
अमेरिका । अमेरिकाले नेपालीलाई दिएको अस्थायी संरक्षित अवस्था (टीपीएस) खारेज भएकाले यसमा मात्र हुने नेपालीले दुइ महिना भित्र अन्य स्टाटसमा जान प्रकृया सुरू गर्नुपर्ने या अगष्ट ५ मध्यरातभित्र नेपाल फर्किनुबाहेक अर्को विकल्प नभएको कानुन व्यवसायीहरूको सुझाव छ ।
"नेपालीको टीपीएस खारेज भएको अवस्थामा देश फर्किने वा अन्य स्टाट्समा जाने प्रकृया सुरू गर्नु वाहेक विकल्प म देख्दिन," इमिग्रेशन सम्बन्धी कानुन व्यवसायी बासु फुलाराले भने ।
यसरी टीपीएसमा मात्र हुनेले इमिग्रेशन सम्वन्धि जानकारलाई सम्पर्क गरेर निर्णय गरिहाल्नुपर्ने उनको भनाइ छ ।
टीपीएसमा रहेका तर युएससीआईएस वा अदालतमा पेन्डिङ्ग केश रहेका नेपालीलाई भने केही नहुने फुलाराले जानकारी दिए । "पेन्डिङ्ग केस नसकिँदा सम्म पर्खिन सकिन्छ," उनले भने "तर, यस्ता नेपालीले नेपाल आउजाउ गर्न भने मिल्दैन ।"
टीपीएसमा मात्र भएको विद्यार्थीले के गर्ने ?
टीपीएसमा मात्र भएका विद्यार्थीले कलेजमा गएर पुनः विद्यार्थी भिसा एफ वानमा फर्किन प्रकृया सुरू गर्न सक्ने उनले जानकारी दिए ।
"कलेजले प्रकृया पुरा गरे पछि पुनः अर्को आई ट्वेन्टी दिन्छ यसका आधारमा फेरी एफ वान स्ट्याट्समा फर्किन सकिन्छ," उनले भने "कतिपय विद्यार्थीले यस्तो गर्नु भएको पनि छ । पुलिस केशमा पर्नेहरुलाई भने यसरी फर्किन कठिन हुनेछ ।"
नेपालमा २०१५ मा गएका भुकम्प पछि नेपालीलाई टीपीएस सुविधा दिइएको थियो । यस सुविधा अनुसार त्यसमा रहेका नेपालीले अमेरिकामा बस्न, नेपाल आउजाउ गर्न र काम गर्न पाएका थिए । नेपालको अवस्था परिवर्तन भइसकेको भन्दै करिब १० वर्ष पछि अमेरिका सरकारले नेपालीले पाएको टीपीएस खारेज गरेको हो ।
अहिले करिब साढे सात हजार टीपीएसमा भएको बताइएको छ । जसमध्ये आधा जतिले अन्य स्ट्याट्समा जान प्रकृया सुरू गरिसकेको अनुमान छ ।
अमेरिकाको अदालतले विभिन्न स्ट्याट्समा जान फाइल गरेको केस सकिएका नेपाली करिब तीन हजार छन् । यी मध्ये कतिपय टीपीएस भएकाले मात्र यहाँ बस्न पाएका छन् । टीपीएसमा भएका यस्ता नेपालीले पनि तत्काल कानुन व्यवसायीसँग परामर्श गर्न उपयुक्त हुने उनको सुझाव छ ।
"अगष्ट ५ पछि टीपीएसमात्र मात्र हुनेको ठेगानामा होमल्याण्ड सेक्युरिटीजले पत्र पठाउन सक्छ," फुलाराले भने "यो अलि संवेदनशील अवस्था हो यसलाई गम्भिर रुपमा लिनु पर्छ ।"
टीपीएस मात्र भई नेपाल फिर्ता जान चाहनले अमेरिकी सरकारको सीबीपी होम मोबाइल एप्लिकेसनमा गई स्वफिर्ताको घोषणा गर्न सकिन्छ । फर्किन चाहनेले यो प्रकृया पुरा गर्दा राम्रो हुन्छ केही सुविधा पनि पाउन सकिने उनले बताए ।
हिमालय खबरबाट