-1749209517.jpeg)
विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला गुटले विराटनगरमा प्रदेशस्तरीय भेला आयोजना गरेको छ । शुक्रबार कोइरालानिकट कांग्रेस केन्द्रीय सदस्य, प्रदेशसभा सदस्य तथा जिल्ला सभापतिहरू विराटनगरमा भेला भएका हुन् । भेलाले १५औँ महाधिवेशन तोकिएकै समयमा हुनुपर्ने भन्दै दबाब बढाउने निर्णय गरेको छ ।
भेलाका सहभागीले ‘रिभिजिट बीपी, रिभाज्ड कांग्रेस’को नीति लिएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । अधिकांश सहभागीले कांग्रेसको १५औँ महाधिवेशन २०८२ की ८३ मंसिरमा ? भन्दै सहभागी नेताको ध्यानाकर्षण गराएका थिए । भेलामा कोइराला पक्षीय नेता गुरुराज घिमिरे, प्रतिनिधिसभा सदस्य सरिता प्रसाईं, कांग्रेस केन्द्रीय सदस्य राजीव कोइराला, कोसी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की, आन्तरिक मामिलामन्त्री शम्शेर राईलगायत सहभागी थिए ।
भेलामा बोल्दै कोइरालाको निजी सचिवालयका विज्ञ पुरञ्जन आचार्यले अघिल्लो महाधिवेशनमा शेखर कोइरालालाई कहाँ कहाँबाट मत आएको भन्दै विश्लेषण सुनाएका थिए । कोइरालाले कोसी, वाग्मती, गण्डकी प्रदेशबाट बहुमत ल्याएको, मधेस र सुदूरपश्चिममा शेरबहादुर देउवा अगाडि रहेको दृष्टान्त पेस गर्दै आगामी महाधिवेशनमा अझ राम्रो गरे सभापतिमा जित्न सक्ने दाबी गरे । उनले सात प्रदेशमध्ये चार लिड, दुईमा बराबर जस्तो देखिएको दाबी गरे । वर्गीय र अन्तर्राष्ट्रिय प्रतिनिधिको भोटमा अब ध्यान दिनुपर्न उनको जिकिर थियो ।
आचार्यले कुनै पनि जीवित पार्टीमा चाल, चेहरा र चरित्र आवश्यक रहेको बताउँदै कांग्रेसको अबको बाटो ‘रिभिजिट बीपी, रिभाज्ड कांग्रेस’ हुनुपर्नेमा जोड दिए । उनले पार्टीले आफ्नो मूल सिद्धान्तबाट विचलित हुँदा कांग्रेसमा समस्या देखिएको दाबी गरे ।
‘‘सोच र भविष्यको परिकल्पना गरे कांग्रेसमा पुनर्जागरण हुनेछ । पार्टीले निर्णय गर्ने तर न्याय भएन भने गुटबन्दी हुन्छ । कांग्रेसलाई ठूलो अवसर आउँछ । कम्युनिस्ट आन्दोलन पहिलोपटक विघटन संघारमा छ । यसलाई फाइदाको रूपमा कांग्रेसले लिनुपर्छ,’’ उनले भने ।
कोसी प्रदेशसभा सदस्य मानबहादुर लिम्बूले महाधिवेशन अनिश्चित देखिएको भन्दै समयमै क्रियाशील सदस्य नवीकरण भएनन् भने महाधिवेशन नहुने बताए । उनले प्रश्न गरे, ‘‘महाधिवेशन कहिले हुन्छ २०८३ मंसिरमा ?’’ गुटबन्दी गर्नु भनेको पार्टी नेतृत्वलाई सही निर्देश गर्नु पनि हो भन्दै लिम्बूले क्रियाशील समयमै नबुझाए बाधक हुने सुनाए । पार्टीमा एकले अर्कोलाई सिध्याइदिने गतल परिपाटी बस्दा कांग्रेस नै कमजोर बनेको दाबी गरे ।
वस्तुनिष्ठ कुराकानी गर्ने र सांगठनिक अवस्थाको चर्चा गर्ने परिपाटी कमजोर बनेको भन्दै कांग्रेस मोरङका कार्यवाहक सभापति भक्ति माझीले प्रश्न गरे । ‘‘के हुनुपथ्र्यो के भइरहेछ ? कमी कमजोरी र समस्या औंल्याउने, आग्रह पूर्वाग्रह राख्ने र गुटबन्दीको रोगबाट कांग्रेस प्रभावित नभई छलफल आयोजना गरिनुपर्छ,’’ उनले भने ।
संघर्ष र क्रान्तिको अगुवाइ गरेको पार्टी कमजोर बनेको भन्दै उनले कांग्रेसको व्यवस्थापन कमजोर भएको आरोप लगाए । यसबारे पार्टी नेतृत्व सच्चिनुपर्ने उनको सुझाव थियो । ‘‘विचार मिल्नेको गुट हुन्छ । व्यावहारिक पक्षलाई किन हेरिँदैन, बैठकमा माइन्युट हुन्छ तर तलसम्म सर्कुलर हुँदैन । नेता धेरै भए तर काम गर्ने कार्यकर्ता को हो ?,’’ उनको प्रश्न थियो ।
सुनसरीका सभापति केदार भण्डारीले कांग्रेसबाट जितेका प्रमुखहरूलाई बजेट वितरण नहुँदा समस्या भएको सुनाए । पार्टीबाट मन्त्री भएकाहरूले पनि आ–आफ्नालाई मात्र दिने गरेको भन्दै उनले १५औँ महाधिवेशनको सन्दर्भमा एक पक्षले पेलेर जाने अवस्था देखिएको बताए । ‘‘फरक मतलाई केही नदिने भन्ने छ । केदार कार्कीले कोसीमा खोसेर मुख्यमन्त्री लिनुभयो तर राजीव कोइराला बन्ने अवस्थामा हुँदा पनि पार्टीले सहयोग गरेन । राम्रो काम गर्नेले अवसर कहिले पाउँछ ?,’’ उनको प्रश्न थियो ।
पार्टीले विकासमा समन्वय नगरेको र प्रदेशमा पनि त्यस्तै अवस्था रहेको भण्डारीको आरोप छ । उनले भने, ‘‘स्थानीय तहमा कांग्रेसले जितेका ठाउँमा काम हुन सकेको छैन । एकपक्ष लचक छ, अर्को छैन । साथै नहिँड्ने हो भने परिणाम आउन सक्दैन ।’’
कांग्रेस नेता गुरुराज घिमिरेले कोसी प्रदेशस्तरीय भेलामा एउटा समूह वा गुटको मात्र भनेर भेदभाव नगरिएको बरु सबैलाई निमन्त्रणा गरिएको सुनाए । ‘‘पार्टीमा के हुनुपर्दथ्यो ? के भइरहेको छ ? आग्रह पूर्वाग्रह नराखी भेला गरेका हौँ,’’ घिमिरेले भने, ‘‘सांगठनिक अवस्थाबारे चर्चा गर्न पनि छलफल आयोजना गरेका हौँ ।’’
छलफल तीनै तहका सरकारमा कांग्रेस र उपलब्धिहरू, १५औँ महाधिवेशनको सुनिश्चितता, कोसी प्रदेशको संगठन, चुनौती र समाधानका उपाय विषयमा केन्द्रित थियो ।