काठमाडौं । सरकारले सशस्त्र प्रहरी बलका चार नायब महानिरीक्षक (डीआईजी)को कार्यकाल थप एक वर्ष थपेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सशस्त्र प्रहरी बलका डीआईजीको चारवर्षे कार्यकाल पूरा गरेर घर जान लागेका डीआईजीहरू शम्भु सुवेदी, गणेश ठाडा मगर, कुलबहादुर नेम्बाङ र कमल गिरीको कार्यकाल एक वर्ष थपेको हो ।
उनीहरू चारजना नै कानुनीरूपमा अवकाश पाउन दुई घण्टामात्रै बाँकी रहँदा उनीहरूको कार्यालय थपिएको हो । उनीहरू मंगलबार राति १२ बजेपछि अवकाशमा जाँदै थिए ।
तर, १० बजे बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरूको कार्यकाल थप एक वर्ष थपिदिएको हो । योसँगै एक वर्ष कार्यकाल थप भएका डीआईजीमध्येबाट एकजना सशस्त्र प्रहरी बलको कमान्ड सम्हाल्ने गरी महानिरीक्षक (आईजीपी) बन्ने बाटोसमेत खुलेको छ ।
सशस्त्र प्रहरी नियमावलीअनुसार, डीआईजी, अतिरिक्त महानिरीक्षक (एआईजी) र महानिरीक्षक (आईजीपी)को पदावधि समान चार–चार वर्ष हुन्छ । तर, सशस्त्र नियमावली, २०७२ को परिच्छेद १० को दफा ६५ मा एआईजी र डीआईजीको पदावधि आईजीपीको सिफारिसमा मन्त्रिपरिषद्ले एक वर्ष थप्न सक्ने व्यवस्था छ । सोही व्यवस्थामा टेकेर मन्त्रिपरिषद्ले एक वर्ष कार्यकाल थप गरेको हो ।
एक वर्ष थप गरिएकामध्ये शम्भु सुवेदी २०५४ र अन्य तीनजना २०५६ मा नेपाल प्रहरीको निरीक्षकमा भर्ना भएका थिए । उनीहरू सशस्त्र प्रहरी बलको स्थापना हुँदा एक तह माथिको बढुवा लिँदै प्रवेश गरेका अधिकारी हुन् ।
यही चार जनामध्ये नै एकजना आगामी वैशाखमा सशस्त्र प्रहरी बलमा खाली हुने एक एआईजी पदमा बढुवा हुनेछन् । आगामी वैशाखमा ३० वर्षे सेवा अवधिका कारण एआईजी चन्द्रप्रकाश गौतम अवकाश जाँदै छन् । गौतमको अवकाशपछि बढुवा हुने अधिकारी आईजीपीको रोल क्रममा रहने छन् ।
एआईजी बन्न नसक्नेहरू एक वर्षपछि स्वतः अवकाशमा जानेछन् । त्यसबाहेक अर्को व्यवस्था अनुसार ५६ वर्ष उमेरहदका कारणसमेत अवकाश पाउने छन् ।
हाल सशस्त्र प्रहरी बलमा पदावधिबाहेक ३० वर्षे सेवा अवधि र उमेरसमेत कायम छ । हाल गृह मन्त्रालयले प्रहरी र सशस्त्र प्रहरी बलको हालको व्यवस्था परिवर्तनका लागि ऐन ल्याउने तयारी गरिरहेको छ ।
आईजीपी हुने रोलक्रम नै उलटपुलट !
सशस्त्र प्रहरीमा हालकै व्यवस्था रहँदा अहिले एक वर्ष थप भएका डीआईजीमध्येबाट एकजना २०८५ पछिमात्रै आईजीपीको नेतृत्वमा पुग्नेछन् । यो हुँदा सशस्त्र प्रहरी बलमा भर्ना भएका पहिलो टोली आईजीपी नहुँदै घर फर्किनेछन् ।
सशस्त्रले २०५९ मा पहिलोपटक सशस्त्र प्रहरी निरीक्षकमा भर्ना लिएको थियो । त्यो बेला भर्ना भएका नौ जनामध्ये हाल पाँचजना डीआईजी र चारजना एसएसपी छन् । डीआईजीमा सुरेश श्रेष्ठ, अञ्जनीकुमार पोखरेल, दिपेन्द्र शाह, पुरुषोत्तम थापा र दिपक अधिकारी डीआईजी छन् ।
उनीहरूमध्ये अधिकारीबाहेक चारजना ०७९ फागुनमै डीआईजी भएका थिए । कृष्ण ढकाल, मनीष थापा, प्रकाश थापा, विरेन्द्र श्रेष्ठ भने एसएसपी नै छन् ।
हालको सशस्त्र प्रहरी बलको आईजीपी राजु अर्यालको कार्यकाल अझै दुई वर्ष बाँकी छ । उनी २०८३ वैशाखमा ४ मा आईजीपीको चार वर्षे कार्यकाल पूरा गरेर अवकाशमा जानेछन् ।
उनीपछि हालका सबैभन्दा सिनियर एआईजी नारायणदत्त पौडेल र अर्का वंशी दाहालमध्ये एकजना आईजीपी बन्नेछन् । उनीहरू दुवै आईजीपी अर्यालकै ब्याची हुन् । तर, उनीहरूमध्ये जो आईजीपी भए पनि करिब दुई वर्ष नेतृत्व गर्नेछन् । दुई वर्षपछि भने ३० वर्षे सेवाहदका कारण अवकाश पाउनेछन् ।
उनीपछि हाल एक वर्ष थप गरिएका डीआईजीहरूमध्ये जो एआईजी हुन्छ, त्यही आईजीपी बन्नेछ । यद्यपि, उनीहरू बढुवा नभई डीआईजीमा सुरेश श्रेष्ठ, अञ्जनीकुमार पोखरेल, दिपेन्द्र शाह बढुवा भएको अवस्थामा भने सशस्त्रमा पहिलो भर्ना भएका टोली नै आईजीपी बन्ने छ ।
तर, उनीहरूभन्दा हाल एकवर्ष म्याद थप गरिएका डीआईजीहरू सिनियर भएकाले उनीहरू छुट्ने अवस्थामा कम छ । हाल सशस्त्र प्रहरीमा नेपाल प्रहरीबाट सशस्त्र प्रहरीमा एक तह बढुवा भएर प्रवेश गरेका अधिकारीले मात्रै सशस्त्र प्रहरी बलको कमान्ड सम्हालेका छन् । सशस्त्र प्रहरीबाट नै सेवा सुरु गरेका अधिकारीले कमान्ड सम्हाल्ने अवस्था भने दोस्रोपटक भर्ना भएका अधिकारीले मात्रै पाउने सम्भावना छ ।
अवकाशमा जान लागेका अधिकारीको समय अवधि थप भएसँगै पहिलोपटक भर्ना भएका अधिकारी असन्तुष्ट देखिएका छन् । मंगलबार राति म्याद थप गरिएका अधिकारीको थपको निर्णय लेखेर सशस्त्र प्रहरी प्रधान कार्यालयले किताबखाना पठाइसकेको छ ।