site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हिरो बनेर नाम कमाउँछु भन्ने थियो, ६ फिट अग्ला राजेश हमाल आएपछि हार मानेँ (भिडियो वार्ता)
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । आजभन्दा २५ वर्षअघि गीत रेकर्ड गराउन, बजाउन रेडियो नेपाल र भिडियोमा उतार्न नेपाल टेलिभिजनभन्दा अर्को विकल्प थिएन । गीत सुन्ने-हेर्ने माध्यम नेपाल टेलिभिजन मात्रै थियो । तर, नेपाल टेलिभिजनमा प्रायः एकै शैलीका सफ्ट आधुनिक गीत-भिडियो आउँथ्यो ।

किशोरावस्थामा प्रवेश गर्दै गरेका आठ/नौ कक्षामा पढ्ने धीरज राईलाई रेडियो नेपाल र नेपाल टेलिभिजनबाट बज्ने गीतले तान्नै सकेन । उनी भन्छन्, “गीतमा मनपर्ने मान्छेलाई लालीगुराँस दिएर पट्याउने भाव हुन्थ्यो । तर, जमाना पोस्टकार्डको आइसकेको थियो ।”

गीत आफूलाई रिलेट नभएको अनुभव गरेपछि उनले विश्व प्रसिद्ध माइकल ज्याक्सनजसरी नाच्ने, नायकहरू भुवन केसी र शिव श्रेष्ठजस्तै ह्यान्डसम देखिन सक्छु भनेर नाच्दै गाउने गीतको ‘एक्सपेरिमेन्ट’ गरे । “मैले पुरानो एउटै फ्लेवरको गीतलाई चुनौती दिँदै नाचगान गर्ने, नयाँ पुस्ता झुम्न सक्ने शैली जन्माएँ,” उनी भन्छन्, “त्यसका लागि मैले वसन्त श्रेष्ठसँग डान्स कक्षा लिएँ ।”

KFC Island Ad
Dabur Nepal
NIC Asia

जुत्ता बेचेर भिडियो
नाच्दै गाउने ट्रेन्डको सुरुवात पप–जनराको ‘लुकीलुकी’ गीतबाट भएको हो । त्यति बेला रेडियो नेपालमा आबद्ध हुनेहरूले गाउने, राष्ट्रिय नाचघरमा आबद्ध हुनेहरूले नाच्ने र चलचित्रका नायक–नायिकाले ग्लामर देखाउने मानिसमा बुझाइ थियो ।

Royal Enfield Island Ad

तर, धीरजले नाच्दै गाउने अठोट लिइसकेका थिए । गीत रेकर्ड गराए । त्यसको दुई वर्षपछि भिडियो छायांकनका लागि नेपाल टेलिभिजन पुगे । तर, नेपाल टेलिभिजनले भिडियो छायांकन गरिदिएन । उल्टै उनले ‘कि गीत मात्रै गाऊ, कि नाच, यो नौटंकी के गरेको !’ भन्ने गाली खानुपरेको थियो । त्यति बेला नेपाल टेलिभिजनले छानिएका सीमित गीतको भिडियो बनाउँथ्यो ।

आफैँ खर्च गरेर भिडियो बनाउन धीरजसित पैसा थिएन । जुक्ति निकाले, टोलमै ‘हिरो बनाएको’ ओसिनो ब्रान्डको मनपर्ने डिंगो बुट बेचे । त्यसबाट आएको पैसामा थप गरेर उनले लुकीलुकीको भिडियो बनाए ।

भिडियोमा माइकल ज्याक्सनजस्तो देखिने ह्याट, कालो लामो चेन भएको ज्याकेट, भुवन केसीको जस्तो डिंगो बुट, स्किनी जिन्स पाइन्ट लगाएर उनले अभिनय गरेका थिए । जसका कारण उनलाई माइकल ज्याक्सनसँग तुलना गरी ‘नेपाली माइकल ज्याक्सन’ भन्न थालियो ।

संयोग मान्नुपर्छ, उनले सांगीतिक क्षेत्रमा नयाँ आयम भित्र्याएसँगै देशमा प्रजातन्त्रको पुनःस्थापना भयो । निजी एफएम रेडियो सञ्चालनमा आए । धीरजका गीत पनि निजी रेडियोबाट बज्न थाले ।

लुकीलुकी
लुकीलुकी धीरजका लागि मात्रै नभएर नेपाली संगीतका लागि विशेष पपगीत हो । यो गीत धीरजका लागि सांगीतिक करियरको ‘ल्यान्डमार्क’ हो । यो गीतमा उनको स्कुले जीवनको सम्झना जोडिएको छ ।

लुकीलुकी आँखा तिमी नजुधाऊ त्यसरी
यो मन त्यसै उडिदिन्छ कर्के नजरले...

गीतको पहिलो हरफले यस गीतको कथा बोकेको छ । यो हरफभित्रै गीत रचनापछाडिको कथा जोडिएको छ ।

त्यति बेला आफूलाई मनपर्ने बलिउड, हलिउड कलाकारको पोस्टर कोठामा सजाउने चलन थियो । आफूसहित साथीहरूले हलिउड अभिनेत्री फिबी केट्सको पोस्टर कोठामा टाँसेको उनी बताउँछन् ।

“हामी प्रायः सबैको कोठामा फिबीको पोस्टर हुन्थ्यो । हाम्रो स्कुलमा पनि फिबीजस्तै राम्री एउटी केटी थिइन् । उनी कक्षा–१० मा पढ्थिन् । उमेरले उनी हाम्री दिदी थिइन् । हामी उनलाई फिबी भनेर बोलाउँथ्यौँ । हामीहरू उनलाई लुकीलुकी हेर्थ्यौँ,” विगत सम्झिँदै उनले भने, “हामीले लुकीलुकी हेर्दा उनी आँखा तर्थिन् । तर, हामी दंग परेर हेर्दै बस्थ्यौँ ।”

धीरजले उनै फिबीलाई लुकीलुकी हेर्दाहेर्दै यो गीत रचना गरेका हुन् ।

डान्सर गायक
धीरजले काठमाडौंमा सोचेअनुरूपको जीवन जिउन पैसा, पावर र नाम चाहिन्छ भन्ने बुझेका थिए । उनले नाचगान र अभिनय गरेर नाम कमाउने सोच बनाए ।

“हिरो बनेर नाम कमाउँछु भन्ने थियो । तर, सिक्सप्याक, ६ फिट अग्ला राजेश हमाल दाइ आएपछि मैले हार मानेँ,” उनले भने, “त्यसपछि डान्सर हिरो बन्ने सोच आयो । त्यो पनि श्रीकृष्ण श्रेष्ठ दाइले खाइदिनुभयो । अन्ततः के गर्ने भन्दा दिलीप रायमाझी र माइकल ज्याक्सनसँग प्रेरित भएर डान्सर गायक बन्छु भन्ने सपना लिएको हुँ ।”

विस्तारै पप म्युजिकको मार्केट फस्टाउँदै थियो । त्यही क्रममा म्युजिक कलेक्सनका एकजनाले उनलाई गीत गाउन दिने र दुई हजार रुपैयाँ दिने सुनाए । सो प्रस्तावलाई अवसरमा बदल्दै उनले गायनलाई निरन्तरता दिए ।

पप म्युजिक ‘बुम’ हुँदै गयो । विदेशमा गएर गाउने उनका सपना पनि साकार हुँदै गए । उनी पहिलोपटक ४० हजार रुपैयाँ पारिश्रमिकमा हङकङ गएका थिए ।

प्रतियोगी
गायक धीरजको लुकीलुकी कुनै बेला लोकप्रिय थियो । हरेक सांस्कृतिक कार्यक्रममा उनकै जस्तो ह्याट, झिलिमिली ज्याकेट लगाएर युवा नाच्न स्टेजमा उत्रिन्थे ।

२५ वर्षपछि गीतको भिडियो पुरानो भयो भन्ने लागेर उनले नायिका आँचल शर्मा र युवा डान्सर डेल्विस तथा राजलाई फिचर्ड गराएर डिस्को थेकमा नयाँ भिडियो बनाएका छन् । योसँगै केही समय निस्क्रिय बनेका धीरज पुनः सक्रिय भएका छन् ।

गायन यात्रामा १५ वर्ष व्यतीत गरेका उनको अबको एउटै लक्ष्य ‘देशको आवाज’ बन्ने छ । उनी गायनसँगै ‘डान्सिङ विथ द स्टार्स नेपाल’को दोस्रो सिजनमा एक प्रतियोगीका रूपमा पनि जोडिएका छन् ।

गायन, शिक्षण
धीरज गायक मात्र नभएर इन्जिनियर र शिक्षक पनि हुन् । उनले इन्जिनियरिङ र अंग्रेजीमा डिग्री गरेका छन् ।

उनी भन्छन्, “स्कुले जीवनमा एकजना दाइले पपगायक औँठाछाप हुन्छन् भनी उडाएका थिए । त्यही कारण ममा डिग्री गरेर देखाउँछु भन्ने कुरा आएको थियो ।”

उनले शिक्षण गरेर जम्मा भएको पैसाले गीत रेकर्ड गराएका थिए । “रेडियो नेपालले हाम्रो गीत रेकर्ड नगराउने, गीत रेकर्ड गराउन पैसा चाहिने भयो । त्यसपछि मैले छिटो पढेर जागिर खानुपर्छ भन्ने सोचेँ । अरू विषयमा बीए पासपछि मात्रै जागिर पाइने । तर, इन्जिनियर पढे चाँडै काम पाइने थाहा पाएर मैले यो विषय पढेँ ।”

०५०–०६० को दशकमा नेपाली पपसंगीतले उचाइ लिएको थियो । पपगायक–गायिकाले नाम, दाम पनि कमाए ।

अहिले पनि पपगीतको राम्रो स्थान रहेको उनी बताउँछन् । तर, छोटो समयमा चर्चित हुने लोभका कारण गीतको गुणस्तर खस्किएको उनको अनुभव छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २०, २०७८  ११:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro