
१९०२ मेगावाटको जलाशययुक्त मुगु कर्णाली आयोजना नेपाली कम्पनीले बनाउने तयारी गरेको छ । विद्युत् उत्पादक कम्पनी लिमिटेड (भीयूसीएल) लगानीका लागि आह्वान गरेपछि सीजी ग्रुप अन्तर्गतको सीजी इनर्गोले प्रस्ताव पेस गरेको थियो ।
सीजीको उक्त प्रस्ताव हेरेर कम्पनीले छनोट गरेको हो । सीजी नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरीको नेतृत्वमा रहेको कम्पनी हो । सीजीका प्रबन्ध निर्देशक निर्वाण चौधरीले राज्यको नीतिअनुसारको प्रक्रियामा गएर उक्त आयोजना बनाउन सहमत भएर परियोजनामा सहभागी भएको बताउँछन् ।
उनले उक्त निर्णयको विरोधप्रति आपत्ति जनाउँदै एक नेपाली कम्पनीले देशभित्र लगानी गर्न चाहना राख्दा हतोत्साहित गर्न लागिएको बताए । प्रस्तुत छ, सीजीका प्रबन्ध निर्देशक निर्वाण चौधरीसँग गरिएको कुराकानीको सम्पादिन अंश–
–मुगु–कर्णाली जलविद्युत् परियोजनालाई लिएर सीजीप्रति जुन प्रश्न उठाइएको छ, यसमा यहाँको प्रतिक्रिया के छ ?
मुगु–कर्णाली जलविद्युत् परियोजनाका सम्बन्धमा आएका विषयप्रति हाम्रो ध्यानाकर्षण भएको छ ।
विद्युत् उत्पादन कम्पनी लिमिटेडले यस परियोजनामा लगानीका लागि आह्वान गरेपछि सीजी इनर्गोले विधिवत रुपमा प्रस्ताव पेश गरेको हो । र, सरकारले जारी गरेको ऊर्जा विकास मार्गचित्रमा सन् २०३५ सम्ममा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएकोमा उक्त लक्ष्यलाई सहयोग पुग्नेगरि आफ्नोतर्फबाट योगदान पुर्याउन हामी यस परियोजनामा सहभागी बन्न चाहेका हौँ ।
सरकारले कानुनअनुसार आह्वान गरेको प्रस्तावमा लगानीका लागि तयार भएर प्रस्ताव पेस गर्नु हाम्रो एउटा लगानीकर्ताको कर्तव्य पनि हो । यसमा हामी सबै जानकार नै छौँ । हामी सरकारद्वारा अगाडि सारिएका प्रस्तावहरू पारदर्शी एवम् निश्पक्ष हुन्छन् भन्नेमा विश्वास राख्दछौँ । हामीले यो प्रक्रियामामात्रै होइन कि अन्य प्रक्रियामा सरकारले अघि सारेका प्रस्तावहरुमा शंका गर्दैनौँ ।
–चौधरी ग्रुपले विगतमा पनि विभिन्न मेगा परियोजनामा लगानी गर्ने घोषणा गरेको थियो । तर किन हुन सकेन ?
नेपालमा मेगा परियोजना निर्माणमा योगदान पुर्याउने हाम्रो ग्रुपको प्रतिबद्धतामा हामीले तितो अनुभव बेहोर्दै आएका छौँ भन्ने कुरा पनि हामी सबैको जानकारीका लागि यहाँ उल्लेख गर्न मनासिव हुनेछ भन्ने हामीलाई लागेको छ ।
चौधरी ग्रुपले डेढ दशकअघि नै अमेरिकी प्रख्यात ऊर्जा उत्पादन कम्पनी एईएससँगको सहकार्यमा नेपालको जलविद्युत् उत्पादनमा लगानी गर्ने प्रकृया अगाडि बढाएको थियो । तर अन्तिम समयमा अवरोध गरि उक्त कम्पनीलाई नेपालबाट फिर्ता पठाइएको तितो यथार्थ छ ।
उक्त समयमा नेपालको जलविद्युत्मा लगानी गर्ने वातावरण बनाइएको र अवरोध नभएको हुन्थ्यो भने नेपाली नागरिकले १८ घण्टासम्मको ‘लोडसेडिङ’ भोग्नुपर्ने नै थिएन ।
हामीले नेपालको पर्यटन उद्योगको विकासलाई अर्को तहमा पुर्याउने सोच राख्दै एयरपोर्ट विस्तारमा काम गर्न जिएमआर जस्ता प्रख्यात कम्पनीलाई नेपालमा ल्यायौँ तर उक्त कम्पनीलाई पनि काम गर्न दिइएन ।
त्यसैगरि नेपालमा लजिस्टिक व्यवस्थापनमा बृहत् लगानीको अवधारणासहित सर्राफ ग्रुपसँग सहकार्य गर्ने प्रस्तावलाई अगाडि बढायौँ तर उक्त आयोजनालाई पनि अगाडि बढ्न दिइएन ।
टेलिकममा लगानी गरि ‘डिजिटल नेपाल’को अवधारणा कार्यान्वयन गर्न सीजी टेलिकमले टकसेलसँग ‘स्टाटेजिक पार्टनरसिप’ गर्यो र लगानी सम्मेलनमा उक्त प्रोजेक्टमा हस्ताक्षर भएअनुसार टकसेल नेपाल आएर काम पनि गर्यो तर अन्ततः उक्त प्रोजेक्टमा पनि काम गर्न दिइएन ।
–यसको मतलब नेपालमा एफडीआईको अवस्था राम्रो छैन ?
नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) ल्याउने मामिलामा हाम्रो अवस्था कस्तो छ भन्ने माथिका केही प्रतिनिधिमूलक उदारहण हुन् ।
जेनतेन आएका एफडीआई पनि यहाँबाट फिर्ता भइरहेका छन् । टाटा, आजियटाजस्ता कम्पनीहरू यहाँबाट फिर्ता गएका छन् । हामीले न एफडीआई आकर्षित गर्न सकेका छौँ न आएका एफडीआईलाई यहीँ राख्न सकेका छौँ ।
–अहिले युवाहरू रोजगारी खोज्न विदेशिदैछन् । लगानीकर्ताहरु लगानी गर्न सक्ने अवस्थामा छैनन् । तपाईँ के भन्नुहुन्छ ?
देशमा लगानीको वातावरण नबनेसम्म अहिले विद्यमान हाम्रा राजनीतिक, सामाजिक समस्याहरूको समाधान गर्न सम्भव हुँदैन भन्ने बारेमा हामी गम्भीर बन्न जरूरी देखिएको छ ।
एक महिनामा ८४ हजार (प्रति दिन २८००) नेपाली युवाहरू देशमा रोजगारी नपाएर विदेश गइरहेको दृष्यलाई ध्यानमा राखेर हामीले देशमा लगानीको वातावरण बनाउन आवश्यक छ भन्ने बारेमा हामीले ध्यान दिन आवश्यक छ भन्ने हामीलाई लागेको छ ।
आन्तरिक र बाह्य लगानीकर्तालाई देशमा लगानी गर्ने अवसर प्रदान गरेरमात्रै यस प्रकारका समस्यामाथि समाधान प्राप्त गर्न सकिनेछ भन्नेमा हामी जानकार नै छौँ ।
–यस्तो अवस्थामा तपाईँहरू पनि निराश त बन्नु भएको छैन ?
पक्कै पनि यस्ता घटनाले हामीलाई हतोत्साहित बनाउँछ । तर, हामी नेपालमा लगानी विस्तारका लागि कटिवद्ध छौँ । हामी नेपालको जलविद्युत् उत्पादनमा लगानी विस्तार गरि देशमा विद्युत् उत्पादन गर्न र विद्युत् निर्यात गरि देशको उच्च व्यापार घाटा कम गर्न सकिन्छ भन्नेमा विश्वास राख्दछौँ ।
यस पृष्ठभूमिमा देशमा लगानीका लागि प्रतिवद्ध लगानीकर्तालाई लगानीका लागि आवश्यक वातावरण बनाइदिनुहुन एवम् प्रोत्साहन गरिदिनुहुन सरोकारवाला सबैमा हार्दिक अनुरोध गर्दछौँ ।