site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
के हो लेखा समिति सभापति पोखरेलकी श्रीमती जोडिएको सहकारी ठगी प्रकरण ? के छ अभियोग ? 

विराटनगर । मोरङको उमागौरी कृषि सहकारी संस्थाका संचालक अञ्जला कोइरालासहित २५ जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।  सहकारी ठगी प्रकरणमा आरोपितविरुद्ध जिल्ला अदालत मोरङले ३५ दिने अदालती पक्राउ पूर्जी जारी गरेको हो । 

कोइराला प्रतिनिधि सभाको सार्वजनिक लेखासमितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी हुन् ।  पोखरेलले भने विभिन्न संचार माध्यममार्फत अञ्जला निर्दोष रहेको जिकिर गर्दै पत्रकारले गलत ढंगले समाचार प्रकाशन प्रसारण गरिरहेको आरोप लगाउँदै आएका छन् । 

कोइरालालाई सहकारीमा ऋण लगानी गरेको आरएसडीसी लघुवित्त संस्थाले कालोसूचीमा राखेको छ । जिल्ला अदालतका न्यायाधीश अरुणकुमार झाको इजालसको आदेशपछि सहकारी संस्था रकम अपचलन तथा ठगी प्रकरणमा पक्राउ पूर्जी जारी भएको छ ।

Dabur Nepal
NIC Asia

अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले भने,“पक्राउ पूर्जी जारी भई प्रहरीमार्फत प्रतिवादीहरुलाई पक्राउ गर्न पत्र पठाइएको छ ।”  प्रहरीद्वारा सात दिनभित्र प्रतिवादीहरु पक्राउ नपरे अदालतले घरघरमा म्याद तामेली गर्ने बुढाथोकीले बताए । 

मोरङको धनपालथानस्थित उमागौरी सहकारीमा २२ करोड ४८ लाख २७ हजार ७०० रुपैयाँ अपचलन भएको दाबीसहित अभियोग पत्र दायर भएको छ ।  प्रतिवादीहरुलाई बिगो कायम गरी ६ वर्षदेखि ८ वर्षसम्म कैद हुनुपर्ने मागदाबी अभियोग पत्रमा छ । सहकारीसम्बद्ध २६ जनाविरुद्ध मंसिर २७ गते मुद्दा दायर भएको छ । 

मंसिर २८ गते जिल्ला अदालत मोरङले सहकारीका एकजना संचालक सदस्य रोशन राजवंशीलाई पुर्पक्षमा पठाइसकेको छ । उनी धनपालथान गाउँपालिका–४ का पूर्व वडाध्यक्ष हुन् ।

यो प्रकरणमा सहकारी रजिष्ट्रार कार्यालयले प्रतिवेदन दिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । 

त्यसपछि केही संचालकविरुद्ध पक्राउ पूर्जी जारी भयो । तर, लेखा समिति सभापतिकी पत्नी अञ्जलाविरुद्ध भने अनुसन्धान भएको थिएन । उनी फरार सूचीमा थिइन् ।  

जिल्ला प्रहरी कार्यालय मोरङले सहकारी संस्थाका अध्यक्ष, सचिव र कोषाध्यक्ष ठगी प्रकरणका मुख्य अभियुक्त देखिएकोले पक्राउ नपरुन्जेल सबै तथ्य नखुल्ने जनाउँदै आएको थियो । 

मोरङ प्रहरीका प्रवक्ता डिएसपी बेदप्रसाद जोशीले कोसी प्रदेश रजिस्ट्रार कार्यालयको परिपत्रका आधारमा वर्तमान संचालक समिति र लेखा समितिका १० जनाविरुद्ध यसअघि अदालतबाट पक्राउ पुर्जी जारी भएको बताउँदै भने,“अनुसन्धानबाट अन्यको पनि संलग्नता देखिएको छ । थप १६ जनालाई प्रतिवादी बनाइएको छ ।” 

अदालतको आदेशपछि फरार अभियुक्त खोजी र पक्राउ गर्न प्रहरी सक्रियता बढाएको छ । 

इलाका प्रहरी कार्यालय रंगेलीले अनुसन्धान गरी अभियोग प्रतिवेदन अभियोजन गरेको थियो । सरकारी वकिलको कार्यालय मोरङले सांसद पोखरेल पत्नी अञ्जला र सहकारीका अध्यक्ष शम्भु रौनियारसहितलाई विपक्षी बनाई मुद्दा दर्ता गरेको छ । 

के हो ठगी प्रकरण ? के छ अभियोग ?

अध्यक्ष र संचालक समितिका पदाधिकारी तथा सदस्य फरार छन् । विगत डेढ वर्षदेखि उमागौरीको कर्सियास्थित कार्यालय बन्द छ । रकम अपचलन सार्वजनिक भएपछि २० जना ऋणीले आफूहरू ठगिएको जनाउ दिई प्रहरीमा निवेदन दर्ता गराए । 

महिला उद्यमशील कर्जाका नाममा सदस्यको कागजात संकलन गरी सहकारीका पदाधिकारी तथा संचालकले नबिल बैंकबाट ऋण निकाले । 

तर, संस्थाले थोरै सदस्यहरुलाई मात्र ऋण दियो । ऋणीबाट सहकारीमा प्राप्त किस्ता बापतको रकम बैंक दाखिला गरिएन । बरू सञ्चालक आफैंले प्रयोग गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुल्यो । 

सस्तो ब्याजदरमा ऋण प्रवाह गर्ने भन्दै संचालकले सर्वसाधारणलाई रकम वचत गर्न लगाउँथे । महिला उद्यमशील कर्जा सस्तो दरमा दिलाउने लोभ देखाइएको थियो । 

“नबिल बैंकलाई देखाई मिलाई संस्थाबाट वचतकर्ताहरुले लिने गरेको ऋणमा समेत हेरफेर गरी शेयर कमिसन, नियम विनियमको अवज्ञा गरी विभिन्न स्थानमा शाखा खोली वचत रकम उठाउने गरेको, कर्जा कमिसन तथा ऋण प्रवाह नगरी केही रकम मात्र प्रवाह गरी रकम खाने पचाउने नियतले संस्थाको जम्मा रकम रु.२२,४८,२७,७००।–२० (बाइस करोड अड्चालिस लाख सत्ताईस हजार सात सय रुपैयाँ बीस पैसा) हिनामिना गरी सहकारी ऐनले निषेधित कार्यकसूर गरेको वारदात स्थापित हुन आयो,” प्रतिवादी विरुद्धको अभियोग पत्रमा उल्लेख छ ।

प्रहरीका अनुसार पदाधिकारी तथा सदस्यहरुले संस्थालाई नाफामा देखाउने उद्देश्यले गलत लेखा परीक्षण गराउने गरेको, संस्थाको बैठकमा सबै उपस्थित भएर निर्णय गर्ने गरेकोले ठगी प्रकरणमा सबैको संलग्नता देखिएको छ ।

अभियोग पत्रमा महिला उद्यमशीलता कर्जाको रकम पीडितको जग्गा धितोमा राखेर नबिल बैंकबाट ऋण प्रवाह गराई केही हिस्सा पीडितलाई दिने गरेको र बाँकी रकम लेखा समिति सभापतिकी पत्नी ‘अञ्जलासहितका अभियुक्तहरुले मिलेर खाएको’ अभियोगपत्रमा उल्लेख छ ।

को–को छन् ठगीका प्रतिवादी ?

फरार प्रतिवादीको सूचीमा नेकपा एमालेका नेता मोरङको रंगेली नगरपालिका–२ का वडाध्यक्ष ४३ वर्षीय सन्तलाल खवास, सहकारीका अध्यक्ष शम्भुप्रसाद रौनियार, संचालक अञ्जली कोइराला, रोशन राजवंशी, लक्ष्मण साह रौनियार, आलम अनसारी मियाँ, शम्भुप्रसाद सिंह, आमोद कुमार मण्डल, ज्योती बास्कोटा, सुमन लोहनी, मित्रप्रसाद शिवाकोटी, सरदराज सिंह, जितमान ठाकुर, विजय कुमार यादव, सुरेन्द्रकुमार राजवंशी, अशोककुमार विश्वास, दिलमाया राई, उपासी राजवंशी, सोनु यादव, मोहमद नजाम उद्दीन, चम्पा गिरी, शम्भु प्रसाद सिंह, सन्तलाल खवास, लक्ष्मीदेवी कार्की, मो. नसरुद्दीन, मनोज कुमार सोनी र यशोदा कुमारी राजवंशी छन् ।

अभियुक्तहरुले सहकारी ऐन, २०७४ को दफा १२२ को देहाय (घ), (ङ), (च),(छ) (ज), (ञ) र (त) बमोजिमको कार्यकसूर गरेको स–प्रमाण पुष्टि भएको अभियोग पत्रमा उल्लेख छ । अभियुक्तहरुलाई सहकारी ऐनको दफा १२४ को उपदफा (१) को देहाय (घ) (५) बमोजिम बिगो कायम गरी ६ वर्षदेखि ८ वर्षसम्म कैद हुनुपर्ने मागदावी पेश गरिएको छ । 

सरकारी वकिलको कार्यालय मोरङले दायर गरेको अभियोगपत्रमा ८ हजार ८ सय ४२ जना शेयर सदस्यहरुको ३ करोड ८ लाख ८० हजार ३ सय रुपैयाँ सेयर रकम रहेको र ७०७ जना ऋणीहरुले २४ करोड ३० लाख २२ हजार ८ सय रुपैयाँ संस्थाबाट ऋण लिएको उल्लेख छ । जसमध्ये ८ करोड १३ लाख ६४ हजार ७ सय रुपैयाँ उठेको र बाँकी १६ करोड १६ लाख ५७ हजार ८३२ उठ्न बाँकी देखिएको उल्लेख छ । 

यस्तो छ अञ्जलाको पृष्ठभूमि

लेखा समिति सभापति, संघीय सांसद ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइराला उमागौरी सहकारीको पूर्वसञ्चालक हुन् । सहकारी संकटमा पर्नासाथ उनले २०७८ माघ ५ गते राजीनामा दिएकी थिइन् । 

रकम हिनामिना भएको समयमा अञ्जला वि.सं २०७२ देखि ०७८ सम्म सञ्चालक थिइन् । उनी विराटनगरस्थित महेन्द्र रात्रि माध्यमिक विद्यालयकी शिक्षक हुन् । विराटनगरस्थित निवासबाट विद्यालय गई दैनिक हाजिर गरिरहेकी छन । उनलाई ‘फरार सूचीमा राखेर’ सहकारी ठगी प्रकरणमा मुद्दा दायर भएको छ ।

केहीअघि मात्र विराटनगरमा सम्पन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गते सहिद रंगशालामा आयोजित कार्यक्रममा सहभागी थिइन । 

आइतबार भने बिरामी भएको जनाउ दिएर पाँच दिनको बिदा माग गरी विद्यालयलाई पत्र लेखेकी छन् ।  आरएसडीसी लघुवित्त संस्थाले कालोसूचीमा राखेको छ । तर, शिक्षण गरेबापत सरकारी विद्यालयबाट मासिक तलब भने बुझ्दै आएकी छन् । 

विराटनगर महानगरपालिकाको शिक्षा महाशाखाको अभिलेखमा तलब बुझेको विवरण देखिन्छ । सांसद पोखरेलकै अगुवाईमा उमागौरी सहकारी खोलिएको थियो । त्यसमा उनले श्रीमतीलाई सञ्चालक बनाए । सहकारी ठगी प्रकरणपछि कोसी प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयले अनुसन्धान गर्दा अञ्जलाको नाम हटाएर प्रतिवेदन तयार गरेको थियो । 

तर, पछि प्राप्त कागजात तथा पीडितहरुको उजुरीका आधारमा प्रहरी अनुसन्धानका क्रममा उनको संलग्नता देखिएपछि मुद्दामा प्रतिवादी बनाइएको छ । 

बिचल्लीमा वचतकर्ता ! 

कर्सिया मोरङको धनपालथान गाउँपालिकाको मुख्य बजार हो । पूर्वी मोरङका धेरै सर्वसाधारण किनमेल र व्यापार भर्न आउँछन् ।  अधिकांश बैंकका शाखा कार्यालय छन् । मुख्य बजारमै छ, श्री उमागौरी कृषि सहकारी संस्थाको कार्यालय । तर, कार्यालय नखुलेको डेढ वर्ष भयो । 

त्यहीँका नारायण खनाल कपडा पसल चलाउछन् । उमागौरीकै कार्यालयमा साँध जोडिएको पसल छ । तर, त्यही सहकारीका संचालकले उनको वचत डुबाई दिए । ‘सेयर खरिद गरे राम्रो मुनाफा हुन्छ’ भन्ने आश्वासन दिए । 

“छिमेकमै रहेको सहकारीलाई कसरी विश्वास नगर्नु ?,” उनले भने,“अहिले मुद्दा मालिमा चलेको छ । हाम्रो पैसा आउँछ कि आउँदैन थाहा छैन ।” 

सहकारीमा उनको एक लाख रुपैयाँको सेयर छ । बचत रकम पनि । पहिले केही रकम निकाल्ने र फेरि जम्मा गर्ने गरेको सुनाए । तर, सञ्चालक भागेपछि बिचल्लीमा परेको उनको दुखेसो छ । 

कर्जा सूचना केन्द्रको तथ्यांकअनुसार उमागौरी कालोसूचीमा छ । योसँगै देशरबाट एक सयभन्दा धेरै सहकारी पनि कालोसूचीमा छन् । यतिबेला उमागौरीका धेरै वचतकर्ताको रकम जोखिममा परेको छ ।

“सञ्चालकहरु भागिभागी हिँड्ने गरेका छन् । पैसा फिर्ता गर्न बारम्बार आग्रह गरेपनि वास्ता गरेनन्,” खनालले भने,“फिर्ता दिन्छु भन्नेहरु नै भागे । अब त के हुन्छ हुन्छ ।”  

अवधेश साह पनि त्यही सहकारी नजिकै फेन्सी स्टोर चलाउँछन । उनलाई पनि धेरै पटक खाता खोल्न भनियो । तर, वास्ता गरेनन् । खाता पनि खोलेनन् । 

“यो सहकारी कृषि सहकारीको नाममा खुलेको थियो तर कामचाँहि कृषिमा गरेन । अहिले त सबै भागे,” उनले भने, “बचत फिर्ता लिने भन्दै दैनिक सयौं मानिस आउँछन् । बन्द कार्यालय देखेपछि कहिले खुल्छ भन्छन् । धेरैको पैसा डुब्यो ।”

सहकारीका अध्यक्ष शम्भुप्रसाद रौनियार स्थानीय नै हुन् । तर, उनी बचतकर्ताको सम्पर्कमा छैनन् । फरार छन् । सहकारी राम्रो चलेका बेला उनले कर्सिया बजारमा ७५ लाख रुपैयाँमा घडेरी किने । फेरि नजिक तीन कठ्ठा थपे । त्यसपछि कर्सियातिर देखिएका छैनन् । उनी विराटनगर बस्थे । 

धनपालथान गाउँपालिका कार्यालयका अनुसार पालिकाभर संचालनमा रहेका सहकारी संस्थाको विवरण अध्यावधिक गरिएको छ । समस्याग्रस्त सहकारीमा वचत तथा अन्य कारोबार नगर्न सर्वसाधारणलाई सूचित गरिएको छ । पालिकाको सहकारी शाखाले सहकारीबारे सबैकुरा बुझेर मात्र रकम वचत गर्न सर्वसाधारणलाई सूचित गरेको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस ३, २०८१  १३:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro