
सिड्नी । सन् २००६ देखि शैक्षिक परामर्श सेवामा समर्पित फोर नेसन्स इन्टरनेसनल एजुकेसन एन्ड भिषा सर्भिसेजले सेवा विस्तार गरेको छ । सिड्नीको ह्यारिस पार्कमा १९ औँ शाखाको रूपमा नयाँ कार्यालय सुरु भएको छ ।
फोर नेसन्सले नेपालीको ठूलो संख्या रहेको ग्रानभिल क्षेत्रलाई मध्यनजर गर्दै ह्यारिस पार्कमा नयाँ कार्यालय खोलेको हो ।
अस्ट्रेलियाका शैक्षिक व्यवसायी र परामर्शदाताहरूको उपस्थितिमा नयाँ कार्यालय सुरु गरिएको हो । यतिबेला नेपाली मुलका व्यक्तिहरूले मात्र सिड्नी वरपर करिब ५० को हाराहारी कलेज संचालनमा ल्याएका छन् ।
अस्ट्रेलियामा नेपालीको स्वामित्वमा अहिले करिब एक सयवटा उच्च शिक्षाका कलेजहरू संचालनमा छन् ।
फोर नेसन्स एजुकेसनको नेपालमा दशवटा, भारतमा पाँच स्थानमा र भियतनाममा एउटा, अस्ट्रेलियामा सिड्नी र मेलवर्नमा पारमर्श केन्द्र छन् ।
“हाम्रो उद्देश्य सहज र सरल रूपमा विद्यार्थीले शैक्षिक तथा अध्यागमन सेवा तथा सुविधा प्राप्त गरुन् भन्ने हो,” यसका निर्देशक तथा अस्ट्रेलियाली शैक्षिक परामर्श केन्द्रहरूको छाता संगठन एकाका अध्यक्ष कोमलराज पाठकले भने, “शैक्षिक परामर्श भनेको विद्यार्थीको जीवनसँग जोडिएको संवेदनशील विषय हो । सही सल्लाहले उनीहरूको जीवन सफल हुन्छ ।”
त्यसैले अनुभवी परामर्शदाता र इमिग्रेसन एजेन्टमार्फत नेपालीलगायत दक्षिण एसियाली विद्यार्थीलाई लक्षित गरेर ह्यारिस पार्कमा नयाँ कार्यालय स्थापना गरिएको पाठकले सुनाए ।
भारतीयको पकड रहेको मिनी इन्डिया नामले परचित ह्यारिस पार्क क्षेत्रमा एक सयवटा भारतीय रेष्टुरेन्ट र चार नेपाली रेष्टुरेन्ट संचालनमा छन् ।
आफ्नै मातृभाषामा शैक्षिक तथा अध्यागमन सेवा पाउनु नेपाली समाजका लागि पनि महत्वपूर्ण विषय बनेको फोर नेसन्सका संस्थापक मन खत्रीले बताए ।