द्र शाहको पनि हो भन्ने मान्यता हामी राजनीतिक दलहरूले राखेका छौँ र हाम्रो संविधानले त्यो मान्यता स्थापित गरेको छ । यो कुरालाई कमजोरी नठानियोस्,” प्रचण्डले सदनमा भने ।

ज्ञानेन्द्रको मृगतृष्णा, प्रचण्डको गतिधिविधिप्रति आशंका !
एमालेले पूर्वराजा फर्काउने प्रयत्नलाई मृगतृष्णाको संज्ञा दिएको छ । एमालेका सचिव तथा सांसद गोकर्ण विष्टले पूर्वराजा फर्कन सम्भव नभएको बताउँदै त्यो मृगातृष्णा मात्रै भएको बताए ।

उनले माओवादीका अध्यक्ष प्रचण्डले लगाएको आरोपको खण्डन गरे । तीनपटक प्रधानमन्त्री बनेका प्रचण्डले यही सरकारका कारण निराशा छाएको भन्नू र जस–अपजस नबोक्नु गैरजिम्मेवारीपूर्ण रहेको बताए ।

पूर्वराजा हौसिनुमा प्रचण्डको अभिव्यक्ति र गतिविधि नै सहयोगी बनेको आशंका व्यक्त गरेको समेत उनको छ ।  प्रचण्डको गतिविधले प्रतिगामी शक्तिलाई मलजल गरेको आरोप लगाए ।

“संविधानको मर्म र भावनालाई आत्मसाथ गर्नुपर्ने पार्टीको जिम्मेवार नेताको हैसियतले देशव्यापी रूपमा वितृष्णा, निराशा, अराजकता पैदा गर्ने गरी अभिव्यक्ति दिइरहनुभएको छ । प्रतिगामी शक्तिहरूलाई प्रोत्साहित मलजल गर्नेगरी दिइरहनुभएको छ,” उनको अरोप छ ।

उनले प्रचण्डका गतिविधि पनि सहयोगी बनेको हुनसक्ने आशंका समेत व्यक्त गरे । “कतै आज पूर्वराजाको जुन प्रकारको हौसला छ यसका पछाडि यही प्रकारका गतिविधि पनि घुमाएर सहयोगी त बनिरहेका छैनन् । आज हामीले गम्भिरता साथ समिक्षा गर्नुपर्नेछ,” उनले भने । विष्टले संविधानको मर्मलाई सम्मान गर्दै जनतामा आशा भर्ने काम गर्न पनि सुझाव दिए ।

mahesh-bartaula1-1739265602.jpg
एमाले प्रमुख सचेतक महेश बर्तौलाले ज्ञानेन्द्रको निर्देशनमा भएको संविधानविरोधी पूर्वराजाको गतिविधि नियन्त्रण गर्नुपर्ने बताए । “उहाँको निर्देशन, उक्साहटबाट संविधानविपरीतको कार्य भइरहेका छन् । पञ्चायतकालीन राष्ट्रिय गान गाउने, मुलुकको राष्ट्रिय गानको अवमूल्यन गर्ने खालका संविधानविरोधी क्रियाकलाप भएका छन्,” बर्तौलाले भने ।

पूर्वराजाको प्रदर्शनमा उत्तर प्रदेशका मुख्यमन्त्रीको योगी आदित्यनाथको पोस्टर बोक्नु राष्ट्रहितविपरीत भएकाले नोटिसमा राखेर कानुनी कारबाही दायरमा ल्याउनुपर्ने भनाइ बर्तौलाको थियो ।

‘जनताको आक्रोशलाई नजरअन्दाज नगरौँ ’
सत्तारूढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले व्यवस्था जोगाउन पार्टी प्रतिबद्ध रहेको बताए । “हामी यो व्यवस्थाप्रति उत्तिकै प्रतिबद्ध छौंँ । हामी सबै मिलेर ल्याएको संविधानलाई जोगाउन, यो व्यवस्थालाई जोगाउन उत्तिकै प्रतिबद्ध छौँ,” उनले पार्टीको धारणा सुनाए ।

उनले जनताको आक्रोशलाई नजरअन्दाज गर्न नमिल्ने बताए । “जनता असन्तुष्ट छन्, असन्तुष्ट भएका जनतामा आक्रोश छ । आक्रोशलाई नजरअन्दाज गर्नुहुँदैन भन्ने मान्दछु । केही पनि भएको छैन, यो केही होइन भन्ने अहंकार कसैले पनि राख्नुहुँदैन । यसलाई समयमा बुझ्नुपर्छ,” थापाले भने ।

Gagan-Thapa-1-1741684726.jpg
थापाले परिवर्तनका लागि साथ दिएका असन्तुष्ट पक्षसँग संवाद गर्नुपर्ने उनको भनाइ छ । “जसले व्यवस्था परिवर्तनको लागि हामीलाई साथ दियो । जो आज हामीसँग असन्तुष्ट छ, जो रिसाएको छ, आक्रोशित उनीहरूसँग संवाद गर्नुपर्छ ।”

उनले यो सरकार आएर नै जनता रिसाएका हुन् भन्ने प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति जनाए । संविधान जारी भएपछि सबैभन्दा बढी समय सरकारमा रहेको माओवादी जिम्मेवार रहेको भनाइ उनको छ ।

व्यवस्थाको सुदृढीकरणका लागि संविधानका पक्षधरहरूबीच समझदारी हुन आवश्यक रहेकोमा जोड दिए ।

उता, प्रतिपक्षी एकीकृत समाजवादीले भने गणतन्त्र कसैले बक्सिस दिएर नल्याएको भन्दै पूर्वराजाविरुद्ध उभिने जनाएको छ ।

एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले भने, “हामी संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा पूर्णप्रतिबद्ध पार्टी हौँ । यसका विरुद्ध हुने सम्पूर्ण गतिविधि विरद्ध हुनेछौंँ । हामीले रगतसँग साटेर ल्याएको हो यो गणतन्त्र । कसैले बक्सिस दिएर ल्याएको होइन् ।” उनले राजावादीलाई आँट बढाउने काम भने सत्तामा बस्ने गणतन्त्रवादी पार्टीले नै गरेको बताए ।

राप्रपा हर्षित
राजाको सक्रियताप्रति सदनमा चर्चा हुँदा पक्षमा वकालत गरिरहेको राप्रपा भने उत्साही भएको छ । राप्रपाका सांसद ध्रुवबहादुर प्रधानले आफूहरू हर्षित भएको बताए । “सदन राजाको नामले तरंगित छ । अति खुसीको कुरा । हामी हर्षित छौँ,” उनले भने ।  

उनले प्रजातन्त्र दिवसको शुभकामना दिँदा राजाले आफ्नो भूमिका नर्बिसिएको बताए । उनले आफूहरूले अग्रगामी कुरा गरिरहेको जिकिर पनि गरे ।

राप्रपाकै सांसद रोशन कार्कीले फागुन २५ गते पूर्वराजा ज्ञानेन्द्र शाहको पक्षमा निकालिएको र्‍याली ट्रायल मात्रै भएको दाबी गरिन् । पूर्वराजालाई भूत भनेकोमा आपत्ति जनाइन् । उनले सबै जिल्लाबाट राजाको पक्षमा जनता उत्रिँदा लुक्ने ठाउँ खोज्न चेतावनी समेत दिइन् ।

Roshan-Karki-1741681212.jpg
“राजाको जयजयकार गरेको र नेताहरू जिल्लामा जाँदा मुर्दावादको नारा उहाँले सुन्नुभएको थिएन होला,” उनले भनिन्, “यो त मित्र ट्रालय मात्रै हो,” उनले भनिन्, “अरु ७३ जिल्लाका मान्छे थपिए भने जुन भिड आउँछ त्यो देखेर नआत्तिनुहोला । लुक्ने ठाउँ खोजेर बस्नुहोला ।” उनले सरकारको नालायकीपनले भिड जन्माएको दाबी गरिन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, फागुन २७, २०८१  १९:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro