site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सर्वस्वहरणपछि साइकलमा अण्डा बेचेर गणेशमान परिवारको खर्च धान्थे पीएल सिंह 

काठमाडौं । काठमाडौं महानगरपालिकका ०४९–२०५४ का मेयर पीएल सिंहको ८८ वर्षको उमेरमा निधन भएको छ । ०१५ सालमा गणेशमान सिंह संसदीय चुनाव लड्नुअघि चाक्सीबारी प्रवेश गरेका सिंह वर्षौंसम्म त्यहीँ रमाए ।

गणेशमान सिंहको भेटघाटदेखि कार्यकर्ता व्यवस्थापनसम्म उनैले गर्थे । ०१५ सालदेखि गणेशमान सिंह र मंगलादेवीको निधन नहुँदासम्म पीएल चाक्सीबारीमै बसे ।

गणेशमान पत्नी तथा नेपाल महिला संघकी संस्थापक अध्यक्ष मंगलादेवी सिंहले त पीएललाई आफ्ना छोराहरूसरह चिनाउने गरेकी थिइन् । पीएललाई आफ्नो परिवारभन्दा गणेशमान परिवार र आफ्नो घरभन्दा चाक्सीबारी प्रिय हुने गरेको पीएलसँग निकट भएर काम गरेको कांग्रेस नेता भिमसेनदास प्रधानको स्मरण छ । 

Dabur Nepal
NIC Asia

“गणेशमानजी र मंगलाजीको निधनपछि पीएल दाइ चाक्सीबारीबाट बाहिर बस्न थाल्नुभयो । तर, उहाँको अन्तिम इच्छा चाक्सीबारीमै बस्ने थियो,”  प्रधानले बाह्रखरीसँग भने, “गतवर्ष दाइ गम्भीर बिरामी परेर अस्पताल भर्ना हनुभयो । उहाँलाई अस्पतालबाट डिस्चार्ज भएपछि भने चाक्सीबारीमै राखिएको थियो ।” 

सिंहको इच्छाअनुरूप चाक्सीबारीमै राखियो । उनको इच्छाअनुरूप त्यहीँ निधन भयो ।

काठमाडौं नगरपालिकाको मेयर निर्वाचित भएपछि पीएलले प्रधानलाई सल्लाहकार नियुक्त गरेका थिए । त्यसबेला पीएलकै प्रस्तावमा सरकारले काठमाडौं नगरपालिकालाई महानगरपालिका घोषित गरेको थियो ।

त्यसकारण पनि पीएल सिंह काठमाडौं महानगरपालिकाका पहिलो मेयर बन्न पुगे । राजनीतिमा न्याय–अन्याय छुट्याउन सक्नुपर्छ भन्ने मान्यता राख्ने पीएल सिंहले स्नातकसम्मको अध्ययन गरेका थिए । 

तत्कालीन राजा महेन्द्रले आजकै दिन अर्थात् ०१७ पुस १ गते जननिर्वाचित सरकार र जननिर्वाचित संसदमाथि ‘कू’ गर्दा पीएल युरोपमा सोसलिष्ट इन्टरनेशनल बैठकमा सहभागिता जनाउँदै थिए । उनले विद्यार्थी युनियन नेताको हैसियतमा प्रतिनिधित्व गरेका थिए । 

उनी युरोपबाट फर्किँदा तत्कालीन राजा महेन्द्रले गणेशमानलाई जेल पुर्‍याइसकेका थिए । प्रकाशमान सिंहसहित गणेशमानका छोराछोरी सानै थिए । चाक्सीबारीबाट उनीहरू निकालिएका थिए । उनीहरू भाडाको घरमा बस्नु परेको थियो । त्यसबेला गणेशमानका परिवारको सहारा उनै पीएल बन्न पुगे । 

“गणेशमानजी त जेल पर्नुभयो, सर्वस्वहरण पनि भयो । परिवारका सदस्यहरू समस्यामा परे,” भिमसेनदासले बाह्रखरीसँग भने, “त्यसबेला पीएल दाइले साइकलमा अण्डा बेचेर खर्चको जोहो गर्नुभएको थियो ।”

२०२५ मा गणेशमान सिंह जेलबाट बाहिर आएपछि भारतमा निर्वासित जीवन सुरू भयो । त्यसपछि पनि अभिभावक मंगलापछि उनै पीएल बनेका थिए । गणेशमान सिंहको राजनीतिबाट प्रेरित पीएलले उनैको राजनीतिक लक्ष्यमा आफ्नो सम्पूर्ण जीपन समर्पण गरे । फलस्वरूप विवाह र घरबारबारे सोच्न पाएनन्, आजीवन अविवाहित रहे ।

गणेशमानका तर्फबाट आफैँ खटनपटनदेखि कार्यकर्ता व्यवस्थापनसम्म गर्दै आएका पीएल गणेशमान र मंगलादेवीको निधनपछि ‘टुहुराजस्ता’ भए । 

चाक्सीबारीप्रतिको घट्दो राजनीतिक आकर्षणसँगै उनको व्यक्तिगत प्रभाव पनि घट्दै गयो । त्यसपछि उनी चाक्सीबारीबाट बाहिरिएर आफ्नै भाइको परिवारसँग बस्न पुगेका थिए । 

०००

अल्सर बिग्रिएर आन्द्रामा समस्या आएपछि गतवर्ष सिंहको मेडिसिटी अस्पतालमा अप्रेसन गरियो । खानामा अरुचि भएपछि अस्पताल लैजाँदा रगतमा होमोग्लोबिनको मात्रा कम देखियो ।  मेडिसिटीको आईसीयूमा उपचार हुँदै गर्दा सिंहलाई रगतसहित लगातार ‘भमिट भयो’ । आकस्मिक इन्डोस्कोपी गर्दा अल्सरले आन्द्रामा ठूलै असर पु¥याएको पत्ता लाग्यो । त्यसपछि आकस्मिक अप्रेसन भयो । 

सिंह होसमा फर्किएपछि गणेशमानकी बुहारी सिर्जना सिंहले पीएललाई चाक्सीबारीमै रहन प्रस्ताव गरिन्, पीएलले प्रस्ताव स्वीकार गरे । त्यसयता सिंह चाक्सीबारीमा बस्दै आएका थिए । त्यहीँ उनको निधन भएको हो । 

०००

०४९ साल देखि ०५४ सालसम्म काठमाडौं महानगरको मेयर भएर काम गरेका पीएलले विश्वका धेरै देशका महानगरसँग दौत्य सम्बन्ध राख्नेदेखि अन्तर्राष्ट्रिय संघ–संस्थाको बजेट सांस्कृतिक र धार्मिक क्षेत्रको संरक्षणमा ल्याउने सम्झौता गरेर महानगरको जग बसालेका थिए ।

त्यही कामका कारण उनको नागरिक तहमै सम्मान बढेको थियो । स्थानीय सरकारले स्थानीयसँग जोडिएर काम गर्नुपर्छ र नागरिक विश्वास आर्जन गर्नुपर्छ भन्ने मान्यता स्थापित गराए । 

सिंह २०५६ सालको चुनावमा काठमाडौं–४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । पीएल २०५८ साउनमा शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्मा जनसंख्या तथा वातावरण मन्त्रीसमेत बनेका थिए । 

०००

२०५९ जेठ ८ मा विघटित प्रतिनिधिसभा जनआन्दोलनको बलमा २०६३ वैशाखमा पुनस्र्थापित भयो । तर, त्यो घटनालाई पीएल सिंहले फरक ढंगले असहमति राखे । उनको तर्क थियो, जनताबाट निर्वाचित प्रतिनिधि राजाबाट सिफारिसमा पुनःस्थापित संसद्मा जानु हुन्न ।

त्यही तर्कका आधारमा कृष्णप्रसाद भट्टराई पनि पुनःस्थापित संसद् फर्किएनन् । दुवै नेताले ‘राजाको निगाहबाट प्राप्त र निर्वाचन पद्धतिबाट आएका सहभागी हुने संसदमा नजाने’ निर्णय लिएको भिमसेनदास प्रधान बताउँछन् । चुनावमा भाग नलिएको र हिंसात्मक विद्रोहबाट आएको माओवादीलाई संसदमा लैजानु हुँदैन भन्ने थियो ।

भिमसेनदासका अनुसार, किशुनजी र पीएल दुवैको एउटै अडान थियो, ०४७ सालको संविधान फाल्नु हुन्न । नेपालमा संवैधानिक राजतन्त्रको अन्त्य पनि गर्नु हुन्न । तर ती दुवै काम रोक्न नसक्ने देखेपछि संसद् जानु अनुचित हुने निष्कर्षमा किसुनजीसँगै पीएल पनि पुगेका थिए ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस १, २०८१  १६:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
9 KFC9 KFC
9 Citizen Bank9 Citizen Bank
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro