site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Global Ime bankGlobal Ime bank
सरकारले दर्ता गरेको विधेयकलाई पारित गर्ने हो भने स्वतन्त्र पत्रकारिता समाप्त हुन्छ 

सरकारले संसदमा दर्ता गराएको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमन गर्न बनेको विधेयक प्रारम्भमै विवादको घेरामा परेको छ । विधेयकले अभिव्यक्ति स्वतन्त्रता नियन्त्रित गर्ने र नागरिकलाई फौजदारी कसूरमा पार्ने खतरा देखेपछि प्रश्न उब्जेको छ । त्यसबाहेक पत्रकारिताका माध्यमबाट आएका विषयलाई अप्रत्यक्ष तवरमा नियन्त्रण गर्ने व्यवस्था समेटिएका छन् ।

यस्तो विधेयक किन आयो ? यसका दीर्घकालीन प्रभाव के हुन सक्छन् ? हामीले नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष समेत रहेका फ्रिडम फोरमका कार्यकारी प्रमुख तारानाथ दाहालसँग कुराकानी गरेका छौं । सूचनाको हकको राष्ट्रिय अभियान चलाएका र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा काम गर्दै आएका उनै दाहालसँग बाह्रखरीका रमेश वाग्ले कुञ्जरमणि भट्टराईले गरेको कुराकानीको संक्षिप्त अंश ।
 
–सरकारले सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न विधेयक दर्ता गराएको छ । केही सामाजिक सञ्जालका केही प्रयोगकर्ता अलि अराजक थिए, सरकार झन् अराजक हुँदै विधेयक ल्याएको टीकाटिप्पणी हुँदैछ, तपाईंले कसरी हेर्नु भएको छ ? 

सामाजिक सञ्जाललाई अराजक भन्न मिल्दैन । यसमा दुई कोणबाट हेर्नुपर्छ, यो आफैँमा ‘डिजिटल प्लाटफर्र्म’ हो भने अर्को सामाजिक सञ्जालका प्रयोगकर्ता । प्लाटफर्मलाई नियमनको दायरामा ल्याउन सकिन्छ । प्रयोगकर्ताले गर्ने अभिव्यक्ति नियमन गर्न राज्यले कुनै कानुनी वा संस्थागत व्यवस्था गर्न स्वभाविक नै मान्नुपर्छ । 

Dabur Nepal

तर, त्यसो गर्दा त्यसका मूल्य र सिद्धान्त हुन्छन् । जुन नियमनका लागि कानुन प्रस्ताव गरिएको छ । त्यो हेर्दा राज्य चाहिँ अराजक भएको र हुन खोजेको देखिन्छ । राज्यले सीमा मिचेकै देखिन्छ । 

–अराजकतालाई नियन्त्रण गर्ने, प्लाटफर्मलाई प्रवर्द्धन गर्ने राज्यको दायित्व हुनुपर्ने होइन ?

सामाजिक सञ्जालका ‘प्लाटफर्म’को विकास र प्रवद्र्धन गर्नु राज्यको कर्तव्य हो । प्रविधिमा अवसर बढाउनुपर्ने हो । चिनियाँहरूले फटाफट ‘प्लाटफर्र्म’ बनाइरहेका छन् । जबकि आफ्नो देशमा हेर्न दिँदैनन्, तर ‘प्लाटफर्म’ प्रवद्र्धन गरिरहेका छन् । 

टिकटकले फेसबुकलाई काउन्टर गर्यो । डिपसिकले ओपन एआइ च्याटजीपीटीलाई चुनौती दिँदैछ । प्रविधिको विकास गरेर नयाँ नयाँ प्लाटफर्र्मको प्रवद्र्धन गर्नु राज्यको काम हो । त्यसबाट रोजगारी सिर्जना होस्, अर्थतन्त्रको विकास होस् भन्नेमा राज्यले सोच्नुपर्ने हो ।

डिजिटल प्लाटफर्म आफैँमा एउटा बिजनेस पनि हो नि । कर, रोजगारीका कुरामा व्यवसायिक तरिकाले त राज्यले नियमन गर्नुपर्छ ।

राज्य वा सार्वजनिक निकाय पनि आफैँ यसको प्रयोगकर्ता हो । सबैभन्दा धेरै डिजिटल प्लाटफर्मको प्रयोगकर्ता राज्य नै हुन्छ । त्यसपछि आममानिसले गर्छन् । त्यसको प्रयोग कसरी गर्ने ? प्रयोगका सीमा निर्धारण गनुपर्ने राज्यले हो । 

यसको विकास प्रवद्र्धन र नवप्रवर्तन गरेर फाइदा उठाउने भन्ने त सोचिएन । प्लाटफर्मको बिजनेश ‘रेगुलेट’ गर्ने कुरामा पनि व्यवहारिक ध्यान पुगेको देखिँदैन । बढी ध्यान चाहिँ प्रयोगकर्ताले समस्या सिर्जना गरे भन्ने मात्र देखिन्छ । प्रयोगकर्ता राज्य नै हुने र आफैँले प्रयोग गर्ने कुराको व्यवस्था छैन । 

प्रधानमन्त्री कार्यालयले, सरकारी कार्यालयले फेसबुक पेज चलाउन पाउने कि नपाउने ? सरकारकै सञ्चारमाध्यमले, कुनै नेताले आफ्नो ‘युट्युब च्यानल’ चलाउन पाउने कि नपाउने ? भन्ने विषय प्रस्तावित कानुनमा छुटेको छ । आममानिसले प्रयोग गर्दा अपराध हुन गयो र त्यो चुनौती भयो भन्दै त्यो नियन्त्रण गर्नुपर्यो भनी साघुँरो दायरामा कानुनको मस्यौदा गरियो । त्यसले गर्दा सरकार नियन्त्रणमुखी बाटोमा गयो । 

–नेपालमा फेसबुकका करिब डेढ करोड प्रयोगकर्ता छन् । सरकारले चुनौती ठानेको केही हजार पनि पुग्दैनन् । तिनलाई हेरेर नागरिकको अभिव्यक्ति स्वतन्त्रता नै खुम्चिने गरी विधेयक ल्याउनुलाई के भन्ने ?

विचार तथा अभिव्यक्ति स्वतन्त्रताको व्यवस्था संविधानको मौलिक हकमै गरेका छाँै । संविधानको धारा १७ (२) क ले विचार तथा अभिव्यक्ति स्वतन्त्रताबारे स्पष्ट मापदण्ड बनाइदिएको छ । कति बोल्न पाइन्छ ? कति लेख्न पाइन्छ ? कसरी र कुन माध्यमबाट भनेसम्म छ । संविधानले जुनसुकै माध्यम पनि प्रयोग गर्न स्वतन्त्र हुनुहुन्छ भनेको छ । कुनै माध्यमलाई बन्देज गर्न पाइँदैन ।

के बोल्ने भन्ने कुरामा पनि अभिव्यक्ति स्वतन्त्रताको सीमा स्पष्ट गरेको छ । त्यो सीमालाई रेगुलेट गर्ने गरी राज्यले कानुन बनाउनुपर्छ । त्यो कानुनले पुगेन भने राष्ट्रिय सुरक्षाका कुरा, व्यक्तिगत गोपनियता, गाली बेइज्जतिका विषयमा छुट्टै प्रचलित कानुनहरू छन् । 

ती कानुनले डिजिटल प्लाटफर्मलाई पुगेन भने कसरी नियमन गर्ने भन्नेतर्फ जान सकिन्छ । तर, संविधानले तोकेको सीमा बाहिर जान सकिँदैन । प्रस्तावित कानुनले संविधानले तोकेको सीमा र मौलिक हक कुल्चिएको छ ।

उदाहरणका लागि कुनै डिजिटल प्लाटफर्मका लागि दर्ता हुनुपर्यो । दर्ता हुनु गलत होइन । तर, दर्ता हुन जुन सर्त तोकिएको छन्, ती टेरिएन भने दर्ता खारेजी गर्ने भनिएको छ । दर्ता खारेजी भन्ने कुरा संविधानले दिँदैन । कुनै पनि कुरा प्रकाशन र प्रशारण गरेका कारणले दर्ता बन्द गर्न पाइँदैन । माध्यमको सुरक्षा दिइएको छ । खारेजीको कुरा संविधान अनुसार मिल्दैन ।

आममानिसले गर्ने सञ्चार, संवाद प्रक्रियालाई यसले फौजदारी मामिला मानेको छ । के गर्दा फौजदारी कसुर हुन्छ भन्ने स्पष्ट नगरीकन सामान्य सञ्चार प्रक्रियालाई नै ‘रेगुलेशन’को दायरामा तानिएको छ । दुई व्यक्तिको संवादमा कोही अपमानित वा पीडित हुन पुग्यो भने उसलाई क्षतिपूर्ति उपलब्ध गराउने हो । तर, त्यसको फाइदा सरकारले लिने होइन ।

यहाँ त कसैलाई क्षति हुँदा क्षतिपूर्तिसम्बन्धी व्यवस्था नै छैन । जरिवाना त राज्यकोषमा जान्छ अनि पीडितले न्याय पायो भन्न मिल्छ ? कानुन पीडितमुखी भएन । जताबाट पनि राज्यले आफ्नो निकायको हात ‘माथि’ राख्ने काम गर्यो । शासक नै सवेसर्वा हुन खोजेको छ, यो आपत्तिजनक छ । 

–सबैभन्दा लोकतान्त्रिक मानिने नेपाली कांग्रेस र नेकपा (एमाले)को गठबन्धनको सरकार छ । मस्यौदा बनाउने सन्दर्भमा पनि यी दुई पार्टीका सम्बद्ध व्यक्ति नै सामेल होलान् । पार्टीहरूले सरकारमा गएपछि चरित्र बदलेका हुन् ? 

सामाजिक सञ्जालसम्बन्धी विधेयकको गृहकार्य केपी शर्मा ओलीको अघिल्लो प्रधानमन्त्रीकालमै भएको थियो । त्यतिबेला सूचना प्रविधि विधेयक आयो । त्यसमा एउटा च्याप्टर सामाजिक सञ्जाल नियमनको विषय थियो । 

त्यसमा सामजिक सञ्जालमाथिको नियमनका विषयमा चर्को विरोध भएपछि विधेयक अघि बढ्न सकेन । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको पूर्ववर्ती सरकारले सूचना प्रविधि विधेयकबाट सामाजिक सञ्जालसम्बन्धी खण्ड झिकेर छुट्टै कानुन बनाउने गृहकार्य अघि बढाएको हो । त्यसको मस्यौदा रेखा शर्मा सञ्चारमन्त्री हुँदा अघि बढ्यो ।

त्यतिबेला मैले पहिला सूचना प्रविधि कानुन बनाउन सुझाव दिएको हुँ । हामीकहाँ सूचना प्रविधि कानुन नै छैन । इन्टरनेट र कम्प्युटरलाई रेगुलेशन गर्ने कानुन नै छैन । त्यो बनाएपछि मात्रै सामाजिक सञ्जाल कानुन आउँछ । त्यसभित्र ‘साइबर क्राइम’को चुनौती सम्बोधन गर्न पनि कानुन आवश्यक हुन सक्छ । आवश्यक परेमात्रै सामाजिक सञ्जाल कानुन बनाऔँ भन्ने सुझाव थियो त्यसबेला हाम्रो । 

उहाँहरूले यसलाई अलग गर्नुको तात्पर्य साइबर सुरक्षा र सूचना प्रविधि कानुन आफ्नो अनुकूल बनाउन जनताले बढी चासो दिने विषयमा अलग पार्नु थियो । त्यसलाई अलग गरेर मस्यौदा बनाउनुभयो ।

कांग्रेस–एमाले सत्तामा हुँदा छलफलमा आएका सुझावका आधारमा सुधार गरेर ल्याउनुपथ्र्यो । सूचना प्रविधि विधेयककै एउटा खण्डको रूपमा परिमार्जन गरेर ल्याइएको भए पनि हुन्थ्यो । छुट्टै विधेयकको रूपमा ल्याउनुपर्ने महसूस भएको भए पनि सुधार गरी ल्याउन सकिन्थ्यो ।

त्यस्ता विकल्पको प्रयोग गरिएन । यसले माओवादी, कांग्रेस, एमाले लोकतन्त्रको मूल्यका लागि उत्तिकै चुनौतीपूर्ण रहेछन् भन्ने यो विधेयकले सिद्ध गरेको छ । उहाँहरू गम्भीर हुनुहुन्न भन्ने पुष्टि भएको छ ।  

–यो विधेकयले पत्रकारितालाई असर गर्छ कि गर्दैैन ?

पत्रकारिता र सामाजिक सञ्जाल फरक कुरा हुन् । त्यसलाई छुट्याउने गरी कानुनमा स्पष्टता चाहिन्छ । तर, प्रस्तावित विधेयक पत्रकारितालाई ‘ड्यामेज’ गर्छ । नागरिक समाजको अभिव्यक्तिको सीमा खुम्च्याउँछ । कुनै पनि प्राज्ञिक संस्थाले सञ्चार प्रकियामार्फत नै शिक्षाको प्रवद्र्धन गरिरहेको हुन्छ, त्यसलाई पनि यो ऐन बनेमा असर गर्छ । 

यो कानुनको उद्देश्य के हो ? के चुनौती भयो र कानुन ल्याउनुपरेको ? यो छुट्याउन जरुरी छ । यसलाई परिमार्जन मात्र होइन पुनर्लेखन नै गनुपर्छ । पुनर्लेखन गर्न दबाब दिइनुपर्छ । सांसद र सञ्चारमन्त्रालयको छलफलमा पनि पुनर्लेखन गर्नुपर्छ भन्ने भएको थियो । पुनर्लेखन नगरी जबरजस्ती ल्याइएको छ । अब यो संसद्को सम्पत्ति भयो । राष्ट्रियसभा र प्रतिनिधिसभाका सांसद परीक्षणमा हुनुहुन्छ । यो कानुनलाई पास गर्ने, ‘रिजेक्ट’ गर्ने, सुधार गर्ने मुख्य भूमिका उहाँहरूकै हो ।

सरकारले ल्याएको खराब कानुन रोक्ने भूमिका संसदको हो । यसमा छलफल अघि बढाउनुपर्छ । सुधार गर्न सकिएन, ‘ह्वीप’ जारी गरेर हतारमा पारित गरियो भने यसले लोकतन्त्रमाथि गम्भीर चुनौती खडा गर्न सक्छ । 

–यसमा रहेका कस्ता विषयहरूमा सुधार आवश्यक छ ? 

यसका ४१ दफामध्ये धेरै त आपत्तिजनक छैनन् । पहिलो, परिभाषामा स्पष्ट हुनुपर्छ । जे कुरालाई कसूर भनिएको छ त्यसलाई परिभाषित गर्नुपर्यो । अपरिभाषित शब्दावलीको जञ्जाल छ । त्यहाँ मिथ्या प्रचार, दुस्प्रचार गरेमा भनिएको छ । त्यो भनेको के हो ? परिभाषित गरेका स्पष्ट पार्नु पर्दैन ?

दोस्रो, सामाजिक सञ्जालका अभिव्यक्ति सबै फौजदारी कसूरका सवाल हुन् त ? होइनन् भने कति फौजदारी कसूर हुन कति होइन भन्ने छुटिनुपर्छ । गम्भीर विषयलाई मात्रै फौजदारीमा राख्नुपर्यो । धेरैजसोलाई देवानी कानुनमा राख्नुपर्यो । 

तेस्रो, यसको नियामक निकाय नेपाल सरकारको सूचना प्रविधि विभाग हुन्छ । सूचना प्रविधि विभागको प्रमुख उप वा सहसचिव रहन्छ । उसले ५ लाखदेखि १ करोडसम्म जरिवाना गर्न सक्छ ?

कारबाही गर्ने निकाय भनेको स्वतन्त्र र न्यायिक हुनुपर्छ । त्यो ‘इन्डिपेन्डेन्ट मेकानिजम’ हुनुपर्छ । जुन ‘मेकानिजम’ बनाइएको छ, त्यो सरकारको कर्मचारी ‘मेकानिजम’ हो । त्यसमा जहिले पनि दुरूपयोग हुन सक्ने भयो ।

निष्पक्ष न्याय भन्ने कुरा हुन्छ भन्ने हुँदैन । संरचनागत व्यवस्था परिवर्तन गरी स्वतन्त्र निकायको रूपमा अघि बढाउनुपर्छ । सामाजिक सञ्जालको परिभाषा व्यापक छ । ब्लग, वेवसाइट, एक–अर्कामा हुने सञ्चारलाई सञ्जाल भन्नुभएन । दुई जनाबीच कम्युनिकेशन हुनु पनि सञ्जाल मान्ने भए हरेक नागरिक सरकारको निगरानीमा हुन्छ । त्यो असम्भव मात्र होइन अव्यवहारिक कुरा हो । लोकतान्त्रिक पनि होइन ।

चौथो, कुरा सरकारले सार्वजनिक सुरक्षा, राष्ट्रिय सुरक्षा र अर्काको अधिकार हनन नहुने गरी अपराधजन्य गतिविधि नहोस् भन्नेमा ध्यान दिनुपर्यो । धेरै विषयहरू छरिएको छ । त्यसलाई लिमिटेड गर्नुपर्यो । 

पाचौँ, कारबाही र सजाय अमिल्दो छ । १२–१५ वटा कसुर सोचिएको छ । त्यसमा आफ्ना किसिमले जेल सजाय हुने, जरिवाना हुने व्यवस्था गरिएको छ ।  अरु कानुनमा के छ ? गाली बेइज्जति फौजदारी संहितामा एक किसिमको व्यवस्था छ । यहाँ छुट्टै छ, त्यसलाई पनि मिलाउनुपर्यो । 

–केही छुटाइएका विषय छन् ? 

प्रस्तावित कानुनमा केही कुरा छुटेका छन् । पहिलो, सञ्जालको वर्गीकरण गर्नुपर्छ । जर्मनीले कानुनले २० लाखभन्दा बढी प्रयोगकर्ता भएको सञ्जाललाई मात्रै नियमनमा लग्यो । हामीले केलाई सञ्जाल भन्ने वर्गीकरण गर्नुपर्छ । हानिकारक सामग्री यो यो हो भन्ने कुराको आधार दिनुपर्छ । हानिकारक हुन्छ भनेर पुग्दैन । 

दोस्रो, प्ल्याटफर्मको जवाफदेही र उत्तरदायित्व के हुने भन्ने कुरा यसमा छुटाएको छ । प्लाटफर्म ‘न्युट्रल’ हुँदो रहेनछ भन्ने अन्य देशका अनुभवले देखाइसकेको छ । प्लाटफर्मलाई कुनै न कुनै रूपमा उत्तरदायी बनाउनुपर्छ । केही कुरा ल्याइए पनि प्रस्ट गरिएको छैन ।

त्यस्तै, प्लाटफर्मको ट्याक्सबारे बोलिएको छैन । जुन कुरा राज्यका तर्फबाट महत्वपूर्ण र आवश्यक थियो । टिकटक किन बन्द भयो ? किन खुल्यो ? कुरा यो कानुनमा भनिनुपथ्र्यो । पहिले पो कानुन थिएन, हाल कानुनले नै नबोलेको देखियो । प्रस्तावित कानुन खास समस्या समाधान गर्न होइन । पोलिटिकल कन्ट्रोल गर्न ल्याइएको देखिन्छ । 

–प्लाटफर्महरूबाट समाजमा असर पुग्यो । नियमन गर्न ल्याइएको सरकारको धारणा छ । नियमन आवश्यक नै छैन त ? 

कानुनले नियमन गर्र्दैन । कानुनका आधारमा संस्थाले नियमन गर्ने हो । कानुन त पहिले पनि थियो । संस्था नभएको हो । सूचना प्रविधि विभागले नियमन गर्न कहाँ सक्छ ? कठोर कानुन बनाइदिँदैमा हुँदैन । कठोर कानुन शक्तिमा भएकाले दुरूपयोग गर्न सक्छन् । तर, आमजनतालाई न्याय हुँदैन । त्यसका लागि प्लाटफर्मलाई नै जवाफदेही बनाउनुपर्छ । 

असल प्रयोगकर्ताको संरक्षण र खराब प्रयोगकर्तालाई मात्र दण्ड दिने हो । यहाँ त संरक्षणको कुरै छैन, तर्साउने काम मात्र भयो । हाम्रो डिजिटल सचेतना, मिडिया सचेतना लगानी गर्ने कुनै प्रावधान छैनन् । यसले सिर्जना गरेको हानीलाई कानुन र दण्डबाट पूर्ति गर्न सम्भव छैन ।

सरकारले आमजनतालाई सामाजिक सञ्जालको प्रयोगबारे चेतनशील बनाउनेछ भनी चासो त राख्यो । तर, त्यो नै प्रमुख कुरा हुनुपथ्र्यो । अर्को कुरा, सूचना प्रविधि विभागले प्रेस काउन्सिललाई आदेश दिने व्यवस्था राखिएको छ । सम्बद्ध निकायमा प्रेस काउन्सिललाई राखिएको छ । आदेश दिनेछ र त्यो टेर्नुपर्ने भनिएको छ । स्वायत्त र स्वतन्त्र प्रेस काउन्सिललाई सूचना प्रविधि विभागले गाइड गर्ने देखिन्छ । त्यो, व्यवस्था राख्ने हो भने सिंगो पत्रकारिता सिद्धिन्छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ १८, २०८१  १७:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro