चुनाव आएपछि एकता, सरकार बन्ने बेला फुटको बहस हुने मधेस केन्द्रित राजनीतिक दलहरूमा दुई वर्षअघि फरक दृष्य देखियो । न त सरकारमा जाने अवस्था थियो न त चुनाव नै आएको थियो । एकाएक मधेसका प्रमुख दुई दल राष्ट्रिय जनता पार्टी र समावजादी पार्टीबीच एकता भयो । तर, मध्यरातमा घोषणा गरिएको त्यो एकता एक वर्ष टिक्न सकेन ।
अहिले जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नामका फरक फरक पार्टी अस्तित्वमा आएका छन् । ती दुवै पार्टीबाट असन्तुष्टि बाहिरिएका छन् । जसले फेरि फुटको शृङ्खला नै सुरु हुने हो त भन्ने प्रश्न उठाएको छ । यस्तो अवस्थामा लोसपामा देखिएको अन्तरद्वन्द्व र मधेस केन्द्रित राजनीतिका विषयमा बाह्रखरीका रमेश वाग्ले र रोमन आचार्यले लोसपा नेता डा. सुरेन्द्र झासँग कुराकानी गरेका छन् । प्रस्तुत छ, नेता झासँग गरिएको कुराकानीको सम्पादित अंश :
मधेसका दलहरू विभाजित हुुँदा कांग्रेस, एमाले र माओवादी केन्द्रले पुरानो जनमत फर्काउने सम्भावना कति छ ?
जनमत जुनसुकै बेला सिफ्ट हुन सक्छ । नारा लिएर जनताको बीचमा जान सजिलो छ । तर, जब तपाईं सरकारको नेतृत्व गर्नुहुन्छ अनि जनअपेक्षाअनुसार कार्यसम्पादन गर्न सक्नुभएन भने बहुदलीय पद्धतिमा जनता कुनै एक दलको बफादार भएर रहँदैनन् ।
तपाईंहरूले इसारा गरेको सम्भावना नभएको होइन । जस्तै नेकपा एमालेलाई मधेसमा बहिस्कार नै गरेको हो नि ! तीन वर्षसम्म उसलाई मधेस जानै नदिएको अवस्था थियो नि ! अहिले त्यस्तो अवस्था छैन । नेपाली कांग्रेसको रुख चिन्हलाई ठूलो जनमत त मधेसले नै दिएको हो नि ! तर, पछिल्लो समयमा जनताको अपेक्षा पूरा गर्न सकेन र खुम्चियो ।
मधेस सरकारको नेतृत्व गर्ने दलहरूले कार्यसम्पादन गर्न नसक्दा असन्तुष्ट भएकाहरू आफ्नो ढंगले पुरानो दलहरूमा जान सक्छन् । त्यस कारण पनि हामी हाम्रो भूमिका नखुम्चियोस भन्नेमा सचेत छौँ ।
पुरानो पार्टीहरूलाई अन्य क्षेत्रका नागरिकहरूले पत्याउँछन् उहाँहरूलाई अवसर पनि त छ नि ! हाम्रा लागि त अर्को विकल्प नै छैन । मेरो पार्टीलाई हिमाल क्षेत्रबाट जनमत आउँदैन । पहाडबाट जनमत आउला र संसद्मा निर्णायक मत लिएर उभिउँला भन्ने छैन । हामीसँग त विकल्प नै छैन । हामीले राम्रो गर्नैपर्छ ।
राम्रो गर्नैपर्ने वाध्यतामा प्रदेश सरकारमा बसेर गरेका कामलाई समीक्षा गर्नुभएको छ ?
दुःखद विषय के भयो भने पछिल्लो समय सरकारको अवस्था हेर्दा उपेन्द्र यादवले नेतृत्व गर्नुभएको समाजवादी पार्टी मधेसमा गठबन्धन सरकार चलाएको छ । जुन पार्टीले सहिद रमेश महतोलाई गोली ठोक्यो, उनको लास गायव बनायो त्यो पार्टीसँग उहाँले गठबन्धन गरेर मन्त्री बनाउनुभएको छ ।
जुन पार्टीको विपरीत रहेर हामीले मधेस आन्दोलन गर्यौँ, त्यहीँ पार्टीहरूलाई उहाँले सरकारमा लिएर जानुभएको छ । अर्थात सबै प्रश्नको जवाफ जसपा अध्यक्ष उपेन्द्र यादव नेतृत्वले दिनुपर्ने अवस्था छ । केही प्राविधिक त्रुटि हाम्रो नेतृत्वबाट पनि भएको छ जसको मूल्याङ्कन जनताले गर्ने नै छन् ।
राजपा र समाजवादी मिलेर बनेको जसपा फुट्यो । त्यो फुटले जसपा र लोसपामध्ये कसलाई बढी क्षति भयो ?
क्षति दुवैले व्यहोरेका छन् । तर, एकताकै आलोचनात्मक स्वागत गरेको म जस्तो व्यक्तिलाई सोध्नुहुन्छ भने यो फुटले दुवै दललाई कालान्तरमा फाइदा पुर्याउँछ । फरक राजनीतिक स्कुलिङ भएका पार्टीबीच एकता भएको थियो । एउटा लोकतान्त्रिक मूल्य मान्यता अङ्गिकार गरेको, फरक मत हुने बित्तिकै टाउको नै छिनाल्नुपर्छ भन्ने र्याडिकल वामपन्थ विचारधारा बोकेको अर्को पार्टीबीचको एकता प्राकृतिक थिएन ।
सैद्धान्तिक भिन्नता भएको ठाउँमा अलग बन्नु नै राम्रो हुन्छ । यसले कालान्तरमा दुवै सङ्गठन फरक–फरक विचारधारालाई मजबुत गरेर अघि बढ्नसक्यो भने दुवैलाई फाइदा नै हुन्छ ।
तत्कालको हानी प्रदेश सभा र संघीय सांसदहरूको संख्यात्मक हिसाबमा हामीलाई धेरै भएको छ । किनभने पूर्व राजपाका छ मध्ये २ अध्यक्षमण्डलका नेतासहितको केही हिस्सा त जसपामै बस्यो ।
जसपाको फुटपछिको समीकरण जातीय आधारमा भएको हो ?
स्वाभाविक हो । जातीय सांस्कृतिक सम्बन्धले मधेसमा महत्व राख्दछ । केही साथीहरूले जसपा रोजेर बस्नुको कारण यही हो । तर, अझै पनि जसपामा समस्या छ । कालान्तरमा जसपाले अहिले भन्दा बढी क्षति बेहोर्छ भन्ने लाग्छ । आदिवासी जनजाति समुदायको नेतृत्व गरेका नेताको राजनीतिक भविष्य दाउमा छ ।
सशस्त्र युद्धको नेतृत्व गरेर प्रधानमन्त्री समेत भइसक्नुभएका बाबुराम भट्टराई सोही पार्टीमा हुनुहुन्छ । संगठन उहाँको पछि छैन । जनमत पुरानो फोरम पार्टीका नेताहरूसँग छ । सोही जनमतले सबैलाई नेता बनाइराख्नुपर्ने प्राविधिक समस्याले द्वन्द्व सिर्जना गरेको छ । यो द्वन्द्वले केही समयमा फेरि आ–आफ्नो ठाउँ लिन्छ र विभाजनको रेखा कोर्छ ।
मधेसको राजनीतिमा सीके राउतको उदय जसपा र लोसपाको विभाजनबाट भएको हो ?
कुनै साथी भाइहरूले पार्टी खोल्नुभएको छ र जनताको बिचमा आउनुभएको छ भने त्यो स्वागतयोग्य हो । संघर्ष आफैँमा प्रशंसनीय विषय हो ।
समाजको रूपान्तरण गर्छु, देशलाई रूपान्तरण गर्छु अधिकारविहीनलाई अधिकार दिलाउँछु भनेर कसैको उदय हुन्छ भने पनि त्यो स्वागत योग्य छ ।
अहिले भइरहेको किसान आन्दोलन कुन स्तरको छ ?
तराई मधेसमा राजनीति गर्ने जुनसुकै पार्टी होस् त्यसको आधार किसानहरू नै हुन् । मधेसका ९० प्रतिशत परिवार किसान नै हुन् । सबै नेता कार्यकर्ताहरू किसानबाटै हुर्केका छन् । म आफैँ किसानको छोरा हुँ । लोसपा, जसपा सबै किसान केन्द्रित पार्टी नै हुन् ।
हिजोको राजपा आजको लोसपाले किसानको समस्यालाई केन्द्रसम्म पुर्याएर स्थापित गरेको हो । एकवर्ष होइन चार–चार वर्ष हामीले निरन्तर किसानको मुद्धा उठायौँ । लाखौँ किसानलाई अर्बैं रूपैयाँ चिनी मिलबाट भुक्तानी दिलायौँ । त्यसकारण हामीले यो आन्दोलनको अगुवाइ गरेको हो ।
अहिले जनमत पार्टीले किसानहरूका लागि बिउँ बिजन, मलसहितका विषय उठाएर आन्दोलन गरिरहेको छ । यो राम्रो विषय हो । तर, किसानको आन्दोलनको नाममा अराजक हुने छुट छैन । उनीहरूको नाममा हामीले अर्कै रोटी सेक्ने काम गर्यौँ भने त्यो उहाँहरूको पार्टीका लागि दुःखद हुन सक्छ ।
तपाईंकै पार्टी लोसपा बनेको ६ महिना नपुग्दै विवाद देखिएको छ । फेरि फुटको तयारी भएको हो ?
हाम्रो पार्टीको नाम झन्डा र लोगो चाहिँ नयाँ हो । तर, हाम्रो पार्टी चाहिँ मधेस केन्द्रित पुरानै दल हो । यो पार्टीमा अध्यक्षदेखि शीर्षस्थ नेताहरू र वडा तहसम्मको हाम्रो संरचना पुरानै छ । पूर्व राजपा र समाजवादी एकीकरण भएर जनता समाजवादी पार्टी हामीले बनायौँ । तर, त्यो पार्टीमा हाम्रो समायोजन नै नभइसकेको अवस्थामा विभिन्न राजनीतिक परिस्थितिलाई टेकेर हामी अलग भयौँ । तर, हाम्रो केन्द्रदेखि वडा तहसम्म संगठनको संरचना यथावत नै थियो । यस कारण लोसपालाई बिलकुल नयाँ पार्टी भन्न मिल्दैन ।
जहाँसम्म पछिल्लो समय पार्टीभित्रका केही साथीहरूको असन्तुष्टिहरू आएका छन् त्यसलाई बुझ्न पार्टीको पृष्ठभूमि हेर्न जरुरी छ । राजपा हुँदा हामी छ अध्यक्ष मण्डलको अभ्यासबाट अगाडि बढेका थियौँ । जसपाबाट टुक्रँदा राजपाका चार अध्यक्ष लगायतका नेताहरू अहिले लोसपामा हुनुहुन्छ । राजपमा अध्यक्ष मण्डलमा बसेर काम गरेकाहरूलाई पुरानै अभ्यास लोसपामा होस् भन्ने चाहना हुनु स्वाभाविक हो । तर, लोसपा पार्टीको वर्तमान संरचनामा त एक जना अध्यक्ष महन्थ ठाकुर र दुईजना वरिष्ठ नेता राजेन्द्र महतो र शरदसिंह भण्डारी हुनुहुन्छ । ३१ सदस्यीय कार्यकारिणी समिति हाम्रो छ ।
पछिल्लो कार्यकारिणी समितिको बैठकले अध्यक्षलाई पार्टीको विधान संशोधन, निर्देशिका निर्माण, जिल्ला संयोजक र प्रदेश संयोजक तोक्ने तथा केन्द्रीय कार्यसमितिका पदाधिकारी तोक्ने अधिकार दिएको हो ।
पार्टीको विधानले पनि अध्यक्षलाई त्यसरी नै अधिकार दिएको छ । त्यसरी अधिकार दिनुको कारण तदर्थ समिति चुस्त बनाएर अधिवेशन गराउन लागि हो । धनुषा जिल्ला अध्यक्षको मनोनयन गर्दा अन्य आकांक्षीहरू असन्तुष्ट हुनुभएको हो । अहिले जुन जसलाई जिम्मेवारी दिइएको छ, उसलाई हामीले नमान्ने हो भने भोलि अर्कोलाई जिम्मा दिँदा फेरि उसलाई पनि बाँकीले नमान्न सक्दछ । त्यसैले पार्टी निर्माण गर्ने हो भने पार्टीलाई महाधिवेशनमा लिएर जानुपर्छ ।
महन्थ ठाकुर जस्तो ‘टावरिङ पर्सनालिटी’ भएकै बेला पार्टीलाई महाधिवेशनमा लगेर हामीले हाम्रो राजनीतिक एजेन्डा, आर्थिक नीति लगायतका क्षेत्रहरूमा ठोस रूपले अगाडि बढ्न सके मात्र यो पार्टी संस्थागत हुन्छ । नभए विगतमा जस्तै जतिपटक सत्ता आरोहण भयो टुटफुट हुने निर्वाचनमा धेरै पार्टीहरू जनतामा जाने र मतदानको अवस्थामा एकीकृत शक्ति प्राप्त गर्न नसक्ने अवस्था हुन्छ ।
वरिष्ठ नेता राजेन्द्र महतो, अनिल झासहित असन्तुष्ट भएको कुरा आएको छ । उहाँहरूको असन्तुष्टि विवाद होइन ?
पछिल्लो कार्यकारिणी समितिको बैठकमा नाम लिएका सबै नेताहरू सहभागी हुनुहुन्थ्यो । वरिष्ठ नेता राजेन्द्र महतो, सिनियर नेता अनिल झालगायतका नेताहरूले पार्टीको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेको सुन्नमा आएको छैन । अध्यक्ष महन्त ठाकुरले जुन निर्णय गर्नुभएको छ, त्यसका लागि ३ दिन कार्यकारिणी समितिको बृहत बैठक बसेको थियो । त्यसपछि पनि अध्यक्षज्यूले नेताहरू अनिल झा, लक्ष्मणलाल कर्ण, सवेन्द्रनाथ शुक्ल लगायतका सबै तहका नेताहरूसँग बारम्बार 'वान टू वान' छलफल गर्नुभएकै हो । अनि मात्र निर्णयमा पुग्नुभएको हो ।
तर, असन्तुष्ट नेताहरूकै आह्वानमा धनुषा र महोत्तरीबाट कार्यकर्ता आएर धर्ना बसे । महन्थ ठाकुरले जिल्ला र प्रदेश २ को अध्यक्ष तोक्दा एकलौटी गरेको गुनासो सुनाएका होइनन् ?
सल्लाह दिन पाइन्छ, दिनु पनि पर्छ । समितिको बैठकहरू बस्दा आफ्नो कुरा राख्न पनि पाउनुपर्छ । मैले अघि पनि भने हाम्रो कार्यकारिणी समितिको बैठकले अध्यक्षज्यूलाई सम्पूर्ण निर्णय गर्ने अधिकार दिएको हो । आवश्यकता परेको बखत उहाँले सल्लाह लिन सक्नुहुन्छ ।
राजेन्द्र महतो, अनिल झाजीले म सँग सल्लाह भएन, म यो सल्लाह प्रक्रियामा छैन भनेर बोलेको मलाई चाहिँ थाहा छैन । मैले उहाँहरूले कतै प्रतिक्रिया दिएको पनि सुनेको छैन । राजेन्द्र महतो यही पार्टीको वरिष्ठ नेता हुनुहुन्छ, अलि झा चौथो वरियताको नेता हुनुहुन्छ । मैले भन्न खोजेको सल्लाह पुगेको छैन भने अध्यक्ष ज्यूसँग गएर अझै बढी सल्लाह दिए भइहाल्यो नि ! अध्यक्षज्यू सधैँ पार्टी कार्यालय आइरहनुभएकै छ त ।
अध्यक्षले केन्द्रीय कार्यकारिणी समितिबाहेक समितिहरू किन नबनाएको ?
यसमा पनि हाम्रो पृष्ठभूमिले धेरै असर पारेको छ । विगतको ६ अध्यक्षको प्रयोग गर्यौँ । पार्टी एकीकरण गर्यौँ त्यसबाट हामी छुटिनुपर्यो । यस अवधिका अनुभवबाट पनि हामीले शिक्षा लिनुपर्छ । अब बन्ने हाम्रो पार्टी भनेको एकल अध्यक्ष प्रणालीमा लोकतान्त्रिक पद्धतिबाट पार्टीलाई अगाडि बढाउनेगरी बन्ने हो ।
जो साथीहरू विषम परिस्थितिमा हाम्रो नेतृत्वलाई विश्वास गर्नुभयो, उहाँ साथीहरूलाई हामीले अगाडि बढाउने हो । अब बन्ने पार्टीको संरचनाहरू केन्द्रदेखि स्थानीय तहसम्मको समिति बनाउने कामहरू सुरु भएको छ । 'तातै खाउँ जली मरौँ' भन्ने तरिकाले विगतको जस्तै भएर जाने जोखिम हुन्छ । पार्टीमा जिम्मेवारी दिने विषयमा ऐतिहासिक पृष्ठभूमि संघर्ष निरन्तरता राजनीतिक निष्ठा लगायतका विषयलाई केन्द्रमा राखेर निर्णयमा पुग्न जरुरी छ । हामीलाई अलिकति समय लागेको छ, सबै काम पाइपलाइनमा छ । हप्ता दस दिनभित्र सबै काम पूरा गर्छाैं । एक–एक साधारण सदस्यहरूलाई जिम्मेवारी दिने हेतुले गृहकार्य भइरहेको छ । हामी चाँडै टुङ्गोमा पुग्छौँ ।
सत्तामा जाने बेला फरक समूह बनाए पार्टी फुटाउने, चुनावमा जाने बेला भए एकीकरणको कुरा गर्ने र जनतामा विगतका गल्तीप्रति माफि माग्छौँ भन्दै जाने निरन्तरता हुन्छ अब पनि ?
मलाई बिल्कुलै त्यस्तो लाग्दैन । हाम्रो पार्टी धेरै अनुभवहरूबाट गुज्रिएको छ । मधेस केन्द्रित साना ठूला ६ वटा पार्टी एकीकरण भएर राजपा बन्यौँ । त्यसबाट हामीलाई गएको निर्वाचनमा अलिकति लाभ पनि प्राप्त भयो । पछि समाजवादी पार्टीसँग एकता भएर जसपा बन्यो । जसपा बन्दा पूर्वराजपाको तर्फबाट एकदमै हौसिएका साथी हुनुहुन्थ्यो । सबैभन्दा पहिले असन्तुष्टि जारी गर्ने उहाँहरू नै हुनुभयो । धेरै विषयहरूले निचोड नपाउँदै उहाँहरूकै बेबहारले फुटेर आउनुपर्यो ।
पीडितको आवाज उठाउने पार्टी भनेर हामीले भन्यौँ, राष्ट्रिय पार्टीमा रूपान्तरण हुनुछ भनेर हामी एजेन्डाका साथ अघि बढ्न खोज्दैछौँ । त्यो पनि धेरै पुरानो पार्टीहरूको विकल्पको रूपमा हामी अघि बढ्नुपर्छ भनेर नवीन सोचका साथ अघि बढ्दै गर्दा हामी यो स–सानो कुरामा अल्झिएर बस्यौँ भने त्यो सम्भव हुन्छ र ?
तीन–तीनवटा मधेस विद्रोहमा धेरैजना सहिद भए, हाम्रो बलिदानी दिवस (माघ ५ गते) छ । ती सहिदहरूको सपना हामीले पूरा गर्न सक्यौँ त ? संविधान संशोधनको विषयमा हाम्रो उपस्थिती सडक र संसद्मा के र कस्तो रह्यो ? हामीले न्यायसँगत जवाफ दिन सक्नुपर्छ ।
प्रदेश २ को सरकारमा आज हामी छैनौँ । विगतमा त हामीपनि सरकारमा थियौँ, हामीले प्रदेश २ का जनतालाई न्याय गर्न सक्यौँ कि सकेनौँ ? यो सबै वासलात लिएर हामी जनताको बीचमा जानुपर्ने छ । विगतकै विषयमा देखिएको सुगा रटाइले युवा पुस्तालाई आकर्षण गर्न सक्ने अवस्था छैन । यी विषयमा गम्भीर बन्नुपर्ने समयमा हरेक पटक टुटफुटको शृङ्खलाबाट सत्तारोहणको र गुट उपगुटमा रूमल्लिएर बृहत सोच र संगठन निर्माण हुन सक्दैन ।
नेपाल र भारतको इतिहास हेर्ने हो भने फुटेर गएको पार्टीको इतिहास जीवन्त छैन । कालान्तरमा गएर सिद्धिएका छन् । हामीलाई पुरानो दलहरूजस्तो गल्ती गर्ने छुट र सुविधा पनि छैन ।