site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
पूर्वराजा ज्ञानेन्द्र र ट्रम्पको बोलीविरुद्ध तातेको संसद् 

काठमाडौं । पाँच दिनअघि पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको अभिव्यक्तिविरुद्ध संसद् तातेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रयोग गरेको ‘फ्रड’ शब्दप्रति असन्तुष्टि जनाउँदै ‘छानबिन’ निम्ति माग गरेका छन् ।

प्रजातन्त्र दिवसको अघिल्लो दिन (फागुन ६ गते) शाहले राष्ट्र जोगाउन र राष्ट्रिय एकता कायम गर्न आफूलाई सहयोग गर्न आह्वान गरेका थिए ।

“अब नेपालको उन्नतीका लागि हामीबाट के–के त्याग गर्नुपर्ने हो हामी तयार छौं । अब समय आयो राष्ट्र जोगाउने हो भने राष्ट्रिय एकता कायम राख्ने हो भने देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशबासीहरुलाई आह्वान गदर्छौैं,” शाहले भनेका थिए । 

Dabur Nepal
NIC Asia

उक्त अभिव्यक्तिप्रति अनेक किसिमका टिकाटिप्पणी भइरहेका छन् । त्यो विषय आइतबार संसद्मा समेत प्रवेश गरेको छ । 

प्रतिनिधिसभामा आइतबार आकस्मिक समयमा नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले शाहको अभिव्यक्तिप्रति आपत्ति जनाएकी थिइन् । उनले सत्तामा फर्कने चाहना भए ०८४ को चुनाव लड्न चेतावनी दिइन् । 

“सत्तामा नै फर्कन चाहना छ भने टीका लगाएर वा कसैको कृपाले होइन, नागरिकले पाउने सुविधाको उपयोग गर्दै ०८४ को चुनावमा भाग लिने हिम्मत् गर्नुस्,’’ उनले भनिन्, ‘‘पूर्वराजा र समर्थकहरूलाई मेरो सुझाव छ– कहिल्यै पूरा नहुने सपना त्यागिदिनुस् ।” 

उनले पूर्वराजाले सत्तामा फर्कन खोज्नु, आह्वान गर्नु र समर्थन–साथ दिनु नौलो कुरा नभए पनि हेक्का राख्न जरुरी रहेको उल्लेख गर्दै भनिन्, ‘‘लोकतान्त्रिक गणतन्त्रको कसैको कृपाले नपाएको पनि बताइन् ।’’

“गणतन्त्रमाथि प्रहार स्वीकार्य छैन,” उनले भनिन्, “(पूर्वराजालाई) त्यति कुरा भन्न पाउने अधिकार यही लोकतन्त्रको देन हो ।”

न्यौपानेको अभिव्यक्तिप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले जवाफ फर्काए । उनले गणतन्त्र लुटतन्त्रमा परिणत भएको भन्दै आफूहरुले विरोध गरिरहने बताए । 

“म नेपालमा कुनै न कुनै रुपमा स्पेस दिनुपर्छ र राजासहितको प्रजातन्त्र हुनुपर्छ भन्ने पार्टीको अध्यक्ष हुँ । गणतन्त्रको विरोध गर्नु प्रजातन्त्रको विरोध गर्नु भन्ने अर्थमा जुन कुरा राखियो । तपाईंले गणतन्त्र लडेर ल्याएको होस् या विदेशीको बुइँ चढेर ल्याएको होस् । त्यो गणतन्त्र लुटतन्त्रमा परिणत हुन्छ भने हामी विरोध गरिराख्छौँ,” लिङ्देनले भने । 

एमालेका सांसद गोकुल बास्कोटाले भने राजतन्त्र पोखराबाट काठमाडौं फर्किने भनिएको त होला नि भन्दै कटाक्ष गरे । राजतन्त्र कुनै हालतमा नफर्कने ठोकुवा गर्दै उनले पूर्वराजाले कुनै जुलुस गर्नुको तुक नरहेको बताए । 

“‘यो २१ औं शताब्दी हो, के गर्न पूर्व राजा फर्काउने ? केका लागि फर्काउने ? के पाइन्छ ? पूर्व राजा फर्काउन पोखरामा जुलुस गर्न पर्छ ? धेरै दुःख गर्नुपर्दैन,” बास्कोटाले भने, “एउटा प्लेन टिकट काटदिनुस्, पूर्वराजा जुलुस नगरी काठमाडौं फर्किहाल्छन् नि !,” उनले भने, “फर्किने भनेको काठमाडौं त होला नि ? सिंहासनमा त सम्भव छैन ।” 

बास्कोटाले राजा फर्काउने भन्नेमा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र), राप्रपा लगायत एकै ठाउँमा उभिएको आशंका मिश्रित प्रश्न समेत गरे । 

“राजा ल्याउने भनी एकथरी कराउने, संघर्ष चर्काउने भनी अर्कोथरी कराउने । प्रतिशोध भयो भनी डे वानदेखि अर्कोथरी कराएको छ । ठीकै हो यहाँ कराउन पाइन्छ, सरकारका काम मन नपर्न सक्छ । के प्रमुख प्रतिपक्षले लोकतान्त्रिक गणतन्त्रको विकल्प खोजेको हो ?,” उनले प्रश्न गरे, “दक्षिणपन्थी र वामपन्थी विचार बोक्नेको एउटै चुलो बलेको हो ? सहमति त्यसमा हो । याद गर्नुहोला, त्यो चुलोमा कहिल्यै राजतन्त्र फर्काउने, गणतन्त्र मास्ने खिँचडी एक पाक्दैन, दुई पाक्दैन, तीन पाक्दैन भ्रममा नरहिदिनुहोला ।”

उनले माओवादीलाई व्यवस्था बदल्न खोजेको कि सरकार भन्नेमा कित्ता क्लियर गर्न समेत सुझाव दिए । “गम्भीरतापूर्वक कुरा उठिरहेको छ, माओवादीले आफ्नो कित्ता क्लियर गरोस् । दक्षिणपन्थी यात्रा हो कि समाजवादी यात्रा हो ? व्यवस्था बदल्न खोजेको कि सरकार बदल्न खोजेको ?,” उनले सोधे ।

एमालेका सांसद इश्वरबहादुर रिजालले पनि कवितात्मक शैलीमा पूर्व राजा फर्कन नसक्ने बताए । 

“राज्य शक्तिको स्रोत कसैको कोखमा हुँदैन, जनताको भोटमा हुन्छ । राज्य शक्तिको स्रोत विष्णुको अवतारमा पाइन्न, जनताको मतभारमा पाइन्छ,” उनले भने, “एक पटक पसाइसकेको केराको बोटहरूले अर्को पटक केरा दिँदैन । एक पटक बिदा गरेको हुकुमीतन्त्रलाई जनताले अर्को पटक लिँदै लिँदैन ।”

माओवादी सांसद छिरिङ ल्हामु लामा तामाङले पनि संविधानलाई चुनौती दिँदै गम्भीर षड्यन्त्र भइरहेकोप्रति निगरानी गर्न आग्रह गरिन् । 

“देशको संविधानलाई चुनौती दिँदै देशका पूर्व मन्त्रिमण्डलका मान्छे वा पूर्व राजाको नाममा गम्भीर षड्यन्त्र भएको संकेत प्राप्त भएको छ । यसको समयमै निगरानी गर्न पनि सरकारको ध्यानाकर्षण गर्दछु,” उनले भनिन् । 

उता, राष्ट्रियसभामा पनि पूर्वराजाको अभिव्यक्तिले चर्चा पाएको छ । राष्ट्रियसभा सदस्य वामदेव गौतमले पुनः राजा बन्ने चाहना परित्याग गरेर ज्ञानेन्द्रलाई प्रधानमन्त्री बन्न सुझाएका छन् । 

राजनीतिक पार्टीका नेताहरूले देशको विकास, उन्नति, प्रगति गरेनन्, त्यसैले मलाई राजा बनाऊ भन्नु उचित नहुने गौतमको भनाइ छ । 

“राजनीतिक पार्टीका नेताहरूले देशको विकास, उन्नति, प्रगति गरेनन्, त्यसैले मलाई राजा बनाऊ भन्नु उचित हुँदैन,” उनले भने, “तपाईंले पुनः राजा बन्ने चाहना परित्याग गरेर आफ्नो नेतृत्वमा एउटा प्रजातान्त्रिक राजनीतिक पार्टी खोलेर निर्वाचन आयोगमा दर्ता गराउनुस् र केही समयपछि २०८४ मा हुने निर्वाचनमा भाग लिनुस् ।”

उनले चुनाव जितेर प्रधानमन्त्री बन्दै देशको चौतर्फी विकास र समृद्धि कायम गर्न उनको सुझाव छ । 

ट्रम्पको अभिव्यक्तिले तरंग 

संसद्मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालमा वित्तीय संघीयता र जैविक विविधताका लागि भनेर दिइएको रकम ठगी (फ्रड) भएको भनि दिएको अभिव्यक्तिप्रति सांसदले आपत्ति जनाए । 

“नेपालमा वित्तीय संघीयताका लागि दुई करोड अमेरिकी डलर, यी तथ्यांक सुन्नुहोस्, यो सबै ठगी (फ्रड) हो,” ट्रम्पले अमेरिकी करदाताको करोडौं रकम अनुदानका रूपमा विभिन्न देशहरूलाई उपलब्ध भइरहेको सूची सार्वजनिक गर्दै भनेका थिए ।

यस्तै, ट्रम्पले नेपालमा जैविक विविधता संरक्षणका लागि एक करोड ९० लाख अमेरिकी डलर छुट्याइएको पनि बताएका थिए । सोही अभिव्यक्तिले नेपालको छविमाथि आँच पुर्याएको भन्दै संसद् बैठकमा सांसदहरुले आपत्ति जनाएका छन् । 

एमाले सांसद गोकुल बास्कोटाले हेप्नुको पनि सीमा हुने टिप्पणी गरे । “हेप्नुको पनि सीमा हुन्छ, सभामुख महोदय । अमेरिकाले नेपाललाई लामो समयदेखि सहयोग गर्दै आयो– आफ्ना एजेन्सी, दूतावस, एजेन्सीमार्फत । हामीले त्यसलाई स्वीकार गर्‍यौँ ।” 

उनले भने, “तर, आज हामी फ्रड बनेका छौँ, बनाइएका छौँ । उल्टो प्रहार हामीमाथि सुरु भएको छ, जसले नेपालको राष्ट्रिय स्वाधीनता र अन्तर्राष्ट्रिय छविमाथि आँच लागेको छ । गहिरो चोट लागेको छ ।”

ट्रम्पको अभिव्यक्तिले राष्ट्रिय भावनामा चोट पुर्‍याएको उनको भनाइ छ । “सहयोग दिनुभयो, हामीले लियौँ । त्यसको मनिटरिङ कसले गर्न पाउनुपर्थ्यो, किन भएन ? जसले सहयोग दियो, उहाँहरूको पनि जनताको करको पैसा आएको होला । त्यो फ्रड हामीले गरेको हो कि फ्रड स्वीकृत गर्ने काम उहाँहरूले गरेको ?,” बास्कोटाको प्रश्न छ ।

अब सहयोगको सीमा स्पष्ट पारिनुपर्नेमा उनले जोड दिए । “हामी कुन सहयोग लिन्छौँ, कुन लिँदैनौँ दृढतापूर्वक भन्नुपर्छ । ती सहयोगले परिणाममा के फरक पार्छ भन्ने कुरा आउनुपर्‍यो । जे पायो त्यही स्वीकार गर्ने कुरा हुँदैन,” उनले भने ।

बैठकमा कांग्रेसका सांसद चन्द्रकान्त भण्डारीले नेपालको गरिमामाथि प्रश्न उठाएको भन्दै अमेरिकाले विभिन्न एजेन्सीबाट पठाउने पैसा कहाँ खर्च भयो भन्ने छानबिन गर्नुपर्ने बताए । 

“नेपालको पहिचान, अस्तित्व र गरिमामाथि अमेरिकाको राष्ट्रपतिले प्रश्न उठाउनुभयो,” उनले भने, “कहाँ खर्च भएको हो त्यसको छानबिन गर्नुपर्ने । नेपालीहरुको शीर ठाडो पार्ने काम गर्नुपर्यो ।” 

जनता समाजवादी पार्टीका सांसद राजकिशोर यादवले पनि कसरी खर्च भयो भन्नेमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने धारणा राखे ।

“नेपालमा गरेको युएसएडलगायतका अन्य सहयोग फ्रड हो । नेपाल एउटा भ्रष्ट मुलुक हो भन्ने भनाइप्रति नेपाल सरकारको आधिकारिक धारणा के हो ? त्यो सहयोग कुन व्यक्ति, नेता, पार्टी, संस्थाले कसरी प्राप्त गर्यो ? कसरी खर्च गर्यो यसको उच्चस्तरीय छानबिन आयोग बनाएर पारदर्शी गर्नुपर्यो,” यादवको भनाइ छ । 

कांग्रेसकै सांसद मोहनबहादुर बस्नेतले नेपालको स्वाभिमानलाई नहेप्न चेतावनी दिए । 

“नेपालले आफ्नो विकासको क्रमलाई क्रमशः अघि बढाइरहेको छ । केही कुरामा कमी–कमजोरीले राम्रो बाटो पक्रन नसकेर कम काम भएको होला । नेपाल सानो छैन, कमजोर छैन । नेपालको स्वाभिमान हेप्न खोज्नेलाई भन्न चाहन्छु, वी नेभर बिन क्लोनोलाइज्ड । यो हेक्का राख्नुपर्छ,’’ बस्नेतले भने ।

नेपालमा शीर्षकमा आएको दातृ निकायको सहयोग जहाँबाट आउने गर्छ धेरै पैसा उतैबाट फर्कने गरेको बताए ।


 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  १८:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro