काठमाडौं । कसिलो बलिङ प्रदर्शन गरेको सनराइजर्स हैदरावादले शनिबार इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बैंग्लोरमाथि ९ विकेटको सानदार विजय हासिल गरेको छ ।
मुम्बईस्थित ब्राबौर्नी रंगशालामा हैदरावादका कप्तान केन विलियम्सले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेका थिए । बलरहरूले कप्तानको निर्णयलाई सही सावित गरिदिए ।
दुई ब्याट्सम्यानले बाहेक अरूले दोहोरो अंकमा रन बनाउन नसक्दा बैंग्लोरले १६.१ ओभरमा सबै विकेट गुमाएर ५८ रन बनाएको थियो । ६९ रनको लक्ष्य हैदरावादले एक विकेट गुमाएर आठ ओभरमै पूरा गर्यो ।
हैदरावादका टी नटराजन र मार्को जनसेनले समान तीन विकेट लिए भने जगदीशा सुचिथले दुई विकेट लिए । उमरान मलिक र भुवनेश्वर कुमारले एक/एक विकेट लिए ।
बैंगलोरका सुयश प्रभुदेसाई १५ र ग्लेन म्याक्सवेलले १२ रन जोड्नुबाहेक अरू खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । तीन ब्याट्सम्यानले रनको खाता खोल्न सकेनन् ।
६९ रनको लक्ष्य पूरा गर्ने क्रममा हैदरावादका अभिषेक शर्माले २८ बलमा आठ चौका र एक छक्कासहित ४७ रन बनाए । कप्तान विलियम्सनले अविजित १६ रन बनाए । राहुल त्रिपाठी सात रनमा अविजित रहे ।
हर्शल पटेलले एक विकेट लिए ।
जितसँगै हैदरावाद दोस्रो स्थानमा उक्लिएको छ । सातमध्ये पाँच खेल जितेर १० अंक जोडेको हैदरावाद रनरेटका आधरमा दोस्रो स्थानमा रहेको हो । समान १० अंक जोडेका राजस्थान रोयल्स र बैंग्लोर रनरेटका आधरमा क्रमशः तेस्रो र चौथो स्थानमा छन् ।
गुजरातको विजयी यात्रा कायमै
सातमध्ये ६ खेल जितेको गुजरात टाइटन्स १२ अंकका साथ शीर्ष स्थानमा छ । गुजरातले शनिबारै भएको पहिलो खेलमा कोलकाता नाइट राइडर्समाथि ८ रनको रोमाञ्चक विजय हासिल गरेको थियो ।
मुम्बईको डा. डीवाई पाटिल स्पोर्ट्स एकेडेमीमा कोलकाताका आन्द्रे रसेलले गरेको अलराउन्ड प्रदर्शन खेर गएको थियो । रसेलले चार विकेट लिनुका साथै २५ बलमा एक चौका र ६ छक्कासहित ४८ रन बनाएका थिए । तर, कोलकाताले विजय हासिल गर्न भने सकेन ।
टस जितेर ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५६ रन बनाएको थियो । १५७ रनको लक्ष्य पछ्याएको कोलकाताले ८ विकेट गुमाएर १४८ रन मात्र बनाउन सक्यो ।
गुजरातका कप्तान हार्दिक पाण्डेयले ४९ बलमा ६७ रन बनाए । डेविड मिल्नरले २७, ऋद्धिमन शाहले २५ र राहुल टेवाटियाले १७ रन बनाए ।
कोलकाताका रसेलले चार, टिम साउथीले तीन तथा उमेश यादव र शिवम दुबेले एक/एक विकेट लिए ।
कोलकाताका लागि रसेलले सबैभन्दा धेरै ४८ रन बनाए । रिन्कु सिंहले ३५, उमेश यादवले अविजित १५ र श्रेयस ऐयरले १२ रन बनाए । अरू खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
गुजरातका मोहम्मद शामी, यश दयाल र रसिद खानले समान दुई विकेट लिए । अल्जारी जोसेफ र लोकी फर्गुसनले एक/एक विकेट लिए ।
पराजित कोलकाता ६ अंकका साथ सातौँ स्थानमा छ ।