
काठमाडौं । ‘भिजिट भिसा’मा विदेश जानेको संख्या घटेसँगै जहाज भाडादर पनि घटेको छ । पछिल्लो समय नेपालबाट विदेसिने भाडादरमा कमी आएको हो । यसअघि एक लाख २० हजारसम्म पुगेको काठमाडौंबाट दुबईको भाडादार ‘राउन्डट्रिप’कै ६० हजारको हाराहारीमा झरेको हो ।
नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल एजेन्टस् (नाट्टा) का अनुसार, दुबईलगायतका खाडी राष्ट्रमा जाँदा लाग्ने भाडादरमा ५० प्रतिशत कमी आएको छ । त्यसो त, खाडी राष्ट्रमा घुम्ने सिजन नभएको र कामदार भिजिट भिसामा जाने संख्या कम हुँदा भाडादरमा कमी आएको जानकारहरू बताउँछन् ।
विमानमा यात्रुको संख्यामा कमीसँगै भाडादर पनि कम हुन्छ ।
कामदारलाई भिजिट भिसामा विदेश पठाउँदा आर्थिक लेनदेन भएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरू गरेपछि दृश्य बदलिएको हो ।
“जुन दिन अख्तियारले अध्यागमनका कर्मचारीलाई नियन्त्रणमा लिँदै अनुसन्धान सुरु गर्यो, त्यसभन्दा अघिका १५ दिनको तुलनामा पछिल्ला १५ दिनमा भिजिट भिसामा विदेश जानेको संख्या साढे ३१ प्रतिशतभन्दा बढीले घटेको देखिन्छ,” अध्यागमन विभाग स्रोतले बाह्रखरीसँग भन्यो ।
यात्रु घटेसँगै विमानको ‘फेयर रेट’मा पनि कमी आएको देखिन्छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयबाट प्राप्त तथ्याङ्कअनुसार, २०८२ वैशाख २३ देखि जेठ ६ गतेसम्मको १५ दिनेका अवधिमा कुल ११ हजार ८६१ जना नेपाली भिजिट भिसामा विदेश गएको देखिन्छ ।
यस्तै, २०८२ जेठ ७ गतेदेखि २१ गतेसम्मको १५ दिनको अवधिमा कुल ८ हजार ११४ जना नेपाली भिजिट भिसामा विदेश गएका छन् । भट्टराईलाई अख्तियारले नियन्त्रणमा लिएको दिनभन्दा अघिको १५ दिनको तुलनामा त्यसपछिको १५ दिनमा भिजिट भिसामा विदेश जानेको संख्या तीन हजार ७४७ ले कमी आएको छ ।
अर्थात् अख्तियारले देखिने गरी अनुसन्धान सुरु गरेपछि भिजिट भिसामा विदेश जानेको संख्या ३१.६० प्रतिशतले घटेको छ । उता खाडी राष्ट्र घुम्ने बेला नभएका कारण पनि यात्रुहरूको संख्यामा कमी आएको नाट्टाका सचिव विष्णु पाण्डे बताउँछन् ।
“यो अफ सिजन पनि हो, त्यसमाथि केही फ्लाइट पनि थपिएका छन्,” उनले भने, “विमानस्थल खुल्ने समय पनि बढेका कारण कमी आएको होला ।” नाट्टाका वरिष्ठ उपाध्यक्ष जिश्वान तुलाधर श्रेष्ठ दुबईतर्फ भिजिट भिसाामा जानेहरू कम भए पनि भाडादरमा खासै परिवर्तन नभएको बताउँछिन् ।
“भिजिट भिसामा जानेहरू गइरहेका छन् । उही भिसा थप्दै बस्नेहरू मात्रै कमी आएको हो,” उनले भनिन्, “भाडादर भने खासै घटेको देखिँदैन । राउन्ड ट्रिपको ६०/६५ हजार छ ।”
भिजिट भिसामा सेटिङको समाचार बाहिरिएसँगै उतै गएर बस्ने मनसायले जानेहरू घटेको नाट्टाका सदस्यहरू बताउँछन् ।
भिजिट भिसासम्बन्धी अख्तियारले अनुसन्धान गरिरहेको सूचना चुहिएपछि गृहमन्त्री रमेश लेखकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख तथा सहसचिव तीर्थराज भट्टराईलाई ०८२ जेठ ६ गते गृह मन्त्रालयमा तानेका थिए ।
सहसचिव भट्टराईलाई जुन दिन अख्तियारले नियन्त्रणमा लियो, त्यसभन्दा १५ दिन अघिको तुलनामा त्यसपछिका १५ दिनमा भिजिट भिसामा विदेश जानेको संख्या एक्कासि घटेको देखिन्छ । अख्तियारले सहसचिव भट्टराईलाई २०८२ जेठ ७ गते नियन्त्रणमा लिएको थियो ।
गृह मन्त्रालय, अध्यागमन विभाग र युनाइटेड अरब इमिरेट्स (यूएई)को आबुधाबिस्थित नेपाली दूतावासकोे तथ्याङ्कअनुसार, पछिल्लो तीन वर्ष साढे सात महिनामा आठ लाख एक हजार ६६६ जना नेपाली भिजिट भिसामा विदेश गएका छन् ।
भिजिट भिसाका कारण मात्रै भन्दा पनि सिजन नै नभएका कारण ‘फेयर रेट’मा केही कमी आएको नाट्टाका अध्यक्ष कुमारमणि थपलिया बताउँछन् ।
“फ्लाइट फेयरमा भिजिट भिसाको मात्रै असर भन्दा पनि लोडको हिसावले घटाउने बढाउने गरिरहन्छ । त्यसकारण भिजिट भिसाकै कारण असर परेको होइन जस्तो लाग्छ मलाई,” उनले भने, “ट्राभलको लोड नभएको कारणले फ्लाइट फेयर घटेको हुनसक्छ ।”
यतिखेर विदेसिने कम भएको र त्यसकारण भाडादरमा केही कमी आएको हुन सक्ने थपलिया बताउँछन् । यसअघि गत कात्तिक २३ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिका लागि सुरुमा १० घण्टा र पछि ८ घण्टा कायम गरेको थियो । चैत १९ पछि १८ घण्टा खुलेको थियो ।
स्तरोन्नतिका लागि बन्द हुँदा फ्लाइट संख्यामा कटौती हुँदा त्यसले भाडादरमा समेत असर पारेको थियो ।
कात्तिक २३ गतेदेखि १० घण्टा बन्द गरेर सुरू गरिएको समानान्तर ‘ट्याक्सी वे’, ‘इन्टरनेशनल एप्रोन’ ‘ह्यांगर एप्रोन’लगायत काम सुरु गरिएको थियो । विमानस्थल बन्द गर्दा यसले उडान तालिका फेरबदल भएका कारण भाडादर उच्च निकै महँगो भएको थियो ।