site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
प्रकृतिसँग गाँसिएको आदिवासीको जीवन 

नेपालका आदिवासी समुदायका प्राकृतिक, सामाजिक तथा सांस्कृतिक अधिकारहरूको संरक्षण र सम्मानको आवश्यकता विश्वव्यापी दृष्टिकोणसँग पनि जोडिएको छ । यस सन्दर्भमा, न्युजिल्यान्डको माओरी समुदायका प्रतिनिधि सांसद २२ वर्षीया हानाले आदिवासी अधिकारका विषयमा केही महिनाअघि उठाएकी आवाज र घटनाहरूले विश्वको ध्यान खिच्नुको साथै आदिवासी आन्दोलनको अवस्था प्रतिविम्बित भएको छ । 

सांसद हानाको आवाज न्युजिल्यान्डका सीमित माओरी आदिवासीको आवाज वा मागमात्र नभएर विश्वका आदिवासीको अधिकारको माग र आवाज बनेको छ । नेपालको आदिवासी समुदायको अधिकार र स्वायत्तताका सबालमा पनि यसले विशेष प्रकाश पार्न सक्ने संदेश दिएको छ ।

यसै विषयमा आधारित विश्लेषणात्मक दृष्टिकोणसहित व्याख्या गर्ने प्रयत्न यस लेखमा गरिएको छ । यो लेख न्युजिल्यान्डको माओरी आदिवासीको अध्ययनभन्दा न्युजिल्यान्डको संदेशले नेपालका आदिवासी समुदायका प्राकृतिक स्रोतको संरक्षण, भूस्वामित्वको अधिकार, पूर्खौली भूमिका आस्थाको प्रतीक र सांस्कृतिक स्वायत्तताको महत्त्वलाई मानवशास्त्रीय दृष्टिकोणबाट बुझ्ने जमर्को हो ।

Dabur Nepal
NIC Asia

आदिवासी र सांस्कृतिक विरासतको संरक्षणमा प्रकृति पूजा

संस्कृतिका विद्वान् बेलायतका एडवार्ड बर्नेट टायलरको भनाइमा संस्कृति "ज्ञान, विश्वास, कला, कानुन, नैतिकता, प्रथा, र समाजको सदस्यको रूपमा मानिसले हासिल गरेको अन्य कुनै पनि क्षमताहरू समावेश गर्ने जटिल समग्र" हो ।

त्यसैगरी यस सन्दर्भमा पोलिस ब्रिटिस मानवशास्त्री ब्रोनिस्लाव मालिनोस्कीको भनाइ पनि सान्दर्भिक छ । उनले संस्कृति र समाजलाई एउटा अविरल प्रवाहको रूपमा परिभाषित गरेका छन् जसले मानिसहरूको जीवनयापन गर्ने विधि, विश्वास, कला, र ज्ञानलाई समेट्छ ।

यी मानवशास्त्री विद्वानहरुको भनाइलाई आधार मान्दा आदिवासी समुदायको सांस्कृतिक सम्पत्ति र ज्ञानमात्र संस्कृति तथा समाजको एक अभिन्न हिस्सा होइन बरु प्राकृतिक स्रोतहरूको संरक्षण गर्ने एक कार्य पनि हो भन्ने प्रष्ट हुन्छ । 

नेपालमा आदिवासी समुदायको सांस्कृतिक स्वायत्तताको सुनिश्चितता भनेको त्यस्तो परिपाटीको संरक्षण हो जसले मानव समुदायको अस्तित्वलाई मात्र होइन समग्र पृथ्वीको अस्तित्वलाई पनि सुरक्षित राख्न मद्दत पुर्‍याउँछ । यसैले प्रकृति पूजा अन्धविश्वास नभएर सभ्यता, परम्परागत ज्ञान, सीप, पुर्ख्यौली सम्पत्ति संरक्षण, जलवायु परिवर्तनको न्यूनीकरण, पर्यावरणीय संरक्षण तथा सम्बर्द्धन, आदिवासी ज्ञानको प्रवर्द्धन आदि सांस्कृतिक, प्राकृतिक एवं पर्यावरणको संरक्षणको सुनिश्चितता हो ।

आदिवासी अधिकार र सांस्कृतिक स्वायत्तता

विश्वभरका आदिवासी समुदायहरू प्राचीन कालदेखि नै प्रकृति (भूमि/जमिन, जल, जंगल) र अन्य प्राकृतिक स्रोतहरूको व्यवस्थापन तथा संरक्षणलाई आफ्नो अनिवार्य पक्षका रूपमा हेर्छन् । यसैले नेपालका आदिवासीहरूको जस्तै लाग्ने न्युजिल्यान्डका माओरी समुदायका अधिकारहरूको सुनिश्चितताको मागले विश्वको ध्यान खिचेको हो । अन्ततः यसले आदिवासी अधिकारका सवालमा एक वैश्विक आन्दोलनको रूप लिएको छ । 

माओरी समुदायका प्रतिनिधि संसद् सदस्य २२ वर्षीय  हानाले सन् १८४० मा बेलायतकी महारानी र माओरी आदिवासीबीच भएको सन्धि सम्झौतामा आधारित विधेयकका बारेमा उठाएका आवाज र विधेयक च्यातेको घटनाले आदिवासी समुदायको अधिकारको सम्मान र संरक्षणको आवश्यकता स्पष्ट पारेको छ । न्युजिल्यान्डका माओरी आदिवासी र नेपालका आदिवासी जनजातिको अवस्था, पीडा र अधिकार समान छन् । 

माओरी आदिवासीको भूमिस्वामित्व र सांस्कृतिक स्वायत्तताको अधिकार हरण जोगाउन उनीहरू आन्दोलित छन् । नेपालमा पनि आदिवासीहरूको भूमि अतिक्रमण, भाषिक विभेद, सांस्कृतिक अधिकारको हरण भएका सर्वविदित नै छ । नेपालका आदिवासीले पनि लामो समयदेखि प्रश्न उठाउँदै अधिकारको माग गरेका छन् तर राज्यले सुनेको छैन ।

नेपालका आदिवासी जनजातिको भूमि, जल, र जंगलमा रहेको हक अधिकारको स्वीकृतिमा आनाकानी गरिएकाले अस्तित्व संकटका चुनौती देखिएका छन् । हाइड्रोपावर, राष्ट्रिय निकुञ्ज, संरक्षण क्षेत्र, राष्ट्रिय पार्क निर्माण र सामुदायिक वनलगायतका विकास परियोजनाहरूले यी समुदायका पुर्खाको भूमि र संस्कृतिमाथि अतिक्रमण गरिरहेका छन् । 

नेपालका आदिवासीहरूको आफ्नै भूमि, जल स्रोत र वन जङ्गलसँग गहिरो सांस्कृतिक, धार्मिक र सामाजिक सम्बन्ध छ । यी समुदायहरूले प्रकृतिलाई देउताको रूपमा पूजा गर्छन् र ती प्राकृतिक स्रोतसाधनहरूलाई रक्षा गर्न आवश्यक मान्छन् । प्राकृतिक स्रोत साधनलाई उनीहरू पुर्ख्यौली सम्पत्ति र आस्थासँग जोडेर हेर्ने गर्छन् । प्रकृति नै आत्माको वरदान हो, बिनाप्रकृति केही उब्जिदैँन । उब्जा हुन प्रकृति खुसी हुनुपर्छ । प्रकृतिलाई खुसी राख्न समयसमयमा विधिपूर्वक भूमि शुद्धीकरण पूजा गर्नुपर्छ । अनिमात्रै अनिष्टबाट जोगाउने र मनले चिताएको वरदान प्राप्त हुन्छ भन्ने मान्यता र विश्वास छ ।

भूमि र प्राकृतिक स्रोतसाधनको महत्त्व

आदिवासी समुदायको जीवनयापन र संस्कृति नै प्राकृतिक स्रोतसाधनमा आधारित छ । यी समुदायहरूले नदी, पहाड, रुख, र जडीबुटीलाई पुज्ने परम्परा राखेका छन् जुन सांस्कृतिक आस्थाका आधारमा मात्र होइन वैज्ञानिक दृष्टिकोणमा पनि महत्त्वपूर्ण छ । आदिवासीहरूले प्राकृतिक स्रोतको संरक्षण गर्दा उनीहरूको पारम्परिक ज्ञान, सीप, कला पेसा र संस्कृतिको सुरक्षा हुन्छ । परम्परागत खेती, पशुपालन, जडीबुटी संकलन र सिकारको माध्यमबाट यी समुदायले आफ्नो जीवनयापन गर्छन् । तर, सरकारी परियोजनाहरूका कारणले त्यस्ता परम्परागत स्रोत खोसिइरहेका छन् ।

नेपालका आदिवासी समुदायले परम्परागत भूमि पूजा र प्रकृति पूजा गर्छन् जसले प्रकृति तथा पृथ्वीका स्रोतलाई जीवित राख्न मद्दत गर्छ । जलविद्युत् परियोजनाले गाउँका गाउँ विस्थापित गरिरहेका छन् भने मठमन्दिर र चैत्यहरू नष्ट हुँदा समुदायका धार्मिक र सांस्कृतिक विश्वासलाई चुनौती पुगेको छ, आस्था नष्ट भएका छन् । 

राष्ट्रिय निकुञ्ज र राष्ट्रिय संरक्षण क्षेत्रहरू बनाउँदा आदिवासीको परम्परागत पशुपालनको खर्क चरन नष्ट हुन्छ भने त्यहाँ जडीबुटी संकलनमा प्रतिबन्ध लगाइन्छ । यी सबै कार्यले आदिवासी समुदायको सांस्कृतिक र परम्परागत अधिकारमा अतिक्रमण गर्छन् । विडम्बना, उल्टै आदिवासीहरूले मुद्दा खेप्नुपरेको छ । 

पुर्खाको परम्परागत पेसा, सीप, कला र ज्ञानलाई निरन्तरता दिँदा चोरी निकासीको मुद्दा लागेर अपराधी बनाइएको घटना बेहोर्नुपरेको छ । सवाल उठ्छ - आदिवासी चोर अपराधी हुन् कि उनीहरूको परम्परागत अधिकार खोस्ने राज्य अपराधी हो ? यो बहसको विषय बनोस् र एउटा निकास निकाल्ने मध्यम होस् ।

आदिवासी समुदायका लागि पुर्ख्यौली भूमि आस्थाको प्रतीक

आदिवासी समुदायहरूको भूमि र पहिचानको सम्बन्धमा परम्परा, सांस्कृतिक, धार्मिक एवं भावनात्मक दृष्टिकोणले गहिरो अर्थ राख्छ । पहिचान र अस्तित्व उनीहरूको भूमिसँग नजिकबाट जोडिएको हुन्छ । उनीहरूले आफ्नो पुर्ख्यौली भूमिलाई भौतिक सम्पत्ति भन्दा बढी जीवनको स्रोत र सम्पूर्ण संस्कृतिको केन्द्र मान्छन् । यो भूमि तिनीहरूको सभ्यता, इतिहास, परम्परा र पूर्खाहरूको योगदानको प्रतीक हो भन्ने मान्यता राख्छन् ।

आदिवासीहरूले प्रकृतिलाई धार्मिक र आध्यात्मिक दृष्टिले हेर्छन् । हिमाल, पहाड, डाँडाकाँडा, नदीनाला, वनजंगल, पर्वत, ढुंगा र अन्य प्राकृतिक तत्त्वहरूको पूजा गर्ने चलन सबैजसो आदिवासी समुदायमा पाइन्छ । यो विश्वास उनीहरूको सांस्कृतिक र धार्मिक परम्परा हो जहाँ प्रकृतिको सम्मान एवं संरक्षण नै जीवनको महत्त्वपूर्ण आयाम मानिन्छ । उदाहरणका लागि, हिमाललाई शान्तिको प्रतीक, पानीको मुहान नाग देउता, पहाड वा भूमिलाई मातृत्व अर्थात् मातृ देउताको रूपमा पुज्ने र रुखलाई जीवनदायी मान्ने परम्परा छ ।

आदिवासी समुदायको सामाजिक संरचना, सांस्कृतिक परम्पराको मूल्यमान्यता र सामाजिक दायित्व भूमिमा आधारित हुन्छ । कृषि, चरिचरन र अन्य प्राकृतिक स्रोत उनीहरूको जीवननिर्वाहको आधारमात्र नभई सामुदायिक सम्बन्धको मुख्य कडी पनि हुन् । भूमिसँगको यस सम्बन्धले उनीहरूको सामाजिक, आर्थिक र सांस्कृतिक प्रणालीको मूल्यमान्यतालाई निरन्तरता दिन्छ भन्ने मान्यता हुन्छ । 

आदिवासी समुदायले भूमि र प्रकृतिलाई आस्थाको प्रतीक मान्नु धार्मिक वा सांस्कृतिक पक्षका साथै उनीहरूको जीवनशैली, आत्मनिर्भरता, पर्यावरणीय चेतना, प्रण र सामुदायिक अस्तित्वको अभिन्न पाटो पनि हो । आधुनिक समाजले यस दृष्टिकोणलाई सम्मान गर्दै उनीहरूको अधिकार र परम्पराको संरक्षणमा ध्यान दिनु आवश्यक छ ।

भूमण्डलीकरण र जलवायु परिवर्तन

बदलिँदो विश्वको भूमण्डलीकरण र जलवायु परिवर्तनका चुनौतीहरू नेपालका आदिवासी समुदायका लागि थप गम्भीर बनिरहेका छन् । जलवायु परिवर्तनका कारण परम्परागत कृषि प्रणाली, वन्यजन्तु र वनस्पतिको अस्तित्व संकटमा परेको छ । यस अवस्थामा, आदिवासी समुदायहरूको पारम्परिक ज्ञान र संस्कृति जलवायु परिवर्तनसँग जुध्नका लागि महत्त्वपूर्ण हुन्छ । 

जलवायु परिवर्तनलाई रोकथाम गर्ने उपायमा आदिवासी ज्ञान र प्रकृति पूजाको अभ्यासलाई समावेश गर्दा प्राकृतिक स्रोतको संरक्षण गर्न सकिन्छ । प्राकृतिक स्रोत साधन मानव जीवनको अभिन्न अंग हुन् भनी गरिने भूमि पूजाले प्राकृतिक सम्पदाको संरक्षण गर्छ ।

आदिवासीले पानीको मुहानलाई, ठूलो ढुंगा, घनाजंगल, खोलानाला, हिमाल, पहाडका डाँडाहरू, बस्तीको वरिपरिका जंगल सबैलाई देउताको रुपमा पूजा गर्छन् । देउता रिसाए पानीको मुहान सुक्दै जान्छ, वनजंगल, खोलानाला, हिमाल पहाडमा बाढी पहिरो, हुरीबतास, झरी वर्षा हुन्छ, भूमि भत्काउन भूकम्प आउने र अन्नबाली उब्जनी नहुने अनि मानव जातिलाई महामारीजस्ता रोगको संक्रमणले नष्ट गर्न सक्छन् भन्ने विश्वास राखी भूमि तथा प्रकृतिको पूजापाठ गर्नुपर्छ भन्ने मान्यता र विश्वास छ ।

त्यसैले अहिले जलवायु परिवर्तनको न्यूनीकरण गर्न प्रदूषण रोक्नुपर्ने, प्राकृतिक सम्पदा, प्राकृतिक स्रोत साधन जोगाउनुपर्ने जस्ता जनचेतनामूलक कार्यक्रमसँग तुलना गर्दा विगतमा आदिवासीले परापूर्वकालदेखि प्रकृतिलाई जोगाउनु नै जलवायु परिवर्तन न्यूनीकरणको उपाय रहेछ भन्ने पुष्टि भएको छ । यसबाट आदिवासी ज्ञान वर्तमान समयमा महत्त्वपूर्ण हुनपुगेको देखिन्छ । आदिवासी ज्ञान वैज्ञानिक रहेको पनि पुष्टि हुन्छ ।

आदिवासी समुदायका परम्परागत ज्ञानले जैविक विविधता र पर्यावरणीय सन्तुलनको संरक्षण गर्न मद्दत पुग्छ । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को १६९ नम्बरको सन्धिमा आदिवासी समुदायको भूमि र सांस्कृतिका हकका बारेमा बलियो अधिकार सुनिश्चित गरिएको छ । आइएलओ १६९ मा जल, जमिन र जंगल आदिवासी समुदायको भूमि अधिकार र परम्परागत जीवनशैलीको संरक्षण गर्नु सरकारहरूको कर्तव्य हुन्छ भनी समुदायको क्षेत्राधिकार सुनिश्चित गरेको छ ।

तर, सन्धिको पक्ष भएर पनि नेपाल सरकारले आदिवासीहको जल, जमिन र जंगलमा जलविद्युत् परियोजना निर्माण, राष्ट्रिय निकुञ्ज, संरक्षित क्षेत्र, सामुदायिक वन र राष्ट्रिय पार्क बनाई समुदायको सांस्कृतिक स्वायत्तताको अधिकार र भूमिसम्बन्धी स्वामित्वको अधिकार हरण तथा आदिवासीमाथि दमन गरिरहेको छ ।

आदिवासी समुदायको भूमि तथा प्रकृतिप्रतिको आस्थाको मान्यताले गर्दा विकास परियोजनाहरू, विस्थापन र वातावरणीय विनाशका चुनौतीमा परिरहेका छन् । भूमिको पवित्रता र सामुदायिक अधिकारको रक्षा गर्न आदिवासीहरू संघर्षरत छन् । वैज्ञानिक दृष्टिकोणमा प्रकृति पूजाका परम्परालाई संरक्षणको दृष्टिकोणबाट हेर्दा यी अभ्यासहरू पर्यावरणीय सन्तुलन र स्थिरताका लागि पनि सकारात्मक पहल हुन् । वन संरक्षण, जैविक विविधताको रक्षा र पानीका मुहान स्रोतहरूको संरक्षण आदिवासीहरूको पूजा र मान्यतासँग जोडिएको हुनाले नै उनीहरूले जोगाई रहेका हुन्छन् ।

अन्ततः नेपालका आदिवासी समुदायका अधिकार र संस्कृति संरक्षण गर्न राज्य तथा अन्य सरोकारवालाहरूको ध्यान जानु अत्यन्त आवश्यक छ । भूमिसम्बन्धी स्वामित्वको अधिकार, जलवायु परिवर्तन र सांस्कृतिक स्वायत्तताको सवालमा आदिवासीहरूको आवाजलाई सम्मान गर्दै, उनीहरूको परम्परागत ज्ञान, सीप, कला, पेसा, विश्वास, आस्था र स्वायत्तता सुनिश्चित गर्नुपर्छ । 

आदिवासी समुदायको जीवनशैली र संस्कृतिको संरक्षण उनीहरूको भलाइका लागि मात्र नभएर समग्र पृथ्वीको जैविक विविधता र पारिस्थितिकीय सन्तुलनको लागि पनि आवश्यक हुन्छ । समुदायको परम्परागत ज्ञान र संस्कृतिलाई जोगाउन सक्यौँ भने हामी जलवायु परिवर्तनको चुनौती नियन्त्रण र न्यूनीकरण गर्न तथा प्राकृतिक स्रोतको संरक्षण गर्न सक्षम हुनेछौँ ।  (धादिङ) 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१  ०९:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro