काठमाडौं । कुकुरहरू कहिले आगो लागेको रिङबाट हाम्फाल्छन्, कहिले आफ्नो अगाडि उभ्याइएका अग्ला बारहरू नाग्छन् । घरी सुँघेरै अपराधी र विस्फोटक पदार्थ राखेको ठाउँ पत्ता लगाउँछन् । घरी बिरामी भएका आफ्ना मालिकलाई बचाउन खोज्छन् । यी दृश्य हुन् भैरव वाहन गुल्मको ।
यहाँका कुकुरहरूको विशेष कला प्रदर्शनी गर्दै आज बिहान कुकुर तिहार मनाइएको छ । ‘सैनिक डग कला प्रदर्शनी’मा गुल्ममा रहेका कुकुरले आफ्ना कला देखाएका हुन् ।
नेपाली सेनामा अपराध अनुसन्धान र सुरक्षा कार्यमा कुकुरको प्रयोग गरिँदै आएको छ । यस्तै, सुरक्षा फौजले सञ्चालन गर्ने विभिन्न समारोह, खेलकुद र मनोरञ्जनका लागि कुकुरको प्रयोग हुँदै आएको छ ।
संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा १८ वर्षदेखि कुकुरको प्रयोग हुँदै आएको सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए । ०५९ को शान्ति मिसनमा पहिलोपटक सान र गामिनी नामक दुई कुकुर समावेश थिए । हाल चारवटा कुकुर मिसनको लागि लिबियामा खटेका छन् । लाइबेरिया र लिबियामा खटिएका शान्ति सैनिकको सहयोगका लागि नेपालबाट हालसम्म १३ कुकुर सहभागी भइसकेका छन् ।
लाइबेरिया मिसनमा कुकुरको प्रयोगबाट हातहतियार र विस्फोटक पदार्थ पत्ता लगाउने कार्यमा उत्कृष्ट नतिजा हासिल गरेपछि लिबियामा पनि परिचालन गरिएको गुल्मका सेनानी प्रशुराम थापाले स्पष्ट पारे ।
नेपाली शान्ति सैनिकलाई लिबियामा शान्ति स्थापनार्थ अहिले रेक्स, किलो, बुजो र टोनी नाम गरेका कुकुरले सहयोग गर्दै आएका छन् । हातहतियार र विस्फोटक पदार्थ बरामद, खोजी तथा उद्धार एवं कार्यक्षेत्रको सुरक्षा र सुरक्षा गार्डको काममा ती कुकुर खटिएका हुन् ।
इतिहास हेर्दा प्रथम र द्वितीय विश्वयुद्धताका युद्धमा विभिन्न प्रयोजनका लागि कुकुरको प्रयोग भएको देखिन्छ । त्यस बेला कुकुरले विस्फोटक पदार्थ रहेको स्थान पत्ता लगाउने काम गर्थे ।
सेनामा विभिन्न सुरक्षात्मक प्रयोजनका लागि कुकुरलाई तालिम दिन ०५५ मंसिर २० गते डग प्लाटुनको स्थापना भएको थियो । सोही वर्ष भारतबाट जर्मन सेफेर्ड ६ र लेब्राडोर ६ ल्याएर ०५६ देखि तालिम सञ्चालन गरिएको थियो ।
राजा पृथ्वी वीरविक्रम शाहको पालामा वि.सं. १९४० पुस ७ गते स्थापना भएको गुल्म हाल भैरव वाहन गुल्मको नाममा परिचित छ । यहाँ अहिले जर्मन सेफेर्ड २३, लेब्राडोर ५५, ककर स्पाइनल सात, गोल्डेन रिट्रिभर दुई र मालिनोइज एक गरी ८८ कुुकुर छन् ।
०७२ को विनाशकारी भूकम्पपछि कुकुरले भग्नावशेषमा पुरिएका १४ वटा शव सुँघेर पत्ता लगाएको गुल्मका सेनानी थापा बताउँछन् ।
यस्तै, चितवन राष्ट्रिय निकुञ्जमा हुने चोरी–सिकारी, आपराधिक गतिविधि नियन्त्रण गर्न यसै गुल्मबाट मालिनोइज र लेब्राडोर दुई जातका कुकुर खटाइएका छन् । यसका लागि सेनाको आफ्नै कुकुर नखटाए पनि यसै गुल्मबाट तालिमप्राप्त दुईवटा कुकुर खटाइएको सेनानी थापा सुनाउँछन् । मुस्ताङस्थित उच्च शिखर शिक्षालयमा समेत गोल्डेन रिट्रिभर प्रजातिका दुईवटा कुकुर खटाइएको छ ।
कुकुरलाई जात, क्षमता र स्वभावका आधारमा विभिन्न प्रकारका सैन्य तालिम दिने गरिन्छ । ल्याब्रडर डग अनुशासित र शान्त स्वभावको भएकोले विशेषगरी विस्फोटक पदार्थको अनुसन्धानमा प्रयोग गरिन्छ । जर्मन सेफेर्ड बढी रिसाहा र चञ्चल स्वभावका कारण गार्ड डगको रूपमा प्रयोग गरिन्छ । ककर स्प्यानियल डग निडर, फुर्तिलो र चलाख हुने भएकोले यसलाई दैवी प्रकोप उद्धारकार्यमा जीवित तथा मृतक दुवैको उद्धारका लागि र डग प्रदर्शनीका लागि प्रयोग गरिने सेनाको भनाइ छ ।
विभिन्न गुणअनुसार भागेका अपराधी पत्ता लगाउन ट्रयाकर डग, जमिनमुनि र जमिनमाथि लुकाएर राखेका हतियार तथा विस्फोटक पदार्थ पत्ता लगाउनको लागि आम्स एन्ड एक्स्प्लोसिभ डिटेक्सन डग, आफ्नो फौजलाई शत्रुको एम्बुसमा पर्नबाट जोगाउने र पूर्वजानकारी दिनको लागि इनफेन्टी पेट्रोल डग र विभिन्न प्राकृतिक प्रकोपमा परेका मानिस सुँघेर पत्ता लगाउनका लागि सर्च एन्ड रेस्क्यु डग रहेका छन् ।
गुल्ममा कुकुरको दिन बिहान पीटीई तालिमबाट सुरु हुन्छ । बेसिक ओभिडियन्स तालिम र बेसिक कला सिकाउन एक÷एकजना प्रशिक्षक खटाइएको हुन्छ । कुकुरको शरीरको हरेक अंगको सरसफाइ र मालिस गरिन्छ । बिहान ९ र साँझ ५ बजे खाना खुवाइन्छ । दिसापिसाब र खानापछि सरसफाइको विशेष ध्यान दिने गरेको गुल्मको भनाइ छ ।
एउटा कुकुरको तालिम र खाना खर्चसहित सबै बन्दोबस्तीका लागि प्रतिदिन ३७३ रुपैयाँ लाग्ने गरेको सेनानी थापा बताउँछन् । शान्ति सेनामा सुरक्षा गार्ड र गस्तीमा खटिने प्रतिजोडी कुकुरले ८९०.०४ र खोज तथा उद्धारमा खटिने जोडी कुकुरले प्रतिमहिना ९९५.७२ अमेरिकी डलर भत्ता प्राप्त गर्छन् । सामान्यतया एउटा स्वस्थ कुकुरले आठ वर्षको उमेरसम्म पूर्ण रूपमा काम गर्न सक्ने सेनाले जनाएको छ ।
सेनामा कुकुरलाई समयानूकुल तालिम प्रदान गर्न डग ह्यान्डलरलाई भारत, पाकिस्तान र बंगलादेश पठाइने गरिएको छ । कुकुरलाई हिन्दु धर्ममा भैरवको वहानको रूपमा पुज्ने गरिन्छ ।