site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
विचार
Global Ime bankGlobal Ime bank
SkywellSkywell
कांग्रेसकाे फेरि अग्निपरीक्षा !

निर्वाचनकाे मिति घाेषणामा थालिएकाे राजनीतिले देशलाई अधिनायकवादी अन्धकारतर्फ धकेल्दै छ । विडम्बना, आवधिक निर्वाचनकाे मितिजस्ताे सामान्य देखिने विषयले नेपालकाे राजनीतिक मार्गचित्रै बिथाेल्ने सन्देह उत्पन्न हुनथालेकाे छ ।

स्वच्छ र निष्पक्ष आवधिक निर्वाचन लाेकतान्त्रिक शासन प्रणालीमा अनिवार्य हुन्छ । त्यसाे त निर्वाचन नितान्त प्राविधिक र औपचारिक अभ्यास हाे । यसैले लाेकतान्त्रिक संविधानहरूमा निर्वाचनका लागि अलग्गै स्वतन्त्र संवैधानिक निकायकाे व्यवस्था गरिएकाे हुन्छ । नेपालमा पनि निर्वाचन आयाेग छ ।

सहज र सामान्यरूपमा हुनुपर्ने निर्वाचनकाे घोषणामा सरकारकाे नियत खराब नभए यति विवाद हुनुपर्ने नै थिएन । नेपालमा माओवादीले २०६३ सालपछि निर्वाचनकाे मितिमा किचलाे थालेका हुन् । त्यतिबेलाका माओवादी नेता बाबुराम भट्टराईले त सार्वजनिकरूपमै ‘माओवादीले नजित्ने चुनाव किन हुन दिने ?’ भनेका थिए । 

Dabur Nepal
NIC Asia

चुनावमा जित्ने चाहना र प्रयास गर्नु स्वाभाविकै हाे । तर, चुनाव आफैँले जित्नुपर्छ भन्ने ठान्नु भने लाेकतान्त्रिक मानसिकता हाेइन ।

चुनावकाे मिति घोषणामै रणनीतिक लाभ खाेज्नेहरूले निर्वाचन परिणाम आफ्नाे प्रतिकूल भए सहजरूपमा स्वीकार गर्दैनन् । माओवादीले विसं २०७० काे संविधान सभा निर्वाचनमा देखाएकाे वितण्डा यसैकाे उदाहरण हाे ।

सरकारले निर्वाचन आयाेगले दिएकाे सल्लाह खुरुक्क मानिदिएकाे भए विवाद उत्पन्न नै हुने थिएन । आयाेगका पदाधिकारी पदीय दायित्व पूरा गर्न याेग्य वा इमानदार छैनन् भन्ने लागे संवैधानिक प्रक्रियाद्वारा हटाए हुन्छ । अन्यथा, सरकारले आयोगकाे सल्लाह मान्नुपर्छ । निर्वाचन प्रयाेजनमा सरकारकाे मुख्य सल्लाहकार त निर्वाचन आयाेग नै हाे । 

सरकारकाे रवैया यस्तै रहने हाे भने त महालेखाकाे प्रतिवेदन पनि स्वीकार नगर्ने संस्कारकाे जग बस्नेछ । त्यसपछि अख्तियार दुरुपयाेग अनुसन्धान आयाेग र अन्ततः अदालतका फैसला पनि नमान्ने चलन सुरु हुनेछ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले २०५९ सालमा स्थानीय निकायकाे चुनाव वा पदावधि थप नगर्दा २० वर्ष स्थानीय निकाय जनप्रतिनिधिविहीन भएका थिए । कर्मचारीले चलाएपछि स्थानीय तहसम्म भ्रष्टाचार विस्तार भएकाे थियाे । 

त्यतिमात्र हाेइन राजस्वमा भ्रष्टाचार तथा प्राकृतिक साधनकाे दाेहनमा कारिन्दा र कार्यकर्ताकाे देशव्यापी सहकार्य सुरु भएकाे पनि त्यही अवधिमा हाे । यसैले स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउने खेल निकै महँगाे हुनसक्छ ।

नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का नेताहरूले चुनाव टार्न खाेज्नु वा पहिले संघीय र प्रदेश संसद्काे चुनाव हाेस् भन्ने चाहना राख्नु अस्वाभाविक हाेइन ।  माओवादी केन्द्र र एकीकृत समाजवादीलाई स्थानीय तहकाे चुनावमा का‌ग्रेसले साथ नदिए अस्तित्व नै नजाेगिने डर हाेला । 

संघीय र प्रादेशिक निर्वाचनमा कांग्रेससँग चुनावी तालमेल हुन पनि सक्ला तर स्थानीय तहमा सम्भव देखिँदैन । स्थानीय तहकाे निर्वाचनमा नराम्री परास्त भएपछि माथिल्लाे निर्वाचनकाे सामना कसरी गर्ने भन्ने चिन्ता पनि उनीहरूलाई हुनु अस्वाभाविक हाेइन । तर, उनीहरूकाे याे चाहना देशकाे लाेकतान्त्रिक अभ्यासकाे निरन्तरताकाे मूल्यमा भने पूरा हुनसक्तैन ।

संघीय निर्वाचनमा मतदाता र कार्यकर्ताले नमाने पनि गठबन्धन कायम राख्न सके व्यक्तिगतरूपमा चुनाव जित्ने आशामा का‌ंग्रेसकै केही नेताहरू कम्युनिस्टहरूकाे लहैलहैमा लागेका छन् । विशेषगरी रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलालाई चुनावसम्म माओवादी केन्द्रसँगकाे गठबन्धन कायम राख्न सके जितिने थियाे कि भन्ने लागेकाे हुनसक्छ । 

परन्तु, कांग्रेसलाई कम्युनिस्टहरूकाे भरेङ बनाएर चुनावमा जाँदा कम्युनिस्टले त मत देलान् नदेलान् कांग्रेसले चाहिँ दिनेछैनन् भन्ने यिनले बिर्सेकाे देखियाे । कार्यकर्ताले विद्राेह गर्न सकेनन् भने पनि समर्थक मतदाताले मतदाने बहिष्कार गर्न सक्छन् ।

स्वर्गाराेहण पर्वमा युधिष्ठिरकाे नरक यात्राकाे वर्णन छ । नरक हेर्न पुगेका युधिष्ठिरलाई प्रसङ्गवश भनिन्छ - पाप गरेकै कारण नरकमा आउनुपरेकाे हाे । यधिष्ठिर भन्छन् - मैले कुन पापका कारण नरककाे दर्शन गर्नुपरेकाे हाे ? उत्तर ‘नराे वा कुञ्जराे वा अश्वत्थामा हताेहतः ’ भनेकाे पापले । अनि युधिष्ठिरले भनेछन् - ‘धर्मस्य सूक्ष्मा गतिः’ ।  

राजनीतिकाे पनि ‘धर्म’ त हुन्छ नि । त्यसमाथि लाेकतन्त्र त प्रकारान्तरले निष्ठासहितकाे धर्म नै हाे । केही निश्चित आचार र अभ्यास लाेकतन्त्रमा अपरिहार्य हुन्छन् । लाेकतान्त्रिक प्रक्रिया र अभ्यासप्रतिकाे इमानदारी लाेकतन्त्रवादीका लागि अपरिहार्य सर्त हाे ।

गठबन्धन र पार्टीभित्रका स्वार्थीहरूकाे सल्लाह मान्दै जाने हाे भने मुलुक अर्काे सङ्कटमा भासिने निश्चितै छ । त्यसकाे मुख्य दाेेषी प्रधानमन्त्री देउवा र सि‌गाे का‌ग्रेस ठहरिने पनि उत्तिकै निश्चित छ । इतिहासले त्यतिबेला पुष्पकमल दाहाल र माधवकुमार नेपाललाई सम्झने छैन । रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलालाई पनि सबैले बिर्सिसक्नेछन् । इतिहासमा कलङ्कित हुन त देउवाले र कुनैबेला देशकाे लाेकतान्त्रिक आन्दाेलनकाे पर्याय बनेकाे नेपाली कांग्रेसले पर्नेछ । 

दुर्भाग्य, इतिहासकाे यस कालखण्डमा जीवित 'शीर्ष' भनिने राजनीतिक नेतृत्व शेरबहादुर देउवा, खड्गप्रसाद ओली र पुष्पकमल दाहाल देशका लागि भने ‘अभिशाप’ सिद्ध भइसके । राजनीतिक क्षितिजमा कहीँ कतै आशाकाे मसिनाे किरण पनि देखिँदैन । 

ओलीबाट उम्केर याे मुलुक गठबन्धनकाे हातमा पुग्नु ‘तावाबाट उफ्रेर भुङ्ग्रा’मा भएजस्ताे छ । ओलीले संसद् विनाकारण सिध्याएका थिए । अदालतले बचाइदियाे । देउवाले गठबन्धका माेहमा त्यसरी नै स्थानीय तह समाप्त पार्न बेर लगाउँदैनन् । 

कम्युनिस्ट गठबन्धनलाई बहुमत दिएपछि नेपाली जनता पछुताउनु परेकाे थियाे । देउवालाई सभापति जिताउनेहरू सम्भवतः पछुताउन थालिसकेका छन् । अब मुलुकलाई अधिनायकवादकाे अँध्याराेतर्फ नघचेट्ने हाे भने नेपाली कांग्रेसले फेरि अग्निपरिक्षा दिनुपर्नेछ । देउवाले लाेकतान्त्रिक मूल्य र मर्यादाकाे लक्ष्मण रेखा नाघ्ने सङ्केत जाे देखिँदैछ ।

र अन्त्यमा

जर्मनीकाे एउटा अदालतले सिरियाकाे पूर्व सुरक्षा अधिकारी अनबर रसलानलाई मानवताविरुद्धकाे अपराधमा जन्मकैदकाे सजाय दिएकाे छ । कारागारमा राखिएका कम्तीमा ६० जना बन्दी मारिएका र ४ हजारलाई यातना दिइएकाे अभियाेगमा उनीमाथि मुद्दा चलाइएकाे थियाे ।

जर्मनीकाे अदालतमा विश्वव्यापी क्षेत्राधिकारकाे आधारमा सिरियाली अधिकारीमाथि मुद्दा चलाइएकाे बताइएकाे छ । सिरियाका राष्ट्रपति बसर अल असादलगायतका अधिकारीहरूविरुद्ध मानवता विराेधी अपराधमा मुद्दा चलाउने प्रयास अन्तर्राष्ट्रिय स्तरमा भइरहेकाे भए पनि उनीहरू त्यस्ता मुलुकमा जाँदै नगएकाले जाेगिइरहेका छन् ।  

यस्ताे अन्तर्राष्ट्रिय घटना नेपालका लागि पनि प्रेरक बन्न सक्छ कि ? सन् १९९४ मा रेडियाेमा नरसंहार उक्साउने सामग्री प्रसारण गरेबापत रुवान्डाका प्रसारकलाई मानवताविराेधी अपराधमा कैद सजाय दिइएकाे थियाे । टीकापुर नरसंहार दुरुत्साहन गर्नेहरूलाई कारबाही नगरिएपछि गाैर नरसंहार दाेहाेर्‍याउने धम्की मन्त्रीले नै दिइन् । उनकाे दलले पनि यादवकै भनाइमा ताली बजायाे । के देउवाकाे पनि यादवलाई नै समर्थन हाे ? 

कता लाग्दैछ नेपाल ?     

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ ९, २०७८  १४:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro