site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पोखरा महानगरका पाँच वर्ष : भनेका काम 'गर्न सकिएन', नभनेका चाहिँ गरे
SkywellSkywell

पोखरा । २०७४ साल जेठ १४ गते पोखरा महानगरपालिका (तत्कालीन पोखरा लेखनाथ) को मेयर पदमा पदभार ग्रहण गर्नासाथ सोही दिन मानबहादुर जिसीले एउटा विवादास्पद निर्णय गरे । त्यो थियो, वृद्धभत्तामा महानगरले १० प्रतिशत थपेर वितरण गर्ने ।
चुनावमा वृद्धभत्ता बढाउने भाषण गर्न नछुटाएका नगरमेयर जिसीको उक्त निर्णय उल्टियो पनि ।

पोखरा महानगरका ३३ वडामध्ये २२ वटा वडा सहित एमाले एक्लैले मेयर/उपमेयर जितेर सुविधाजनक दुई तिहाइको जित हासिल गरेको थियो ।

चाहेको भए मेयर जिसीले घोषणापत्रमा सम्भव भएका काम गर्नका लागि कसैले रोक्न सक्ने थिएन । नगरसभादेखि कार्यपालिकासम्म एकछत्र पार्टीको दबदबा हुँदा पनि मानबहादुर जिसीले आफूले गरेका प्रतिबद्धता पूरा गर्न सकेनन् ।

KFC Island Ad
NIC Asia

त्यतिबेला उनले जितेको दल एमालेको घोषणापत्र पनि पाँच वर्षको अन्त्यतिर फगत एउटा कागजी खोस्टो बन्न पुगेको छ । शारीरिक अस्वस्थताका कारण 'रेस्ट'मा रहेका मेयर जिसीको कार्यकालमा भएगरेका उपलब्धिको बारेमा शुक्रबार पोखरा महानगरपालिकाले वेबसाइटमार्फत ‘पोखरा महानगरका पाँच वर्ष’ नामक पुस्तक प्रकाशन गरेको छ ।

सारमा हेर्ने हो भने यो पुस्तकले, त्यो ‘हचुवाको घोषणापत्र कार्यान्वयन गर्न नसकिएको’ भन्ने स्विकारोक्ति र महानगरमा ५० किलोमिटर अस्फाल्ट गरिएको 'कालोपत्रे नै पाँच वर्षको उपलब्धि हो' भन्ने देखाउन खोजेको छ ।

मेयरको स्विकारोक्ति– भनेका काम गर्न सकिएन
०७४ मा एमालेले पोखरा महानगरपालिकाको चुनावी घोषणापत्रमा लेखेको थियो, “निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलको शीघ्र निर्माण गर्ने ।”

महानगर आफैँले निर्माण नगरे पनि सञ्चालनमा आउने कठिनाइको तत्काल व्यवस्थापन गर्ने भन्ने आशय थियो । कठिनाइ आयो पनि ।

विमानस्थल बनेतापनि त्यसलाई सञ्चालन गर्न ल्यान्डफिल साइट सार्नुपर्ने देखियो । मेयर जिसी नेतृत्वको महानगरले पछिल्ला आर्थिक वर्षमा ल्यान्डफिल साइट सार्नका लागि नीति तथा कार्यक्रम र बजेटमा यो कार्यक्रम छुटाएन पनि ।

तर, गत माघको अन्तिम नगरसभा बैठकबाट चालु आर्थिक वर्ष २०७८/०७९ मा ल्यान्डफिल साइटका लागि विनियोजित ४ करोड रुपैयाँ बजेट पनि टुक्रे योजना बनाएर रकमान्तर गर्ने निर्णय मेयर जिसीले गरे । यो नितान्त चुनावकेन्द्रित रकमान्तर थियो । रकमान्तर गरेर ल्यान्डफिल साइट अलपत्र परेपछि महानगरपालिकाको कार्यालयकै अगाडि पाँच दिनसम्म फोहोर पनि थुप्रियो ।
मेयर जिसीकै कार्यकालको अन्तिम कार्यपालिका बैठक गत चैत दोश्रो हप्ता बस्यो । ५५ औँ नगर कार्यपालिकाको बैठकको निर्णय मेयर जिसीले अहिलेसम्म प्रमाणीकरण गरेका छैनन । प्रमाणीकरण नगरेको भन्दै महानगरले अहिलेसम्म सूचनाको हक निवेदन दिँदा पनि निर्णय दिएको छैन ।

तर, पाँचवर्षे उपलब्धिमा मेयर जिसीले भनेका छन, “ल्यान्डफिल साइटको विकल्प खोजेका छौँ । कार्यपालिकाबाट निर्णय भइसकेको छ । यसै वर्ष टुंग्याएर जान्छौँ, नटुंग्याई सुखै छैन ।”

उनको यो भनाइलाई उनी आफैँले खण्डन पनि गरेका छन् ।

आश्चर्यलाग्दो त के छ भने पु‍स्तकमा उनले भावी नेतृत्वलाई दिएको सुझाव मा ‘ल्यान्डफिल स्थल स्थानान्तरण’ गर्नको लागि छैटौँ नम्बरमा सुझाव दिएका छन ।

०७४ कै घोषणापत्रलाई हेर्दा पूर्वाधारको क्षेत्रमा “एक वर्षभित्र जनतालाई पायक पर्ने स्थानमा महानगरको प्रधान कार्यालय स्थापना गर्नुका साथै सबै ३३ वडाका लागि अत्याधुनिक सेवा सञ्चालन गर्न मिल्ने पूर्वाधारयुक्त कार्यालय भवन निर्माण गरि एउटै छानामुनिबाट नागरिकहरूलाई सेवा प्रदान गरिनेछ” भनेर लेखिएको थियो ।

अहिले आएर जिसीले स्विकार गरेका छन कि, “महानगरका कार्ययोजना, नीति बनाउँदा घोषणापत्र पल्टाएर हेर्ने गरेका छौँ । हामीले गरेका कामले रिजल्ट निकाले, निकालेनन् भनेर हेरिरहेका छौँ । हाम्रा घोषणापत्रअनुसार हेर्दा ७० प्रतिशत बढी काम गरेको देखिन्छ । गर्न नसकेका काम पनि छन । यही कार्यकालमा महानगरको नयाँ प्रशासनिक भवन निर्माण सकेर जानुपर्थ्यो । सुरु त गर्दैछौँ । सम्पन्न चाहिँ नहुने भयो ।”

सिटी बसपार्क र मोनोरेलको भाषण चोकचोकमा गरेपछि त्यसलाई कार्यान्वयन गर्ने दायित्व पनि आयो । घोषणापत्रमै लेखेर मतदातालाई व्यवस्थित बसपार्क र मोनोरेलको आश्वासन दिएपनि बसपार्क बनेन, मोनोरेल त चुनावलगत्तै हरायो ।

पाँच वर्षे उपलब्धिमा मेयर जिसीले स्पष्ट स्वीकार गरेका छन, “हामीले व्यवस्थापन गर्न नसकेको सिटी बसपार्कको काम हो । सिटी बसपार्क हामीले चाहँदाचाहँदै पनि नसक्ने देखियो । प्रयासरत त छौँ ।”

यता, घोषणापत्रमा मोनोरेल चलाउने भनेर लेखेपनि त्यो आवश्यक हो कि होइन भनेर कार्यकाल सकिएपछि जिसीले बहस चलाउनुपर्ने आशय व्यक्त गरेका छन् ।

“घोषणापत्रमा राखेर सुरु गर्न नसकेको अर्को काम मोनोरेलको हो । मोनोरेलको अध्ययन त गर्‍यौँ, तर कार्यान्वयन गर्न सकेनौँ,” उनले भनेका छन, “अहिले नै त्यो आवश्यक हो कि होइन भन्ने बहस पनि छ ।”

जिसीले बहस गर्नुपर्ने भन्दै गर्दा उनकै पार्टीबाट मेयरका उमेदवार बनेका कृष्ण थापाले चाहिँ मेट्रोरेल र मोनोरेललाई अहिलेको घोषणापत्रमा पनि 'कपीपेस्ट' गरेर मतदातालाई सुनाउँदै हिँडेका छन् ।

गत चुनावमा मेयर जिसीले भजाएको एउटा शब्द हो, ‘स्मार्ट सिटी’ ।

स्मार्टको नाममा मेयर जिसीले आफ्नो कार्यकालमा सुरु गर्न खोजेको असफल कार्यक्रम हो, ‘सार्वजनिक सवारीमा स्मार्ट कार्ड ।’
यात्रुलाई कार्ड दिने र त्यो कार्डबाट भुक्तानी गर्ने प्रणाली नै स्मार्ट कार्ड हो भन्ने भाष्य निर्माण गर्न खोजेपनि मेयर जिसीले उक्त कार्यक्रम कार्यान्वयन गर्न सकेनन् । स्मार्ट कार्डको तस्बिर खिचाएर पोखरामा स्मार्ट कार्डको आधारमा यात्रा गर्न पाइन्छ भन्ने सन्देश दिन खोजेपनि मेयर जिसी त्यसमा सफल हुन सकेनन ।

असफल भएपछि उनले पाँच वर्षे उपलब्धि पुस्तकमा स्मार्टको सिटीको परिभाषा लेखे, “स्मार्ट सिटी भन्ने बित्तिकै सडक, शिक्षा, स्वास्थ्य, वातावरण जस्ता पक्ष जोडिएका हुन्छन् । सार्वजनिक यातायातहरू र माथि भनिएका कम्पोनेन्टलाई सिस्टमले ड्राइभ गर्न थालेपछि मात्र स्मार्ट हुन्छ । त्यसतर्फ जान उन्मुख छौँ, कार्यक्रम त्यस्तै छन । परिणाम आउन केही समय लाग्छ ।”

फिर्केखोलामा नै बन्न लागेको मोटरेवल पुल ४ वर्ष पुग्न लाग्दा पनि सम्पन्न हुन सकेको छैन । महानगरपालिकाको वडा नं ४ र ५ जोड्ने पुल २०७५ भदौमा सम्झौता भई १५ महिनामा सकिनुपर्ने थियो । तर, अहिलेसम्म पुलले पूर्णता पाएको छैन । मेयर जिसीले यो पुललाई पनि आफ्नो कार्यकालको उपलब्धिमा समावेश गरेका छन् ।

शिर नझुकेको दाबी : नभनेका काम गरे
पुस्तकमा मेयर जिसीले आफ्नो भनाइको अन्त्यतिर एउटा वाक्य जोडेका छन् । त्यहाँ लेखिएको छ, “हामीले आउने बेलामा एउटा प्रतिबद्धता गरेका थियौँ, पोखरा सिस्टममा चल्छ भनेर । हाम्रो नेतृत्वले पोखरेलीको शिर झुक्ने काम गर्ने छैन भनेर पनि भनेका थियौँ । आजको मितिसम्म शिर झुक्ने काम गरेका छैनौँ ।”

नगरवासीका समस्या रहेको र पोखरालाई 'एडभान्स' सहर बनाउन अझै तीन कार्यकाल लाग्ने उनको विश्लेषण छ । काम गर्दा आलोचना आएतापनि त्यसलाई सहने उनको भनाइ छ ।

हुनपनि पोखरामा फिर्केखोलामा पैदलमार्ग खुलाउनको लागि आफैँ डोजर चालक बन्न पुग्दा तीनजनालाई घाइते बनाएको आलोचना उनले सहेकै हुन् ।

२०७५ साल असारमा फिर्केखोला पैदलमार्ग (फूटट्रयाक) शुभारम्भको औपचारिक मन्त्व्य सकेर मेयर जिसीले डोजर मै चढेर शुभारम्भ गर्ने कार्यक्रम थियो । मन्तव्य सकेपछि मेयर जिसी डोजरमा चढेर लिभर गियर थिचे । स्लिप मोडमा रहेको बकेट उठेर फिर्के खोला छेउको रेलिङ भत्काउँदै भिडतर्फ सोझियो । त्यसपछिको भागदौडमा पत्रकारसहित तीनजना घाइते हुन पुगेका थिए ।

मेयर जिसीको दाबीमा कत्तिको सत्यता होला समयले बताउला । तर, उनले गरेका विवादास्पद निर्णय चाहिँ पोखरेलीको सम्झनामा रहने छ । ती आलोचनालाई जिसीले सहेकै छन् । मेयर जिसीले भनेका काम गरेनन्, तर नभनेका काम सक्रिय भएर गरे । ती पनि विवादित पात्रको नाममा ।

पोखराको सम्पदा नदीको रूपमा रहेको सेती खोँचलाई भाडामा लगाउखेदेखि लिएर डेभिड फल्सलाई पनि चार दसकसम्म भाडामा दिने काम मेयर जिसीकै पालामा भएको छ ।

सर्वोच्चको फैसला विपरत फेवाताल सहितका अन्य तालहरूको मापदण्ड चुनावको सम्मुखमा तोकेर भोट राजनीतिसँग सम्पदालाई सौदा राख्ने काम पनि मेयर जिसीकै कार्यकालमा भएको छ ।

कार्यपालिको अन्तिम निर्णय सार्वजनिक नगरेपनि तालको मापदण्डको बारेमा चाहिँ पुस्तकमा उल्लेख गरिएको छ ।

पुस्तकमा कार्यपालिकाको निर्णय उल्लेख गर्दै लेखिएको छ, “२०७८ चैत १६ गतेको कार्यपालिका बैठकबाट पोखराका तालहरूको मापदण्ड निर्धारण सम्बन्धी निर्णय गरिएको छ । पोखरा महानगरपालिकामा रहेको र सिंगो नेपालको पहिचान बोकेका फेवातालको मापदण्ड सम्बन्धमा हालसम्मका विभिन्न कार्यदलको प्रतिवेदन, सम्मानित सर्वोच्च अदालतको फैसला र स्थानीय नागरिकहरूको भनाइ समेत अध्ययन गरी प्रतिवदन पेस गर्न महानगरपालिकाको २३औँ  बैठकले वडा न १७ का वडाध्यक्ष तीर्थराज अधिकारीको संयोजकत्वमा गठन गरिएको थियो ।

उक्त कार्यदलले दिएको प्रतिवेदनले यसअघिका समिति तथा कार्यदलहरूको प्रतिवेदनसमेत अध्ययन गरी सोको आधारमा, सर्वोच्च अदालतको फैसला बमोजिम पोखरा महानगरपालिका, पोखरा उपत्यक नगर विकास समिति र राष्ट्रिय ताल संरक्षण समितिको समन्वयमा तालको मापदण्ड निर्धारण गर्न निर्देश गरेको थियो । सोही बमोजिम फेवा तालको मापदण्ड तालको सिमांकन अधिकार क्षेत्रबाट चारैतिर ३० मिटर कायम गर्न उल्लेखित निकायसँग समन्वय गर्ने भनी महानगर कार्यपालिकाको ०७८ चैत्र १६ गतेको बैठकले निर्णय गरेको छ ।”

यो निर्णयले २०३२ सालदेखि सुरु भएको मपादण्ड विवाद किनारा लगाएको उल्लेख गरिएको छ ।
००० 

घोषणापत्रमा लेखिएका कार्यक्रम कार्यान्वयन गर्न कठिन हुने भनेर मेयर जिसीले पुस्तकमार्फत आसन्न स्थानीय तहका मेयरका प्रत्यासीलाई पनि सन्देश दिन खोजेका छन् । उनकै पार्टी देखि गठबन्धनका उमेदवारको घोषणाको सारसंक्षेप हेर्दा विगतकै घोषणापत्रमा भाषिक संशोधन गरेर साभार गरिएका छन् । पूर्वाधार होस वा सुशासन, एमाले होस वा गठबन्धन दुवैको घोषणापत्र उस्तै उस्तै छ । मोनोरेललाई दुवैले अगाडि बढाएका छन, समय नै तोकेर संख्याको रोजगारी खुलाउने भनेका छन् ।

घोषणापत्र सार्वजनिक भइसकेपछि मेयर जिसी नेतृत्वको पाँच वर्षे कार्यकालको पुस्तकले चाहिँ घोषणापत्रमा भनिएका काम हुबहु कार्यान्वयन गर्न नसकिने सन्देश दिएको छ ।

तर, उमेदवारहरू चाहिँ आफ्नै घोषणापत्रलाई लिएर विगतमा झैँ आश्वासन गर्न बिहानसाँझ व्यस्त छन् ।

हेर्नुहोस् पुस्तक :

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख २४, २०७९  ०६:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro