site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
पोखरा सडक महोत्सव पुस १३ देखि १७ सम्म : नेपालीलाई विशेष छुट

काठमाडौं । पर्यटकीय राजधानी कास्कीको पोखरा पाँच दिन पुनः चलायमान हुने भएको छ । रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान)ले २६औँ पोखरा सडक महोत्सव आयोजना गर्ने भएपछि सहरमा पुनः रमझम हुने भएको हो ।

यही पुस १३ देखि १७ गतेसम्म पोखराको लेकसाइडमा २६औँ संस्करणको पोखरा सडक महोत्सव आयोजना गरिने रेबानले जनाएको छ । “पोखरा क्षेत्र हिउँदमा सुनसान हुने गरेको थियो, २५ वर्षअघि जब हामीले पोखरा सडक महोत्सव सुरु गर्‍यौँ, त्यसपछि यहाँ पर्यटकको घुइँचो लाग्ने गरेको छ,” महोत्सवका संयोजक विकास भट्टराईले भने, “महोत्सवले समग्र देशकै अर्थतन्त्रमा योगदान गरेको छ ।”

महोत्सवमार्फत पोखरालाई ‘अंग्रेजी नयाँ वर्षको गन्तव्यस्थल’का रूपमा प्रवर्द्धन गर्ने उद्देश्य लिइएको भट्टराईले बताए ।

Dabur Nepal
NIC Asia

महोत्सवमा नेपालीलाई होटेलमा २० प्रतिशतसम्म छुट हुने रेबानले जानकारी गराएको छ । महोत्सव लेकसाइडको तीन किलोमटर क्षेत्रमा हुनेछ । ‘सडकमै खाऊँ, सडकमै नाचौँ, सडकमै रमाऊँ’ भन्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिँदै छ ।

महोत्सवमा कलासंस्कृति प्रवर्द्धन, स्थानीयस्तरमा उत्पादित सामग्रीको बजारीकरण र त्यसको प्रचारप्रसार तथा ब्रान्डिङ गराउने उद्देश्य छ ।

पोखरा सडक महोत्सवले पर्यटक आकर्षण गर्न होस् वा लोपोन्मुख सामग्रीलाई संरक्षण गर्न प्लेटफर्म पनि दिँदै आएको भट्टराईले जनाए । समग्रमा सडक महोत्सव स्थानीयस्तरमा आर्थिक गतिविधि चलायमान, विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना गर्ने गतिलो माध्यम हुने उनको भनाइ छ ।

विगतमा महोत्सवले विदेशमा गएर नयाँ वर्ष मनाउने नेपालीलाई समेत तानेको रेबानका पूर्वअध्यक्ष तेजेन्द्र शाक्यले बताए । “महोत्सव आयोजना गर्नुअघि न्यु इयर मनाउन धेरै नेपाली विदेश जाने चलन थियो । नेपालमा आकर्षक कार्यक्रम नहुँदा विदेशी पर्यटक पनि नेपाल छाडेर घर फर्कन्थे । तर, विगत २५ वर्षदेखिको निरन्तरताले अब नेपालीलाई मात्र नभएर विदेशीलाई पनि नयाँ वर्ष पोखरामा मनाउने वातावरण सिर्जना गरेको छ । महोत्सवका कारण पोखरामा आन्तरिक र बाह्य पर्यटकको आगमन निकै बढेको छ,” उनले भने ।

महोत्सवमा मुख्य आकर्षणका रूपमा विभिन्न जातजातिका लोपोन्मुख सांस्कृतिक कार्यक्रम, मौलिक वेशभूषा प्रदर्शन, झाँकी प्रदर्शन प्रतियोगिता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, लाइभ कन्सर्ट हुनेछ ।

खेलकुदतर्फ बोट रेस, वेटर रेस, टग अफ वार, मःम, ससेज खाने प्रतियोगिता, सचेतनामूलक सडकनाटक, सेल्फी फोटो बुथ, पोखराको पर्यटन विकास, प्रवर्द्धन, अवसर तथा चुनौतीका विषयमा टक सो कार्यक्रम, पोखरा सेरोफेरोको स्थानीय हस्तकला, चित्रकला, मूर्तिकला तथा कृषि उपजको प्राथमिकता साथ प्रदर्शनीको व्यवस्था गरिने रेबानले जनाएको छ ।

महोत्सव क्षेत्रमा पसलअगाडि सजावटका साथ व्यवसाय प्रवर्द्धन गरिने आयोजकले जनाएको छ ।

खानामा प्लास्टिकजन्य सामग्रीको प्रयोग कम गरी स्थानीय उत्पादनको प्रयोगमा जोड दिइने रेबोन अध्यक्ष विश्वराज पौडेलले बताए । महोत्सव आयोजना पुस १३ गतेदेखि भए पनि होटेल बुकिङ सुरु भइसकेको उनको भनाइ छ ।

पोखरा सडक महोत्सव नेपालको सबैभन्दा लामो फेस्टिभल भएको रेबानका पूर्वअध्यक्ष अरनिको राजभण्डारीले बताए । महोत्सवले पोखरा क्षेत्रलाई अन्तर्राष्ट्रिय क्षेत्रमा समेत चिनाउने उनको भनाइ छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस ३, २०८१  १४:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro