site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
एनपीएलको प्लेअफ समीकरण पूरा, फाइनल पुग्न भिड्नेछन् यी चार टोली

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ समीकरण पूरा भएको छ ।

सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सविरुद्ध ६ विकेटको जित निकालेसँगै प्रतियोगिताको शीर्ष चार टिम पक्का भएका हुन् । 

कर्णालीविरुद्धको जितसँगै लिग चरणको शीर्ष स्थान सुनिश्चित गरेको सुदूरपश्चिम रोयल्सले सात खेलबाट १२ अंक जोडेको छ । दोस्रो स्थानको जनकपुरले सात खेल खेल्दा पाँच जित र दुई हारसहित १० अंक जोडेको छ । 

यस्तै, तेस्रो स्थानको चितवन राइनोजले सात खेलबाट चार जित र तीन हारसहित आठ अंक जोडेको छ । चौथो स्थानमा रहेको प्लेअफ यात्रा तय गरेको कर्णाली याक्सले पनि सात खेलबाट चारमा जित र तीन खेलमा हारसहित आठ अंक नै जोडेको छ ।

बुधबारदेखि सुरु हुने प्रतियोगिताको प्लेअफमा अब शीर्ष स्थानको सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सविरुद्ध पहिलो क्वालिफायर खेल्नेछ । यो खेलको विजयी टिमले सोझै फाइनलमा स्थान बनाउनेछ । यस्तै, हार्ने टिमले भने फाइनल प्रवेशका लागि पुनः मौका पाउनेछ । जसअनुसार पहिलो क्वालिफायरमा पराजित हुने टिमले दोस्रो क्वालिफायरमा इलिमिनेटर विजेतासँग प्रतिस्पर्धा गर्नेछ । 

प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको चितवन राइनोज र चौथो स्थान पक्का गरेको कर्णाली याक्सले इलिमिनेटरमा प्रतिस्पर्धा गर्नेछन् । इलिमिनेटर खेल बुधबार बिहान ९ बजेदेखि र पहिलो क्वालिफायर खेल सोही दिन दिउँसो १ बजेदेखि सुरु हुनेछ । यी दुवै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछन् । 

प्रतियोगिताको दोस्रो क्वालिफायर भने बिहीबार हुनेछ । यस्तै, फाइनल खेल शनिबार कीर्तिपुरमै हुनेछ । 

प्रतियोगिताको पहिलो संस्करणमा आठ टिमले प्रतिस्पर्धा गरेका थिए । जसमध्ये काठमाडौं गुर्खाज, विराटनगर किंग्स, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्स भने लिग चरणबाटै बाहिरिए । 

सात खेलबाट आठ अंक जोडेको काठमाडौं पाँचौँ, चार अंक जोडेको विराटनगर छैटौँ, चार अंक नै जोडेको पोखरा सातौँ र दुई अंक जोडेको लुम्बिनीले आठौँ स्थानमा रहँदै प्रतियोगिता टुंग्याएका हुन् ।

प्रकाशित मिति: सोमबार, पुस १, २०८१  १२:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro