काठमाडौं । जर्मनीको प्रशिक्षकका रूपमा हान्सी फ्लिकको विजयी यात्रा सात खेलसम्म लम्बिएको छ । जर्मनीले आइतबार राति विश्वकप छनोट फुटबलमा अर्मेनियालाई ४–१ ले हराएको हो ।
भ्रमणकारी जर्मनीले १५औँ मिनेटमा काई हाभार्टजको गोलबाट अग्रता लिएको थियो । ४५औँ मिनेटमा इल्ले गुन्डोगनले पेनाल्टीमा गोल गर्दै जर्मनीको अग्रता दोब्बर बनाए । ५०औँ मिनेटमा गुन्डोगनले व्यक्तिगत दोस्रो गरे । ६४औँ मिनेटमा जोनस होफम्यानले चौथो गोल थपे । अर्मेनियाका हेनरिख मिखितारियनले ५९औँ मिनेटमा गरेको गोल अर्मेनियाका लागि सान्त्वना बन्यो ।
युरोपेली विश्वकप छनोटको समूह ‘जे’मा रहेको जर्मनीले यसअघि नै विश्वकपमा स्थान पक्का गरिसकेको थियो । जितपछि जर्मनीले १० खेलबाट २७ अंक जोड्यो । जर्मनीका प्रशिक्षकका फ्लिकको यो लगातार सातौँ जित हो । उनले प्रशिक्षण सम्हालेपछि जर्मनीले अंक बाँडेको छैन ।
जोचिम लोउले छाडेपछि फ्लिक जर्मनीको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए । युरोपियन च्याम्पियनसिपको अन्तिम–१६ मा इंग्ल्यान्डसँग पराजित भएपछि लोउले जर्मनीको प्रशिक्षक पद छाडेका थिए । त्यसपछि जर्मनीको नेतृत्व सम्हालेका फ्लिकले राम्रो सुरुआत गरेका छन् । यो अहिलेसम्मका प्रशिक्षकमध्ये सबैभन्दा राम्रो हो ।
२०१९÷२० को सिजन बायर्न म्युनिखलाई च्याम्पियन्स लिगको उपाधि जिताएका फ्लिकको प्रशिक्षणमा जर्मनीले ३१ गोल गरेको छ भने दुई गोल मात्र खाएको छ ।
नर्थ म्यासेडोनिया प्लेअफमा
जर्मनी सम्मिलित समूह ‘जे’बाट नर्थ म्यासेडोनियाले प्लेअफमा स्थान पक्का गर्यो । नर्थ म्यासेडोनियाले गए राति आइसल्यान्डलाई ३–१ ले हराएको थियो । नर्थ म्यासेडोनियाले विश्वकप छनोटको प्लेअफमा स्थान बनाएको यो पहिलोपटक हो ।
सोही समूहको अर्को खेलमा रोमानियाले लिचटेन्स्टाइनलाई २–० ले हरायो । रोमानिया तेस्रो स्थानमा रह्यो ।