काठमाडौं । कलाकार पल्पसा डंगोल उर्फ चम्सुरीको मिर्गौला प्रत्यारोपणको कानुनी प्रक्रिया सुरु भएको छ । अब लगभग दुई महिनामा उनले मिर्गौला पाएर नयाँ जीवन सुरु गर्न लागेकी छन् ।
सोमबार (मंसिर ६) अस्पताल पुगेर आवश्यक कागजातको काम गरेको उनले जानकारी दिइन् । “अन्ततः अब चाँडै मिर्गौला पाउने भएँ । आज (सोमबार) अस्पताल गएर पहिलो चरणको फर्म भरेर आइसकेँ । कानुनी प्रक्रिया सुरु भएको छ । यही माघमा नै प्रत्यारोपण हुनेछ । तर, मिति भने तय भइसकेको छैन ।”
दुवै मिर्गौलाले काम नगरेपछि उनी गएको साउन महिनाभरि अस्पताल भर्ना भएकी थिइन् । करिब ३५ दिन महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उनको उपचार गरिएको थियो । उनी त्यसपछि भने घरमै आराम गरिरहेकी छन् ।
उनी यही महिनाबाट ‘मेरी बास्सै’को सेटमा पनि फर्किएकी छन् । “लामो समयपछि सेटमा जानका लागि लुगा निकाल्दा म खुसीसँगै निकै भावुक भएँ । सेटमा पनि सबै साथीहरूले निकै माया अनि हौसला दिइराख्नुभएको छ । निकै खुसी महसुस भइरहेको छ,” उनी थप्छिन्, “३५ दिनजति अस्पताल बस्दा अब म फेरि सेटमा फर्किन नै सक्दिनँ कि भन्ने भइसकेको थियो । तर, दर्शकको माया अनि टिमको मायाले पुनः काममा फर्किन पाएँ ।”
अहिले उनी बिहीबार दुई घण्टाको लागि मात्रै छायांकनमा गइरहेकी छन् । “ड्राइभिङ पनि गर्न सक्दिनँ । त्यसैले सेटबाटै गाडी पठाउनुहुन्छ । काम सजिलो, बसेर गर्ने दृश्यहरू मात्रै गरिरहेको छु ।”
विगत आठ वर्षदेखि उनका दुवै मिर्गौलाले काम गरेको छैन । परिवारलाई जानकारी नै नगराई उनी आफैँ यसको उपचारमा लागिरहेकी थिइन् । तर, यो वर्षको सुरुवातसँगै स्वास्थ्यमा धेरै खराबीपछि उनी साउनमा अस्पताल भर्ना भएकी हुन् ।
उनलाई परिवारकै एकजना सदस्यले मिर्गौला दान गर्न लागेका हुन् । सबै ‘क्रस म्याच’ भइसकेको र अब कानुनी प्रक्रिया मात्रै बाँकी भएको पल्पसाले जानकारी दिइन् ।
सोमबार मात्रै डोनरको क्रस म्याच भएको अस्पतालले जानकारी दिएको थियो ।
उनी भन्छिन्, “धेरै कुरा परीक्षण गर्नुपर्ने भएकाले क्रस म्याच हुन्छ कि हुँदैन भनेर थाहा पाउनै समय लाग्ने रहेछ । अब सकै कुरा मिलिसकेको छ । तर, मेरो शरीरलाई पनि तयार पार्नुपर्छ ।”
उनी अहिले डाक्टरको सल्लाहअनुसार तौल बढाउनेदेखि खानेकुरामा विशेष ध्यान दिइरहेकी छन् । हप्ताकै दुईपटक डायलासिस गराइरहेकी छन् ।
करिब ६/७ महिनापछि काममा फर्किएकी उनी अब प्रत्यारोपण नभएसम्म मात्रै छायांकनमा जाने छिन् । प्रत्यारोपण भएसँगै बढीमा चार महिना पूर्ण आराममा बस्नुपर्ने र बस्ने उनले बताइन् । त्यसपछि भने दर्शकलाई मनोरञ्जन दिन फेरि नयाँ जोसका साथ आउने वचन उनले दिइन् ।
प्रत्यारोपण गरेर एक महिना त अस्पतालमा नै बस्नुपर्ने र त्यसपछिका दुई/तीन महिना घरमा आराम गर्ने योजना उनले सुनाइन् ।