site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
चक्रव्यूहमा जगन्नाथ 

स्थानीय तह निर्वाचनमा चितवनको भरतपुर महानगरपालिकाको चुनाव न्याय र अन्यायकाे ‘कुरुक्षेत्र’ बन्ला भन्ने सायद धेरैले चिताएकै थिएनन् होला । चितवनवासी र नेपाली कांग्रेसका कार्यकर्तालाई राम्ररी चिनेकाहरूले भने चितवनले धेरै थिचोमिचो सहँदैन भन्ने बुझेका थिए र केही विशेष हुने लख काटेका थिए ।  


नेपाली कांग्रेसका निष्ठावान् नेता जगन्नाथ पौडेलले भरतपुरका मात्र होइन देशका असंख्य सहयोद्धाहरूकाे भावनाकाे प्रतिनिधित्व गरे । यहीबापत उनलाई धम्क्याउन बहालवाला र पूर्व गरी तीनजना प्रधानमन्त्री भरतपुरमा सभा गर्न पुगे । अर्थात्,  जीवन राजनीति, वकालत र शिक्षणमा लगाएका वरिष्ठ अधिवक्ता जगन्नाथ पौडेलको विद्रोहले ऋषिहरूको तपस्याले इन्द्रासन हल्लाएको  पौराणिक कथाले नयाँ सन्दर्भ पायो ।

 

KFC Island Ad
Dabur Nepal
NIC Asia

स्वाभिमानविरुद्ध सत्ताधारीको आसुरी हुँकार

प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालको प्रत्येक शब्दमा दम्भ र कटुता भरिएको थियो । पौराणिक कथामा शक्तिशाली असुरहरूजस्तै तिनको अभिव्यक्तिमा ‘हिंसा’ भरिएकाे थियो । 

Royal Enfield Island Ad


अध्यक्ष दाहालले त प्रधानमन्त्री देउवालाई नै साक्षी राखेर उनकी छोरीले चुनाव नजिते देश दुर्घटनामा पर्ने चेतावनी दिए । अब त कांग्रेस कार्यकर्ता सबैले मत दिँदासमेत रेणुले हारिन् भने पनि दोष देउवाकै दलमाथि लाग्ने भयो ।   


माधव नेपालले जगन्नाथलाई धम्की दिँदै भने - उमेदवारी फिर्ता नलिए जनताले फैसला गर्छन् । अरूले नबुझे पनि कांग्रेसजनले त यस्तो धम्कीको अर्थ पक्कै बुझेका छन् । कम्तीमा पुराना कांग्रेसले ।   कम्युनिस्टहरूले जनताकाे नाम लिएर गर्ने ज्यादतीको भुक्तभोगी त कांग्रेसहरूभन्दा बढी अरू को होलान् र ?  जगन्नाथ पौडेल माधव नेपालजस्ताको धम्कीले डराएनन् । तर, त्यति आँट धेरैले गर्न सक्तैनन् ।


ठालुतन्त्रको सेखी 

भरतपुर महानगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसकाे उमेदवार छैन । कांग्रेसका नेता जगन्नाथ पौडेलले त्यस पदमा उमेदवारी दिएका छन् । कुरा यत्ति हो । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष दाहालकाे निर्वाचन क्षेत्र र उनैकी छोरी उमेदवार नभएकी भए भरतपुरमा त्यति ठूलो शक्ति प्रदर्शन हुने थियो त ? पक्कै हुने थिएन ।


लोकतन्त्रका पक्षमा

भरतपुरवासीले यसपटक मौका पाएका छन् नेपालकाे राजनीतिलाई ठालुतन्त्रबाट मुक्त गर्ने । पहिलो जनआन्दोलन २०४६ मा चितवनका गणेश पौडेल पहिला सहिद भएका थिए । उनकाे सहादत  पञ्चायत नामको हुकुमीतन्त्रविरुद्धकाे निर्णायक आन्दोलनमा प्रेरक बनेको थियो । संयोगले अहिले अर्का पौडेल जगन्नाथ  ठालुतन्त्रविरुद्धको युद्धको मोर्चामा छन् । उनकाे विजयमा दल र देशलाई हैकममा राख्न दोज्ने ठालुहरूकाे हार हुनेछ । अर्थात्, लोकतन्त्र फर्काउने अभियानकाे थालनी हुनेछ ।   

 

ठूला पार्टीका नेताहरूकाे ‘हैकमवादी’ सोच र सत्ता नसकिँदासम्म देशमा लोकतन्त्र, विधि र पद्धतिकाे जग बस्नेछैन । थाहा छ, जगन्नाथको जितले डँडेलधुराका मतदातालाई धम्कीबाट मुक्ति मिल्छ । कर्ण मल्लहरू पार्टीबाट निकालिने छैनन् । 


जगन्नाथ पौडेलको जितले अहिले सबै पार्टीमा चलेको ठालुतन्त्रलाई चुनौती हुनेछ ।  अनैतिक,  अलोकतान्त्रिक बाटामा लगिएको नेपालको राजनीतिको दिशा बदलिनेछ । जगन्नाथको जितले देउवा, दाहाल, नेपालको मात्र होइन खड्गप्रसाद ओलीको पनि ठालुतन्त्र मक्किने र सच्चिनेछ ।   


स्वतन्त्र उमेदारीकाे लहर

अहिले स्वतन्त्र उमेदवारी दिनेहरू केही पार्टीका नेताकाे अन्यायले सीमा नाघेपछि मैदानमा उत्रेकाहरू छन् । उनीहरू बहुलदीय लोकतन्त्रकै विरुद्धमा चुनावमा उत्रेका होइनन् । नेताका अन्यायबाट सहयोद्धालाई मुक्तिकाे बाटो देखाउन उनीहरूले विद्रोह गरेका हुन् । यसैले तिनकाे जितले दलका नेतालाई सुध्रिन कर लाग्नेछ ।


अर्काथरी पार्टीमा नजोडिएका स्वतन्त्र उमेदवार छन् । तीमध्ये कतिपयकाे राजनीतिक विचार स्पष्ट छैन । तिनकाे लोकतान्त्रिक प्रतिबद्धता पनि पुष्टि भएकाे छैन । यिनले जिते भने पनि राजनीतिक दलहरूमा सुधार त हुँदैन । भ्रष्ट ठालुतन्त्र यथावत् रहन्छ ।


नेतातन्त्रको अन्त्य : लोकतन्त्रका लागि अपरिहार्य

अहिले दलहरूमा लोकतन्त्र होइन ‘नेतातन्त्र’ स्थापित छ । जनताभावनाको त कुरै नगरौ कार्यकर्ताकै भावनाकाे पनि  उपेक्षा गरेर केन्द्रीय नेताको स्वार्थमा पार्टीकाे निर्णय हुन्छ । अहिलेकै नेता सधैँ सत्तामा रहने चाँजोपाँजो मिलाइएकाे हुन्छ । नेता बदलियो भने पनि प्रवृत्ति उही रहन्छ ।


 यसमा सुधार होस् भन्ने चाहने हो भने नेताले पाठ सिक्नेगरी कार्यकर्ता र मतदाताले विद्रोहीहरूलाई मतदान गर्नुपर्छ । दलहरू नसुध्रे पनि हुन्छ भन्ने ठान्नेहरूले पनि विचार गरुन् यो रोग मासिएन भने आफैँलाई पनि लाग्न सक्छ । 


अपूर्व मौका 

अहिले दल नेताकाे बपौती वा दाइजो होइन भन्ने सिद्ध गर्ने बेला भएको छ । अहिले स्थानीय तहको निर्वाचनमा नेताहरूले खुट्टा कमाए भने देउवाले संसदीय निर्वाचनका बेला उमेदवारी चयन गर्दा नै पार्टीभित्रका प्रतिस्पर्धीले जित्ने ठाउँमा गठबन्धनकाे अर्को दलको भागमा दिन सक्छन् । चितवन प्रतिनिधि उदाहरण हो । चितवन कांग्रेसमा देउवा समूहकाे पराजयको बदला अहिले महानगरको नेतृत्व माओवादी केन्द्रलाई सुम्पेर लिइयो ।

 

विद्रोहको अर्को रूप

चितवनपछि सम्भवतः तनहुँ यसपटकको निर्वाचनमा बढी चर्चामा आएको छ । तनहुँमा अन्याय ५ वर्ष पहिले नै सुरु गरिएको थियो । प्राविधिक कारण बनाएर श्रीभद्र शर्मा र गोवर्धन पोखरेलपछि तनहुँकाे का‌ंग्रेस संगठनमा बढी योगदान भएका गोविन्दराज जोशीलाई पाखा लगाउने षड्यन्त्र गरियो ।


त्यसैको प्रतिफल जोशीजस्ता कट्टर कम्युनिस्ट विरोधी नेता नेकपा (एमाले)सँग मिल्न बाध्य भए । जोशीलाई एमालेकाे निकट धकेल्नेहरूले बुझे हुन्छ यस निर्वाचनपछि धेरै जाेशीहरू जन्मनसक्छन् । तिनको विद्रोहले संगठितरूप लियो भने कम्युनिस्टहरू मिलेनन् भने पनि संसदीय निर्वाचन परिणाम अर्कै हुनसक्छ । 


शिर नझुकाउने हो भने 


यसैले कांग्रेसका सिद्धान्तनिष्ठ कार्यकर्ताले सामूहिक विद्रोह नगरे पार्टी ‘सिन्डिकेट’मा सीमित हुने निश्चितै देखियो । देउवाकाे आदेशमा शिर नझुकाउनेहरूले अहिले नै संसदीय निर्वाचनका लागि विद्रोही उमेदवार बन्ने कि आत्मसमर्पण गर्ने भन्ने निधो गरे हुन्छ ।


आशा गरौँ, यसपटक चक्रव्यूह भेदन गरेर अभिमन्युहरू सकुशल फर्कन सफल हुनेछन् । धृतराष्ट्रको साम्राज्य खोसिनेछ । अर्थात्,  ‘समुद्री बुढो’लाई काँधबाट फाल्न सिन्दावादरूपी नेपाली जनता समर्थ हुनेछन् । देश ‘ठालुतन्त्र’बाट सधैँका लागि मुक्त हुनेछ । 

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २५, २०७९  ११:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro