काठमाडौं । युवा खेलाडी पेड्री गोन्जालेजको गोलमा बार्सिलोनाले स्पेनिस ला लिगामा आइतबार राति सेभियालाई १–० ले पराजित गरेको छ । जितसँग बार्सिलोना लिगको दोस्रो स्थानमा उक्लिएको छ ।
पूर्वकप्तान जाभी हर्नान्डेजको प्रशिक्षणमा पुनरुत्थान भएको बार्सिलोना लिगमा ६ खेलमा लगातार विजयी नजिता निकाल्न सफल भएको छ । बार्सिलोना सबैखाले प्रतियोगिता गरी १३ खेलमा अपराजित छ । लिगमै पनि क्याटलान क्लब नौ खेलसम्म अपराजित छ ।
बार्सिलोनाको जितमा पेड्रीले ७२औँ मिनेटमा गरेको गोल निर्णायक बनेको थियो । जितसँगै बार्सिलोनाको उपाधिको झिनो आशा पलाएको छ । बार्सिलोनाले २९ खेलबाट ५७ अंक जोडेको छ । त्यो शीर्ष स्थानको रियाल मड्रिडभन्दा १२ अंकले पछाडि हो । रियालले ३० खेलबाट ६९ अंक जोडेको छ । ३० खेलबाट समान ५७ अंक जोडेको एट्लेटिको मड्रिड र सेभिया क्रमशः तेस्रो र चौथो स्थानमा छन् ।
‘‘गणितले हामीसँग कुनै मौका छैन भनेर नदेखाएसम्म हामी लडिरहनेछौँ,’’ बार्सिलोनाका प्रशिक्षक जाभीले भने, ‘‘हामीले हिजो मड्रिड ठक्कर खाने आशा गरेका थियौँ, तर त्यसो भएन ।’’
रियाल मड्रिडले शनिबार राति सेल्टा भिगोलाई २–१ ले हराएको थियो ।
ला लिगामा गए राति सम्पन्न अरू खेलमा एथलेटिक बिल्बाओले इल्चेलाई २–१ ले हराएको थियो । रियाल बेटिसले ओसासुनालाई ४–१ ले हरायो । ग्रानाडा र रायो भायोकानोले २–२ को बराबरी खेले । भ्यालेन्सिया र कार्डिजले गोलरहित बराबरी खेले ।