site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मेलम्चीमा किन पटक–पटक आइरहन्छ बाढी ? यस्तो छ अध्ययनको निष्कर्ष
SkywellSkywell

काठमाडौं । यही साउन १५ गते मेलम्ची नदीमा पुनः बाढी आएपछि मेलम्ची बजार, हेलम्बु र आसपासका क्षेत्रमा जोखिम बढेको छ । बस्तीको बीचबाट मेलम्ची बगेको छ । नदीले दिनहुँ आफ्नो धार परिवर्तन गरिरहेको छ ।

त्यस दिन राति बाक्लो लेदोसहितको बाढी आएको थियो । त्यसले तल्लो तटीय क्षेत्र दोलालघाटसम्म असर पुग्ने विज्ञहरुले औँल्याएका छन् ।

यसअघि, गएको असार १ गते आएको भीषण बाढीमा परी मेलम्चीमा ११ जनाको मृत्यु भएको थियो । २५ जना अझै बेपत्ता छन् । पुल, विद्यालय, पसल, होटेललगायत संरचना गरी अर्बौँको क्षति भएको छ ।

KFC Island Ad
NIC Asia

गएको साता सार्वजनिक दुइटा छुट्टाछुट्टै रिपोर्टले मेलम्चीमा विनाशको कारण बहुप्रकोप भएको देखाएको छ । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसीमोड) र नेपाल इन्जिनियर्स एसोसिएसनले गरेको अध्ययनले यस्तो निष्कर्ष निकालिएको हो । इसिमोडको रिपोर्टमा सानो आकारको हिमताल फुटेको उल्लेख छ ।

रिपोर्टअनुसार पेम्दिङ खोला क्षेत्रको हिउँ पग्लिँदा र वर्षासँगै गेग्रान बग्दा त्यहाँ रहेको सानो हिमताल फुटेको हो । वैशाख २९ गतेको स्याटेलाइट इमेजमा त्यहाँ रहेको सानो हिमताल वरिपरि हिउँले ढाकेको देखिएको र असार १ को घटनापछि असार ९ गते लिइएको स्याटेलाइट इमेजमा त्यो ताल नदेखिएको इसिमोडले जनाएको छ । उक्त तालसँगै ढुंगा, बालुवा (मोरान) बगेको इसिमोडको रिपोर्टमा उल्लेख छ । इसिमोडले २७ सय ६१ मिटर स्क्वायरको हिमताल पेम्दाङ खोलाको सिरानमा देखिएको जनाएको छ ।

Royal Enfield Island Ad

यस्तै, इसिमोडको अध्ययनले मेलम्चीको विनाश शृंखला मेलम्ची र इन्द्रावती खोलाको सिरानमा रहेको हिमालबाटै सुरु भएको जनाएको छ । उक्त रिपोर्टमा मेलम्ची र इन्द्रावतीको सिरानमा रहेको जुगल हिमालको हिउँ असार १ अघि नै धेरै मात्रामा पग्लिएको उल्लेख छ । इसिमोडले यांग्री खोलाको सिरानमा राखेको मापन केन्द्रमा मेलम्ची बाढीको चार दिनअघि तापक्रममा वृद्धि देखिएको जनाएको छ । त्यसपछि परेको पानीले हिउँ बगाउन सहयोग पुर्‍याएको रिपोर्टमा उल्लेख छ ।

मेलम्चीको बाढीको केही दिनअघि जेठ २८ गतेदेखि उक्त क्षेत्रमा ठूलो पानी परेको थियो । जल तथा मौसम विज्ञान विभागले पनि मेलम्ची बाढीअघि त्यहाँ पानी परेको उल्लेख गरेको छ । विभागको मापन केन्द्र भने शेर्माथाङमा छ ।

इसिमोडको अध्ययनले वर्षा र हिउँ पग्लिएपछि हिमनदीले जम्मा गरेको बालुवासहितको गेग्रान बग्न थालेको जनाएको छ । इसिमोडले पेम्दिङ खोलाको झन्डै ७० हजार मिटर स्क्वायर क्षेत्रफलमा त्यस्तो गेग्रान बगेको जनाएको छ ।

इन्जिनियर्स एसोसिएसनले गरेको अध्ययनले पनि मेलम्चीमा बहुप्रकोपले क्षति निम्त्याएको देखाएको छ । तर, अध्ययन टोलीको नेतृत्त्व गरेका इन्जिनियरिङ अध्ययन संस्थानका प्राध्यापक एवम् हाइड्रोलोजिस्ट डा. विष्णु पाण्डेले हिमताल फुटेर भेल–बाढी आएकोमा भने शंका व्यक्त गरे ।

०७२ सालको विनाशकारी गोरखा भूकम्प, हिमताल, वर्षा र पहिरोबाट बन्ने तालका कारणले मेलम्चीमा भेल–बाढी आएको हुन सक्ने उनले औँल्याए । उनले २२ जनाको टोलीको अध्ययनले सो निष्कर्ष निकालेको जानकारी दिए । “त्यसैले मेलम्चीमा पानी कमै परे पनि बाढी भने ठूलो आयो,” उनले भने ।

पटक–पटक बाढी आइरहनु कारण के हो ?

भेमाथाङ क्षेत्रमा ठूलो चौर, जहाँ गिट्टी, बालुवा थुप्रेको छ । हाइड्रोलोजिस्ट डा. पाण्डेका अनुसार त्यहाँको संरचना कमजोर छ । माथिबाट खसिरहने र त्यहाँ स–साना ताल बनिरहने प्रक्रिया निरन्तर चलिरहेको छ । “त्यो फुट्दा त्यसले ऊर्जा लिएर आउँछ । मेलम्ची खोला स्पिड छ । पानी घनत्त्व ठिकै भए पनि पानीको बहावमा गति र ऊर्जा धेरै हुन्छ । त्यसले छेउछाउको भू–भाग कटान गर्छ । मेलम्चीको केसमा त्यसले पानीसँगै त्यही भेमाथाङमा थुप्रिएको र त्योभन्दा माथि थुपारिएको गेग्रानसँगै ल्यायो । अनि, भेल–बाढी आयो,” उनले भने ।

उनका अनुसार वर्षाभरि यो रोकिने देखिँदैन । तल्लो तटीय क्षेत्रमा बस्ने मानिसलाई पूर्वसूचित गरेर कम्तीमा बाढी आउँदा साइरन बज्ने प्रविधि ठाउँ–ठाउँमा जडान गर्नुपर्ने उनले बताए । “केही ठाउँमा राखेको छ,” उनले भने, “त्यसले राम्रो काम गरेको छ । राडारजस्तो हुने सेन्सर ठाउँ–ठाउँमा राख्यो भने पानीको लेभल बढ्नेबित्तिकै त्यो सेन्सर बज्न थाल्छ, त्यसले कम्तीमा ज्यान जोगाउन सकिन्छ । अन्यथा, रातभर कहिले बाढी र पहिरो आउला भनेर कुर्नुपर्छ ।”

मेलम्चीको भेल–बाढीले ल्याएको अर्को प्रश्न यति धेरै गेग्रान कहाँबाट आयो ? यसका लागि पहिले हिमालयको उत्पत्ति कसरी भयो भन्ने बुझ्न आवश्यक रहेको भू–गर्भविद् एवम् पुल्चोक क्याम्पसका उपप्राध्यापक डा. वसन्तराज अधिकारीले बताए । उनले भने, “भारतीय उपमहाद्वीप र युरोसियन प्लेट ठोक्किएपछि हिमालय बनेको हो । त्यो करिब पाँच करोड ५० लाख वर्षअगाडि भएको मानिन्छ । त्यसपछि विभिन्न दरार बनेको छ हिमालयमा । संसारमै नेपालका हिमालयलाई यङ माउन्टेन भनिन्छ । त्यसकारण यहाँ भूकम्प आइरहन्छ । पहाड उठ्ने, उठेको पहाड परिवर्तन हुने प्रक्रिया निरन्तर भइरहेको छ ।”

उच्च हिमाली भागमा हिमताल र हिमनदी छन् । डा. अधिकारीका अनुसार लाखौँ वर्षपहिले नेपालको उच्च हिमाली भागहरुमा ग्लेसियर आइस (हिउँ) जमेको थियो । “कालान्तरमा त्यो पग्लिँदै गयो । उसले आफूसँग ल्याएको गेग्रान त्यहीँ छोड्यो । पहिरो जाँदा पनि गेग्रान त्यहीँ जम्मा भइरहेको छ । मेलम्चीको हकमा हेर्ने हो भने हिमनदी र हिमतालभन्दा तल र मेलम्ची घ्याङभन्दा माथि पूरै भागमा हिउँ जम्ने र पग्लने क्रमले गेग्रान बनेको छ,” उनले भने, “नेपालको हिमाली क्षेत्र, पाकिस्तानदेखि भुटानसम्म पहिरोले ल्याएर जम्मा गरेका, हिमनदीले थुपारेका ढुंगा, गिटी र बालुवाको संरचना त्यहाँ रहेको छ ।”

यो संरचना कमजोर रहेको उनी बताउँछन् । उनले भने, “भूकम्प आयो भने, अलि बढी पानी पर्‍यो भने, जलवायु परिवर्तनले हिउँ पग्लियो भने, यो संरचना भूकम्पले चिरा पारेका ठाउँमा छिर्‍यो भने त्यहाँ भएका गेग्रान तल झर्न थाल्छन् । मुख्य प्रक्रिया यही नै हो ।”

मेलम्चीकै ‘केस’मा पनि यो भएको हुन सक्ने उनको भनाइ छ । मेलम्चीमा गेग्रान थुपारिएको देखिन्छ । उनका अनुसार कि त त्यहाँ नदी नै थुनिएर गेग्रान जमेको हुनसक्छ । अथवा, हिमनदी थियो, हिमनदी विस्तारै पग्लिएर हिमताल बन्यो । हिमतालमा गेग्रान थुप्रिँदै गयो । र, कालान्तरमा गेग्रान मात्र बाँकी रह्यो । “त्यो गेग्रानमा कि त माथिबाट खोला बग्दै आएर त्यसले छेउछाउमा काट्न सुरु गर्‍यो । असार १ मा त्यही गेग्रान पुरानो र नयाँ सँगसँगै बग्यो । सायद आधि घण्टाजति थुनिएको थियो होला मेरो बुझाइमा,” उनले भने, “त्यसपछि मेलम्ची घ्याङ र चनौटेतिर अलि सानोे छ । त्यहाँ केही बेर रोकेर पछि एकैपटक गयो होला । अहिलेसम्म भएको प्रमाणको आधारमा यही हो कि भन्न सकिन्छ ।”

सबै कुरालाई जलवायु परिवर्तनसँग जोड्न नसकिने उनी बताउँछन् । मेलम्चीमा पानी र भूकम्प नै कारण भएको उनको भनाइ छ ।

खानी तथा भूगर्भ विभाागका उपसचिव शिवकुमार बाँस्कोटा मेलम्चीको बाढीमा मात्र ध्यान दिन नहुने धारणा राख्छन् । “त्यस दिन यांग्री र लार्चे खोलामा मेलम्चीभन्दा अलि अगाडि बाढी गएको छ,” उनले भने, “तर, त्यहाँ ठूलो बाढी आएन । मेलम्चीमा भने पटक–पटक बाढी आइरह्यो ।” मेलम्चीमा गेग्रान बढी जम्मा भएकाले चर्चा पनि बढी भएको उनी बताउँछन् ।

“तीनवटामै बाढी आउनु भनेको वर्षा हुने अनुकूल वातावरण बन्नु हो । त्यहाँ पानी परेकै हुनुपर्छ, तर भन्न सकिन्न,” उनले भने ।

इसिमोडको स्याटेलाइट तस्बिरले भने पानी परेको पुष्टि गरेको छ । तर, शेर्माथाङमा मौसम विभागको स्टेसनमा पानी खासै परेको रेकर्ड छैन । शेर्माथाङ मेलम्चीनजिक नै पर्छ । खान्जला हिमालको फेदबाट झर्ने पाँच हजार ८०० मिटर उचाइमा रहेको मेलम्ची, यांग्री र लार्चेमा उति नै मात्रामा पानी आउँछ ।

हिउँपर्ने ठाउँ र हिउँ नपर्ने ठाउँको बीच हिउँ पग्लेर नदी बन्छ । हिमालबाट हिउँ पग्लेर मेलम्चीमा आउने गर्छ । उच्च ठाउँमा हिमनदी हुन्छ । जलवायु परिवर्तनका कारण हिमनदी अहिले प्रायः माथि नै पग्लिन थालेको विज्ञहरु बताउँछन् । “हिमनदीले बगाएर ल्याएको माटो, ढुंगा, गिटी र बालुवा तीनवटै नदीको शिरमा छ । त्यसैले खतरा टरेको छैन,” उपसचिव बाँस्कोटा भन्छन्, “जहाँबाट पहिरो सुरु भएको छ, खोलाको बगर भए पनि त्यो ठूलो चौरजस्तो लाग्छ ।”

भेमाथाङ यस्तो देखिनुमा मेलम्ची नदीमै पहिरो खसेर, नदी थुनिएर अनि विस्तारै वर्षौँ गेग्रान जम्मा भएर त्यो चौर बनेको हुन सक्ने विज्ञको आँकलन छ । मेलम्ची माथिबाट ठाडो बग्छ । यसरी बग्दा सँगै ढुंगा, माटो, रुख लिएर तल झर्छ । तर, तल पुगेपछि केही क्षण या मिनेट रुखले पानीको बाटो रोक्न सक्छ । फेरि बग्दा अझै जोडले बग्छ । यसले ठाउँ ठाउँमा स–साना पहिरो बनाएको छ । तल मेलम्ची घ्याङमा पहिरो गएको छ । त्यसले पनि खोला केही बेर थुनेको हुन सक्ने उनको भनाइ छ । माथि ठाडो बगेको पानी मेलम्चीमा सिधा बग्छ र गति कम हुन्छ । खोलाले चनौटेमै ठूल्ठूला ढुंगा छोडेको छ भने मेलम्ची पुग्दा बालुवा मात्रै लिएर गएको छ ।

उत्तरपूर्वबाट इन्द्रावती नदी मेलम्चीमा मिसिन्छ । इन्द्रावती पाँचपोखरी खोला, यांग्री र लार्चे खोला मिसिएको छ । त्यो इन्द्रावती मेलम्चीभन्दा ठूलो छ । त्यसले मेलम्चीको बहाव रोकिदिन्छ र यसले नदीको बहाव कम गराउँछ । उनका अनुसार त्यसैले मेलम्चीमा सबै गेग्रान थुप्रिएको हो । तल्लो तटीय क्षेत्रमा बालुवा थुप्रिएको छ । बालुवा जमेकाले अहिले मेलम्ची पहिलेभन्दा १० मिटर माथिबाट बगिरहेको छ । त्यसैले नदी आफ्नो धारमा बगेको छैन । १५ गतेपछिको बाढीले बस्तीको बीचबाट बगिरहेको छ । भेल आइरहेको नदी रोक्न कठिन छ ।

उनले भेमाथाङमा एकतिहाइ मात्र फुटेको बताए । माथिबाट हेर्दा ढुंगा, गिट्टी, बालुवा देखिन्छ, तर भित्र चट्टान पनि हुनसक्छ । भूकम्पले धेरै वस्तु थुपारेको छ । त्यहाँ नाइस र ग्रेनाइट चट्टान छन् । ती फुटाउँदा दानेदार हुन्छन् । हिउँको प्रभावले हिउँ जम्ने र पग्लने गर्दा चट्टानलाई कमजोर बनाउँछ र गेग्रान सिर्जना हुनुको प्रमुख कारण यही हो । गेग्रानको कमजोर संरचनाले गर्दा मेलम्ची क्षेत्रमा जोखिम घटेको छैन । उनले भने, “माथिबाट अरु गेग्रान आउँदैन भन्ने सुनिश्चितता भयो भने नदीको धार परिवर्तन गरी बस्ती जोगाउन सकिन्छ, तर त्यो भन्न सक्ने स्थिति छैन । अनि मात्र मेलम्ची बजारको भविष्य बताउन सकिन्छ ।”

यस्तै, बाढीले मेलम्ची आयोजनाको भविष्य पनि संकटमा परेको छ । मेलम्चीको पानी आउने टनेलहरु अहिले बन्द छन् । तर, पछि खोलेमा गेग्रानहरु टनेलबाट आउन सक्छ । राष्ट्रिय योजना आयोगले मेलम्ची आयोजना बनाउँदा मुहान अर्थात् माथिल्लो तटीय क्षेत्रमा जोखिमको अवस्था के छ, त्यसबारेमा अध्ययन भएको देखिँदैन । उपसचिव बाँस्कोटा भन्छन्, “भोलि हाम्रो पानीको स्रोतमा निरन्तरताको लागि के छ भनेर अध्ययन हुनुपर्थ्यो ।”

अहिलेसम्म मेलम्चीको मुहानमै पुगेर विस्तृत अध्ययन भएको छैन । न त इसिमोड, इन्जिनियर्स एसोसिएसन र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणले मेलम्चीको मुहानमै पुगेर अध्ययन गरेको छ । विज्ञहरुले मेलम्चीको मुहानमै गएर अध्ययन गर्नुपर्ने सुझाव दिएका छन् । उनीहरुको अनुसार भेमाथाङ र त्यसभन्दा माथि थुप्रेको गेग्रानको विस्तृत अध्ययन नगरी भन्न सकिन्न । त्यो गेग्रान अहिले खस्छ कि पाँच वर्ष पछि खस्छ, त्यो सबै अध्ययन हुन जरुरी छ । त्यसको प्राविधिक अध्ययन गरेर जोखिम आँकलन गरेपछि मात्र भन्न सकिने उनीहरुले बताए ।

यस्तै, ढुंगा, बालुवा, गिट्टी कति छ ? त्यो ढुंगा, बालुवा र गिट्टी कसरी आयो ? त्यसको भौगर्भिक अध्ययन गर्नुपर्छ । खोलाले त्यही अनुपातमा काट्दा त्यो गेग्रान तल बगेर आउँदा कस्तो हुन्छ ? कस्तो असर गर्छ ? अहिले खसेको जस्तो नभई एकैपटक सबै तल खस्छ कि ? पहिला त्यो अध्ययन गरेर कम्प्युटरबाट मोडलिङ गरी देखाउन सकिने विज्ञहरुको राय छ । यसका आधारमा तल्लो क्षेत्रमा बस्ने मानिसलाई सुरक्षाका उपाय अपनाउन सकिने उनीहरुको सुझाव छ । तर, अहिले मानिसलाई बाढी कति बेला आउँछ, थाहा छैन । विनाशको तथ्यगत मूल्यांकन नहुँदा स्थानीयवासी बाढी र पहिरोको त्रासले जोखिममा बस्न बाध्य छन् ।

बाढीबाट जोगिने उपाय
हाल बाढी आइरहेको कारण पर्खनुसिवाय अरू उपाय नभएको विज्ञहरु बताउँछन् । तर, ठाउँ–ठाउँमा स्याडल ड्याम बनाएर गेग्रानलाई ठाउँ ठाउँमा विस्तारै जम्मा गर्दै पानीको बहाव कम गर्न सकिने डा. पाण्डे बताउँछन् । उनी भन्छन्, “यसले ठाउँ–ठाउँमा ड्याम निर्माण गरी गेग्रानको आयातन मापन गर्न सकिन्छ ।”

यस्तै, खोला, पानीको दिशा मापन गरी जोखिम आँकलन गर्न सकिन्छ । पहिरोको सूक्ष्म अध्ययन गर्न पहिरो गएको छ कि छैन जाँच्ने संयन्त्रले निरन्तर निगरानी गरेर जोखिम आँकलन गर्न सकिने उनको भनाइ छ । “जम्मा दुईदेखि तीन दिनभित्र म्याग्नेटिभ वेभ पठाएर चारजनाको टोलीबाटै सर्वेक्षण गर्न सकिन्छ,” हाइड्रोलोजिस्ट डा. पाण्डेले भने, “तर, अन्त पनि बाढी गइरहेकोले प्राधिकरणले त्यसमा मात्र ध्यानकेन्द्रित गर्न सकेको छ जस्तो लाग्दैन । तर, त्यसका लागि एउटा छुट्टै टिम बनाउनुपर्छ र त्यहाँ जान मौसम सफा छ कि छैन ? त्यसको निरन्तर निगरानी गर्नुपर्छ ।”

भू–नीति लागु गर्नुपर्ने 
नेपालको संविधान २०७२ को भाग ४ मा निर्देशक सिद्धान्त नीति तथा दायित्व (ङ)मा कृषि र भूमि सुधारसम्बन्धी नीति छ, जसमा राज्य र सरकारलाई निर्देशित गरिएको छ । यस्तै, भू–उपयोग ऐन–२०७६ बनेको छ, । जसमा आवासीय क्षेत्र, औद्योगिक क्षेत्र, कृषि क्षेत्र, खानी तथा खनिज क्षेत्र, व्यावसायिक क्षेत्र, सांस्कृतिक तथा पुरातात्विक महत्वको क्षेत्र र सार्वजनिक उपयोगको क्षेत्र भनी भूमिको वर्गीकरण गरिएको छ ।

इन्जिनियरिङ भू–गर्भविद डा. अधिकारी नेपालका प्रायः हिमाली क्षेत्र भौगोलिक हिसाबले कमजोर बनेकाले बस्ती बसाल्दा जोखिमको अध्ययन गर्नुपर्ने औँल्याउँछन् ।

उनले भने, “भूनीतिलाई कडाइका साथ पालना गर्‍यो भने विपद्को जोखिम न्यूनीकरण गर्न सकिन्छ । यस्तै, मेलम्चीको जस्तै भू–बनोट भएको क्षेत्र नेपालमा थुप्रै छन् । मेलम्चीमा जस्तै भेल–बाढी आए ठूलो क्षति हुनसक्छ ।”

मेलम्चीजस्तै जोखिममा रहेको मनाङको ताल (मर्स्याङ्दी नदी पहिरोले थुनेर तलाउ बनेर त्यसपछि गेग्रान जम्मा भएर बनेको ठाउँ), तामाकोसीको आयोजना बनेको लामाबगर ठूलो, कालीगण्डकीको तटमा बसेको बेनी, बागलुडको बुर्तिबाङ र रोल्पाको दुनई, रामेछापको मन्थलीलगायत बजार नदी तटीय क्षेत्रमा छन् । त्यहाँ भेल–बाढी आए ठूलो क्षति हुनसक्छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २४, २०७८  ११:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro