site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विश्वप्रकाश शर्माको राजनीति : सिटौलासँगको तिक्तता तगारो बन्न सक्छ !
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । विश्वप्रकाश शर्मा युवा पुस्ताको आकर्षकणका व्यक्ति हुन् ।

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको अध्यक्ष भएपछि राष्ट्रिय पहिचान बनाएका शर्मा त्यसयता कुनै पदमा नहुँदै कांग्रेसका युवाहरुमाझ लोकप्रिय थिए भने आम नागरिकमा समेत आशा बोकेका नेताका रुपमा परिचित छन् ।

शर्मा अहिले कांग्रेसका प्रवक्ता हुन् । त्यतिमात्रै होइन उनले आगामी तीन कार्यकाल नेपाली कांग्रेसलाई चुनाव जिताउने अभियानसहित महामन्त्रीमा उमेदवारी घोषणा पनि गरेका छन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

‘म प्रवक्ताबाट बिदा हुन राजनीतिमा आएको होइन’ भन्दै आएका शर्माले महामन्त्रीमा उमेदवारी घोषणा गर्दा नै कांग्रेसलाई तीन कार्यकाल लगातार जिताउन अभियान थालेको बताएका छन् । 

शर्माकै नेतृत्वमा अहिले नेपाली कांग्रेसको प्रचार विभाग छ । १३औं महाधिवेशनमा केन्द्रीय सदस्य बनेपछि शर्माको प्रभाव अझ विस्तारित छ । १३औं महाधिवेशनमा केन्द्रीय सदस्य जितेपछि पार्टी प्रवक्ता बनेका शर्मा अहिले महामन्त्रीको दौडमा छन् ।

Royal Enfield Island Ad

आफूलाई बीपीको सच्चा अनुयायीका रुपमा उभ्याउँदै आएका छन् ।

बीपी जयन्तीको सन्दर्भ मिलाएर काठमाडौंको सुन्दरीजलस्थित बीपी संग्रहालयमा पुगेर शर्माले महामन्त्री पदमा उमेदवारी घोषणा गरे । असोज ३ अर्थात् संविधान दिवसको अवसर पारेर उनले महामन्त्री पदमा आफू किन लड्न लागेको भन्ने बुझाउन ६ पृष्ठ लामो अवधारणापत्र सार्वजनिक गरेका छन् ।  

शर्मा विद्यार्थी राजनीतिबाट अघि बढेका युवा नेता हुन् । २०५७ सालमा नेविसंघको केन्द्रीय नेतृत्व सम्हाल्दा शर्मा तत्कालीन संस्थापन पक्ष अर्थात् कोइराला लाइनको राजनीतिमा थिए । 

१२औं महाधिवेशनमा झापा जिल्ला सभापतिमा लडेर जिल्ला नेतृत्वको आकांक्षा राखेका शर्मा नेता कृष्ण सिटौलासँग फरक धारको राजनीतिका कारण पराजित हुन पुगे । 

सिटौलाकै कारणले उनी पराजित भएको अहिले पनि झापाका कांग्रेस नेताहरु बताउँछन् ।सिटौला समूहका उद्धव थापा सभापति बने, राष्ट्रिय छवि बनाइसकेका शर्मा पराजित भए ।

त्यसलगत्तै शर्माले केन्द्रीय सदस्यमा उमेदवारी सार्वजनिक गरे । तर, एकाएक शर्माले ‘नैतिकता’ को कारण देखाउँदै उमेदवारी फिर्ता लिए ।

“जिल्ला सभापतिमा पराजित व्यक्ति केन्द्रीय महाधिवेशनमा केन्द्रीय सदस्य लड्नु नैतिक हुँदैन,” शर्माले उमेदवारी फिर्ता लिनेक्रममा जारी गरेको विज्ञप्तिमा भनेका थिए, “त्यसैले मैले सभापतिमा सुशील कोइरालालाई समर्थन गर्दै उमेदवारी फिर्ता लिएको छु ।” 

शर्माले सुशील कोइरालालाई आफ्नो ठाउँबाट उनले सक्दो समर्थन पनि गरे । उनै सुशील कोइराला सभापतिमा निर्वाचित भएपछि शर्मालाई जिल्लामै असहयोग गरेको आरोप खेपेका सिटौला महामन्त्री भए ।

सुशील कोइराला सभापति भएपछि त्यसबेला नेविसंघ अध्यक्ष थिए प्रदीप पौडेल । 

कोइरालाले समयमा अधिवेशन नगराएको भन्दै पौडेलको राजीनामा मागे । पौडेलले आफू महाधिवेशनबाट आएको हुँदा महाधिवेशनबाट मात्रै बिदा लिने अडान लिए । उनले त्यस्तो अडान पत्रकार सम्मेलन नै गरे सार्वजनिक समेत गरे ।

पौडेलले ‘पार्टी नेतृत्वले अर्को तदर्थ समितिमार्फत अर्को महाधिवेशन गरी नयाँ नेतृत्व खोजेकाले मार्ग प्रशस्त गरेको छु’ भन्दै केही समयपछि राजीनामा घोषणा गरे ।

तर पहिले अडान लिएका पौडेलले किन राजीनामा घोषणा गरे त भन्ने प्रश्न त्यसबेला निकै उठेको थियो । 

पौडेलको टिममा रहेका एक विद्यार्थी नेताका अनुसार विद्रोहको तयारीमा रहेका पौडेललाई विश्वप्रकाश शर्माले उनीसहित एउटा सानो समूहलाई छलफलमा बोलाएर सम्झाएका थिए ।

“प्रदीपजी तपाईंको अडान र स्पष्टताप्रति मेरो सम्मान छ । गर्नुपर्ने पनि यही नै हो । तर, कतिपय अवस्थामा परिस्थितिले सही कुरा गर्दा पनि गलत परिणाम दिन सक्छ । अहिले तपाईंले राजीनामा गर्नुभएन भने सुशील कोइरालाले तपाईंलाई कारवाही गर्छन् । कारवाहीपछि सुशील कोइराला वा यो समूहमा तपाईंलाई कुनै ठाउँ हुँदैन । शेरबहादुर देउवा उनको समूहमा तपाईंलाई स्वागत गर्न आतुर हुन्छन्,” विश्वप्रकाशको त्यसबेलाको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, “त्यस्तो हुँदा हाम्रो टिम विभाजित हुन पुग्छ । हाम्रो टिम (विश्वप्रकाश, गगन, प्रदीपसहितको टिम) विभाजित भयो भने हाम्रो स्ट्रेन्थ बाँकी रहँदैन । त्यसैले राजीनामा दिनुस् । संस्थापनभित्रै राजनीति सुरक्षित गरौँ, हाम्रो टिम पनि सुरक्षित गरौं ।” 

शर्माको तर्कपछि पौडेल सहमत भएर राजीनामा दिएको ती नेताले बाह्रखरीसँगको कुराकानीमा बताए ।

यहाँनेर जोड्न खोजेको के हो भने तत्कालीन संस्थापन पक्षसँग यति नजिक रहेका शर्मा सिटौलालाई महामन्त्री बनाएपछि सो समूहको विकल्पमा थिए । 

त्यसैले १३ औं महाधिवेशनमा शर्मा देउवा समूहमा पुगे ।  देउवा समूहबाट केन्द्रीय सदस्य निर्वाचित शर्माले त्यहाँ अवसर भने राम्रै पाए –सिंगो पार्टीको प्रवक्ता । 

अर्थात् अत्यन्तै महत्वपूर्ण जिम्मेवारी । सिटौलासँगको फरक यात्रामा महत्वपूर्ण सफलता हासिल गरेका शर्मा जिल्लामा भने अझै बलियो पकड जमाउन नसकेको जिल्लाकै नेताहरु बताउँछन् ।

गृह जिल्लामा सधैँ कमजोर 

राष्ट्रिय राजनीतिमा ‘आइकनिक फिगर’ बनाएका शर्मा आफ्नै गृह जिल्लामा भने कमजोर अवस्थामा छन् । आइतबार गृह जिल्ला झापा पुगेर महामन्त्री पदका लागि आफ्नो २४ बुँदे अवधारणा सार्वजनिक गरे । 

आफ्नो अवधारणा सार्वजनिक गर्ने समारोहमा सहभागिताका लागि उनले जिल्लाका सबै क्षेत्रीय प्रतिनिधिहरुलाई म्यासेजमार्फत आमन्त्रण गरेका थिए । कार्यक्रममा सहभागिता जनाएका एक क्षेत्रीय प्रतिनिधिका अनुसार करिब ३ हजार ४ सय ३५ क्षेत्रीय प्रतिनिधि रहेको झापाका करिब सातसय हाराहारीमा मात्र क्षेत्रीय प्रतिनिधि शर्माको कार्यक्रममा सहभागी भए । 

“पार्टी प्रवक्ताले गरेको कार्यक्रममा जिल्ला कार्यसमिति सभापति नै अनुपस्थिति हुँदा मलाई नै कस्तो कस्तो अनुभव भयो,” ती क्षेत्रीय प्रतिनिधिले बाह्रखरीसँग भने । 

पाँचवटा निर्वाचन क्षेत्र रहेका झापामा एकसय ३१ वडा छन् । ती वडाबाट चुनिएका क्षेत्रीय प्रतिनिधि तीन हजार चार सय ३५ जना छन् । अर्का क्षेत्रीय प्रतिनिधिका अनुसार आइतबार शर्माको कार्यक्रममा अधिंकाश क्षेत्र नम्बर–१ का नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । ती सहभागी प्रतिनिधिका अनुसार शर्माले कार्यक्रम गरिएकै विर्तामोड नगरपालिका सभापति भोजराज सिटौला पनि उपस्थित भएनन् । शर्मालाई माया गर्ने देउवा समूहकै केशव कुमार बुढाथोकी पनि सहभागी भएनन् । पूर्वसभापति सुधीर सिवाकोटीलाई त खबर नै नगरिएको झापा कांग्रेसका नेता सजेश सिवाकोटीले बताए । 

“खबर गर्नुभएको भए हामी सबै मिलेर उहाँलाई सहयोग गर्थ्यौं, सुधीर शिवाकोटीका छोरा सजेशले भने, “तर खै खबर नै आएन ।” 

तर, विश्वप्रकाश पक्षधरहरु भने निमन्त्रणामा विभेद गरिएको विषय अस्वीकार गर्छन् । शर्माले प्रत्येक क्षेत्रीय प्रतिनिधिहरुको मोबाइलमा म्यासेज गर्दै बिर्तामोडको अग्रसेन भवनमा आमन्त्रण गरेको उनीहरुको भनाई छ । 

“जिल्ला उपसभापति राम कट्टेलले सभापतिमा उमेदवारी घोषणा गर्नुभयो । कार्यक्रममा अर्का उपसभापति पनि उपस्थित हुनुहुन्थ्यो,” विश्वप्रकाश शर्माले बाह्रखरीसँग भने, “दुवै सचिव, सहसचिवलगायत बहुमत जिल्ला सदस्यहरुको उपस्थिति कार्यक्रममा थियो ।” 

झापा जिल्ला सभापति उद्धव थापाले प्रवक्ताको व्यक्तिगत कार्यक्रम भएकाले आफूहरुको कार्यव्यस्तताले उपस्थिति जनाउन नसकेको प्रतिक्रिया दिए । 

“जानकारी नै नआएको हैन, त्यो उहाँको व्यक्तिगत एक्लो ढंगले गरिएको कार्यक्रम हो,” थापाले बाह्रखरीसँग भने, “हामी हाम्रो जिल्ला सदस्य तथा दलित संघ केन्द्रीय सदस्य सुन्धरा ल्वागुनको निधन भएकाले मलामी थियौँ, त्यसैले पनि उहाँको कार्यक्रम हाम्रो प्राथमिकतामा परेन ।”

कार्यक्रममा शर्माले आफ्नै पुस्ताका लागि भनेर ‘वान, टू, थ्री, फोर’ प्रस्ताव गरे । उनले एकपटक राष्ट्रपति, दुईपटक प्रधानमन्त्री, तीनपटक मन्त्री र चारपटक सांसदको शपथको अवधारणा अघि सारे र त्यस भन्दाबढी एउटै व्यक्तिले पद लिन नहुने उनको अवधारणा छ । 

के हो सिटौला–शर्मा टसल ?

आइतबारको कार्यक्रममा कृष्णप्रसाद सिटौला समूहको उपस्थिति नभएकाले पनि महामन्त्री लड्दा जिल्लाले शर्मालाई कति सहयोग गर्ला भन्ने प्रश्न उठेको छ । 

झापामा पूर्वमहामन्त्री सिटौलासँग शर्माको ‘टसल’ छ । त्यही ‘टसल’का कारण शर्मा उनको निर्वाचन क्षेत्र अर्थात् क्षेत्र नम्बर–१ भन्दा बाहिरका नेता कार्यकर्तासँग भिज्न नसकेको बताइन्छ । 

१२औं महाधिवेशन अघिसम्म सिटौला र शर्मा एकै समूहमा थिए । सिटौला–शर्मा ‘टसल’ १२औं महाधिवेशनमा शर्माले एकतर्फी जिल्ला सभापति उमेदवारी घोषणा गरेपछि सुरु भएको थियो । 

त्यसबेलासम्म कांग्रेसभित्रका वैचारिक र बौद्धिक नेता चक्र बास्तोला सक्रिय राजनीतिमा थिए । बीपी र गिरिजाप्रसादको सफलतासँग जोडिएका बास्तोला पछिल्ला दिनहरुमा भने उनै गिरिजाप्रसादसँग दिक्क थिए ।

सिटौलालाई भने ‘पञ्चायतकालको अन्त्यतिर’ कांग्रेस प्रवेश गराएर महत्वपूृर्ण भूमिका दिइएको भन्दै बास्तोला गिरिजाप्रसाद कोइरालासँगै चिढिएको उनी निकटका नेताहरु बताउँछन् ।

लामो समयसम्म झापामा बास्तोला र सिटौलाको समूह अलग अलग थियो ।

१२औं महाधिवेशनमा पनि सिटौलाले उद्धव थापालाई अघि सारेपछि बास्तोलासहितको टिमले विश्वप्रकाशलाई साथ दिएको थियो । तर, सिटौलाले देउवा टिममा रहेका धेरैको साथ लिन सफल भएपछि शर्मा पराजित भए । त्यही उमेदवारीलाई सिटौलाले भने शर्मालाई कोइराला टिमबाट ‘किक आउट’ गर्ने हतियार बनाएको झापाकै एक कांग्रेस नेता बताउँछन् । 

१३औं महाधिवेशनमा भने शर्माले जिल्ला नेतृत्वमा आफू निकट प्रेम सम्वाहाम्फेलाई सचिव बनाउनबाहेक अरु बार्गेनिङ गरेनन् । तर, सिटौला–शर्मा टसल समाप्त भएको छैन, झन् गहिरिँदो छ ।

१४औं महाधिवेशनमा उनी निकट राम कट्टेलले जिल्ला सभापति घोषणा गरेका छन् । सिटौलाले भने देउमान थेवेलाई अगाडि बढाउने भएका छन् । 

पार्टीमा मात्र होइन त्यसको असर मूल भ्रातृ संस्थामा पनि देखिएको छ । झापामा पार्टीमा मात्रै होइन नेविसंघमा पनि समानान्तर समिति छ ।

एउटा नेविसंघको नेतृत्व सिटौला निकट राजेन्द्र उप्रेतीको छ भने भुवन बुढाथोकीले शर्माको सहयोगमा नेविसंघ हाँकिरहेका छन् ।

सिटौला निकट विद्यार्थी संघका प्रतिनिधिहरु २०५७ सालमा केन्द्रीय सभापति बने पनि शर्माले त्यसयता नेविसंघ केन्द्रीय समितिमा जिल्लाको प्रतिनिधित्व गराउन भूमिका नखेलेको आरोप लगाउँछन् । 

“हामी सबैलाई मिलाएर गाइड गरेर अघि बढ्नुपर्ने विश्वदाइ जिल्लामा गुट चलाउन लागिपर्नुभयो,” सिटौला निकट मिलन चापागाइँ भन्छन्, “यसले उहाँको छबि उच्च बनाउँदैन ।” 

शर्माको प्रभाव आफ्नै निर्वाचन क्षेत्रमा भने बढ्दो छ । 

संविधान सभाका दुवै निर्वाचनमा पराजित भए पनि उनीमाथि कार्यकर्ताको समर्थन र माया भने बढ्दो क्रममा छ । कुनै बेला सिटौलाको ‘कोर टिम’ मानिने जिल्ला उपसभापति राम कट्टेल, कोषाध्यक्ष केशव पाण्डे, तरुण दल अध्यक्ष गोपाल तामाङ क्षेत्र नम्बर–१का क्षेत्रीय सभापति मणि उप्रेतीलगायतका प्रभावशाली नेताहरु शर्मातिर छन् । 

तर, सिटौला समूहले भने यसलाई रणनीतिक रुपमा लिएको टिप्पणी गर्छ । 

“क्षेत्रीय अधिवेशन नसकिएसम्म टिम स्पष्ट हुँदैन, अहिले क्षेत्र नम्बर–१ का नेताहरु बोले भने त बुथमै सिध्याइदिन्छन् विश्वका मान्छेले,” सिटौला समूहका एक जिल्ला नेता भन्छन् । 

महामन्त्री जिताउन तपाईंहरुको भूमिका के हुन्छ ? भन्ने प्रश्नमा उनी भन्छन्, “कृष्ण दाइले निर्देशन दिनु होला नि के गर्ने भनेर !”
झापामा कार्यकर्ता तहमै अहिले विश्व भर्सेस सिटौला भनेर गुट विभाजन हुने गरेको छ । यसको धेरै असर भ्रातृ संस्था नेपाल विद्यार्थी संघ, शुभेच्छुक संस्था नेपाल प्रेस युनियनमा देखिन्छ । 

नेपाल प्रेस युनियनका अध्यक्षका प्रत्यासी राजेन्द्र गौतम पनि ‘विश्वको मान्छे’ भएकै कारण हराइएको एक नेता बताउछन् । 

“यहाँ त उपभोक्ता समितिको चुनाव भयो भने कांग्रेसकै शर्मा र सिटौला प्यानल बन्ने अवस्था आइसक्यो,” उनी गुनासो गर्छन् ।

कतिपय नेताहरु भने सिटौलाको एकछत्र राज तोडेर सिटौला भर्सेस शर्माको अवस्था बनाउनु नै विश्वप्रकाशको सफलता मान्छन् ।  

अझै छैन सम्बन्धन सुधारको संकेत

१२औं महाधिवेशनबाट बिग्रिएको सिटौला–शर्मा सम्बन्ध १४औं महाधिवेशनमा पनि सुधारको संकेत देखिएको छैन । सिटौलामा आफ्नो शक्ति शर्माका कारण कमजोर भएको बुझाइ छ ।

“सिटौला दाइ रिसाउनुभएको छ, १४औं महाधिवेशनमा विश्व दाइलाई साथ दिनुहुन्छ भन्ने आश हामीलाई छैन,” मेचीनगरका एक नेता भन्छन्, “त्यसैले विश्व दाइलाई क्षेत्र नम्बर–१ भन्दा बाहिर गाह्रो छ ।” 

केन्द्रीय महाधिवेशनमा झापाबाट एकसय २९ जना महाधिवेशन प्रतिनिधि आउन पाउँछन् । त्यसमा उत्सहाजनक प्रतिनिधित्व हुन्छ भन्ने विश्वास शर्मा समूहलाई अहिलेसम्म छैन । तर पनि केही सुधार गर्ने प्रयत्न भने भइरहेकै छ । 

कांग्रेसको जिल्ला राजनीतिलाई नजिकबाट नियालेका पत्रकार ज्ञानेन्द्र निरौला विश्वको विगतको तुलनामा पोजिसन सुधार भएको बताउँछन् । “अनुपात बढेको छ, म त दुवैको अवस्था बराबरको देख्छु,” निरौला भन्छन् । 

तर देउवा समूहमा पनि छैन ढुक्क 

त्यसरी राष्ट्रिय राजनीतिमा फड्को मारेका शर्माको महत्वाकांक्षाको सीमा नभएको देउवा समूहमा रहेकाहरुको बुझाई छ । 

“विश्वजीलाई अर्को समूहले पाखा लगाएपछि शेरबहकादुरजीले टिकट दिएर राजनीतिमा स्थापित गर्नुभएको हो । सभापतिज्यूले नै संविधानसभा चुनावमा टिकट दिनुभयो, हार्नुभयो, पछि केन्द्रीय समितिमा ल्याउनुभयो, प्रवक्ता दिनुभयो,” देउवा समूहका ती नेता भन्छन्, “तर उहाँ महामन्त्रीको सपना देख्न थाल्नुभयो । सहमहामन्त्री लडेको भए उहाँलाई सम्मानजनक संरक्षण सम्भव थियो । उहाँ आफ्नै महत्वकांक्षाले समूहबाट बाहिरिन सक्नुहुन्छ ।” 

देउवा समूहमा यस्तो धारणा बनिरहँदा शर्मा भने महामन्त्रीबाट ‘ब्याक’ हुने मुडमा छैनन् । 

“मैले महामन्त्रीमा उमेदवारी घोषणा गरेँ, यसको मतलव म महामन्त्रीको उमेदवारीबाट पछि हट्ने र अर्को पदका लागि बार्गेनिङ गर्ने भन्ने होइन,” शर्मा भन्छन्, “पुराना साथीहरुका लागि म फुच्चे लाग्छु होला, तर, आजको युवा जमातका आशा सम्बोधन गर्न सकिएन भने राजनीतिबाट पाखा लागे हुन्छ ।” 

उनी महामन्त्रीमा आफूलाई सभापति शेरबहादुर देउवाले नै टिममा राख्ने विश्वास व्यक्त गर्छन् ।
 

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ५, २०७८  १७:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro